बालबालिकामा त्रास कायमै, अभिभावक चिन्तित

विमलकुमार अधिकारी

१३ भाद्र ०६२

गोल्टाकुरी-८ कमलखोलामा ०६२ साउन ७ गते दोहोरो भिडन्त हुँदा त्यहाँको जनजीवन सन्त्रासमय बन्यो नै,भिडन्तपछि बेवारिसे अवस्थामा छोडिएका बमका कारण के हुने हो भन्ने त्रासले गाउँलेहरूलाई अहिलेसम्म सताइरहेको छ । कतै बम विष्फोटनमा आफ्ना साना बालबालिका पर्ने हुन् कि भन्ने भयले स्थानीय बासिन्दा पीडित छन् ।

साउन ७ गते दिउँसो पौने दुई बजेतिर भएको उक्त भिडन्त करिब एक घण्टासम्म चलेको थियो । घटनास्थलमै छजना सुरक्षाकर्मी ढलेको गाई-बाख्रा चराउन गएका बालबालिकाहरूले प्रत्यक्ष देखेका थिए भने माओवादीले सातजना बालबालिकालाई आफ्नो नियन्त्रणमा लिएका थिए । सशस्त्र भिडन्तको प्रत्यक्षदर्शी बनेका बालबालिका त्यस दिनको घटना सम्झँदै टोलाइरहने गरेको अभिभावकहरू बताउँछन् । "त्यसदिनको घटना सम्झँदा अहिलेपनि आङ्ग जिरीङ्ग हुन्छ । खाना खान पनि मन लाग्दैन ।" भिडन्तकी प्रत्यक्षदर्शी तथा माओवादीले कब्जामा लिएर पछि छाडिएकी १२ वर्षीया मीना के.सी. भन्छिन् । भिडन्तकै बेलामा नजिकै बाख्रा चराइरहेका आठ वर्षीय गोविन्द के.सी. र १२ वर्षीया बालकुमारी वलिको बालमष्तिस्कमा चोट पुगेको छ । सुरक्षाकर्मीहरूका विभत्स लास देखेका बालबालिकाले त त्यसपछि दुई/तीन दिन सम्म खाना पनि नखाएको र राति सुतेको अवस्थामा त्रासले चिच्याउने गरेको अभिभावहरू बताउँछन् ।

अहिले पनि जङ्गलका झाडी, खोल्सा, कुनाकन्दराहरूमा सकेट बम र गोली तथा गोलीका खोकाहरू बेवारिसे अवस्थामा रहेका छन्। भिडन्त स्थलमा रहेको बम गएको साउन २३ गते एक्कासी विष्फोट भएको घटनापछि त स्थानीय बासिन्दामा त्रास झनै बढेको छ । ग्वाला गएका बालबालिका विष्फोटन भएको समयमा जंगलमै रहेका भए तापनि मानवीय क्षति भने हुन पाएन । उनीहरू विष्फोटनपछि आत्तिएर एकै सासमा घर पुगेका थिए । यस क्रममा १० वर्षीय निमबहादुर के.सी.को सातो गएको थियो ।

तर सधैं आफ्ना छोराछोरी उसरी नै बाँच्न सफल होलान् भन्नेमा स्थानीय बासिन्दाहरू आश्वस्त हुन सकेका छैनन् । बेवारिसे बम विष्फोटनको कारण कुनै दिन केही अप्रिय स्थितिको सामना गर्नुपर्ने पो हो कि भन्ने आशंकाले उनीहरूलाई सताउने गरेको छ । जङ्गलमा घाँस-दाउरा गर्न तथा ग्वाला जाने मानिसका अतिरिक्त पशु चौपायालाई पनि कसरी जोगाउने भन्ने समस्या थपिएको स्थानीय सञ्चारकर्मी देवीराम कसारी बताउँछन् ।

त्यस ठाउँमा रहेका केही बमहरू सुरक्षाकर्मीले हटाइदिएका भए पनि अझै थुप्रै बमहरू हटाउन बाँकी देखिन्छ ।"अबोध बालबालिकाले खेलौना सम्झेर त्यहाँ रहेका बमहरू खेलाए भने दुर्घटना हुन के बेर !" त्यस क्षेत्रका अभिभावक एकै स्वरमा गुनासो र पीडा एकैचोटी व्यक्त गर्दछन् ।

-