प्रजातन्त्र ल्याउन आन्दोलन गर्नुभएका ८५ वर्षीय गजवीरलाई चुलो बाल्न धौधौ
अल्पसङ्ख्यक बोटे जातिमा पाल्पाकै ज्येष्ठ नागरिक ८५ वर्षीय गजवीर बोटेसँग सामाजिक राजनीतिक आन्दोलन र अभियानका धेरै अनुभवहरू छन् । जसले देशमा प्रजातन्त्र, लोकतन्त्रका लागि आन्दोलनको नेतृत्व समेत गर्नुभयो । उनै गजवीरले अहिले बुढ्यौलीमा हातमुख जोर्न समस्या भएको बताउनु भयो ।
'सकुञ्जेल त समस्या थिएन । अहिले बुढेसकाल लागेपछि बिहान साँझको छाक टार्न, बिरामी हुँदा उपचार गर्न, चाडपर्व राम्रो गरी मनाउन आर्थिक सङ्कट छ', गजवीरले भन्नुभयो । गजवीरको जन्म वि.सं. १९९७ फागुन १० गते हालको बगनासकाली गाउँपालिका–७, खानीगाउँ दैलातुङमा भएको हो । बुबा रनबीर र आमा नर्मती बोटेका ६ भाइ छोरामध्ये जेठा छोरा हुनुहुन्छ गजवीर । उहाँका दुई दिदी बहिनी पनि छन् ।
गजवीरका बुबा रनवीर पनि कालीगण्डकी नदीमा डुङ्गा तार्ने काम गर्नुहुन्थ्यो । त्यतिबेला अहिले जस्तो मोटरबाटो र पुल थिएन । कालीगण्डकी वारिपारी गर्ने एक मात्र बिकल्प डुङ्गा नै थियो । १३ वर्षको उमेरदेखि अर्थात् २०१० सालदेखि गजवीरले पनि डुङ्गा तार्ने काम थाल्नुभयो । त्यतिबेला एक जनालाई गण्डकी तार्दा गजवीरले दुई पैसा पाउनुहुन्थ्यो । टाढाबाट आएका बटुवाले पैसा दिन्थे भने गाउँ नजिकका व्यक्तिहरूबाट उहाँ वार्षिक बाली उठाउनुहुन्थ्यो । त्यो क्रम निरन्तर १२ वर्ष अघिसम्म चल्यो । १४ वर्ष अघि उहाँले डुङ्गा तारेको एक जनासँग २० रुपियाँसम्म लिनुहुन्थ्यो । डुङ्गा बनाउनका लागि धेरै टाढा टाढासम्म पुगेको गजवीरको अनुभव छ ।
गजवीरले आफ्नो जीवनका ५९ वर्ष कालीगण्डकीमा डुङ्गा वारिपारी गरेरै बिताउनु भयो । त्यतिबेला दैलातुङमा पाँच ओटा डुङ्गा थिए । अन्य चार ओटा डुङ्गा अलि पहिल्यै विस्थापित भए पनि गजवीरले भने अन्तिम समयसम्म पनि डुङ्गा तार्ने काम गर्नुभयो । स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको कालीगण्डकी नदीमा उहाँले दैनिक ३०/३५ जनालाई डुङ्गाबाट वारिपारी गराउनुहुन्थ्यो । त्यसैको आम्दानीबाट उहाँको गुजारा राम्रै चलेको थियो । स्थानीय कालीगण्डकी नदीमा झोलुङगे पुल बनेपछि उहाँ डुङ्गा चलाउने पेशाबाट विस्थापित हुनुभयो ।
दैलातुङ गाउँ कालीगण्डकी नदी किनारमा अवस्थित छ । यहाँका बोटेको मुख्य पेशा नै डुङ्गा तार्ने थियो । दैलातुङदेखि पाल्पाको बगनासकाली, तानसेन तथा स्याङ्जाको कालीगण्डकी र गुल्मीसम्मका मान्छेहरू कालीनदी तरेर आउने जाने गर्थे । बोटे समुदायकै अगुवाको रूपमा रहनुभएका गजवीरको डुङ्गा वारीपारी गराएर मान्छे तार्ने मात्रै हैन, व्यवस्था परिवर्तन गर्ने आन्दोलनमा पनि महत्त्वपूर्ण भूमिका छ । पञ्चायतकालमा जनता पक्षबाट अगुवाई, २०४७ सालमा बहुदलको आन्दोलन र २०६२/६३ को जनआन्दोलनमा पनि गजवीर सक्रियता पूर्वक लाग्नुभएको थियो । 'धेरै व्यवस्था बदलियो तर अवस्था फेरिएन', गजवीरले भन्नुभयो । उहाँका सात भाइ छोरा र पाँच जना छोरी छन् । सबै जनाको बिहेबारी भयो र सबै आ–आफ्नै कर्ममा छन् ।
गजवीरले पढ्नका लागि विद्यालय जाने अवसर त पाउनुभएन । तर गाउँमा बालबालिकालाई पढाउनुपर्छ भन्ने चेतना अहिले पनि बाँड्दै हिँड्नुहुन्छ । यद्यपी यहाँका बालबालिकाहरूलाई माध्यमिक तहको शिक्षा लिनका लागि झण्डै देढ घण्टाको उकालो निस्कनुपर्ने अवस्था छ । माध्यमिक विद्यालय टाढा भएकै कारण बोटे बालबालिकाहरूले आधारभुत तहको कक्षा सकिएपछि कक्षा छोड्ने दर बढी छ । अन्य जातिको तुलनामा बोटे जातिको जन्मदेखि मृत्यु संस्कार धेरै पृथक छ । यी सबै संस्कारहरूबारे बारेमा गजवीर अनुभवी हुनुहुन्छ । संस्कार संस्कृतिबारे अलमल भएमा दैलातुङका मात्रै नभएर दर्पुक र अन्य गाउँका बोटेहरूले पनि गजवीरसँग सल्लाह लिने गर्छन् ।
बगनासकाली गाउँपालिकाको वडा नं. ७ स्थित खानीगाउँको दैलातुङ र वडा नं. ६ स्थित यम्घाको दर्पुकमा सीमान्तकृत बोटे समुदाय बस्छन् । यी दुवै गाउँ कालीगण्डकीको किनारमै छन् । दैलातुङमा बोटे समुदायका १७ घरपरिवार छन् । त्यस्तै दर्पुकमा ८० घर बोटे समुदाय छन् । अहिले दैलातुङमा बोटे समुदायको जनसङ्ख्या १ सय २० छ भने दर्पुकमा यो समुदायको जनसङ्ख्या ३ सय ५० छ । हुन त यी दुवै गाउँमा ब्राह्मण, मगर समुदायको पनि बसोबास छ । तर बोटे समुदायको रहनसहन र सांस्कृतिक पहिचान भने बेग्लै छ । यहाँमात्रै हैन, पाल्पाको तानसेन नगरपालिकाको बौघागुम्हा, रामपुर नगरपालिकाको रामपुर र दर्छा तथा रम्भा गाउँपालिकाको हुँगीमा पनि बोटे समुदायको बसोबास छ । यी सबै बस्ती कालीगण्डकी किनारमै पर्छन् ।
तीन वर्ष अघि जनता आवास कार्यक्रम अन्तर्गत गजवीर सहित केही बोटेहरूको दुई कोठे घर बनाइएको छ । जनता आवासबाट निर्मित दुई कोठे टिनको छानोयुक्त घरमा गजवीर आफ्नी पत्नीको साथमा बस्दै आउनुभएको छ । अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरै जसो घर टिनको छानो लगाइए पनि टिनको छाप्रोयुक्त छन् । वैदेशिक रोजगारीका अलावा पुरुषहरू सिकर्मी/डकर्मी काम गर्ने, वल्लोपल्लो घरमा ज्याला मजदुरीमा काम गर्न जाने गर्छन् भने महिलाहरू छिमेकीका घरको कामधन्दासँगै उनीहरूका खेतबारीको काम पनि गर्छन् । यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जमिन छैन । त्यसैले उनीहरूले आफ्नो उत्पादनले नपुगेको समयावधिभर किनेर खानुपर्ने अवस्था छ ।
उमेरले ८५ वर्ष पुग्दा बुढ्यौलीले गजवीरको शरीर कुप्री भइसकेको छ । कुप्री शरीर लाठ्ठीको साहाराले उहाँ हिँड्डुल गर्नुहुन्छ । करिव २० वर्ष अघि पर्यटकहरूलाई कालीगण्डकीमा डुङ्गा तार्न जाने क्रममा लडेर ढुङ्गाको कापमा परेपछि उहाँको ढाडमा समस्या भएको थियो । उपचार पनि गर्नुभयो पछि उहाँको ढाडमा सुधार भएन कुप्री नै भइरह्यो । गजवीरले भन्नुभयो – 'अझै पनि वातावरण मिल्यो भने डुङ्गा तार्न सक्छु ।'
- यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित फिचरहरू
परिपूरणमा स्थानीय सरकारः निःशुल्क स्वास्थ्य बिमा गर्न द्वन्द्वपीडितहरूको माग
जवान छोरा इन्द्रबहादुरलाई २०६० चैत २५ गते सेनाले मारिदिएपछि त्यसै त पीर चिन्ताले गलेका ८० वर्षीय विन्तीराम चौधरी दमले ग्रस्त हुनुहुन्छ । उमेर ढल्कीदै जाँदा सानातिना दुख बिमारले पनि सताइरहन्छन्…
द्वन्द्वपीडित भन्छन् - न्याय पाइएला भन्ने ढुक्क त छैन, तर आशावादी छु !
बुटवल उपमहानगरपालिका–१०, कालिकानगरकी कलावती केसी ५५ वर्षकी हुनुभयो । १४ वर्षको कलिलो उमेरमा कलावतीको विवाह बुटवल उपमहानगरपालिका सूर्यबहादुर केसीसँग भएको थियो । छोरा नजन्मिएपछि जेठी छोरीको विवाह गरेमा छोरा जन्मन्छ…
बेपत्ता पारिएका व्यक्तिको परिवारले भन्नुभयो – हारहड्डी पाए किरिया गर्थेँ !
विवाह गरेको वर्षौँ बित्यो । सन्तान भएनन् । छोरी, छोरा नभए पनि एकले अर्कालाई जोरा त छ नी, भन्दै प्रेमपूर्ण जीवन बिताइरहेका थिए । रोल्पा राङकोट स्थायी घर, तर दाङको…
पुनर्स्थापनाको अभावमा कष्टकर जीवन बाँच्न बाध्य आरक्षपीडित ! (फोटो फिचर)
२०५८ सालमा विस्थापित गरिएका आरक्षपीडितहरुको पुनर्स्थापना नगरिएका कारण खुला आकाशमुनि कष्टकर जीवन जिउन बाध्य भएका छन् । वन्यजन्तुको संरक्षणका लागि २३ वर्ष अगाडि सरकारले तत्कालीन शाही शुक्लाफाँटा आरक्षको क्षेत्र विस्तार…
द्वन्द्वपीडित भन्छन्, 'छाना नभएको घरजस्तै भो हाम्रो जीन्दगी'
बुटवल उपमहानगरपालिका-१० की सरस्वती श्रेष्ठ अहिले ५५ वर्षकी हुनुभयो । मध्यम परिवारमा जन्मेकी सरस्वतीको विवाह नवलपरासी जिल्लाको तत्कालीन रामनगर गाविसका कृष्णकुमार श्रेष्ठसँग भएको थियो । विवाह गरेपछि कृष्ण पत्नी, एक…