पुल निर्माण नहुँदा अझै तुइनको सहारा !

दार्चुला । ०७८ साउन ७ गते

माहाकाली नदीमा पुल निर्माण नहुँदा व्याँस गाउँपालिकाका नागरिकहरु अझै पनि उर्लदो महाकाली नदी वारपार गर्न तुइनको ताङ्लोमै सहारा लिनु पर्ने बाध्यता रहेको छ । महाकाली नदीमा झोलुङ्गे पुल निर्माणमा ढिलाई हुँदा यस क्षेत्रका स्थानीयहरुले महाकाली नदी वारपार गर्न तुइनकै भर पर्नु परेको हो । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा देशभरका तुइन ०७४ असोज भित्रै विस्थापन गर्ने निर्णय गर्नु भएको भएपनि महाकाली नदीमाथि लगाइएका अधा दर्जन तुइनहरु अहिले पनि चालु अवस्थामा रहेका छन् । बर्खाको उर्लदो माहाकाली नदीमा स्थानीयले ज्यानकै बाजी थापेर आवतजावत गर्न बाध्य छन् ।माहाकाली नदी तर्ने अन्य विकल्प नभएपछि यस क्षेत्रका स्थानीयहरु नदीमा लगाइएको तुइनमाथि ताङ्लो अड्याएर सयौँ वर्षदेखि आवतजावत र सामान ओसारपसार गर्दै आएका छन् ।

स्कुले विद्यार्थीदेखि, गभर्वती, ज्येष्ठ नागरिक र बिरामी समेत तुइनमार्फत आवतजावत गर्न बाध्य छन् । डोरी चुडियो भने सामान पनि डुब्यो मान्छेको ज्यान पनि गयो । कयौंको महाकालीमा बेपत्ता भएका पनि छन् । फलामे तार खोलावारीपारी लगाइएको हुन्छ । फलामे तारमाथि रसी अर्थात स्थानीय भाषामा ताङ्लोको प्रयोग गरिएको हुन्छ । कयौले यहि तुइनमा अड्याएको ताङ्लो चुडिएर ज्यान गुमाउँछन्, व्याँस गाउँपलिका– २ का मुकेश बुढाथोकीले दुखेसो पोख्नु भयो । उहाँले भन्नु भयो– ‘यस क्षेत्रका स्थानीयहरुको घरघरमा व्यक्तिगत रुपमा ताङ्लो बनाइएको हुन्छ । व्याँसबाट खलंगा आउँदा झोलामा लिएर आउनु पर्छ । आउँदा जाँदा नदी वारपार गर्ने साधन नै ताङ्लो हो ।

व्यासको दुम्लीङमा नेपाल–भारत गर्न दुई वर्षअघिसम्म काठेपुल थियो । तर, कोभिड कहर सुरु भएपछि भारतले काठेपुल भत्काइ दियो । त्यसयता यहाँका नागरिकले तुइनकै सहारामा वारपार गर्नु परेको छ ।’पञ्चायती व्यवस्थादेखि नै माहाकाली नदीमा पुल निर्माण गछौँ भनेर पटकपटक नेताका आश्वासन पाउने गरेको भएपनि अहिलेसम्म पुल नर्माण हुन नसकेको स्थानीय कल्याणसिंह धामीले दुखेसो पोख्नु भयो । उहाँले भन्नु भयो– ‘पञ्चायती व्यवस्था, बहुदल हुँदै गणतन्त्रमा देश पुग्यो । तर, पुल बनेन् । घरमा चाहिने नुन, चामल, सावुन तेलदेखि घर निर्माणमा प्रयोग गरिने जस्तापाता, सरिया सिमेन्ट यहि तुइनको सहारामा ल्याउनु परेको छ । मैले यही तुइनमार्फत मान्छे र समान ओसार पसार गरेको पनि वर्षौ भइसक्यो ।’बर्खाको समयमा नदीवारपार गर्न निकै डर छ । ज्यानकै बाजी राखेर वारपार गर्नु पर्ने बाध्यता छ । तुइन नभए खानलाई अन्न हुँदैन् । चामल त्यही भारत गएर ल्याउने हो । मेरो पनि तुइनले परिवारको गुजारा चलेको छ, धामी सुनाउनु हुन्छ् ।अहिले पनि व्याँस गाउँपालिका–२ को दुम्लीङ, रिठान मालघाट, बर्ति, डोकट लगायतका ठाउँमा तुइन सञ्चानलमा छ । यहाँका झोलुङ्गे पुल निर्माण हुन नसक्दा नागरिकले तुइनको सहारामा वारपार गर्नु परेको छ ।

झोलुङ्गे पुल निर्माण कार्यमा ढिलाई

महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्सन ब्रीज डिभिजनले जिल्लाका चार ठाउँ मालिकार्जुन गाउँपालिकाको बाकु, व्याँस गाउँपालिकाको बडुगाउँ, बर्तिघाट र मालघाटमा झोलुङ्गे पुल निर्माण कार्य सुरु गरेका भएपनि सम्पन्न हुन सकेका छैनन् ।ब्याँस गाउँपालिका–२ को माल र वडा नम्बर ३ र ४ को बर्तीघाटमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुगे पुल निर्माणको लागि २ करोड ७३ लाख रुपियाँको लागतमा ठेक्का सम्झौता गरेको भएपनि झोलुङ्गे पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ । गत वर्ष कोभिडका कारण अघि बढ्न नसकेको निर्माण कम्पनीले बताएका छन् ।यसैगरी बाकु र बडुगाउँमा मालिका निर्माण सेवा, कञ्चनपुरले २ करोड ५५ लाख ६४ हजार रुपियाँ लागतमा सम्झौता पुल निर्माणको ठेक्का पाएको थियो । ब्याँस गाउँपालिकाका मुख्य तुइन रहेका ठाउँमा झोलुङ्गे पुल निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयले हिउँद र बर्खायाम दुवै समय महाकाली नदीमाथि जोखिम मोलेर आवतजावत गर्नु परेको व्याँस गाउँपालिका–२ का स्थानीय रविन्द्रसिह धामीले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो– ‘मुख्य नाकामा झोलुङ्गे पुलको लागि फाउण्डेसन खनियो । तर, त्यो भन्दा अघि काम बढेको देखिएन् । नेपालको बाटो भएर गाउँ जानका लागि बाटो नै छैन् । गाउँ जान भारत कै बाटो भएर जानु पर्छ । नेपाल भएर हिडेर गाउँ जान एक दिन लाग्छ। तर, नदी तरेर जानेहो भने एक घण्टा मै खलंगा पुगिन्छ ।

त्यसकारण पनि स्थानीयहरु ज्यान जोखिममा राखेर तुइनको साहरा लिन बाध्य छन् ।’निषेध आदेशका कारण पुल निर्माण कार्यमा केही समस्या आएको भएपनि बाकु र बडुगाउँमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको सस्पेन्सन ब्रीज डिभिजनका इन्जिनियर अजय यादवले बताउनु भयो ।माल र बर्तीघाटमा भने निर्माणमा भने ढिलाई भएको छ । निर्माणमा चाहिने लठ्ठा, ग्रिप लगायतका सामाग्री सस्पेन्सन व्रिजले नै उपलब्ध गराउनु पर्ने भएपनि समयमा समाग्रीहरु उलब्ध नभएका कारण पुल निर्माण कार्यमा ढिलाई भएको निर्माण व्यवसायी धनबहादुर कुवँरले बताउनु भयो । उहाँले भन्नु भयोे– ‘हामीले ०७६ मङ्सिर ६ गते र पछिल्लो समय ०७८ वैशाख १५ गते सामान उपलब्ध गराउन आयोजना प्रमुखलाई निवेदन दिएका छौँ । तर, अहिलेसम्म समान नै नदिदा तीन चार महिनामा  सकिने काम अघि बढेको छैन् ।’ यसअघि जिल्लाकै व्याँस गाउँपालिकाको तिगरम, लेकम गाउँपालिकाको लाली र मालिकार्जुन गाउँपालिकाको जोलजीविमा झोलुङ्गे पुल निर्माण भइसकेका छन् ।photo20210722darchula (4)

photo20210722darchula (3)

photo20210722darchula (2)

photo20210722darchula (1)

- नरेन्द्रसिंह कार्की