बाँदरमुढे घटनाः बित्दो समय, बढ्दो पीडा

‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी' बुढापाकाको उखान पुकार्दै आफ्ना पहिलेका दिन सम्झिछिन उनी । फुर्तिलो शरीर लिएर घाम पानी नभनी खेतबारी, वनजंगल चर्हाथिन् । खेतीपाती,घाँसपात र वस्तुभाउको स्याहार सुसारमा समय कटाउँथिन् । बाँकी समयमा घर लिपपोत गरी चिटिक्क बनाउनु उनको दिन चर्या थियो । यसरी नै उनले परिवारमा जिम्मेवारी पुरा गरेकी थिइन् । त्यसैले त आजभन्दा आठ बर्षअगाडिसम्म छोरा बुहारी अनि सबै सबैको प्यारी थिइन् उनी । खुशी सङ्गाला जती समय लाग्छ, छिन्न छिनभर लाग्दैन् भनेजस्तै खुशीका दिनलाई पछार्दै/लछार्दै धनकुमारीको जीवनमा कालो दिन बन्न पुग्यो ०६२ जेठ २३ । त्यस दिन उनी श्रीमान्सँग भरतपुर जानको लागि अयोध्यापुरीबाट बस चढेकी थिईन् । त्यस घटनाले उनको जिवनलाई अर्कै मोडमा पुर्‍याईदियो । त्यो एक छेडले गर्दा बाटो मोड्यो उनको जीवनचर्याले । त्यसैले त उनी आज एक्लीएकी छिन् ।

 

६ वर्ष त उनको विस्ताराको बास भयो । कसले कहाँबाट के दिन्छ र खाउला भन्दैमा आँशुका भेलमा बिते उनका ती दिन अनि रातहरू । अहिले भने बैशाखीको सहारामा घरभित्र र बाहिरसम्म गर्न सक्ने भएकी छिन् उनी । त्यस घटनाले गर्दा एक खुट्टा तीन ठाउँमा र हात पनि भाच्चिए, गर्धन र ढाडमा नराम्रो चोट लाग्यो । त्यही चोटको पीडाले उनलाई अहिले पनि सताउँछ । तीन वा छ महिनाको फरकमा जचाउँन भरतपुर गईरहन्छिन् उनी । सम्झिन्छिन् पहिले घाँस दाउरा गरेका दिन अनि उनकै हातले रातो माटोले पोतीएको घर । रहर लाग्छ पहिले झै तर सक्दिन उनले लामो सुस्केरा तान्दै भनिन्-'नसकेपछि के लाग्दो रहेछ र ?'घाईतेहरूको लिष्टमा आफ्नो पुरा नाम नहुँदा र उपचारको राहत रकम नपाउँदा उनलाई थप पीडा परेको थियो । धेरै सङ्घर्ष र ताकेता गर्दा गएको वर्षमात्रै घाईतेको सुचीमा उनको नाम सच्याईएको थियो । र उनले राहत रकम पाईन् । घाईते हुँदा लागेको उपचार खर्चको आधा रकम पनि राज्यले दिएको राहत रकमले धानेन ।

 

Photo20130718Chitwanअहिले नियमित जसो गरिराख्नु पर्ने उपचार खर्च जुटाउन उनलाई निकै गाहृ्ो पर्छ । उनको अस्पताले यात्रा अझै सकिएको छैन। छोराहरू सबै भिन्न बसेका छन् । घरमा बुढाबुढी दुई नातिनीको भरमा बसेका छन् । 'बाउआमालाई पाल्न धेरै खर्च लाउँछ भनेर छोराहरू पनि भिन्न भए' ओछ्यानबाटै आफ्ना पीडा सुनाउँदै धनकुमारी भन्छिन्-'बरु मरेकै भए त यस्तो दुःख ता हुन्थेन' । उनका पति भवेश्वर पनि घाइते हुन् । उनी घटनामा परी घाइते भएको प्रत्यक्षदर्शी हुँदा र घाइते हो भन्ने थाहा हुँदाहुँदै पनि प्रमाण माग्छन् । के प्रमाण कसरी मैले जुटाउने ? उनी प्रति प्रश्न गर्छन् ।

 

अयोध्यापुरीको बगइबाट २०६२ जेठ २३ गते बिहानै माडी क्षेत्रको बनकट्टाका लागि प्रस्थान गरेको ना.१ख.३२४५ नम्बरको यात्रुबाहक बस कल्याणपुर गाविस ४ र १ को सिमानामा पर्ने बाँदरमुढे खोलामा प्रवेश गर्ने बित्तिकै विद्युतीय धरापमा परी विस्फोट भयो । विस्फोटनमा ३२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । यसबाहेक उपचारका क्रममा सात जनाको मृत्यु भयो । सोही घटनामा गम्भीर घाइते भएका ४० जना भन्दा बढीमा अयोध्यापुरी गाविस-७ देवेन्द्रपुरकी ६० वर्षीया धनकुमारी पौडैल पनि एक थिइन् । मानसीक पीडा एकातिर त शारीरिक अपाङ्गाता र बल्जिदो पीडाले उनलाई अझै सताइरहेको छ । सो घटनाका घाइते तथा मृतक परिवारले न राहत पाए नत न्यायको सास फेर्न सके । सरकारले राहतस्वरूप प्रति मृतकका परिवारलाई ३ लाख रुपियाँ मात्र दिएको छ । १८ जना घाईतेले मात्र ४० हजारका दरले राहत(उपचार खर्च) पाएका भने अन्य घाइतेहरूले हालसम्म केही पनि प्राप्त गरेका छैनन् ।

 

धनकुमारी जस्तै सबै पीडित तथा घाईतेको पीडा उस्तै छ । घटनामा आफ्नो परिवारका छ जना सदस्य गुमाएका ७१ वर्षीय नवप्रसाद घिमिरेको पीडा अन्तरिम राहतमा हैन न्यायको मलमले मात्र विसेक हुने देखिन्छ । परिवारको पीडाले बिमार परि ओछ्यानमा परेका छन् उनी । उनी बैशाखीको सहारामा हिँड्छन् । जीवनमा आफुलाई जस्तो घटना कसैलाई नपरोस भन्दै दिनहुँ भगवान पुकार्दछन् । न्याय नभएको देशमा बाँच्न असहज भयो । घिमिरे भन्छन् -'मेरो घाउ सहन नसक्ने छ । कसले देख्छ ?' त्यस घटनामा उनको छोरी, ज्वाँइ, दुई नातिनी, साली र ३४ वर्षीय साइलो छोराले सदाका लागी संसार छाडेका थिए । घटना पश्चात पीडाले घिमिरे बिरामी परे । १६ वर्षीय टुहुरो नातीको मुख हेरेर दिन काटीरहेका छन् उनी । प्रचण्डको झुटा आश्वासनले घटना पुनः दोहोरिएकोले आफु दुखी भएको ओछ्यानमा परेका बृद्धले पीडा पोखे । 'फटाहको मुलुक रहेछ नेपाल ।' लामो सुस्केरा तान्दै घिमिरे भन्छन्-'माओवादीले कुकुर मारेको चाल बनाए ।'

 

शान्ति सम्झौतापछि विभिन्न ब्यक्तिहरूको नेतृत्वमा बनेको सरकारले पीडित र पीडितका परिवारलाई आर्थिक राहत स्वरुप एक करोड भन्दा बढी खर्च गरिसकेको छ । तर सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिने प्रक्रिया हालसम्म सुरु हुन सकेको छैन् । यसै क्रममा २०६९ फागुन १७ गते माडीमा पाइला टेकेका पूर्व प्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पीडितलाई ६० लाखको प्याकेज राहत दिने घोषणा गरे । यसलाई बाँदरमुढे पीडित सङ्घर्ष समितिमा अध्यक्ष लेखनाथ(कृष्णप्रसाद) अधिकारी न्यायलाई पैसाले किन्न खोजेको रुपमा हेर्छन् । शान्ति सम्झौतामा ६ महिनाभित्र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी पीडितलाई न्याय दिनुपर्ने उल्लेख गरिएकोमा साडे ६ वर्षबितिसक्दा पनि पैसा छरलेर दाहालले पीडितको आखाँमा छारो हाल्न खोजेकोमा उनी झन् पीडित छन् । बाँदरमूढे घाइते तथा पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्योपानेले भने-'माओवादीले दुई पटक सत्ताको नेतृत्व गर्दा पनि न्याय दिन सकेन ।'पीडितको भविष्यको सुनिश्चित गरी दोषीलाई कानुनी कारवाही गरेमा मात्र न्यायोचित हुने तर न्यायलाई पैसामा दाज्न नहुने तर्क न्यौपानेको छ । सशस्त्र द्धन्द्धबाट आएको माओवादी नै दुई पटक सरकारमा पुगिसक्यो तर आफ्नै कुकार्यले निम्त्याएको समस्या समाधानमा समेत उदासिन देखियो । न त माओवादीले नै पीडितहरूको पीडालाई सम्बोधन गर्ने काम गर्‍र्यो । न त अन्य राजनीतिक दलले नै । सरकारी वेवास्ताले घटनाको पीडितहरूको जीवन थप कष्टकर बनेको छ ।

 

विस्तृत शान्ति सम्झौता पछि न्यायको आशमा रहेका सङ्घर्ष समितिमा अध्यक्ष लेखनाथ(कृष्णप्रसाद) आठ वर्षबितिसक्दा पनि अझै सङ्घर्षमा नै दिनहरू बिताइरेका छन् । एकातिर त्यस दिनको घटनाको पीडा छ भने अर्कोतिर न्यायका लागि आवाज उठाइरहँदाको पीडा बेग्लै छ । त्यस दिन उनी शारीरिक पीडामा थिए । त्यसको चिनो उनलाई अहिले राम्रोसँग बस्न पनि गाह्रो हुन्छ । शारिरीक अपाङ्गतालाई छोडेर न्यायको लागि हिडेको आठ वर्षपुरा हुँदा पनि पीडाको घाउमा मलम पट्टि लाग्न सकेको छैन ।

 

आज पनि अधिकारी भन्छन् -'प्रचण्डले पैसा छरलेर दोषीलाई लुकाई पीडितलाई अन्याय गर्न खोजेका हुन् ।' जबसम्म दोषीलाई कानुनी कारवाही हुँदैन तवसम्म आफुहरू सङ्घर्ष गरिरहने उनको अठोट मरेको छैन् । केही पैसा छर्लेर पीडितको घाउमा मलम नलगाइने बताउँदै मृतकको आत्माको शान्ति र घाइते तथा पीडित परिवारको न्यायका लागी दोषीलाई कानुनी कठघारमा ल्याउनै पर्नेमा अधिकारीको जोड छ । झुटा आश्वासन दिएर पटक/पटक बम प्रहार गरेको प्रति उनी दुखित छन् । सोही घटनाकी पीडित ४० वर्षीया विष्णुमाया विकको पीडा पनि कम छैन । उनी भन्छिन् "दीगो शान्तिको कुरा गर्नेले पीडितलाई आफ्नो अघिपछि राखिराख्ने दाउले अहिलेसम्म कहिले के ? कहिले के ? भनेर घुमाइरहेका छन् । यसले आक्रोसको ज्वाला बल्दैछ, दिगो शान्तिको होइन ।"

 

सावित्री सापकोटा

-