पहिरोको त्रासमा पढ्दैः विद्यार्थीहरू भन्छन् - घर र विद्यालयमै त्रास भएपछि कहाँ जाने !

गुल्मी । ०८१ साउन ३० गते

गुल्मीको मालिका गाउँपालिका–२, दर्लिङ्ग पाटाखर्कका १५ वर्षीय मिथुन बोहोरा च्यानडाँडा माविको कक्षा १० मा पढ्नुहुन्छ । घरबाट डेढ घण्टा हिँडेर विद्यालय पुगिन्छ । पहिरोको त्रासले हप्तादिन भयो निद्रा नपरेको । घरमाथि र तल जोखिम बढेको छ । ‘घर तलबाट थुत्ने वा माथिबाट पुरिने ठेगान नै छैन । गाउँका कोही पनि सुरक्षित छैनन् । पानी परे बिस्तारा बोकेर गाउँ छोड्नु पर्छ । घरमा ढुक्कले बस्ने अवस्था छैन', उहाँले भन्नुभयो । सडक र ठूलो पहिरोका कारण विद्यालय पुग्नै मुस्किल छ । अझ विद्यालयनै पहिरोले बगाउन थालेकाले पढ्न सक्ने अवस्था समेत नरहेको बोहोराले गुनासो गर्नुभयो ।

त्यस्तै मालिका गाउँपालिका–२, दर्लिङ्ग सिरुखर्ककी १४ वर्षीया पवित्रा श्रीपाली च्यानडाँडा माविको कक्षा ९ मा पढ्नुहुन्छ । डेढ घण्टाकै बाटो भएर विद्यालय आउनुपर्ने बाध्यता उहाँलाई छ । घर पहिरोले च्याँपेको छ । पानी परे गाउँका कोही पनि घरमा बस्दैनन् । घरबाट एक्लै हिँडेर विद्यालय पुग्दा र फर्किँदा आफ्नो र बुबा–आमाको आधा मन हुने अवस्था पहिरोले सृजना गरेको श्रीपालीले बताउनु भयो । विद्यालयका कोठा भत्किएका छन् । उहाँले सिङ्गो विद्यालय अब पानी परे नरहने बताउनु भयो । श्रीपालीको घरमा बुबाआमा, दुई जना दिदि र भाइ रहेका छन् । ‘घरमा पनि पानी परे चौर र छिमेक खोज्छौँ । चर्किएको विद्यालयमा डराएर पढ्दा चिन्ता पढाइकोभन्दा बगाउने भयो । आउँदा–जाँदा बाटोमा ढुङ्गा खसेर मर्ने बाँच्ने ठेगान छैन', उहाँले भन्नुभयो ।

Photo14082024Gulmi

मालिका गाउँपालिका–२, दर्लिङ्गको च्यानडाँडा माविमा साउन २२ गतेको वर्षासँगैको पहिरोले क्षतिग्रस्त बनाएको छ । युडब्लु एस नेपालले करिव ५० लाखको लागतमा निर्माण गरेको नौ कोठे विद्यालय भवन पहिरोले क्षति पुर्‍याएपछि विद्यार्थीको पढाइभन्दा ज्यान जोगाउने चुनौती रहेको प्रधानाध्यापक मुक्तबहादुर खत्रीले बताउनु भयो । विद्यालयको तलबाट जमिन नै बग्दै गएपछि केही कोठाहरू खस्ने र चर्कने भएका छन् भने विद्यालय नै पुरै जोखिममा रहेको प्रधानाध्यापक खत्रीले जानकारी दिनुभयो । च्यान डाँडा माविमा २ सय २९ जना विद्यार्थीले अहिले अध्ययन गर्दै आएका छन् ।

नयाँ भवनमा कक्षा ६, ७ र ८ का गरेर १ सय जना विद्यार्थीले पढ्दै आएका छन् । दिउँसोमा पनि धेरै चर्किएका कोठाका विद्यार्थीहरूलाई बाहिर बलेनीमा राखेर पढाउने काम भएको छ । ‘युडब्लुएसले हस्तान्तरण नै नगरेको विद्यालय पहिराले तहसनहस बनाएपछि ठूलो पीडा भएको छ । शिक्षक र विद्यार्थी दुवै त्रासमा छन् । अहिले वर्षा रोकिएकाले केही मात्रामा राहत भएको छ', खत्रीले भन्नुभयो । युडब्लुएस नेपालका शिक्षा अधिकृत अनुज सिग्देलले आफूहरूले स्थलगत अनुगमन गरेपछि मर्मत वा नयाँ भवन निर्माण गर्ने भन्ने विषयमा संस्थाले निर्णय गरेर अगाडि बढ्ने बताउनु भयो । सिग्देलले युडब्लुएसले हरेक ठाउँ करिव ५० लाख खर्च गरेर विद्यालय बनाउने गरेको र केही काम बाँकी भएकाले हस्तान्तर नगरेको बताउनु भयो । विद्यालय मात्रै नभएर विद्यालयका शिक्षक तथा विद्यार्थीहरू घर र विद्यालय गर्ने अवस्था समेत निकै जोखिमपूर्ण रहेको छ ।

Photo14082024Gulmi3

सडक अवरुद्धसँगै तलमाथि ठूला पहिरा हुँदा टाढासम्म आवतजावत गर्ने शिक्षक विद्यार्थीहरूलाई निकै जोखिम रहेको शिक्षक राम बहादुर थापाले बताउनु भयो । च्यानडाँडा माविमा कक्षा ३ मा पढ्ने विद्यार्थी करिव दुई घण्टाको बाटो हिँडेर आउने भएकाले घर, सडक र विद्यालयमा ज्यानकै जोखिम बढेको थापाले बताउनु भयो । कैयौँ विद्यार्थीका परिवार विस्थापित भएकाले रातमा छिमेकीकोमा जाने अवस्था भएको र दिउँसोमा स्कुल आउँदा पनि त्रासमै पढ्ने स्थिति रहेको च्याँनडाँडा मावि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रविन्द्र विश्वकर्माले बताउनु भयो । उहाँले अझै वर्षात् भएकाले घटनाको जोखिम धेरै रहेकाले अवस्था हेरेर बालबालिकालाई सहजीकरण गर्न अभिभावलाई आग्रह गरिएको बताउनु भयो । अत्याधिक वर्षाको कारण दर्लिङ्गका गाउँहरू पनि तहसनहस भएका छन् । अहिले करिव चार दर्जन परिवार घर छोडेर विस्थापित हुनुपर्ने अवस्था र सयौँ घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष देविराम अर्यालले जानकारी दिनुभयो । गाउँपालिकाले प्रदेश र केन्द्रमा समन्वय गरेर आवश्यक सहयोग र पुर्नबासको काम अगाडि बढाउने बढाउने भएकाले तत्काल त्रिपाल वितरण गर्ने, वर्षात् रोकिए सडक खुलाउने, विद्यालयका विद्यार्थी र विस्थापित परिवारलाई संरक्षण गर्ने काम हुने अर्यालले बताउनु भयो ।

मालिका गाउँपालिका–२, दुनामका हरिलाल विक साँझ परेपछि बास खोज्न गाउँ निस्कनुहुन्छ । ‘पहिरोले घर घेर्‍यो फेरि ठूलो वर्षा भए बाँच्ने उपाय छैन । पत्नी र छोरी लिएर च्यानडाँडा जान थालेका हप्तादिन बढी भए । पानी परे बस्ती नै बगाउने जोखिम भएकाले छिमेकीहरू कोही पनि घरमा बस्दैनन्', विकले भन्नुभयो । सोही गाउँकै नरमती सुनार, जङे सुनार र भागिरथी सुनारको परिवारले घर छोडेका छन् । सोही गाउँका कर्ण पुनको घरगोठनै पहिरोले बगाएको छ । उहाँका पशुचौपाय समेत मरे । पुनको चार जनाको परिवार छिमेकीकोमा आश्रय लिएर बस्दै आएको छ । पहिरोले सोही गाउँका टिकाराम घर्तिको गोठ बगाउँदा भैसी र हरिलाल थापाको दुई ओटा गोरु मरेको छन् । पहिरोले पाटाखर्कका १७, धारका १४, उल्लेरका आठ, दुनामका दुई र कोशिलाबाँझका दुई घर परिवार पहिरोका कारण विस्थापित भएको मालिका गाउँपालिका–२ का वडाध्यक्ष बिनोद श्रीसले जानकारी दिनुभयो । अहिले विस्थापित परिवार च्यानडाँडा सामुदायिक स्वास्थ्य केन्द्रको भवन, सिद्ध प्रावि र छिमेकीकोमा आश्रय लिएर बसेको श्रीसले बताउनु भयो ।

नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीले जिल्लाका जोखिमपूर्ण बस्ती स्थान्तरणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । विशेष गरेर गुल्मीका अधिकांश दलित बस्ती पहिरोको जोखिममा छन् । जसका कारण ठूलो मानवीय तथा भौतिक क्षति दलित परिवारले वर्षौँदेखि भोगिरहेको भन्दै समाजले बस्ती स्थान्तरण र राहतको व्यावस्थापनको लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण विश्वकर्माले जानकारी दिनुभयो । पहिरोले १४ असारमा मालिका गाउँपालिका-६, अर्जेका भेषबहादुर विकको पाँच जनाको परिवार र साउन २२ गते मुसिकोट नगरपालिका-१, विसौनामा दुई परिवारका चार जनाको ज्यान गएको छ ।

Photo14082024Gulmi1

नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीका अध्यक्ष दिपक बरालद्वारा जारी ध्यानाकर्षण पत्रमा दलित समुदाय लगायत अन्य समुदायको बसोवास गर्ने जोखिमपूर्ण बस्तीहरूको नक्साङ्कन गरी बस्तीको स्थानान्तरण गरी पुर्नवासको व्यवस्था गर्न, ज्यान गुमाएका परिवारमा शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेण्टी गर्न, सम्भावित प्राकृतिक विपत्तिबारे जोखिमपूर्ण बस्तीमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न, बाढी पहिरोबाट प्रभावित क्षेत्रमा समयमै राहत र उद्धार कार्य गर्ने व्यवस्था गर्न र बाढी पहिरोबाट घाइते हुनु भएका घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ । प्रमुख जिल्ला अधिकारी शर्माले ज्ञापनपत्र तत्काल प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पठाउने र जिल्लाको विपद् व्यवस्थापन समितिको बैठकमा छलफल गरेर उचित निर्णय गर्ने बताउनु भयो ।

Photo14082024Gulmi2  Photo14082024Gulmi6  Photo14082024Gulmi4

Photo14082024Gulmi5

- टोपलाल अर्याल