बर्खामा बर्षाको पानी जोहो गरेमात्र, हिउँदमा खानेपानी

धनकुटा । ०७८ पुस २१ गते

धनकुटाको सागुरीगढी गाउँपालिका–५ ध्वजेडाँडाका ४८ वर्षीय दुर्गाबहादुर तामाङ्ग प्रत्येक बर्खामा परेको पानी आफूसँग भएका ड्रम, घैंटो र बोतलमा भरेर राख्नुहुन्छ ।

डाडाँबजारको सिमानामा रहेका मोरङको केराबारी गाउँपालिका–१ थामडाँडाकी ४५ वर्षीया पवित्रा राईको आँगन भरी पानी भरिएका प्लाष्टिकका बोतल छन् । प्रत्येक वर्ष बर्खामा पानी जोहो गरेर हिउँदमा खानेपानीको व्यवस्था गर्नु धनकुटाको साँगुरीगढी गाँउपालिका–५ ध्वजेडाँडा,लुम्फाजुङ र मोरङको केराबारी गाउँपालिका–१ पाटीगाउँको थामडाँडाका स्थानीयको बाध्यता हो ।

साँगुरीगढी गाउँपालिका–५ ध्वजेडाँडा, लुम्फाजुङ र मोरङ केराबारी गाउँपालिका–१ पाटीगाउँको थामडाँडाका ३५ घर स्थानीयले यसरी नै बर्खाको पानी जम्मा गरी हिउँदमा खानेपानीको सङ्कट टार्दै आउनु परेको छ । हिउँदमा पानीको सङ्कट टार्न वर्षात् देखि नै ड्रम, घैंटो र बोतलमा पानी भरेर राख्नु ध्वजेडाँडा,लुम्फाजुङ र थामडाँडाको स्थानीयको रहर होइन बाध्यता हो ।

ध्वजेडाँडा, लुम्फाजुङ र थामडाँडाका स्थानीयले विगत १० वर्षदेखि खानेपानीको चरम समस्या भोग्दै आउनु परेको छ । पानीको ठूलो मुहान नहुँदा यहाँका ३५ घरधुरीलाई खानेपानीको जोहो गर्न बर्खामा आकासेपानीको भर र हिउँदमा ड्रम, घैंटो र बोतलमा भरेर राखेको पानीको भर पर्नु परेको छ ।

साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारकी ४८ वर्षीया मीनाकुमारी तामाङले बोतलमा भरेको पानीका हिउँदमा खानेपानीको सङ्कट टार्दै आएको एक दशक भएको छ । हिउँद लाग्यो कि खानेपानीको हाहाकार सुरू मीनाकुमारी तामाङको भनाइ छ ।

वि.स. ०४६ सालबाट सञ्चालित कुहिरोबाट पानी सङ्कलन गर्ने परियोजना बन्द भएपछि र नजिकैका स–साना जरूवा मुहान सुक्नाले यो ठाउँका स्थानीयले खानेपानीको सङ्कट सामना गर्नु परिरहेको छ ।

लामो समयसम्म बर्खामा पानी नपर्दा वा हिउँदलाई पानी जम्मा गरेर नराख्दा एकतर्फी पाँच घण्टा पैदल हिँडेर पानी लिन जानुपर्ने बाध्यता स्थानीयलाई छ । ‘पानी अभावका कारण अड्कलेर खानुपर्छ,’ मीनाकुमारीले भन्नुभयो, ‘खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा परेका छन् ।’

डाँडामा बस्ती भएकोले दशकदेखि खानेपानी समस्या झेल्दै आएको केराबारी गाउँपालिका–१ की कमला राईले गुनासो गर्नु भयो । वर्षायाम बाहेक अन्य समयमा खानेपानीको जोहो गर्न सास्ती भोग्दै आएको उहाँको भनाइ छ । ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौं,’ उहाँले भन्नुभयो, ‘अरू समय सधैं पानीको पिरलो हुन्छ ।’ पानी अभावका कारण पशुपालन गर्न पनि समस्या भएको उहाँको भनाइ छ । ‘वर्षातको समयमा सुकेका मूल जाग्छन् र टाढा जानु पर्दैन,’ उहाँले भन्नुभयो, ‘मङ्सिर लाग्नेबित्तिकै पानीको हाहाकार हुन्छ ।’

पानी अभावका कारण बालबालिकाको पढाइ पनि प्रभावित भएको मीनाकुमारी तामाङको भनाइ छ । बस्तीमा निर्वाचनको समयमा पुग्ने नेताहरूले खानेपानीको समस्या तत्काल पूरा गर्छौं भन्ने गरेपनि जितेपछि फर्केर नआउने गरेको स्थानीयको गुनासो छ ।

जनप्रतिनिधि आएपछि समस्याको समाधान होला भन्ने आशा गरेको भएपनि हालसम्म मौखिक रूपमा ०७५ सालयता हरेक महिना जसो कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको मीनाकुमारी तामाङको गुनासो छ ।

खानेपानी समस्याकै कारण धनकुटाको ध्वजेडाँडा, लुम्फाजुङ र मोरङ पाटीगाउँ, थामडाँडाका स्थानीय बसाइँ सर्ने अवस्थामा पुगेको स्थानीयको भनाए छ ।

साँगुरीगढी गाउँपालिका–५ का वडाध्यक्ष पलकबहादुर बस्नेतले डाँडामा बस्ती भएकाले सानोतिनो बजेटले योजना सञ्चालन गर्न समस्या भएको बताउनु भयो । ‘स्थानीय तहको बजेटले लिफ्ट खानेपानी सञ्चालन गर्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘प्रदेश र सङ्घीय सरकारलाई यहाँको समस्या पटकपटक अवगत गराए पनि बेवास्ता भइरहेको छ ।’

साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजङ्ग याखाले बजेटकै समस्याका कारण यी ठाउँमा लामो समयदेखि खानेपानीका लागि विभिन्न सास्ती भोग्न बाध्य भएको बताउनु भयो । उहाँका अनुसार ध्वजेडाँडामा खानेपानी पु¥याउन कम्तीमा ५ करोड रुपियाँको लिफ्ट खानेपानी योजना सञ्चालन गर्न आवश्यक छ । ‘खानेपानी योजना सञ्चालनका लागि पटकपटक सर्भे गरियो, माथिल्ला तहका सरकारमा पटकपटक अनुरोध गरियो,’ उहाँले भन्नुभयो, ‘अब त यो समस्या समाधान हाम्रो काबुमै छैन।’

संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सो हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुनेछ भनी उल्लेख गरिएको छ ।

तर,धनकुटाको ध्वजेडाँडा,लुम्फाजुङ र मोरङको पाटीगाउँ, थामडाँडाका स्थानीयले मौलिक हकमा उल्लेख गरे झैँ आफ्नो अधिकार उपभोग गर्न पाएका छैनन् ।

Photo 20220105 Dhankuta (2)

Photo 20220105 Dhankuta (1)

  Photo 20220105 Dhankuta (3)

- ईश्वर थापा