बाल विवाहको असर : उमेर नपुग्दै आमा, अकालमै मृत्यु

२०८१ वैशाख २७

चालु आर्थिक वर्षमा सुर्खेत जिल्लामा २०.४ प्रतिशत २० वर्षमुनिका किशोरी सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । गत आर्थिक वर्षमा यो सङ्ख्या १९.६ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ ।

सुर्खेत जिल्लाको नौ ओटा स्थानीय तहमध्ये सिम्ता गाउँपालिकामा धेरै बालविवाह हुने गरेको पाइएको छ । चालु आर्थिक वर्ष ०८०/८१ को चैत मसान्तसम्म सिम्तामा ३४.४ प्रतिशत २० वर्षमुनिका किशोरी स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । गत आर्थिक वर्ष ०७९/८० मा यो सङ्ख्या ३४.६ प्रतिशत थियो । यस्तै, भेरीगंगा नगरपालिकामा अघिल्लो आर्थिक वर्षमा २३.१ प्रतिशत उमेर नपुगेका किशोरीहरू सुत्केरी भएकोमा चालु आर्थिक वर्षमा यो सङ्ख्या बढेर ३३.६ प्रतिशत पुगेको छ ।

गुर्भाकोट नगरपालिकामा गत आर्थिक वर्षमा ३२.४ प्रतिशत उमेर नपुगेका किशोरीहरू सुत्केरी हुन अस्पताल आएकोमा चालु आर्थिक वर्षको हालसम्म २९.३ प्रतिशत किशोरी सुत्केरी भएका छन् । यसैगरी, चिङ्गाड गाउँपालिकामा ३२.३, लेकबेसी नगरपालिकामा ३०.७, वीरेन्द्रनगर नगरपालिका १६.४, बराहताल गाउँपालिकामा ३०.४, पञ्चपुरी नगरपालिका १४.५ र चौकुने गाउँपालिकामा २९ प्रतिशत किशोरीहरू उमेर नपुगी सुत्केरी हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा आएर सूचीकृत भएकाहरूको मात्रै हो । अस्पताल नगएर घरमै सुत्केरी हुने किशोरीको यकिन तथ्याङ्क भने सार्वजनिक गर्न चुनौती छ । प्रदेशको राजधानीसमेत रहेको जिल्लाकै यो तथ्याङ्कले समग्र कर्णाली प्रदेशकै बाल विवाहको प्रतिनिधित्व गर्छ ।

पछिल्लो समय सुर्खेत जिल्लाभर अस्पतालमा सुत्केरी हुनेहरूको सङ्ख्या बढ्दै गएको छ । सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा थप हुनु र राज्यले प्रोत्साहन बापतको रकम दिन थालेपछि अस्पतालमा सुत्केरी हुनेहरूको सङ्ख्या बढ्न थालेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक अञ्जना भण्डारीले बताउनुभयो । सरकारले नियमित स्वास्थ्य संस्थामा जाँच गराउन तथा सुत्केरी हुन आएका महिलालाई प्रोत्साहन रकम प्रदान गर्दै आएको छ । उहाँका अनुसार गत आर्थिक वर्षमा ७९.१ प्रतिशत महिलाहरू सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकोमा चालु आर्थिक वर्षमा यो सङ्ख्या बढेको छ ।

नौ ओटा स्थानीय तह मध्ये सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिकामा २७५.३ प्रतिशत महिलाहरू अस्पतालमा सुत्केरी भएका छन् । गत आर्थिक वर्षमा यो सङ्ख्या १५६.७ प्रतिशत थियो । अन्य स्थानीय तहको तुलनामा वीरेन्द्रनगर नगरपालिकामा सुत्केरी हुन आउने हुनाले यहाँ लक्ष्यभन्दा धेरै सुत्केरी हुने भएकाले प्रतिशत धेरै देखिने गरेको छ । चौकुने गाउँपालिकामा अझै पनि अस्पतालमा सुत्केरी हुने महिलाको सङ्ख्या वृद्धि हुन नसकेको तथ्याङ्कले देखाउँछ । यस पालिकामा गत आर्थिक वर्षमा ३६.८ प्रतिशत महिला सुत्केरी हुन अस्पतालको पहुँचमा पुगेकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म यो सङ्ख्या बढेर ५४ प्रतिशत पुगेको छ ।

गर्भवतीको समयमा नियमित जाँच गराउने र अस्पतालमा सुत्केरी हुने महिलाहरूको पालिकागत तथ्याङ्क अनुसार सिम्ता गाउँपालिकामा ५९.८, चिङ्गाड गाउँपालिकामा ५८, लेकबेँसी नगरपालिकामा ४९, भेरीगंगा नगरपालिकामा ५२.८ प्रतिशत छ । यस्तै, गुर्भाकोट नगरपालिका ८३.९, बराहताल गाउँपालिका ३६.१ र पञ्चपुरी नगरपालिकामा ५४.९ प्रतिशत महिलाहरू चालु आर्थिक वर्षको नौ महिनामा सुत्केरी हुन अस्पताल पुगेको तथ्याङ्क छ ।

प्रसूति सेवासम्बन्धी जानकारीको अभाव, भौगोलिक विकटता, स्वास्थ्य संस्था र तालिमप्राप्त जनशक्ति अभावलगायतका विविध कारणले अझै पनि महिलाहरू सुरक्षित प्रसूति सेवाको पहुँच बाहिर रहेको  जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक भण्डारीले बताउनुभयो । सूचीकृत नभएका ठाउँहरूबाट गर्भपतनको औषधि बिक्री वितरण, मातृ मृत्यु अनुपात बढ्दो क्रम, किशोरावस्थामा गर्भवती हुनुलगायतका कारण परिवार नियोजनका लागि चुनौती रहेको उल्लेख गर्दै समुदायस्तरदेखि प्रत्येक घर–घरमा सचेतना फैलाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

त्यस्तै राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार कर्णाली प्रदेश सबैभन्दा धेरै मातृ मृत्युदर भएको देखिएको छ । कर्णालीमा अझै पनि राष्ट्रिय र अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर १७२ (प्रति १ लाखमा) रहेको जनगणनाको तथ्याङ्कले देखाउँछ ।

दिगो विकासको लक्ष्य अनुसार सन् २०३० सम्ममा कर्णालीको मातृ मृत्युदर ७० मा झार्ने गरी सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरूले काम गरिरहेको दाबी गरिरहेका छन् । तर, प्रदेशमा भौगोलिक रूपले मात्रै होइन, सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति उपलब्ध भएको भनिएको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमै सुत्केरी हुन पुग्ने ठूलो सङ्ख्यामा महिलाले ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ । चालु वर्ष ०८०/८१ को नौ महिनाको अवधिमा प्रदेश अस्पतालमा नौ जना सुत्केरी हुन गएका आमाहरूले ज्यान गुमाएका छन् ।  जिल्लामा सुत्केरीको समयमा हुने कुल मृत्युको ५७ प्रतिशत स्वास्थ्य संस्थामा पुगेपछि हुने गरेको तथ्याङ्कले देखाउँछ ।

त्यस्तै, घरैमा सुत्केरी गराउँदा मृत्यु हुने महिलाको सङ्ख्या २६ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । सुर्खेतमा सुत्केरी गराउन अस्पताल लैजाँदै गर्दा बाटोमा १७ प्रतिशत महिलाको मृत्यु हुने गरेको जनस्वास्थ्य निरीक्षक अञ्जना भण्डारीले बताउनुभयो ।

गत आर्थिक वर्षमा प्रदेश अस्पतालमा सुत्केरी हुन आएका तीन जना सुत्केरीले ज्यान गुमाएका थिए । चालु आर्थिक वर्षमा मृत्यु भएका सुत्केरीमा दुई जना सुर्खेत जिल्लाका छन् भने सात जना अन्य जिल्लाका छन् । प्रसवोत्तर (सुत्केरी भएको ४२ दिनसम्मको अवधि) समयमा ६१ प्रतिशत, गर्भावस्थाको समयमा ३३ प्रतिशत र सुत्केरी अवस्थामा ६ प्रतिशत महिलाको ज्यान जाने गरेको जनस्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । सुविधासम्पन्न भनिएको भए पनि प्रसूतिका समयमा अस्पतालमा औषधिको अभाव, दक्ष प्रसूतिकर्मी नहुनु, भएकालाई पनि पर्याप्त तालिम नदिइनु, मापदण्ड अनुसारका प्रसूतिगृह नहुनु, समयमा अस्पताल नपुर्याइनु, प्रसूतिसम्बन्धी आवश्यक औजार नहुनु तथा उपचारमा अस्पतालको लापरबाहीले प्रसूति अवस्थामा सुत्केरीको मृत्यु हुने गरेको छ । समुदायस्तरमा सुरक्षित प्रसूति सेवाका बारेमा आवश्यक जनचेतना नहुनुले जटिल अवस्थापछि मात्र अस्पताल पुर्याउने प्रवृत्तिका कारण पनि अस्पतालमा सुत्केरीको ज्यान जाने गरेको उहाँको भनाइ छ । तर, कतिपयले भने अस्पतालको लापरबाहीले पनि सुत्केरीले अनाहकमा ज्यान गुमाउनुपरेको आरोप लगाउँदै आएका छन् ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले चालु आर्थिक वर्षमा प्रसूति सेवा सुधारमा विभिन्न कार्यक्रमहरू गरेको जनाएको छ । जसअन्तर्गत स्वास्थ्य कार्यालयबाट स्थानीय तहमा आमा सुरक्षा, एसएनसीयू, मातृ सुरक्षा चक्की, एमपीडीएसआर, भीए लगायत कार्यक्रमको अनसाइट कोचिङ, मेन्टरिङ तथा अनुगमन गरिएको छ । समुदायस्तरमा एमपीडीएसआर कार्यक्रमको निरन्तरता तथा विस्तार, क्लिनिकल कोचिङ मेन्टरिङ कार्यक्रम, एमजीएसओ–४, क्याल्सियम गुल्कोनेट, भिटामिन के–१, मिसोपोस्टल लगायतका लागि आवश्यक औषधि खरिद समेत गरेको छ ।

Photo20240509Surkhet

 

- जगतदल जनाला विक