बाल विवाह : पहिलो पुस्तालाई पश्चाताप, नयाँ पुस्तालाई सिकाइ

२०८१ जेठ ११

हिमा गाउँपालिका – ६ पाथरखोला गाउँका ७३ वर्षीय पद्म खत्रीको १० वर्षको उमेरमा विवाह भयो । सानै उमेरमा भएको विवाहले घरबार बन्न सकेन । उहाँले पछि दोस्रो विवाह गर्नुपर्ने अवस्था आयो । सानै उमेरमा भएको विवाह सफल नभएपछि २५ वर्षको उमेरमा दोस्रो विवाह गर्नु परेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, त्यतिबेला यो बाल विवाहकाे कुरै हुने गरेको थिएन । सानै उमेरमा विवाह गर्ने चलन थियो । कुनै केटीलाई केटाले मन परायो भने केटीलाई मन परे पनि मन नपरे पनि सिधै केटाहरुको समूह गएर रक्चेर उठाएर ल्याउने चलन थियो । त्यतिबेला ऐन कानुन भन्दा पनि समाजका चेन ठुला भन्ने गरिन्थ्यो । ऐन कानुनको प्रवाह नै हुँदैन थियो ।  त्यतिबेला भएको बालविवाहको पश्चाताप अहिले हुने गरेको उहाँले बताउनु भयो । बाल विवाहले शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने रहेछ । बिग्रिसकेपछि अहिले चेत आएर  के गर्नु । बाल विवाहले जीवनका असरका विषयमा छोराछोरी, नातिनतिना र छरछिमेकीमा सिकाउने गरेका छौँ, उहाँले भन्नुभयो । बाल विवाह गर्नु नहुने रहेछ ।

सोही वडा पाथरखोला गाउँकी ४६ वर्षीया सम्झना शाहीले १५ वर्षको उमेरमा मेलामा घाँस काट्न गएकाे अवस्थामा त्यहीँबाट छोपेर ल्याएर विवाह भएको हो । उहाँका दुई छोरा, एक छोरी छन् । उहाँले भन्नुभयो, त्यतिबेला कुनै जानकारी थिएन । १५ वर्षको उमेरमा बाल विवाह भएकै हो । बाल विवाह गर्नु नहुने रहेछ । अहिले बाल विवाहका असार र प्रभावका विषयमा थाहा पायौँ । छोराछोरीलाई बाल विवाह नगर्न भनेर सुम्झाउने गरेका छौँ ।

पाथरखोला गाउँस्थित भानु माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत १२ वर्षीया स्वष्तिका शाहीले भन्नुभयो, बाल विवाह गर्न नहुने कुरा बुझेका छौँ । बाल विवाहले प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्य र शिक्षामा असर पर्ने भएकोले गर्न नहुने कुरा बुझेका छौँ ।

पहिलो पुस्ता र दोस्रो पुस्ताले बाल विवाह गर्दा उहाँहरुले भोग्नु भएको दुःख पीडालाई पनि हामीले बुझेका छौँ । कानुनी रुपमा पनि २० वर्षदेखि माथि पुगेपछि मात्रै विवाह गर्नु पर्दछ भन्ने बुझेका छौँ । बाल विवाह गर्न नहुने कुरा सबै गाउँबस्तीमा पुगेर सचेतीकरण गर्नुपर्ने उहाँले बताउनु भयो ।

‘विहेबारी २० वर्षपारि’ भन्ने नेपाल सरकारको नारा रहेको छ । यही नारालाई प्राथमिकतामा राखेर नेपाल सरकारले सन् २०३० सम्म बाल विवाह मुक्त समाज बनाउने लक्ष्य लिएको छ । लक्ष्यमा पुग्नका लागि नेपाल सरकारका विभिन्न निकाय, गैरसरकारी संस्था र सामाजिक अभियन्ताले काम गर्दै आएको पनि देखिन्छ ।  २० वर्षमुनि विवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि समाजमा बालविवाह भइरहेको विभिन्न तथ्यांकले देखाउँछ । स्वास्थ्य संस्थामा २० वर्षमुनिका किशोरी गर्भजाँच  तथा प्रसुति हुन आउने गर्ने भएकाले बालविवाह समाजमा हुने गरेको बुझिन्छ ।

यस अघि क्याड नेपाल जुम्लाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार तीन वर्ष यता हिमा गाउँपालिकामा मात्रै १ हजार १ सय ७ जनाको विवाह भएकोमा ७ सय ५५ जनाको बाल विवाह भएको देखिन्छ । कुल विवाहको ६८.२० प्रतिशत बाल विवाह भएको तथ्याङ्कले देखाउँछ ।

यस्तै सिँजा गाउँपालिकामा ३ सय १ जनाले विवाह गरेकोमा १ सय ८४ जना (६१.१२ प्रतिशत) ले बाल विवाह गरेका छन्। कनकासुन्दरी गाउँपालिकामा तीन वर्षमा एक हजार ५३ जनाले विवाह गरेकोमा पाँच सय ७१ जना अर्थात् ५४.२२ प्रतिशतले बालविवाह गरेका छन् । प्लान नेपाल र क्याड नेपालले संयुक्त रूपमा सन् २०२० देखि बाल विवाहको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आएका छन् । समाजमा बाल विवाह भइरहे पनि न्यायिक निकायमा उजुरी आउने गरेको पाईदैन ।

इन्सेक लगायत अन्य संघ संस्थाहरुले बाल विवाह न्यूनीकरण सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकाे छ। त्यसै गरी प्लान नेपालको सहयोगमा हिमा, सिजा र कनकासुन्दरी गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्नका लागि कार्यक्रम सञ्चालन गर्दै आएको आत्म सम्मानका लागि सहकार्य (क्याड) जुम्ला फिल्ड सुपरभाईजर देवेन्द्र आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, बाल विवाह न्यूनीकरण गर्नका लागि अन्तर पुस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।

बाल विवाह मुक्त समाज निर्माण गर्नका लागि दातृ निकायदेखि सरकार लागि परेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनु भयो । उहाँले बालबालिकालाई सशक्तिकरणदेखि कानुन सचेतनाका कार्यक्रम गर्दै आएकाे बताउनु भयाे ।

 

Photo20240524Jumla (1)

Photo20240524Jumla (3)

- मानदत्त रावल