पुर्ख्याैली पेसा आरनबाट फेरियो दैनिकी

२०८१ जेठ ३

जेठको महिनाको गर्मी तपतपी पसिना चुहिने । सानो खरको छाप्रोभित्र सानो आरन मेसिन छ ।  वीरेन्द्रनगर नगरपालिका–९ का ५९ वर्षीय हर्कबहादुर सुनार जो त्यही छाप्रोमा बसेर फलामसँगै खेल्न थालेको पनि वषौँ भइसक्यो । आरनमा बसेर काम गर्दा गर्दै भोक, तिर्खा र दिन बितेको थाहा नै नपाउने हर्कबहादुरको जाँगर जवानीको भन्दा कम छैन ।

उहाँको पुर्ख्याैली घर दैलेख जिल्लाको गुराँस गाउँपालिका–६ हो । वीरेन्द्रनगर नगरपालिका–१० मा ‘राम कृष्ण आरण उद्योग’ खोलेर उहाँले आरन व्यवसाय गरिरहुनभएको छ । सानै उमेरदेखि फलाम र आरनको काम गर्ने सीप सिकेर उहाँले आरन पेसा थाल्नुभएको हो । आरन पेसा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुर्ख्याैली पेसा भएकाले निरन्तरता दिएको उहाँले बताउनुभयो । खरको छाप्रामुनी रहेको उहाँको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मत सम्भार गर्ने काम पनि आरनमै हुन्छ ।

मानिसलाई चाहिने दैनिक उपभोग्यका सामान बनाउन उहाँ निकै सिपालु हुनुहुन्छ । उहाँले आफ्नो बाबुसँगै आरनमा फलामको काम गर्न सिकेको बताउनुभयो । १८ वर्षको उमेरदेखि आरन पेसामा लाग्नुभएका उहाँले आरनको सहयोगमा खुकुरी, बन्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबे जस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामग्री बनाउनुहुन्छ । उहाँले काँचो फलाम किनेर विभिन्न सामानहरु निर्माण गर्दै आउनुभएको छ । विद्युतको सहायताबाट फलामका सामानहरु चम्काउने गर्नुहुन्छ । आरनमा बनेको खुकुरीलाई न्युनतम ३ हजार देखि ६ हजार रुपियाँ सम्म मूल्य पर्दछ । यसैगरी हँसिया र फालीलाई ३ सयदेखि ५ हजार रुपियाँ, कोदाली र टुकुटुके १ सय देखि ५ सय रुपियाँसम्म मूल्य उहाँले तोक्नुभएको छ । आरनबाट दैनिक रुपमा चाहिने विभिन्न प्रकृतिका सानादेखि ठूला सामानहरु बन्छन् । आरनमा फलामबाट निर्मित सामान उदाउने काम पनि हुन्छ । आफूले बनाउँदै आएका सामानको १ सयदेखि ६ हजार रुपियाँ सम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

हर्कबहादुर आफूसँग फलामको सामानहरु बनाउने सिप समय अनुकूल नयाँ भएको बताउनुहुन्छ । उहाँले आरनमा बनाएका सामग्रीहरु कैलाली, काठमाडौं, पोखरा, जुम्ला, कालिकोटलगायत ठाउँसम्म पुग्ने गरेका छन् । परम्परागत सिप र प्रविधिमा आधारित आरनमा सामुदायिक वन जङ्गलबाट पैयुँ, गुराँस, हाडेकाफल, मौवा र आरुपाते रुखको सहयोगमा गोल बनाएर आरन सञ्चालन गरिन्छ । वनबाट ल्याएको गोलको सहयोगबाट नै फलामका सामानहरु तिखारिन्छन् र चम्किने गरेको उहाँले बताउनुभयो । अहिले चारजनाको परिवार रहेको सुनारले आरन पेसाबाटै परिवारको गुजारा चलाउने गरेको बताउनुभयो । पहिले त आरनको काम गरेबापत गाउँलेबाट उहाँले अन्नपात लिने गरेपनि अहिले नगदमा सामग्री बेच्ने गरेको उहाँको भनाइ छ ।

हर्कबहादुर सुनारको जीवन निकै सङ्घर्षशील छ । उहाँको ९ वर्षको उमेरमा २० केजी फलाम बोक्ने गर्नुहुन्थ्यो ।  २०३० सालतिर नेपालगञ्जबाट २० केजी फलाम खाली खुट्टा बोकेर सुर्खेत ल्याएको इतिहास पनि छ । आर्थिक अभावकै कारण १६ वर्षको उमेरमा पाँच कक्षासम्म मात्रै अध्ययन गर्न सकेको उहाँले बताउनुभयो । सुनारले आरन पेसाबाटै परिवार धानेका कारण भारत लगायतका विदेशतिर जानु नपरेको बताउनुभयो ।

पछिल्लो पिँढीले भुलिसकेको र लोप हुने अवस्थामा पुगेको आरनबाट हर्कबहादुर सुनारको राम्रो आम्दानीको स्रोत भएको छ । १८ वर्षदेखि आरनको काम गर्दै आएका सुनारले २ लाख रुपियाँ लगानीमा सञ्चालन गरेको उद्योगबाट अहिले वार्षिक ३ लाख रुपियाँसम्म कमाइ गर्दै आएको बताउनुभयो ।

बुबाको पालादेखि नै फलामको काम गर्दै आएकाले पेसा परिवर्तन नगरी उद्योग नै दर्ता गराएर आरनलाई व्यवस्थित र व्यावसायिक रुपमा चलाएको उहाँले बताउनुभयो । अहिले आरन उद्योगमा दुई जनाले रोजगारी समेत पाएका छन् । उनीहरूलाई मासिक १६ हजार रुपियाँ तलब दिएर काममा लगाएको उहाँले बताउनुभयो ।

आरन उद्योग सञ्चालन गर्नका लागि कुनैपनि निकायबाट सहयोग नपाएको हर्कबहादुरको गुनासो छ । आरनमा धेरै लगानी नगरी राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । हर्कबहादुरले गाउँघरमा काठको कोइला पाउन छाडेपछि पत्थर कोइला पनि प्रयोग गर्नुहुन्छ ।

‘आरनबाट भएको आम्दानीले अहिलेसम्म सन्तुष्ट नै छु । आरन पेसा परिवारसँगै बसेर काम गर्न मिल्ने, आज काम गर्छु भोलि गर्दिन पनि भन्न मिल्ने भएकाले यो पेसामा म निकै खुसी छु,’उहाँले भन्नुभयो, ‘काम पाएन भनेर खोज्नुपरेको छैन बरु रोजगारी दिएको छु ।’

Photo20240516Surkhet

- जगतदल जनाला विक