बालबिवाह र वैदेशिक रोजगारीका कारण सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

धनकुटा । ०७९ फागुन ३० गते

१५ वर्षको उमेरमा धनकुटा नगरपालिका–२ का भूपाल राईसँग प्रेम गरी ०६९ सालमा बालविवाह गर्नु भएकी कोपिला राई अहिले २५ वर्षकी हुनुहुन्छ । भूपाल राई ३० वर्षको हुनुहुन्छ ।

तर, सोचे अनुसार परिवारिक मिलन र परिवार चल्न नसकेपछि कोपिला अहिले घरमा होइन जिल्ला अदालतमा भेटिनु हुन्छ । उहाँ जिल्ला अदालतमा भेटिनुको कारण हो पतिसँग सम्बन्ध विच्छेद मुद्दाको फैसला आउँछ कि भनेर पर्खनु ।

सात वर्षीय छोरा र पाँच वर्षीया छोरीलिएर पतिसँग अलग्ग बसिरहनु भएकी कोपिला अदालतको फैसला कहिले आउँछ भनेर व्यग्र प्रतिक्षामा हुनुहुन्छ ।

१५ वर्षको उमेरमा बालविवाह गर्नु भएकी कोपिलालाई पतिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारिरीक यातना दिएका कारण उहाँले पतिसँग सम्बन्ध विच्छेदका लागि ०७७ फागनुमा जिल्ला अदालतमा दर्ता गरेको सम्बन्ध विच्छेद मुद्दाको पखाईमा हुनुहुन्छ ।

पतिले आफूलाई बाहिर काम गर्न जान नदिएको तथा बेलुका खाने कुरा ल्याएर छोराछोरीलाई पनि नदिएको कोपिलाको गुनासो छ । छोराछोरी भोकले रुन थालेपछि आफूमाथि कुटपिट गर्न थालेको कोपिलाको भनाइ छ ।

पतिको दैनिकको पीडा सहन नसकेपछि दुई छोराछोरी लिएर अलग्ग बस्न थालेको कोपिलाको भनाइ छ । जिल्ला अदालत परिसरमा इन्सेक प्रतिनिधिसँगको भेटमा कोपिलाले भन्नु भयो ‘सानैमा नजानेर विवाह गरियो, अब दुःख पाएपछि उसँग बस्न सक्ने अवस्था छैन, सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता छ, फैसला कुरेर बसेको छु ।’ खेतबारीमा घाँस दाउरा गर्न जाँदा पनि कोही पुरुषसँग बोलेको देखेमा उसैसँग जा भनेर तुत्छ बचन लगाउन थालेपछि सम्बन्धमा समस्या आएको कोपिलाको भनाइ छ ।

चौबिसे गाउँपालिका–५ बोधेकी ३१ वर्षीया देविका कार्की आफ्नो घर छोडेर माइती घरमा बस्दै आउनु भएको छ । पाँच वर्षीया एक छोरीलाई साथै लिएर माइती घरमा देविका ०७७ देखि बस्नु परेको छ । पति विदेश गएको वर्ष दिन बित्न नपाउँदै घरमा सासु र आमाजुले फरक व्यवहार गरेपछि घर छोडेर माइतमै बस्ने बाध्यता भएको देविकाको भनाइ छ ।

देविकाले इन्सेक प्रतिनिधिसँग भन्नुभयो ‘पति विदेश गएको सुरुको ६ महिनासम्म राम्रो थियो, पतिले विदेशबाट पैसा मलाइ नै पठाए, क्रमशः पैसा सासुको नाममा पठाउन थालेपछि म माथि घरेलु हिंसा सुरु भयो ।’

सदरमुकाम आइपुग्नु भएकी देविकाले भन्नुभयो ‘घरमा अर्कैसँग आँखा लगाउने, खानै नदिनेजस्ता व्यवहार हुन थालेपछि छोरीलाई लिएर माइती आएँ । पतिले फोन पनि गर्दैनन्, मैले गरेको उठाउँदैनन्, पत्नी र छोरीको विषयमा खोजखबर नै छैन । ’पतिबाट पनि खोजखबर नभएर एक्लिएपछि सम्बन्ध विच्छेद गर्ने ठाउँमा आइपुगेको देविकाको भनाइ छ । उहाँले ०७८ फागुनमा जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नु भएको भएको छ । फैसलाको पर्खाइमा रहेको उहाँको भनाइ छ ।

१८ वर्षको उमेरमा हिन्दु परम्परा अनुसार घर परिवारको सहमतिमा ०७५ सालमा बैवाहिक जीवन सुरुआत गर्नु भएकी महालक्ष्मी नगरपालिका–६ जितपुरकी २१ वर्षीया मनिषा कार्कीले ०७९ माघ १९ गते सम्बन्ध बिच्छेदको लागि जिल्ला अदालतमा मुद्दा गर्ता गराउनु भएको छ । जिल्ला अदालत परिसरमा भेटिनु भएकी मनिषाले पतिले दिनहुँ शारीरिक यातना दिने, कुटपिट गर्ने भएकाले पतिबाट अलग भएर माइती घरमा बस्दै आएको बताउनु भयो ।

मनिषाले भन्नुभयो, रात दिन झगडा हुन्छ, अब म तँ लाई पाल्न सक्दिन, त आफ्नो बाटो लाग, म मेरो बाटो लाग्छु । पतिको व्यवहार र वचन खप्न नसकेपछि सम्बन्ध विच्छेदको निर्णयमा पुगेँ । पतिको अमानवीय व्यवहार सम्झदै मनिषाले भन्नुभयो–एक पटक त घर सल्लाहअनुसार माइतीमा काका बिरामी हुनुहुन्थ्यो, बिरामी हेर्न गएको अवस्थामा माइतीघरमा आएर मलाई कुटपिट गर्नु भयो, त्यसपछि मलाई घरबाट निकाल्नु भयो । पतिले घरबाट निकालेपछिको दिन सम्झदै मनिषाले भन्नुभयो–मैले छोराको भविष्य सोचेर मजदुरी गर्न थाले । अहिले छोरा साथमा नभएको ६ महिना जति भयो, छोरालाई पनि थाहै नदिई म बाट छुटाएर लगे, छुटाएर लगेपछि छोरासँग भेट भएको छैन् । उहाँ पनि जिल्ला अदालतबाट सम्बन्ध विच्छेदको फैसलाको पर्खाइमा हुनुहुन्छ । कोपिला, देविका र मनिषा सम्बन्ध विच्छेद गर्ने प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । जिल्ला अदालतमा चालू आर्थिक वर्षमा सबै भन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका लागि छन् ।

धनकुटा बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक दिनेश अधिकारीका अनुसार वैवाहिक सम्बन्ध एउटा सांस्कृतिक ,सामाजिक मूल्य र मान्यता हो । पतिपत्नी बीचमा विभिन्न कारणहरुले असमझदारी भएको अवस्थामा सम्बन्ध बिच्छेद हुने गरेको पाइन्छ । विशेष  गरेर वैदेशिक रोजगारीका कारण पति वैदेशिक रोजगारीमा जाने पत्नीको नाममा पैसा पठाइदिने, पत्नी छोराछोरी पढाउन सहरबजारतिर सर्ने भएकाले परिवारबीच खटपट हुने कारण जिल्लामा सम्बन्ध विच्छेदका मुद्दा बढी भएको प्राध्यापक अधिकारीको भनाइ छ । वैदेशिक रोजगारीको कुरामा महिला भन्दा पुरूष धेरै पीडित भएको उहाँको भनाइ छ । पतिले विदेशमा गएर कमाएको पैसा पत्नीले मास्ने, पत्नीले कमाएको पैसा पतिले मासेका कारण पछिल्लो समयमा सम्बन्ध विच्छेदका मुद्दा बढी हुने गरेको प्राध्यापक अधिकारीको भनाइ छ ।

जिल्ला अदालत वार एशोसिएसन धनकुटाका अध्यक्ष हिमा बस्नेतले बाबुआमाको सम्बन्ध बिच्छेदले छोराछोरीमा प्रत्यक्ष रुपमा असर परेको र यसको प्रमुख कारण वैदेशिक रोजगारी रहेको बताउनु हुन्छ । पति वा पत्नी एक जना वैदेशिक रोजगारीको क्रममा विदेश गएका छन्, नेपालमा हुनेले अनैतिक सम्बन्ध बनाउने गरेका कारण सम्बन्ध विच्छेदका मुद्दा बढी भएको अध्यक्ष बस्नेतको भनाइ छ ।

अहिलेको अवस्थामा हेर्ने हो भने जम्मा मुद्दाहरु मध्ये ६० प्रतिशत मुद्दाचाँहि सम्बन्ध बिच्छेदको छ । जिल्लामा सम्बन्ध विच्छेदको घटनाको दर भने बढ्ने क्रममा नै रहेको र ‘सम्बन्ध विच्छेदका मुद्दाको मुख्य कारण बाल विवाह, वैदेशिक रोजगार रहेको जिल्ला अदालत धनकुटाका श्रेस्तेदार राजन बास्तोलाको भनाइ छ ।

जिल्ला अदालतमा चालू आर्थिक वर्षमा १ सय ७२ ओटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । ती मध्ये ८६ ओटा मिलापत्र, दुई ओटा फिर्ता, ३३ ओटा फैसला र ५१ ओटा बाँकी रहेका छन् । ‘सम्बन्ध विच्छेदका मुद्दाको प्रकृति हेर्दा बाल विवाह, वैदेशिक रोजगार मुख्य कारण देखिन्छ– श्रेस्तेदार बास्तोलाले भन्नुभयो । श्रेस्तेदार बास्तोलाका अनुसार ‘सानै उमेरमा विवाह गरे, पछि आफू बुझ्ने भएपछि समस्या आयो अनि सम्बन्ध विच्छेद गर्न आउने गरेका छन् । वैदेशिक रोजगारीले गर्दा पनि पति–पत्नी बीच वेमेल हुँदा सम्बन्ध विच्छेदसम्म मुद्दा पुगेको श्रेस्तेदार बास्तोलाको भनाइ छ । आमा–बाबुको सम्बन्ध विच्छेदले बालबालिकामा मनोवैज्ञानिक असर पारेको बाल मनोविज्ञ सुमना तिम्सिना बताउनु हुन्छ । उहाँका अनुसार बाबुआमाको सम्बन्ध विच्छेद भएका कारण बालबालिका बालबिज्याईमा समेत पर्ने गरेका छन् ।

- ईश्वर थापा