पुनर्स्थापनको आशै आशमा सिद्धियोजीवन
भोजराज तिमल्सिना
वषौँसम्म आफू जन्मेको हुर्केको ठाउँबाट टाढिएर विस्थापनको दुःख भोग्दै आएका उनीहरूले विस्थापनको यातनाबाट मुक्ति पाउन मृत्यु नै कुर्न पर्यो । जीवित रहँदा उनीहरूले आफ्नो गाउँ पर्कन अनेकन प्रयास गरे । तर सकेनन् । माओवादीले उनीहरूको घरजग्गा सुम्पेनन् । आफ्नै नेताले हस्ताक्षर गरेको शान्ति सम्झौताको अलिकति पनि सम्मान गर्न सकेको भए ती विस्थापितको जीवनले अझै म्याद पाउने थियो । आफ्नो घर आँगनमा उभिने सपना कहिल्यै देख्न नपर्ने गरी कैयन विस्थापितहरूको अवसान भइरहेको छ ।
साउन महिनाको पहिलो साता, मकै गोड्ने समय थियो । छिमेकी नानी र टेकबहादुर कार्कीको घरमा माओवादी बास बसेका रहेछन् । बिहानै प्रहरी आएर 'बाहिर निस्क, नत्र घरमा आगो लगाँउछौ' भन्न थाले । भित्र मान्छे राखेर आगो लगाउने कुरा उनलाई मन परेन । बुढौली लागेपनि 'खबरदार, आगो लगाउन पाइन्न' भन्दै छिमेकीको घरमा गए । प्रतिवादपछि प्रहरीले कार्कीको घरपछाडिबाट भत्काए । घटनामा तीनजना माओवादी पक्राउमा परे भने नौजना झ्यालबाट भागे । 'घर भत्काएपछि क्षतिपूर्ति दिनुपर्छ' भनी अडान राखेकाले प्रहरीले क्षतिपूर्ति लिन हिड्नुस भनेर भारी बोकाई गोविन्दलाई चौकीमा पुर्याए । माथिबाट ठानेदार आँउछन् भन्दै प्रहरीले पीडित परिवारलाईसमेत कुरायो । रातपरेपछि मात्र साउनको तेस्रो सातातिर जिल्लामा आउनु भनियो । जिल्ला जाँदा डिएसपीले 'यिनीहरूलाई थुन्दे, माओवादी पाल्ने पनि यिनै, क्षतिपूर्ति माग्न आउने पनि यिनीहरू' भन्दै थर्काए ।
मलिन अनुहार लिएर फलामेटार गाविस-५ निवासी ४० वर्षीय गोविन्द भनिने धनप्रसाद तिमल्सिनालगायत छिमेकीहरू फर्किए । जाँदाजाँदै बाटोमा 'तँलाई भोली मार्छन् रे घरमा नबस' भन्न थाले गाँउलेहरू । अघिल्लो दिन ३२ वर्षीय नानी कार्कीलाई माओवादीले अपहरण गरी सोधपुछ गरी छाडेका थिए । गाँउलेले त्यसो भनेपछि ०५५ साउन २५ गते बिहानै फापरबारीको बाटो हुँदै काठमाडौंतिर सोझिए उनी । एक्लै सहरमा बस्न सकेनन्, परिवारको यादमा लुक्दै ०५५ भदौंको ७ गते घर गएर दिँउसो बारीमा र राति घरमा बसे । 'माओवादी रमितेको ओडारमा आएर बसेका छन् ,तँ भाग, मार्छन्' भनेर छिमेकीले फेरि समाचार ल्याए । पानीमा भिज्दै घर छोडेर राति ओडारमा बसी भोलिपल्ट डाँडो काटे उनले ।
मानिसको मनै त हो कसरी एक्लै बस्न सक्थे उनी । लुकिछिपी कात्तिक ७ गते फेरि घर फर्किए । केही दिनपछि नै 'गुमराङमा बञ्जारा मारे' भन्ने समाचार सुनेपछि उनले घर छाड्नुमै भलाइ ठाने । त्यसै दिन हतियारसहितका आठजना माओवादीले घरमा गएर सोधपुछ गरेछन् । माओवादी घरमा गएको सुनेपछि त उनी झनै आत्तिए । माओवादीलाई दिनु भनेर पठाएको चिठी पनि छिमेकीले च्यातिदिएछन् ।
सडकमा भुटेको मकै बेचेर खोपासीमा सानो घर बनाई परिवारका आठैजनालाई बोलाए । गाँउको ३० रोपनी सात आना जग्गा, घर र गोठ सबै अलपत्र पर्यो । सपरिवार गाउँबाट विस्थापित भएपछि उनको घरजग्गा माओवादीले बलडाँडाका टोकल भ्लोनको जिम्मामा कमाउन दिए । शान्ति वार्तापछि घरजग्गा फिर्ता पाइन्छ कि भनेर गाँउ गए तर माओवादीले ५० हजार लिएर मुक्त भएको पत्र दिए । माओवादी कार्यालयमा धेरै धाए तर जग्गा फिर्ता भएन उनको । उनी विस्थापनमा परेको कुरा इन्सेक प्रतिनिधिले स्थानीय पत्रिकामा लेखेपछि 'मेरोबारेमा लेख्ने को हो' भनेर कड्किदै कार्यालयमै आए गोविन्द । कुरा गर्दै जाँदा निकै बेर उनी । पहलकदमी हुँदै थियो । एक्कासि बेहोस भएर लडेपछि ०६३ माघ ११ गते शिक्षण अस्पताल काठमाडौंमा उनको मृत्यु भयो ।
इन्सेक प्रतिनिधिको अभिलेख अनुसार काभ्रे जिल्लामा दुईसय ५० परिवारका एकहजार तीनसय ६२ जना विस्थापनमा परेका छन् । यसमा माओवादीले कब्जा गरेका १६ परिवारको घरजग्गा शान्ति प्रक्रियापश्चात् पनि फिर्ता भएको छैन । सशस्त्र द्वन्द्वका क्रममा विस्थापनको बढी समस्या क्षेत्र नम्बर १ मा देखिएको छ जहाँ गरिबी, अशिक्षा र बेरोजगारीको ठूलो बास छ ।
माओवादी जिल्ला नेता महेश गाँउमा अन्यायपूर्वक व्यक्तिका जग्गा हडपेर राज चलाउनेहरू नै विस्थापित भएको बताँउछन् । दश वर्ष द्वन्द्वका क्रममा कब्जामा लिएका र नष्ट नभएका सामान खोज्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको बताँउदै उनी विस्थापितहरूलाई फर्कनका लागि पार्टी सक्दो सहयोग पुर्याउने बताँउछन् । विस्थापितको पहिचानको लागि यहाँ धेरै पटक सर्वदलीय बैठक पनि भए । प्रायः ती सबै बैठकहरू आफ्ना पार्टी कार्यकर्तालाई प्रशासनमा सूचिकृत गर्ने विषयमै केन्द्रित रहृयो ।
गोविन्दसँगै विस्थापनमा परेका फलामेटार गाविस-५ निवासी ५३ वर्षीय बालकृष्ण तिमल्सिना, ३६ वर्षीय थरीप्रसाद तिमल्सिनाको घरमा पनि कोही फर्किएको छैन । अर्काको खेती कमाएर मजदुरी गर्ने उनीहरू आफूहरू पनि गोविन्दको जसरी घर फर्किन नपाई बित्ने हो कि भन्ने भयसँगै विरानो ठाउँमा बाँचिरहेका छन् ।
नेपाली काङ्ग्रेसमा आस्था राखेका कारण बनखु गाविस-१ निवासी अर्जुन कुँवरलाई ०५७ साउन १५ गते माओवादीले अपहरण गरी कुटेर मर्यो भनी फ्याँकेको ठाँउबाट अस्पताल ल्याई उपचार गरपछि अपाङ्ग भएरै पनि बाँचेका थिए । गाउँको घरमा माओवादीले ताला लगाई घरका सबै सामान लगे । त्यही चिन्ताले ०६२ वैशाख १५ गते उनको मृत्यु भयो । घर जाने आशमा गोविन्द र अर्जुन मात्र होइनन् गोकुले गाविस-५ का विक्रम योञ्जन बनखु गाविस-४ का रत्नध्वज वाइवा, बुढाखानी गाविस-३ निवासी कारसे लामा अनि मेच्छेका दौलत सिं लामा घर फर्किन नपाइकन बिते ।
माओवादी भने कसैलाई पनि घर जानबाट वञ्चित नगरेको स्पष्टीकरण दिन्छन् । जिल्लाको सदरमुकाममा माओवादीले ०६३ कात्तिक १३ गते विस्थापितहरूको घरजग्गा फिर्ता तथा पुनर्स्थापना सम्पर्क कार्यालय खोले । तर, यो कार्यालयमा विस्थापित कसैले पनि निवेदन बोकेर नआएका कारण 'भाडा मात्र किन तिर्ने भनेर महिनादिनपछि बन्द भयो । पत्रपत्रिकामा माओवादीलाई विस्थापितले नटेरेको भन्ने समाचार पनि आयो । आन्तरिक विस्थापनसम्बन्धी संयुक्त राष्ट्रसंघीय मार्गनिर्देशक सिद्धान्तविपरीत विस्थापित गराउने पक्षलाई नै निवेदन दिएर घर फर्किनुपर्ने प्रावधानले सबैलाई लज्जित बनायो । माओवादीका वर्तमान विद्यायक लालध्वज लामा र जिल्ला जनसरकार प्रमुख बमध्वजसँग ०६२ चैत १६ गते इन्सेक प्रतिनिधिले विस्थापितहरूलाई पुनःस्थापित गर्नेसम्बन्धमा नेपालथोकमा गरेको कुराकानीमा माओवादीले काभ्रेमा १६ परिवारमात्र विस्थापित भएको दावी गरे ।
नेपाल सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा सशस्त्र द्वन्द्वका समयमा कव्जा गरिएका,ताला लगाइएका र प्रयोग गर्न नदिइएका सम्पतिहरू तत्काल फिर्ता गर्न दुवै पक्षले सहमति व्यक्त गरेका छन् । तर त्यो सहमति पालना होउन्जेल कतिजना गोविन्दहरूको जीवन मरणमा परिणत हुने हो,त्यसको जवाफ महेश र लालध्वजसँग मात्र होइन माओवादी सम्मिलित सरकारसँग पनि छैन ।
काभ्रे । ०६४ भदौ
-
सम्बन्धित फिचरहरू
आरनबाटै जीविका चलाउँदै कालीगढहरू !
सल्यान सारदा नगरपालिका–२, खलङ्गाका ६४ वर्षीय विष्णु विश्वकर्माले १० वर्षको उमेरदेखि नै आरनको काम गर्दै आउनुभएकाे छ । पाँच वर्षको उमेरदेखि नै उहाँले फलामका हतियार बनाउन सिक्नुभएको थियाे । उहाँका…
दोरम्बा घटनामा पति मारिएपछि एक्लिएकी मेन्दो !
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच दाङको हापुरेमा वार्ता चलिरहेको बेला २०६० साल साउन ३२ गते सेनाले रामेछाप दोरम्बामा १९ जना माओवादी नेताहरूको सामूहिक रूपमा हत्या गरेको घटनामा पति मारिएकी…
वैकल्पिक व्यवस्था नगरेरै भूमिहीन सकुम्बासीकाे उठिबास !
वीरेन्द्रनगर नगरपालिका–७, खारखोलीमा बस्दै आउनुभएकी नन्दकला विकलाई रातदिन चिन्ताले पिरोलिरहेको छ । कुन बेला सरकारले घर भत्काइदिने हो भन्ने कुरा उहाँको मनमा खेलिरहन्छ । किनभने उहाँले बनाएको घर सरकारी जग्गामा…
वैदेशिक रोजगारीको प्रभाव, बढ्दै सम्बन्ध विच्छेद
धनकुटाको साँगुरीगढी गाउँपालिका-१ का ३७ वर्षीय मङ्गलबहादुर विश्वकर्मा ०६९ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया जानुभयो । तीन वर्ष मलेसिया बसेर ०७२ सालमा नेपाल फर्किदा उहाँकी पत्नी खेमकुमारी विश्वकर्माले दोस्रो विवाह…
हाम्रो पीडामा सरकारले मलम लगाउन सकेन !
‘मेरो जिन्दगीमा निको नहुने घाउ लागेको छ । सायद मेरा घाउहरूको उपचार गर्ने कुनै औषधी बनेको छैन । पीडाको अर्थ भोग्नेलाई मात्र थाहा हुँदो रहेछ । देख्ने र सुन्नेहरूले केवल…