बाढी घट्ने आशामै नागरिकको बित्छ सास !

उदयपुर । ०७८ भदाै २७ गते

२०७८ भदौको महिना । त्रियुगा नगरपालिका–८ का १४ वर्षीय निशान्त चौधरी खेतबाट बुबा भन्दा अघिअघि कुद्दै घर आउँदै थिए । आकाश गड्याङ्गुडुङ् गर्दै थियो । भदौ १६ गतेको त्यो साँझ । त्यहि बेला आकाश गर्जियो । चट्याङ निशान्तको हात र पिठ्यूँमा पर्‍यो । निशान्तका बुबा कुद्दै निशान्त भए ठाउँ आए । हत्तपत्त एम्बुलेन्सलाई फोन गरे । तर, एम्बुलेन्स निशान्तलाई लिन आउन नआइपुग्दै खोला बढेर आयो । खोलामा पुल नभएकाले एम्बुलेन्स निशान्तको घरसम्म आइपुग्नै सकेन । घटनास्थलबाट जिल्ला अस्पताल सात किलोमिटरको दुरी मात्रै टाढा थियो । तर, लगातारको वर्षाले त्रियुगा नगरपालिका–८ र ९ को सिमानाबाट बग्ने सरस्वती खोला तर्न सक्ने अवस्थै थिएन । झण्डै दुई घण्टापछि खोलामा पानि अलि कम भयो । रातको ८ बजे निशान्तलाई बोकेरै खोला तारेर अस्पताल पुर्‍याइयो । अस्पतालले उनलाई मृत घोषाणा गरिदियो ।

अहिले निशान्तकी आमा पञ्चावतीलाई खोलामा पुल भइदिएको भए मेरो छोराको ज्यान बचाउन सकिन्थ्यो भन्ने मात्रै लागिरहन्छ । पञ्चावतीलाई यतिबेला मात्रै त्यस्तो लागेको होइन । गएको साउन १ गते उनकी २१ वर्षीया बुहारी ठाकेश्वरी चौधरीलाई सुत्केरी व्यथाले च्याप्यो । जेठा छोरा सन्देशले बुहारीलाई अस्पताल लैजानका लागि एम्बुलेन्सलाई फोन गरे । तर, वर्षाको समय पानी परेर खोला ठुलो भएकोले एम्बुलेन्स तर्नका लागि बाटो नै थिएन । पानीको बहाब कम भएपछि प्रसव व्यथाले च्यापेको चार घण्टापछि उनलाई जिल्ला अस्पताल पुर्‍याइयो । त्यतिबेला उनलाई लागेको थियो यो खोलामा पुल नभएर मेरो बुहारी र बच्चाको ज्यान लाने भयो । ‘धन्न त्यो दिन हाम्रो भाग्य बलियो थियो ।’–पञ्चावतीले भनिन् ।

स्वास्थ्य उपचार समयमा नपाएर ज्यान गुमाउने निशान्त मात्रै होइन ४५ वर्षीय हिरालाल विश्वकर्माले पनि गएको जेठ १९ गते अस्पताल नै नपुगी ज्यान गुमाए । मिर्गौला रोगी हिरालाल २०७६ असोजदेखि नियमित डायलोसिस गराइरहेका थिए । २०७८ जेठ १९ को दिउँसो हिरालालको गोडा एक्कासी सुन्नियो । उनी घरबाट हप्तामा दुई पटक डायलोसिसको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ओहोरदोहोर गर्ने गर्थे । त्यो दिन दिउँसो बाटै उनको गोडा सुन्निन थालेको थियो । साँझ पर्दै जाँदा उनलाई सास फेर्नै गाह्रो भयो । जिउ सुन्निएर आयो । अस्पताल लैजानका पत्नी बबिता एम्बुलेन्सलाई फोन गरिन् । तर, सरस्वती खोलामा आएको बाढीले एम्बुलेन्स तरेर उनको घरसम्म आउन सकेन । खोलामा आएको बाढी अलि कम भएपछि उनलाई राति साढे ११ बजे घरबाट बोकेरै एम्बुलेन्स रोकिएको ठाउँसम्म लगियो । तर, एम्बुलेन्सले अस्पताल नपुर्‍याउँदै हिरालालले प्राण त्यागे । हिरालाल कि पत्नी बबितालाई अहिले पनि लाग्छ, त्यो साँझ त्यति बेस्सरी पानि नपरिदिएको भए वा खोलामा पुल भइदिएको भए पतिले समयमै उपचार नपाएर ज्यान गुमाउनु पर्ने थिएन ।

सदरमुकाम गाईघाटबाट सात किलोमिटर मात्रै टाढा पर्ने यो गाउँमा वर्षौँदेखि पुल छैन । ‘वर्षैपिच्छे कहिले खोलाले मान्छे बगाउँछ । कहिले बिरामीको उपचार गर्न लैजानै मुस्किल हुन्छ ।’–स्थानीय पत्रकार दुर्गानन्द चौधरीले भने । दुर्गानन्दले गएको साउन ९ गतेको घटना सम्झँदै भने–‘गाउँमा ६५ वर्षीय महिकर चौधरीको हत्या भयो । त्यो रात त्यस्तै पानी परेको थियो । हामीले बिहान थाहा पाएर हत्या आरोपमा त्रियुगा नगरपालिका–१३ पोर्ताहका मेमोरी भनिने ४५ वर्षीय किसान सदालाई समातेर प्रहरीलाई बुझायौँ ।’ प्रहरी आउनै सकेन । बिहान ५ बजे प्रहरीलाई खबर गरेपनि भारी वर्षाले खोला तर्न सक्ने अवस्थै थिएन । इलाका प्रहरी कार्यलय चहाडेबाट प्रहरी भित्रिबाट भएर हिँड्दै त गयो तर शव लग्ने बेलामा गाडी चाहिने नै भयो । त्यहि शव पोष्टमार्टमका लागि लैजान हामीले दिउँसो ४ बजे मात्रै खोलामा पानि घटेपछि प्लास्टिकमा प्याक गरेर तार्‍यौँ ।

उदयपुर सदरमुकाम गाईघाटबाट सात किलोमिटरको दुरीमा उत्तराइटोल गाउँ छ । तर, वर्षौँदेखि त्रियुगा नगरपालिकाको वडा नम्बर ८ र ९ को बिचमा रहेको सरस्वती खोलामा पुल नबन्दा उत्तराइटोलबासीहरू वर्षात्का बेला स्वास्थ्य उपचार गर्न पनि नजिक भएर निकै टाढा र बिकट भएको महसुस् गर्छन् । स्थानीय रामवति चौधरी भन्छिन्–‘चुनाव आएपिच्छे नेताहरू पुल बनाइदिन्छौँ भन्ने आश्वसन दिन्छन् । हामी मत दिन्छौँ । उनीहरू आफ्नो आश्वसन नै पुरा गर्दैनन् ।” स्थानीय हरिदेव चौधरी भन्छन्–‘अरु बेलाको दुःख त हामीले जसो तसो टार्दै आएका छौँ । बिरामी परेका बेला त सदरमुकाम छेउमै रहेर अस्पतालको मुखै नै नहेरी मर्छौँ कि क्या हो ?’ पानी पर्न थालेपछि हामी सबै एउटै कामना गर्छौँ कोही बिरामी नपरुन् । कसैलाई केही आपत् नपरोस् ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी पुल निर्माणका लागि भनेर अर्थिक वर्ष २०७५/०७६ मा डिपिआर सम्पन्न गरिसकेको बताउँछन् । ‘२०७६/०७७ मा पुल निर्माणका लागि १ करोड रुपियाँ विनियोजन पनि भएको थियो तर कोभिड महामारीका कारण हामीले पुलका लागि छुट्याएको बजेट कोभिड नियन्त्रण तथा न्यूनीकरणका लागि खर्च गर्नु पर्‍यो । आर्थिक वर्ष ०७८/०७९ मा पनि हामीले रकम छुट्याएका छौँ । छिटै टेण्डर आह्वान गरेर पुल निर्माणको काम अगाडि बढाउछौँ ।’–प्रमुख चौधरीले भने । झण्डै २ सय परिवारको उत्तराईटोलमा थारु समुदायको बाहुल्यता छ । वर्षात्का बेला सामन्य उपचारका लागि प्राथमिक स्वास्थ्य चौकीसमेत नजिकै नहुँदा र उपचारका लागि अस्पताल पुग्न नसक्दा वर्षेनि यस टोलमा दुईतीन जनाले अकालमा ज्यान गुमाउनु परेको स्थानीय पत्रकार दुर्गानन्द चौधरीले बताउनु भयो ।

-  सुजाता ढुङ्गाना