बादी समुदायको पीडा : गिट्टी नकुटे,बालुवा नचाले चुलोमा आगो बल्दैन्
पुस्तौँदेखि जग्गा, जमिन र खास थात थलो नभएका बादी समुदाय पुसको चिसोले हैरान भएका छन् । शारदा नदीको किनारमा गिट्टी कुट्ने र बालुवा चालेर होस् या मादल बनाउने र माछा मारेर जीविकोपार्जन गर्दै आएका बादी समुदाय किन नहुन्, सबैको पीडा चिसोबाट कसरी जोगिने भन्ने नै छ । हिउँद सुुरू भएपछि शारदा नदी किनार यति बेला बाक्लो हुस्सुुले भरिएको छ ।
नदी किनारमा स–साना बालुवा र गिट्टीका थुप्राहरू पनि छन् । ति थुप्राहरूमा बादी समुदायका आवश्यकताहरू थुप्रिएका छन् । यहाँका स्थानीयका दिन सधैँ शारदा नदि किनारमा हुस्सुुसँगै सुुरू हुन्छ । घाम नझुल्किँदै कुटो, हथौडा र ब्याल्चा बोकेर उहाँहरू नदी किनार पुुग्छन् । दिनभर बालुवा चाल्ने र गिट्टी कुटेमात्रै उहाँहरुको साँझ विहानको छाक टर्ने गर्दछ ।
शारदा नगरपालिका–१ शान्तिनगरकी निर्मला बादी उमेरले ३५ वर्षको हुनुभयो । विहे २०५९ सालमा गरेर शान्तिनगर आउनुभएकी उहाँको दैनिकी शारदा नदिको किनारबाट सुरु भयो । न त घर, न त जग्गा जमिन । हिउँदको चिसो होस या प्रचण्ड गर्मी या त झरी नै किन नहोस, दिनभर बालुवा र गिट्टी बनाउने उहाँको दैनिकी हो । बालुवा र गिट्टी बनाउदा नङ्ग्रा खिइएका र रक्ताम्य भएका हातका औला देखाउदैँ उहाँले भन्नुभयो ‘यती नगरे साँझ पेटभरी खान पुग्दैन् ।’ ‘सानो घर छ, रोजगारी केही छैन्, विहे गरेदेखी नै गिट्टी बालुवाको काम गर्न थालियो, पहिले जस्तो प्रशस्त बालुवा पाइदैन्, विच खोलाकै बालुवाको पनि खेतवालालाई भनेर कर तिर्नुपर्छ, यति काम नगरे खाने हुदैँन्’ उहाँले थप्नुभयो ‘खोलाको बालुवा र गिट्टीसँगको सामिप्यता कहिल्यै छुटेको छै्रन् ।’
शारदा नदिको किरारमा प्रशस्त बालुवा र गिट्टी छैन् । बर्खाको समयमा नदिले बगाएर ल्याएको बालुवा र गिट्टी उनीहरुले संकलन गर्छन् । दिनभर बालुवा र गिट्टी गर्दा पनि कमाइ भने राम्रो हुदैन् । एक ट्याक्टर बालुवा सङ्कलन गर्न चार दिन लाग्छ । दिनभर काम गर्दा पनि बालुवा र गिट्टीबाट दैनिक ५ सय रुपैँया सम्म कमाइ हुने टिका बादीले बताउनुभयो । ‘बाँच्नका लागि खानुपर्छ, खानका लागि गिट्टी बालुवा गर्नुपर्छ, यो हाम्रो दैनिकी नै भैक्यो, बालुवा तान्दातान्दै हातका नंग्रा खिइसके, चिसोका कारण औँला फुटेर रक्ताम्य भएका छन्, अरु कुनै पेशाव्यवसाय गर्न हातमा सिप छैन्, घर छैन्, पैसा छैन्’ उहाँले भन्नुभयो ‘गिट्टी बालुवा गरेको पैसा त खान लाउन नै ठिक्क हुन्छ ।’ गिट्टी बालुवाबाट कमाएको पैसाले नुन, तेल, चामल, दाल, तरकारी र लत्ताकपडा किन्ने गरेको उहाँको भनाइ छ ।
निर्मला र टिकाकै छिमेकी पुष्पा बादीको दैनिकी पनि त्यो भन्दा फरक छैन् । यस समुदायका गिट्टी कुट्ने नागरिकका आँखा कमजोर भैसकेका छन्, अनि बालुवा चाल्नेहरु ढाडका विरामी । नदिको चिसो सिरेटोले गर्दा हातखुट्टा सुनिने र जोर्नी दुख्ने समस्या पुष्पाको लागि सामान्य भैसक्यो । कयौँ पटक ननिदाएर नै रात काटेको उहाँको अनुभव छ । ‘गिट्टी बालुवा गर्दागर्दै म त बिरामी भैसके, आँखाको अप्रेशन गरिसके, तर पनि गिट्टी बालुवा नगरि सुखै छैन्’ उहाँले भन्नुभयो ‘चिसो मौसममा चिसै ढुङ्गामा बसेर गिट्टी कुट्ने र बालुवा चाल्ने काम गरिरहेका छौँ, हाम्रो दैनिकी जे–जस्तो भएपनि हाम्रा सन्ततिको भविष्य राम्रो होस भन्ने चाहाना छ ।’ च्याउ बनाउने सिप सिकेको भएपनि आवश्यक जग्गा नहुदा च्याउ बनाउनै नसकेको उहाँको भनाइ छ ।
मुख्यतः जिल्लाको शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा बादी समुदायको बसोबास छ । जिल्लाभर सात सय बढी बादी समुदायको जनसंख्या रहेको अनुमान छ । ती मध्ये शारदा नगरपालिका–१ शान्तिनगरमा मात्रै २० घरभन्दा बढी वादी समुदाय रहेका छन् । जसमा केहीको घर छैन्, घर भएकाहरुको पनि लालपुर्जा छैन् । आफ्नो निजी जमिन र सम्पत्ति नभएका बादी समुदायका नागरिक जीवननिर्वाह र आधारभूत आवश्यकता पूरा गर्नका लागि अहिले सङ्घर्षमा रहेका छन् । गिट्टी कुट्ने, बालुवा चाल्ने, माछा मार्ने र मादल बनाउने काम गर्दै आएको यस समुदाय अहिले जीवन जिउने नयाँ रणनीति बनाउन अनेक उपायको खोजीमा छ । सरकारले घर विहिनका लागि घर, लालपुर्जा विहिनका लागि लालपुर्जा, आय आर्जन गर्न र जीवन जिउने गतिलो उपायसहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरिदिनुपर्ने बादी समुदायको माग छ ।
- बुद्धिमान पुन
सम्बन्धित फिचरहरू
परिपूरणमा स्थानीय सरकारः निःशुल्क स्वास्थ्य बिमा गर्न द्वन्द्वपीडितहरूको माग
जवान छोरा इन्द्रबहादुरलाई २०६० चैत २५ गते सेनाले मारिदिएपछि त्यसै त पीर चिन्ताले गलेका ८० वर्षीय विन्तीराम चौधरी दमले ग्रस्त हुनुहुन्छ । उमेर ढल्कीदै जाँदा सानातिना दुख बिमारले पनि सताइरहन्छन्…
द्वन्द्वपीडित भन्छन् - न्याय पाइएला भन्ने ढुक्क त छैन, तर आशावादी छु !
बुटवल उपमहानगरपालिका–१०, कालिकानगरकी कलावती केसी ५५ वर्षकी हुनुभयो । १४ वर्षको कलिलो उमेरमा कलावतीको विवाह बुटवल उपमहानगरपालिका सूर्यबहादुर केसीसँग भएको थियो । छोरा नजन्मिएपछि जेठी छोरीको विवाह गरेमा छोरा जन्मन्छ…
बेपत्ता पारिएका व्यक्तिको परिवारले भन्नुभयो – हारहड्डी पाए किरिया गर्थेँ !
विवाह गरेको वर्षौँ बित्यो । सन्तान भएनन् । छोरी, छोरा नभए पनि एकले अर्कालाई जोरा त छ नी, भन्दै प्रेमपूर्ण जीवन बिताइरहेका थिए । रोल्पा राङकोट स्थायी घर, तर दाङको…
पुनर्स्थापनाको अभावमा कष्टकर जीवन बाँच्न बाध्य आरक्षपीडित ! (फोटो फिचर)
२०५८ सालमा विस्थापित गरिएका आरक्षपीडितहरुको पुनर्स्थापना नगरिएका कारण खुला आकाशमुनि कष्टकर जीवन जिउन बाध्य भएका छन् । वन्यजन्तुको संरक्षणका लागि २३ वर्ष अगाडि सरकारले तत्कालीन शाही शुक्लाफाँटा आरक्षको क्षेत्र विस्तार…
द्वन्द्वपीडित भन्छन्, 'छाना नभएको घरजस्तै भो हाम्रो जीन्दगी'
बुटवल उपमहानगरपालिका-१० की सरस्वती श्रेष्ठ अहिले ५५ वर्षकी हुनुभयो । मध्यम परिवारमा जन्मेकी सरस्वतीको विवाह नवलपरासी जिल्लाको तत्कालीन रामनगर गाविसका कृष्णकुमार श्रेष्ठसँग भएको थियो । विवाह गरेपछि कृष्ण पत्नी, एक…