बिजमायालाई आवासको अधिकार खोई सरकार !

जुम्ला । ०७९ असार १७ गते

देश संघीय संरचनामा गएपछि तीन तहका सरकारले जनजीविकाका सवालमा काम गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तह मध्ये सवै भन्दा नागरिकको नजिकमा छरछिमेकीको रुपमा रहेको स्थानीय सरकार हो । जनताका जनजीविकाको सवालमा नजिकमा रहेर काम गर्ने सरकार पनि स्थानीय सरकार नै हो ।

जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी ३९ वर्षीया बिजमाया जैसीको आवास (घर) नभएको करिब दुई वर्ष वितिसक्दा पनि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले पत्तो पाएको छैन । नेपालको संविधानमा आवासको अधिकारलाई मौलिक हकमा राखिए पनि तीनै तहका सरकारले व्यवस्थापन गर्न सकेका छैनन् । आवासको अधिकार सम्वन्धी ऐन २०७५ मा नेपालको संविधान बमोजिम आवासविहीन नेपाली नागरिकलाई उपयुक्त र सुरक्षित आवास सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ ।

बिजमायासँगै १२ वर्षकी छोरी र १४ वर्षको छोरा छन् । अहिले उनीहरू बस्ने एउटा सानो काठको टहरो छ । त्यो पनि खुला आकाशमुनि बारीमा चुहिने टहरो छ । बर्षा सुरु हुन थाल्यो । हुन त कैयौँ बर्षा (पानी पर्ने सिजन) काटि सक्नु भयो । तर पनि बर्षातमा पानीले सताउने गरेको दुख्ख सुनाउनु भयो ।

बिजमाया पनि आफ्नै दुनियाँमा रमाइरहेकी छन् । गाउँका दाजुभाइसँग बिजमायाका पति सम्पर्कमा छन् तर, बिजमायाका पतिलाई घरपरिवारको वास्ता छैन । ११ वर्षदेखि बिजमायाका पति घरपरिवारसँग सम्पर्कविहीन छन् ।

बिजमायाले यस खालको एकल हुनाको दुःख विगत ११ वर्षदेखि भोग्दै आउनु भएको छ । उहाँको कुरा न त फोइगाउँले सुन्छ, न त नजिकैको प्रहरी प्रशासन र स्थानीय सरकारले सुनेको छ । पानी पर्नै हुँदैन, चुल्होमै पानीको ताल पर्छ । घाम लाग्नु हुँदैन, टहराभित्रै पसेर पोल्ने गर्छ । ओढ्ने ओछ्याउने लत्ताकपडा पनि खासै छैनन् । अभाव नै अभावमा बिजमायाले जीवन निर्वाह गरिरहनु भएको छ । उहाँका दुई सन्तानले पनि आमाको एकल सङ्घर्षको भरमा चरम गरिबीमा जीवन गुजारिरहेका छन् ।

बिजमायाको पुरानो घर ठुलै थियो । त्यसैमा जेनतेन बालबच्चासँग जीवन निर्वाह गरिरहनु भएको थियो । त्यही घर पनि २०७७ सालको पुस महिनाको हिमपातले भत्कियो । घर बनाएको जग्गा माइतीले दिएका हन् । “घर बनाउने पैसा थिएन । त्यही भत्केको घर नजिक काठको टहरा बनाएको हुँ,” उहाँ भन्नुहुन्छ, अरू दुःखमा परे माइत जान्छन् । आफ्नासँग सुखदुःख साट्छन् । मेरो त्यो बाटो पनि छैन । आफ्नो मात्रै मेहनेतले साँझ बिहानको छाकको जोहो गर्नै गाह्रो भएको छ ।

बिजमायाको हातमा सानो बटन मोबाइल छ । उनी जिन्दगीको बारेमा सोचेर बस्दै गर्दा हरिदेवी कोइरालाले गाएको गीत सुन्नुहुन्छ, पाइन खबर घर फर्की आउनु होस् मेरो हजुर ।
बिजमायाको विवाह २० वर्षअघि फोइगाउँका धर्मदत्त जैसीसँग भएको थियो । पहिले पतिपत्निले सँगसँगै ज्याला मजदुरी गरेर जीवन राम्रै चलाएको उहाँले बताउनु भयो । पछि बिस्तारै परिवारमा झगडा भयो । अलि टाढा भयौँ,” उहाँ थप्नुभयो त्यसमाथि भाइहरूको अंशबण्डा भयो । मेरो भागमा एक भारी खेत र एक हलको लेकमा रहेको जग्गा छ । त्योबाहेक अरू केही छैन ।

बिजमायाका अनुसार, आजभन्दा ११ वर्षअघि उहाँका पति डोल्पा व्यापार गर्न भनी गएका थिए । उहाँले करिब दुई वर्ष उतै बिताउनु भयो । त्यसपछि तिहारको अघिल्लो दिन घरमा आउनुभयो । तिहार मनाएर तिहारको भोलिपल्ट खुद्रा सामान किनेर ल्याउँछु, गाउँमै व्यापार गर्छु भनेर पति धर्मदत्त जैसी नेपालगञ्ज जानुभयो । त्यसपछि कहिल्यै फर्किनुभएन,” त्यसपछिका दिनहरू सम्झँदै उदास भएर भन्नुभयो, न त तिनी आए । न त खबर आयो । ११ वर्ष भयो, पतिको अत्तोपत्तो छैन ।

बिजमायाको माइतमा बुढा भइसकेका बाबु छन् । दुई भाइहरू छन् । दिदी हुनु हुन्छ । माइतमा पनि आर्थिक अवस्था कमजोर नै छ । “घर बनाइदेऊ पनि भन्न सकिँदैन । यस्तै छ,” उहाँ भन्नुभयो । बिजमायाका भाइ नन्दप्रसाद आचार्य पनि दुःखी छन् । भन्नुहुन्छ, “दिदीको अवस्था देखेर मन खिन्न हुन्छ । के गर्ने ? हामीसँग उहाँको समस्या समाधान गर्ने कुनै उपाय छैन ।” खेतीपाती गरेर घरपरिवार पालेको र आफ्नै परिवारको पालनपोषणको लागि समस्या रहेको बिजमायाका भाइ आचार्यले बताउनु हुन्छ ।

बिजमायाका छोराछोरी त्रिभुवन माध्यमिक विद्यालय झारजुवालामा पढ्दैछन् । छोरा १० र छोरी ७ कक्षामा छन् । दुबैले पढने सरकारी विद्यालय हो । आफूले स्कुलको पोसाकसमेत किनिदिन नसकेका कारण उनीहरू विद्यालय जान खासै मान्दैनन् भन्ने बिजमायाको बुझाई छ । उहाँले भन्नुभयो, घर बनाएर छोराछोरी पढाउने ठुलो सपना छ ।

गुठीचौर गाउँपालिका–५ को फोइगाउँ जुम्लाको सदरमुकामदेखि पाँच किलोमिटर टाढा पश्चिममा पर्दछ । भर्खरै कच्ची सडक पुगेको छ । जेनतेन साना गाडी, मोटरसाइकल र ट्याक्टर गुड्न थालेका छन् । गाउँको माथिल्लो भेग ओखर र स्याउका बगैँचा र सल्लाका रुखले हराभरा छ । फोइगाउँ त्यसैको बिचमा रहेको छ ।

फोइगाउँका सबै घर एकैनासका नभए पनि एकै ठाउँमा बनेका छन् । “हामी बस्ने काठको टहरा बस्तीको बिचमा छ,” बिजमाया भन्नुभयो, “वरिपरि ठुला महल जस्ता घर छन् । फोइगाउँको घरधुरी संख्या ८४ र जनसङ्ख्या २ सय ५० रहेको छ ।

घर भत्किएपछि गाउँपालिकाले १५ हजार रुपियाँ राहत दिएको थियो । त्यसैबेला छोराको खुट्टा भाँचिएपछि त्यो रकम उपचारमै खर्च भयो,’ जैशीले भन्नुभयो ।

जीविको पार्जन सुधारका लागि पालिकाले सानाठूला गरी १० बाख्रा पनि दिएकामा साना बालबच्चा स्कुल पढ्ने हुँदा अर्काको भरमा वन छाड्दा पाटनको विष खाएर मरेको उहाँले गुनासो गर्नु भयो ।
नेपालमा ६० वर्षभन्दा पनि लामो राजनीतिक सङ्घर्ष गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याइएको छ । यही व्यवस्थाअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । गाउँपालिकामा उपाध्यक्ष वा अध्यक्ष महिला हुनैपर्ने व्यवस्था छ । उपाध्यक्षलाई न्यायिक समितिको संयोजक तोकिएको छ । त्यो समितिबाट पनि न्याय मिल्ने भनेको पहुँचवालाका लागि मात्रै त होइन नि ? गुठीचौर गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष शान्ति मल्ल भण्डारीले भन्नुभयो उहाँको बारेमा केही जानकारी लिएकी छु । म मेरो कार्यकालमा बिजमायाको बस्ने आवास, गाँस र बच्चाको शिक्षाको लागि पहल गर्ने छु ।

आफ्नो पालिकाका विपन्न तथा हिंसापीडित महिलाको लागि बिशेष खालका कार्यक्रम लागु गर्ने उहाँले बताउनुभयो उनीहरूको दैनिकीमा सकारात्मक परिवर्तन ल्याउने छु ।
उपाध्यक्ष शान्ति मल्ल भण्डारीका अनुसार, बिजमाया एक प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै समस्या भएका अरू महिला र बालबालिकाका लागि पनि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूरा गर्नका लागि मेरो पहिलो प्राथमिकता रहने छ । घरेलु हिंसा, महिला सशक्तीकरण जस्ता सचेतना कार्यक्रम गर्दै आए पनि पतिले बेवास्ता गरी एकल भएका, दुःख पाइरहेका, कठिनताका साथ बच्चा हुर्काइरहेका बिजमाया जस्ता महिलाहरूलाई समेट्न नसकिएको गाउँपालिकाका उपाध्यक्ष भण्डारीले बताउनु भयो ।

Jumlaphoto20220701 (1) Jumlaphoto20220701 (2) Jumlaphoto20220701, Jumlaphoto20220701

 

- मानदत्त रावाल