बढ्दै छन्, सम्बन्ध विच्छेदका मुद्दा: कारण वैदेशिक रोजगारी

इलाम । ०७८ माघ २६ गते

सन्दकपुर गाउँपालिका–५ की हरिमाया काफ्लेले ०६८ सालमा प्रेम गरी बालविवाह गर्नु भयो । उहाँ अहिले २४ वर्षकी ह'नुहुन्छ । तर, सोचे अनुसार परिवार चल्न नसकेपछि उहाँ अहिले जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दाको फैसला कुरेर सात वर्षीय छोरा र सात वर्षीया छोरी जुम्ल्याहा सन्तानसँग अलग्ग बसिरहनु भएको छ । तीन सन्तानकी आमा हरिमायाका जेठा छोरा भने बाबुसँगै बस्दैछन् ।

बालविवाह गर्नु भएकी हरिमायालाई पतिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारिरीक यातना दिएका कारण उहाँले पतिसँग सम्बन्ध विच्छेदका लागि ०७७ फागनुमा जिल्ला अदालतमा दर्ता गरेको मुद्दाको पखाईमा हुनुहुन्छ । पतिले ‘न त बाहिर काम गर्न जान दिन्छ, न त बेलुका खाने कुरा ल्याउँछ, नानीहरू भोकले रून थालेपछि म माथि कुटपिट गर्न थाल्छ । पीडा सहन नसकेपछि दुई छोराछोरी लिएर बस्दैछु, ठूलो छोरो उस्कै बाबुसँग बस्दैछ ।’ हरिमायाले इन्सेक प्रतिनिधिसँग भन्नुभयो । हरिमायाले भन्नुभयो ‘सानैमा नजानेर विवाह गरियो, अब दुःख पाएपछि उ सँग बस्न सक्ने अवस्था छैन, सम्बन्ध विच्छेद गर्ने प्रक्रियामा छु ।’

माइजोगमाई गाउँपालिका–२८ वर्षीया सीतादेवी न्यौपाने आफ्नो घर छोडेर माइती घरमा बस्दै आउनु भएको छ । चार वर्षीय एक छोरालाई साथै लिएर माइती घरमा सीतादेवी ०७६ देखि बस्नु परेको छ ।

पति विदेश गएको वर्ष दिन बित्न नपाउँदै घरमा सासु र आमाजुले फरक व्यवहार गरेपछि घर छोडेर माइतमै बस्ने बाध्यता भएको सीतादेवीले बताउनु भयो । उहाँले भन्नुभयो ‘शुरूको ६ महिनासम्म त पतिले विदेशबाट पैसा मलाइ नै पठाए, क्रमशः पैसा आमाजुको नाममा पठाउन थालेपछि मात्र मलाई नराम्रो व्यवहार गरेको भन्ने थाह भयो ।’

सदरमुकाम आइ पूग्नु भएकी सीतादेवीले इन्सेक प्रतिनिधिसँग भन्नुभयो ‘घरमा अर्कैसँग आँखा लगाउने, खानै नदिने जस्ता व्यवहार हुन थालेपछि छोरालाई लिएर माइती आएं । पतिले फोन पनि गर्दैनन्, मैले गरेको उठाउँदैनन्, पत्नी र छोराको विषयमा खोज खबर नै छैन ।’पतिबाट पनि खोज खबर नभएर एक्लिए पछि सम्बन्ध विच्छेद गर्ने ठाउँमा आइपुगेको सीतादेवीको भनाइ छ ।

१८ वर्षको उमेरमा हिन्दु परम्परा अनुसार घर परिवारको सहमतिमा ०६८ सालमा बैवाहिक जीवन सुरूआत गर्नु भएकी माई नगरपालिका–६ कि २८ वर्षीया शोभा तिम्सिनाले ०७८ पुुस २० गते सम्बन्ध बिच्छेदको लागि जिल्ला अदालतमा मुद्दा  गर्ता गराउनु भएको छ । जिल्ला अदालत परिसरमा भेटिनु भएकी शोभाले पतिले दिनहँु जसो शारीरिक यातना दिने, कुटपिट गर्ने भएकाले पतिबाट अलग भएर माइती घरमा बस्दै आएको बताउनु भयो ।

शोभाले भन्नुभयो–रात दिन झगडा हुन्छ, अब म तलाइ पाल्न सक्दिन त आफ्नो बाटो लाग, म मेरो बाटो लाग्छु । पतिको व्यवहार र वचन खप्न नसकेपछि सम्बन्ध विच्छेदको निर्णयमा पुगेँ । पतिको अमानवीय व्यवहार सम्झदै शोभाले भन्नुभयो–एक पटक त घर सल्लाहअनुसार माइतीमा बाबु बिरामी हुनुहुन्थ्यो, बिरामी हेर्न गएको अवस्थामा माइतीघरमा आएर मलाई कुटपिट गर्नु भयो, त्यसपछि मलाई घरबाट निकाल्नु भयो ।

पतिले घरबाट निकालेपछिको दिन सम्झदै शोभाले भन्नुभयो–मैले छोरा पढाउनका लागि  स्कूलको क्यान्टिनमा भाडा माझेर पढाए, लकडाउनको समयमा सुपारी काटेर छोरालाई हेरचाह गर्नु पर्यो । अहिले छोरा साथमा नभएको एक वर्ष जति भयो, छोरालाई पनि म बिरामी भएको बेला थाहै नदिई म बाट छुटाएर लगे, छोरासँग नबोलेको एक बर्ष भयो ।

हरिमाया, सीतादेवी र शोभा सम्बन्ध विच्छेद गर्ने प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । जिल्ला अदालतमा चालू आर्थिक वर्षमा सबै भन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका लागि छन् ।

महेन्द्र रत्नबहुमुखी क्याम्पस इलाम समाजशास्त्रका प्राध्यापक सन्तोष पराजुलीका अनुसार वैवाहिक सम्बन्ध एउटा सांस्कृतिक ,सामाजिक मूल्य र मान्यता हो । पतिपत्नीबीचमा विभिन्न कारणहरूले असमझदारी भएको अवस्थामा सम्बन्ध बिच्छेद हुने गरेको पाइन्छ ।

विशेष  गरेर वैदेशिक रोजगारीका कारण पति वैदेशिक रोजगारीमा जाने पत्नीको नाममा पैसा पठाइदिने, पत्नी छोराछोरी पढाउन सहरबजारतिर सर्ने भएकाले परिवारबीच खटपट हुने कारण जिल्लामा सम्बन्ध विच्छेदका मुद्दा बढी भएको प्राध्यापक पराजुलीको भनाइ छ ।

वैदेशिक रोजगारीको कुरामा महिला भन्दा पुरूष धेरै पीडित भएको प्राध्यापक को भनाइ छ । पतिले विदेशमा गएर कमाएको पैसा पत्नीले मास्ने,पत्नीले कमाएको पैसा पतिले मासेका कारण पछिल्लो समयमा सम्बन्ध विच्छेदका मुद्दा बढी हुने गरेको प्राध्यापकको भनाइ छ ।

जिल्ला अदालत वार एशोसिएसन इलामका अध्यक्ष तारानाथ पराजुली बाबु आमाको सम्बन्ध बिच्छेदले छोराछोरीमा प्रत्यक्ष रूपमा असर परेको र यसको प्रमुख कारण वैदेशिक रोजगारी रहेको बताउनु हुन्छ । पति वा पत्नी एक जना वैदेशिक रोजगारीको क्रममा विदेश गएका छन्, नेपालमा हुनेले अनैतिक सम्बन्ध बनाउने गरेका कारण सम्बन्ध विच्छेदका मुद्दा बढी भएको अध्यक्ष पराजुलीको भनाइ छ ।

अहिलेको अवस्थामा हेर्ने हो भने जम्मा केशहरु कति पर्छ त्यसको ५० प्रतिशत केशचाँहि सम्बन्ध बिच्छेदको छ, अध्यक्ष पराजुलीको अनुभव छ ।

जिल्लामा सम्बन्ध विच्छेदको घटनाको दर भने बढ्ने क्रमा नै  रहेको   र ‘सम्बन्ध  विच्छेदका मुद्दाको मुख्य कारण बाल विवाह, वैदेशिक रोजगार रहेको जिल्ला अदालत इलामका श्रेस्तेदार फडिन्द्र भट्टराईको भनाइ छ ।

जिल्ला अदालतमा चालू आर्थिक वर्षमा २ सय ८ ओटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । ती मध्ये  ८२ ओटाको त फैसला नै भएको छ ।

‘सम्बन्ध  विच्छेदका मुद्दाको प्रकृति हेर्दा बाल विवाह, वैदेशिक रोजगार मुख्य कारण देखिन्छ– श्रेस्तेदार भट्टराईले भन्नुभयो । श्रेस्तेदार भट्टराइका अनुसार ‘सानै उमेरमा विवाह गरे, पछि आफू बुझ्ने भएपछि समस्या आयो अनि सम्बन्ध विच्छेद गर्न आउने गरेका छन् । वैदेशिक रोजगारीले गर्दा पनि पति–पत्नी बीच वेमेल हुँदा सम्बन्ध विच्छेदसम्म मुद्दा पुगेको श्रेस्तेदार भट्टराइको भनाइ छ । आमा–बाबुको सम्बन्ध विच्छेदले बालबालिकामा मनोवैज्ञानिक असर पारेको बाल मनोविज्ञ गायत्री थेगिम बताउनु हुन्छ । उहाँका अनुसार बाबुआमाको सम्बन्ध विच्छेद भएका कारण बालबालिका बालबिज्याईमा समेत पर्ने गरेका छन् ।

हरुको भनाइ छ ।

- बविता मैनाली