पोखरामा प्रदूषणको रेखाले ‘शिखर’ चुम्दै
पोखरा महानगरपालिका– २ विन्ध्यवासिनीका कर्ण बस्नेतले शुक्रबार एक्कासि आँखा पोलेको अनुभूति गर्नुभयाे। यसअघि आँखाको समस्या नभएका बस्नेत आत्तिदै साथीभाइ, आफन्तलाई सुनाउनुभयो । ‘घरबाहिर निस्केको थिएँ, अचानक आँखा पोल्न थाल्यो म त आत्तिइहालें,’ बस्नेतले भन्नुभयो । हतासिएका कर्ण छिमेकीमा पनि यस्तो समस्या रहेको सुनेपछि केही शान्त बन्नुभयो । ‘केही साथीहरुलाई पनि मलाई जस्तै भएको रहेछ । उहाँहरुले वायुमण्डलमा प्रदूषण बढेकाले यस्तो भएको भनेपछि अहिले घरमै आराम गरिरहेको छु,’ उहाँले सुनाउनुभयो ।
आफूलाई आँखाको समस्या भएपछि शुक्रबार दिउँसो सामाजिक सञ्जालमा उहाँले सबैलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।
कर्णलेमात्र होइन, पोखरामा वायु प्रदूषण अत्यधिक भएपछि धेरैले सामाजिक सञ्जालमार्फत सचेत रहन आग्रह गरिरहेका छन् । पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीकले ट्वीटरमा लेख्नुभएको छ, ‘धेरै भयो मानव बस्ती तुवाँलोले ढाकेको न पानी पर्छ, न हावा चल्छ । रुघाखोकी र श्वासप्रश्वासमा समस्या थपिएको छ । सकभर घरबाहिर नजाऔैं जानै परे माक्स लगाऔं ।’
यति बेला पोखराको आकाश धुम्मिएको छ । तापक्रमसमेत बढेको छ । पोखरा– १७ मा रहेको हिमालय आँखा अस्पतालमा आँखाको समस्या लिएर पुग्नेहरु पनि थपिएका छन् । नेत्र चिकित्सक ईन्द्रमान महर्जनले एक हप्तादेखि आँखाको एलर्जी र आँखा पोल्ने समस्याका बिरामी बढेको उल्लेख गर्नुभयो । ‘आँखा अस्पताल भएकाले आँखाका बिरामी आउने कुरा स्वाभाविक भयो । तर, गत हप्तादेखि आँखाको पावर होइन, आँखा पोल्यो भनेर आउनेको संख्या बढेको छ,’ महर्जनले बताउनुभयो । दिनमा सरदर १ सय जना यस्ता बिरामी आएको उहाँको भनाई छ । यद्यपि उहाँले वायु प्रदूषणकै कारण यस्तो भएको भन्ने कुनै प्रमाण भने अस्पतालसँग नभएको सुनाउनुभयो ।
तुवाँलोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने यात्रुले समेत सास्ती पाएका छन् । केही दिनदेखि पोखराको आकाशमा नियमित उडान हुन सकेको छैन । दैनिक ३३ फ्लाइट हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धले २०, यतिले १० र श्री एयरलाइन्सले तीन ओटा उडान गर्दै आएका छन् । तर, गत हप्तादेखि उडान नियमित हुन नसकेको विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको हेल्पडेक्सले शनिबार एक हजार मिटरमात्र भिजिबिलिटी रहेको जनाएको छ । हावामा प्रदूषणको मात्रा बढ्दा कुहिरो लाग्ने, हावाको चाप बढ्दा भिजिबिलिटी कम हुने समस्या देखिएको छ । एक हप्तादेखि समयमा उडान नहुँदा बिहान एयरपोर्ट पुगेका यात्रु दिनभरि पर्खेर फर्किन बाध्य छन् ।
अन्तर्राष्ट्रिय वायु जाँच संस्था ‘आइक्युएयर’ को तथ्याङ्कले पनि पोखरामा प्रदूषणको दर उच्च देखाएको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) मा मापन गरिन्छ । वायु गुणस्तर सूचकाङ्क जति कम भयो, उति राम्रो हो । वैशाख १९ गते हावाको प्रदूषण १ सय ५१ एक्वुआइ थियो भने २० गते १ सय ५४ भयो । वैशाख २१ गते एक्युआई फेरी बढेर १ सय ८२ एक्वुआई भयो । वैशाख २२ गते पोखरामा प्रदूषण १ सय ७३ एक्वुआईसम्म पुगेको छ । आइक्युएयरले स्याटलाइटको माध्यमबाट संसारभरिका सहरहरुको हावाको गुणस्तर मापन गर्दै आएको छ । एक्वुआई ५० सम्म हुनु राम्रो हो । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ भने २ सय सम्म पुगे अस्वस्थ हुन्छ । एक्वुआई ३ सय पुग्नु जोखिमपूर्ण हो भने त्यसभन्दा माथि जानुचाहिँ घातक ठानिन्छ ।
पृथ्वीनारायण क्याम्पसका प्राध्यापक जीवन रेग्मी का अनुसार– ‘पोखराको वायु प्रदूषण इन्डेक्स २ सय नजिक पुग्दैछ । यो तथ्याङ्क कतिपयले अहिलेसम्मकै बढी भएको चर्चा गरेका छन् । तर पुरानो तथ्यहरुका आधारमा भन्दा लामो समयसम्म पानी नपर्नु वायु प्रदूषणको कारण हो ।’ ‘आसपासका जंगलमा लगातार आगलागी, घरबारी सफा गर्न लगाइने आगो, कमजोर स्थानीय वायु प्रणालीसँगै अन्तरदेशीय प्रदूषण केही मुख्य कारण हुन सक्छन् ।’ वायु प्रदूषणको मात्रा पनि एकै दिनसमेत ठाउँपिच्छे फरक हुन्छ । हामीसँग लामो समयको र सबै क्षेत्र कभर गर्ने डाटा छैन । समग्रमा पोखराको अहिलेको प्रदूषण स्वास्थ्यका लागि धेरै खराब छ ।
वायु प्रदूषणमा विद्यावारिधी गर्नुभएका गण्डकी प्रदेश योजना आयोगका सदस्य डा. सुवास अधिकारीका अनुसार – ‘वायु प्रदूषण रोकथाम, नियन्त्रण गर्न केही उपाय अपनाउन सकिन्छ । वायु प्रदूषणका लागि सबैभन्दा आधारभूत समाधान जीवाश्म इन्धनबाट टाढा सर्नु हो । जीवाश्म इन्धनको साटो सौर्य, हावा र जियोथर्मल जस्ता वैकल्पिक ऊर्जा प्रयोग गर्नुपर्छ ।’ ‘स्वच्छ ऊर्जा उत्पादन वातावरणीय हिसाबले निकै महत्वपूर्ण छ तर अहिलेलाई अधिक कुशल उपकरण प्रयोग गरी हाम्रो ऊर्जाको खपत कम गर्नु बुद्धिमानी हुन्छ ।’
‘अब पर्यावरणमैत्री सवारी साधनको प्रयोग गर्नुपर्छ । अब इलेक्ट्रिक सवारी र हाइड्रोजन सवारी साधनमा जानुपर्छ । यस्ता इन्धनबाट चल्ने सार्वजनिक यातायातलाई बढावा दिँंदा वायु प्रदूषण कम गर्न सकिन्छ । त्यसैगरि हरित भवनले वातावरणलाई सन्तुलित राख्न कार्बन फुटप्रिन्टमा कमी ल्याउन मद्दत पुर्याउछ ।’
- सन्जय रानाभाट
सम्बन्धित फिचरहरू
परिपूरणमा स्थानीय सरकारः निःशुल्क स्वास्थ्य बिमा गर्न द्वन्द्वपीडितहरूको माग
जवान छोरा इन्द्रबहादुरलाई २०६० चैत २५ गते सेनाले मारिदिएपछि त्यसै त पीर चिन्ताले गलेका ८० वर्षीय विन्तीराम चौधरी दमले ग्रस्त हुनुहुन्छ । उमेर ढल्कीदै जाँदा सानातिना दुख बिमारले पनि सताइरहन्छन्…
द्वन्द्वपीडित भन्छन् - न्याय पाइएला भन्ने ढुक्क त छैन, तर आशावादी छु !
बुटवल उपमहानगरपालिका–१०, कालिकानगरकी कलावती केसी ५५ वर्षकी हुनुभयो । १४ वर्षको कलिलो उमेरमा कलावतीको विवाह बुटवल उपमहानगरपालिका सूर्यबहादुर केसीसँग भएको थियो । छोरा नजन्मिएपछि जेठी छोरीको विवाह गरेमा छोरा जन्मन्छ…
बेपत्ता पारिएका व्यक्तिको परिवारले भन्नुभयो – हारहड्डी पाए किरिया गर्थेँ !
विवाह गरेको वर्षौँ बित्यो । सन्तान भएनन् । छोरी, छोरा नभए पनि एकले अर्कालाई जोरा त छ नी, भन्दै प्रेमपूर्ण जीवन बिताइरहेका थिए । रोल्पा राङकोट स्थायी घर, तर दाङको…
पुनर्स्थापनाको अभावमा कष्टकर जीवन बाँच्न बाध्य आरक्षपीडित ! (फोटो फिचर)
२०५८ सालमा विस्थापित गरिएका आरक्षपीडितहरुको पुनर्स्थापना नगरिएका कारण खुला आकाशमुनि कष्टकर जीवन जिउन बाध्य भएका छन् । वन्यजन्तुको संरक्षणका लागि २३ वर्ष अगाडि सरकारले तत्कालीन शाही शुक्लाफाँटा आरक्षको क्षेत्र विस्तार…
द्वन्द्वपीडित भन्छन्, 'छाना नभएको घरजस्तै भो हाम्रो जीन्दगी'
बुटवल उपमहानगरपालिका-१० की सरस्वती श्रेष्ठ अहिले ५५ वर्षकी हुनुभयो । मध्यम परिवारमा जन्मेकी सरस्वतीको विवाह नवलपरासी जिल्लाको तत्कालीन रामनगर गाविसका कृष्णकुमार श्रेष्ठसँग भएको थियो । विवाह गरेपछि कृष्ण पत्नी, एक…