पोषण गृह नै व्यवस्थित नभएको आमाहरूको गुनासो ! (फोटो फिचर)
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुरानो भवनको तेस्रो तलामा दुई आइसोलेशनसहित १० बेडको पोषण पुनःस्थापना गृह छ । एउटा कोठामा १० वेड राखेर सञ्चालन गरिएको पोषण गृहको ढोकामै सानो एउटा भान्सा पनि छ । त्यही ढोकाको देव्रेतिर सटेको एउटा शौचालय छ भने एउटा बाथरुम पनि छ । छेउमै दुई पानी ट्याङ्की छन् । तर ती ट्याङ्की पोषण गृहका होइनन् । घोराही उपमहानगरपालिकाको संस्थागत क्लिनिकका हुन् । तिनै मध्येका एउटा ट्याङ्कीबाट पोषण गृहका लागि पनि पानी लगिएको छ । त्यसैले पोषण गृहका लागि पानीको अभाव छ । पर्याप्त पानी नहुँदा बिरामीको सरसफाईमा समस्या परेको छोराको उपचार गराइरहनु भएकी घोराही उमनपा–४ की ४४ वर्षीया गिरा अधिकारीको गुनासो छ ।
हुँदाहुँदा चर्पी, बाथरुमको फोहर पानी जमेर लामखुट्टे बढेको उहाँको भनाइ छ । गैरसरकारी संस्थाको लगानीमा निर्माण गरिएको तीन तलाको सुविधा सम्पन्न पोषण गृह हुँदा हुँदै प्रतिष्ठानले पोषण गृह त्यहाँबाट निकालेर एउटा कोठामा सिमित गर्दा समस्या भएको कर्मचारी बताउँछन् । जनस्वास्थ्य कार्यालयको मातहत हुँदा निर्माण भएको पोषण गृह अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पठन पाठनका लागि प्रयोगशाला स्थापना गरेर पोषण गृहलाई छुट्टै पुरानो घरको तेस्रो तलाको एउटा कोठामा राखेको छ । जसका कारण विरामीलाई सरसफाई, खानपीन, शौच गर्नसमेत अप्ठेरो परेको पीडित बिरामीहरूको गुनासो छ ।
अहिले पोषण गृहमा जम्मा दुई बालकको उपचार भइरहेको छ । दुई बालकका आमाहरू पनि सँगै भर्ना भएर पोषण गृहमा बसिरहनु भएको छ । तर प्रायः आठ/नौ जना बिरामी भइरहने पोषण गृहकै तथ्याङ्क छ । धेरै बिरामी हुँदा एउटै कोठामा न्यूनतम एक जनालाई २१ दिनसम्म राखेर पोषण पुनस्थापनाका लागि राख्दा धेरै समस्या भएको ववई गाउँपालिका–३ की २० वर्षीया सुमित्रा बुढाको गुनासो छ । उहाँका अनुसार बच्चाहरूलाई नुहाइधुवाई गर्न र कपडा सुकाउन ठाउँनै छैन । हिँड्ने बाटोको गाह्रोमा कपडा सुकाउनुपर्ने र भुइमा खसेर फोहोर हुने समस्या रहेको उहाँको भनाइ छ ।
कर्मचारीहरूले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोषण कार्यक्रमलाई महत्त्व नदिएका कारण समस्या भएको बताएको छ । उनीहरूले महिना, महिनामा पोषण गृह सार्नु परेको भन्दै अहिलेसम्म चार ठाउँमा सारिसकिएको गुनासो गरे । स्पेस छैन । अनमी विमला ज्ञवालीले भन्नुभयो - 'कहिले कहाँ कहिले कहाँ सार्नु परेको छ । ठाउँठाउँ सार्दा पोषण पुनस्थापनाको काममै समस्या परेको छ । अहिले त नर्सहरूलाई पोशाक चेन्जिङ रुप पनि छैन । एउटै चर्पी छ । समस्या धेरै छ ।’ समस्यै समस्याले कार्यक्रम नै प्रभावकारी बनाउन नसकिएको कर्मचारीहरू बताउँछन् । एक जना पोषणविद् बाहेक अरुलाई तालिमको व्यवस्था छैन । पोषणविद् विदा बस्दा बिरामी भर्ना र डिस्चार्ज दुवै रोकिने अवस्था रहेको अनमी ज्ञवालीले गुनासो गर्नुभयो ।
सरसफाई, पानी, शौचालय र स्पेसको कमी भए पनि पोषणका लागि बच्चाहरूलाई दूध, तीन/तीन घण्टामा खाना, चार पटक आमाहरूलाई खाना, खाजा, फलफुल भने पर्याप्ता खुवाइरहेको पोषणविद् रोशिना बञ्जाडेले बताउनु भयो । ६ महिनादेखि माथिका बालबालिकामा उमेर अनुसार तौल तथा शारीरिक वृद्ध हुन नसकेको अवस्थाका बालबालिकाहरूलाई २१ देखि ४५ दिनसम्म राखेर निःशुल्क पोषण वृद्धि गर्ने काम पोषण गृहबाट भइरहेको छ । हाल दाङ, प्युठान, रुकुम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोटसम्मका कुपोषित बालबालिकाहरूलाई यहाँ उपचार सेवा दिइएको छ । आर्थिक वर्ष ०८०/८१ मा २९ बालक र ४१ बालिका गरी ७० बालबालिकाको उपचार गरिएको थियो भने चालु आर्थिक वर्ष ०८१/८२ को असोजसम्म नौ बालिका र १४ बालकसहित २३ बालवालिकाको उपचार भएको पोषण गृहले जनाएको छ । साविक राप्ती क्षेत्रका पाँच जिल्ला र कर्णाली जिल्लाहरूबाट पनि यहाँ उपचार गर्न आउने गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनुभयो । प्रतिष्ठानले उपचार, पठनपाठन र अनुसन्धानको काम एकै पटक गरिरहेको र सुरुवात भएकाले पूर्वाधारमा सक्दो व्यवस्थापन गरिएको भट्टराइले बताउनु भयो । बिरामी फर्किनुपर्ने अवस्था नभएको तर त्यसलाई अझै व्यवस्थित गर्ने कुरामा प्रतिष्ठानले कुनै पनि कमी हुन नदिने र सुधार गरेर लैजाने उहाँको भनाइ छ ।
- जयनारायण पुन
सम्बन्धित फिचरहरू
बेपत्ता छोराहरूको आशमा बस्दै ७९ वर्षीय गोपाल थारु
छोराहरू बेपत्ता भएको वर्षौँ भयो । कुनै समय गाउँबस्तीमा हतियारको त्रास थियो । हतियार कै कानुन थियो । हतियार नै अदालत थियो । त्यो बम बारुद र रगत होली खेल्ने…
खाेला र नदीमा जलवायु परिवर्तनकाे असर, माछा मारेरै जीविका चलाउनेहरू मर्कामा !
सात वर्ष अघिसम्म लेकवेशी नगरपालिका–८ का ८८ वर्षीय देवबहादुर थापा माछा मारेर आफ्नो जीविका चलाउनुहुन्थ्याे । उहाँले स्थानीय झुप्रा खोलामा जालले माछा मारेर बिक्री गर्नुहुन्थ्याे । जसले उहाँको जीविका राम्रै…
नदी उत्खनन्ले सोनाहाहरूको पेशा सङ्कटमा ! (फोटो फिचर)
बाहिर झिसमिसे उज्यालो छ । महिलाहरू खाना पकाउन व्यस्त छन् । पुरुषहरू भने गाई, भैँसी र बाख्रालाई गोठबाट बाहिर खुल्ला ठाउँमा सार्दै छन् । बिहान नहुँदै पुरा गाउँ बिउँझिएको छ…
राउटे समुदायलाई गास र बासको चिन्ता, प्रत्येक वर्ष घट्दै जनसङ्ख्या !
आफूलाई जङ्गलको राजा भनेर चिनाउने राउटे समुदाय जनसङ्ख्या हरेक वर्ष घटिरहेको छ । अहिले राउटे समुदायमा ४१ घरधुरी छन् । १ सय ३४ जना मात्रै सङ्ख्या छ । राउटेसँग काम…
‘देशलाई दृष्टि चढाएर अन्धकारमा बाँच्दैछु !’
एम–१६ छैन हातमा । न त लडाकु ड्रेस । १० वर्षे सशस्त्र युद्धमा ३२ बढी लडाईँ थेगेका पूर्वलडाकु सहायक कमाण्डर लालबहादुर वलीको दैनिकी हिजोआज एक थान लठ्ठीको साहारामा छ ।…