पीडकलाई कारबाही भएको हेर्न चाहन्छन्ः दोरम्बाका पीडितहरू

'हामीलाई पैसा हैन, सम्मान चाहिएको छ । पैसा भन्दा आत्मसम्मान र अत्मसन्तुष्टि ठूलो कुरा हो । पीडकलाई कारबाही भए मात्र हामीले कानुनी रूपमा सम्मान पाउने छौं । पीडक जो भए पनि उसलाई कारबाही हुनु पर्žयो'-यो भनाई हो सेनाद्वारा २०५९ साउन ३२ गते युद्धविरामको समयमा बैठक बसि रहेको बेला नियन्त्रणमा लिई दोरम्बामा हत्या गरिएका माओवादी कार्यकर्ता सानुराम तामाङकी पत्नी मायाँदेवी तामाङको ।

तत्कालीन शाही नेपाली सेनको रामेछापस्थित नारायण दल गुल्मका मेजर राममणि पोख्रेलको नेतृत्वमा गएको सेनाको टोलीले २०५९ साउन ३२ गते युद्धविरामको समयमा दोरम्बा गाविसका युवराज मोक्तानको घरमा बैठक बसि रहेको बेला माओवादीका १९ जना नेता तथा कार्यकर्ताहरूको नियन्त्रणमा लिई सामुहिक हत्या गरेको थियो ।

बैठकस्थलको सुरक्षाको लागि दोरम्बा गाविस-१ का टेकबहादुर थापा घरको बाहिर खटिएका थिए । सेनाले घरमा घेरा हाल्ने वित्तिकै उनलाई त्यहीँ गोली हानेर ढाल्यो । बाहिर गोली चलेको थाहा पाएपछि भित्र खैलाबैला मच्चियो । युद्धकलामा निपूर्ण पार्टी जिल्ला इञ्चार्ज ललितपुर जिल्ला निवासी ललित भनिने हरिप्रसाद दाहाल हामफालेर भागे भने बाँकी सबै घर भित्रै थिए । युद्धविरामको बेला भएकाले हातहतियार विना जम्मा भएका माओवादीहरूले सेनाको प्रतिकार गर्न सकेनन् । उनीहरूले गिरफ्तारी दिए ।

सेनाले १९ जनालाई एकै ठाउँबाट गिरफ्तार गर्žयो । घरबेटी युवराज मोक्तान र उनका छोरा लिला मोक्तान तथा माओवादीका जिल्ला जनसरकार प्रमुख बेथान गाविस निवासी पुष्प भनिने बाबुराम तामाङ, सोही पार्टीका ललितपुर जिल्ला इकुडोल गविस-६ निवासी ललिता भनिने अम्बिका दाहाल, बेथान गाविस-५ का रक्तिम भनिने प्रदीप दोङ, डडुवा गाविस-४ की संगिता थामी, फुलासी गाविस-८ का यथार्थ भनिने हर्कबहादुर तामाङ, गेलु गविस-५ का समीर भनिने रवी चौहान, चनखु गाविस-३ की सहारा भनिने उमा कार्की, चनखु गाविस-९ इन्क्लाव भनिने श्याम तामाङ, पुरानागाउँ-८ का असल भनिने पदमराज गिरी, दोरम्बा-१ की विमा भनिने विष्णुमाया थापा,दोरम्बा गाविस-३ का छोक्पा भनिने ठूलोराम तामाङ, तारा भनिने सानोराम तामाङ, छायाँ भनिने लक्ष्मण तामाङ,धनुषा जिल्ला घर भएका जमीन, सोलु जिल्ला घर भएकी विमला भनिने हर्कलक्ष्मी राई, काभ्रे जिल्ला चौवासका सोम, डडुवा-५ का समीर भनिने चतुरमान थामी सेनाको गिरफ्तारीमा परे ।

गिरफ्तार गरिएकाहरूलाई दोरम्बा बजारमा पुर्žयाएर डोरी लिई दुवैहात पछाडि बाँधेर डोर्žयाउँदै लगियो । दोरम्बा बजारका मानिसहरू सबैलाई ढोका थुनेर भित्र बस्न सेनाले निर्देशन दियो । हात बाँधिएका १९ जनालाई डोर्žयाउँदै त्यहाँबाट एक घण्टा टाढा पर्ने डडुवा गाविस-९ को डाँडाकटेरी भन्ने ठाउँमा पुर्žयाइयो । बाटो छेउको चौरमा लाइन लगाएर हात बाँधेकै अवस्थामा एक एक गर्दै गोली हानेर सबैको हत्या गरी छाडेर सेना अगाडि बढ्यो । सेनाको सो टोली राति बीचबाटोमा बास बसेर भोलिपल्ट दिउँसो सदरमुकाम मन्थली पुग्यो ।

सेनाका मेजरले सुरुमा कुहिरो लागेको समयमा दोहोरो भिडन्त भएको । माओवादी तर्फकेही मानिसहरू मारिएको भन्ने सूचना स्थानीय सञ्चारकर्मीहरूलाई दिएका थिए । तर पछि माओवादीले सेनाले आफ्ना कार्यकर्ताहरूलाई नियन्त्रणमा लिई हत्या गरेको सूचना सार्वजनिक गरेपछि घटनाको वास्तविकता सार्वजनिक भएको थियो । सेनाले हत्या गरेर त्यतिकै छाडेका ती लाशहरूलाई माओवादीहरूले आएर गाडेर गएकामा डाक्टर हरिहर वस्तीसहितको राष्ट्रिय मानवअधिकार आयोगको टोलीले चिहान खोतलेर लाशहरूको पोष्टमार्टम गरेको थियो । आयोगले घटनामा सेना दोषि भएको प्रमाणित गरेको छ । आयोगको प्रतिवेदनको निष्कर्षा भनिएको छ, "हात पछाडि बाँधिएका १९ जना कब्जामा लिएका ब्यक्तिलाई नजिकबाट बन्दुकले गोली प्रहार गरी मारिएको कुरा अन्तर्राष्ट्रिय मानवीय कानुन र खास गरी आन्तरिक प्रकृतिको सशस्त्र विवादको समयमा गिरफ्तार गरी पूर्णरूपमा कब्जामा लिएका बन्दीहरूलाई संरक्षण गर्नु पर्दछ भन्ने सिद्धान्त रहेको जेनेभा महासन्धिको साझा धारा-३ को विपरीत भएको पाइयो । उक्त कार्य नेपाल अधिराज्यको संविधान, सैनिक ऐन, प्रहरी ऐन र सशस्त्र प्रहरी ऐन प्रतिकुल हुन गएको अनुसन्धान समितिको ठहर छ ।"

माओवादी कार्यकर्ताको सेनाले हत्या गरेपछि माओवादीले पनि स्थानीय मानिसहरूलाई सुराकी गरेको आरोप लगाउँदै हत्याको क्रमलाई अगाडि बढाए । उनीहरूले दोरम्बाकी स्वास्थ्यकर्मी रेलीमाया मोक्तानदेखि, काँग्रेसका सामान्य कार्यकर्ता भीमबहादुर श्रेष्ठ र स्थानीय व्यापारी बिक्रम योञ्जनसम्मलाई बाँकी राखेनन् । उनीहरूले तीनै जनालाई सुराकीको आरोपमा नियन्त्रणमा लिएर हत्या गरेका थिए । जसमा दुई जनालाई घरबाट केही टाढा लगेर हत्या गरेका थिए भने बिक्रमलाई घर भित्रै गोली हानि हत्या गरेका थिए । हिँसा र प्रतिहिँसाको घटनाले दोरम्बा यति आक्रान्त बन्यो की सबै गाउँलेहरू गाउँ छाडेर भागाभाग नै चलेको थियो । पुरै गाउँ खालि भयो । गाउँलेहरूको घरमा ताला लागे । गाउँमा मानिसहरू भेटिनै छाडे, बस्तीहरू पुरै खालि भए । त्यसपछि दोरम्बामा लामो समयसम्म मुर्दा शान्ति छायो ।

अहिले युद्ध रोकिएको दुई वर्षबितेको छ । गाउँलेहरू बिस्तारै घर फर्किएका छन् । गाउँका बन्द ढोकाहरूमा हिजोआज दैलो खुलै देखिन लागेका छन् । घाँस उम्रिएका आँगनहरू विस्तारै सफा हुँदैछन् । तै पनि त्यस बेलाको दोरम्बाको घाउ अहिले पनि सेलाएको छैन । दोरम्बाबासीको युद्धको पीडा अहिले पनि जस्ताको तस्तै छ । उनीहरू अहिले पनि सरकार र त्यस बेलाको विद्रोही माओवादीले आफूहरूलाई वेवास्ता गरेको बताउँछन्।

सेनाले सामुहिक हत्या गरेपछि पीडित भएका परिवार र सो घटनामा सुराकीको काम गरेको आरोप लगाउँदै माओवादीद्वारा हत्या गरिएका स्थानीय सर्वसाधारणको परिवारको पीडामा अहिले पनि राज्य र त्यस बेलाको विद्रोही पक्षले मलम लगाउने काम गर्न सकेको छैन । द्वन्द्वको मारमा परेर घर छाडेर भागेकाहरूको आँगनमा उम्रिएको झार अझै मरेकोछ छैन । दोरम्बाका पीडित परिवारहरू अहिले पनि आफूहरूलाई राज्य र माओवादीले वास्ता नगरेको बताउँछन् ।

पीडितहरू घटनामा सङ्लग्न दोषिहरूलाई कानुनी कारबाही नभएसम्म आफूहरूको घाउमा खाटा नबस्ने बताउँछन् । माओवादीद्वारा हत्या गरिएका दोरम्बा गाविस-४ का बिक्रम योञ्जनका भाइ केबी योञ्जन भन्छन्, 'माओवादी पक्ष होस् वा राज्य पक्ष घटनामा जो जो सङ्लग्न छन् उनीहरूलाई कारबाही हुनु पर्दछ । हाम्रा परिवारका सदस्यलाई मार्नेहरू खुल्ला रूपमा हिँडेसम्म हाम्रो पीडाको घाउ कसरी निको हुन सक्छ - हाम्रो पीडा कम गराउन त उनीहरूलाई कारबाही गर्नु पर्žयो नी ।'

सेनाद्वारा हत्या गरिएकी माओवादी कार्यकर्ता सरस्वती योञ्जनका बाबु श्याम योञ्जनको धारणा पनि त्यस्तै छ । उनी भन्छन्, 'हामीलाई पार्टीले चाहिएको बेलामा प्रयोग गर्žयो । त्यसपछि छाडिदियो । अहिले पार्टीको मान्छे आफ्ना मान्छेलाई ठाउँठाउँमा राखेर मिलाएर खान मस्त छन् । हाम्रो कुनै वास्ता नै गर्दैनन् । अहिले मारिने र मार्ने पक्ष मिलेका छन् । हामीलाई यो कुराको चित्त बुझेको छैन । घटनामा दोषि जो भएपनि उसलाई कारबाही हुन पर्žयो । उनीहरूलाई कारबाही गर्नु पहिलो कुरा हो । त्यसपछि मात्र राहात र सहयोगका कुराहरू आउँछन् । मार्नेले मारेको मारै, मर्ने मरेको मरै भएपछि पैसाले मात्र के गर्दछ । '

उनकै कुरामा सहमत छिन् पीडित काइँली तामाङ पनि । उनी पनि राहत भन्दा पहिला पीडकलाई कारबाही भएको हेर्न चाहन्छिन् । उनी भन्छिन्, 'म सबैभन्दा पहिला मेरो लोग्नेलाई गोली हानेर मार्नेलाई कारबाही भएको हेर्न चाहन्छु । त्यसपछि मात्र राहत र सहयोगका कुरा आउँछन् । अहिले त दोषिलाई कारबाही गर्नु त कता कता एक लाख रूपैयाँ दिएर हामीलाई भुलाउन खोजिदै छ । मेरो लोग्नेको मुल्य एक लाख रूपैयाँ मात्र हो - उसलाई मार्नेलाई कारबाही हुनु पर्दैन -'

मारिएकाहरूको आफन्तहरूको मात्र हैन द्वन्द्वको कारण घर छाडेर विस्थापित भएकाहरूको पनि पहिलो प्राथमिकता पीडकलाई कारबाही गरिनु पर्दछ भन्ने नै रहेको छ । उनीहरू पनि द्वन्द्वको कारण आफूहरू विस्थापित भएर हिँडेको तथा सास्ति व्यहोर्नु परेको बताउँदै ती पीडकहरूलाई कारबाहीको साथै आफूहरूले क्षतिपूर्ति पाउनु पर्ने बताउँदछन् ।

सराकारले सत्य, निरूपण तथा मेलमिलाप आयोगको गठनका लागि सार्वजनिक गरको मस्यौदा ऐनमा मेलमिलापमा जोडदिएकोमा उनीहरूलाई चित्त बुझेको छैन । उनीहरू मेलमिलाप हैन पीडकलाई कारबाही गर्नुपर्ने कुरामा जोड दिन्छन् । माओवादीद्वार हत्या गरिएका बिक्रम योञ्जनका भाई केबी योञ्जन भन्छन्, 'ओछ्यानमा सुति रहेको मानिसलाई तानेर ड्याङ् गोली हानेर मजेरीमा ढालेर हिँड्ने मानिससँग के को मेलमिलाप हुन्छ । उसलाई त कारबाही पो गर्नु पर्छ । कताको मेलमिलापका कुरा गर्नु । यो सबै अलमल्याउने बाटो हो । घटनामा सङ्लग्न जो भए पनि उसलाई कारबाही हुनु पर्žयो । तबमात्र हाम्रो पीडा कम हुन्छ ।'

सेनाद्वारा दोरम्बामा हत्या गरिएका माओवादी कार्यकर्ता सानुराम तामाङकी पत्नी मायादेवी तामाङ पनि मेल मिलापमा हैन कारबाहीमा जोड दिन्छिन्, 'दोषि जो भएपनि कारबाही हुन पर्žयो । पैसा सबैथोक हैन । हामीलाई सम्मान चाहिएको छ । पीडकलाई कारबाही नभएसम्म हामीले शिर उठाएर हिँड्न सक्दैनौं ।'

यो भनाई दोरम्बाका मायादेवी, काइँली, केबी र श्यामको मात्र हैन । यस्तै भनाई रामेछापका द्वन्द्वमा मारिएका झण्डै तीनसयको परिवार र द्वन्द्वको बेलामा सास्ति भोगेका सयौंको परिवारको हुन सक्छ । त्यति मात्र हैन,द्वन्द्वमा जीवन गुमाएका १५ हजार भन्दाबढी नेपालीका परिवारको हुन सक्छ । द्वन्द्वको चपेटामा परेका लाखौं नेपालीको हुन सक्छ । यदि यसलाई राज्यले बेलैमा सम्बोधन नगर्ने हो भने द्वन्द्वको सहि रूपान्तरण नहुन पनि सक्छ ।

नवराज पथिक

रामेछाप

०६५ फागुन २३ गते

-