पर्खाईमा बित्यो २२ वर्ष : ‘न सास पायौँ, न लास पायौँ’

२०८० असोज २६

‘बिहान खाना खाएर घरबाट जानु भएको हो, छोरा डेढ वर्षको थियो, दाङ जिल्लाको तुल्सीपुरमा कपडा सिलाउने मजदुरी गर्ने सोचका साथ घर छाडेर हिडेको २२ वर्ष भयो, तर अहिलेसम्म घर आउनुभएको छैन्, बाटो बिराएको भएपनि घर खोज्दै अहिलेसम्म त आउनु पर्ने होइन् र ?’ यो प्रश्न हो  सिद्ध कुमाख गाउँपालिका–३ डाँडाकटेरीकी ४० वर्षीया डवली परियार ।

विगतलाई सम्झदै भन्नुभयो ‘घरमा पत्नी, छोरा, आमाबुवा, दाइभाइ, बहिनी सबै हुनुहन्थ्यो, अझै घरको याद आएन होला र ?’

‘दाङ जिल्लाको तुलसीपुरमा सिलाईकटाईको मजदुरी गर्ने भनेर कुरा ०५९ फागुन १९ गते कपडा सिलाउने मेसिन लिएर घरबाट हिडेका १९ वर्षीय पति डोटिराम परियार अझै बेपत्ता हुनुहुन्छ । पतिको घरमा आउने प्रतिक्षामा बसेको २२ वर्षभयो । ‘न सास पायौँ, न लास पायौँ’। ’ डबली परियारले सुनाउनु भयो ।

Photo20231013 Salyan (3)

द्धन्द्धको अवस्था भयाभह थियो । सुचना थाहा पाउने केही माध्यम थिएन् । घरमा रेडियो पनि थिएन् ।  ‘छिमेकीले रेडियोमा सुने रे, मेरो पति सहित व्यवसाय गर्न दाङ हिडेका छिमेकी अंकल र छिमेकी दाई कपुरकोटबाट बेपत्ता भएको ।’ उहाँले भन्नु भयो ।

‘द्धन्द्धको बेला थियो, यहाँबाट बसमा जानुभएको हो, राज्यपक्षबाट हो की या विद्रोही पक्षबाट हो, पतिलाई बेपत्ता पारियो, आमाबुवाको काख रित्तियो, दाइभाइको भरोसा हरायो, बहिनीको माइती हरायो, छोराको भबिष्य हरायो, अनि मेरो सिन्दुर हरायो’ उहाँ भन्नुहुन्छ ‘बिहान हुदा दिउँसो आउनुहुन्छ जस्तो लाग्थ्यो, दिउँसो हुदा साँझ आउनुहुन्छ जस्तो लाग्यो, साँझ हुँदा भोली त कसो नआउनु होला र भन्ने लाग्थ्यो, पर्खाईमा बसेको २२ बर्ष वित्यो, न सास देख्न पाए, न त लाश नै देख्न पाए ।’ पति पाउने आसमा धेरै ठाउँमा धाए, उजुरी दिए, निवेदन दिए, हारगुहार गरे, तर कसैले सुनेनन् । स्थानिय शान्ति समिति देखि बिभिन्न निकायमा धाए, बरु ढुंगा बोल्ला तर पतिको अवस्थाका बारेमा कोही बोलेनन् दिन वित्दै गयो ।

राज्यले दश लाख रुपियाँ राहत भनेर दियो । सायद मेरो पति भएको भए, अहिले घरको खम्बा बलियो हुन्थ्यो, छोराको भविष्य बन्थ्यो, मेरो सिन्दुरको रक्षा हुन्थ्यो, राज्यले सान्त्वना दिने काम गर्यो, घाउमा मलम लाउने काम गरेन । पर्खाईमा र अभावमा बसेको अहिले २२ वर्ष वितेको छ । डेढ वर्षको छोरा २३ वर्षको भयो । छोराले बुहारी ल्याइसकेयो । घरमा नातीको जन्म भयो । ‘जसोतसो दिन काट्दै पर्ने रहिछ, घरपरिवारको हेला, गासबासको अभाव, जसोतसो दिन वितेकै छन्’ उहाँले पीडा सुनाउनुभयो ।

अझै भएन् पतिको मृत्यु दर्ता

पति बेपत्ता भएको केही वर्षपछि डवलीले घरपरिवारको सहयोगमा नागरिकता बनाउनुभयो । राज्यले तीन किस्ता गरेर १० लाख रुपैया राहत दियो । छोरा अजय परियारले कक्षा ९ र १० मा पढ्दा केही छात्रवृत्ति पाए । डवली पतिको मृत्यु दर्ता गर्नको लागि २ पटक वडा कार्यालयमा धाउनुभयो । तर वडा कार्यालयले मृत्यु दर्ता गर्न मानेन् ।

‘म वडा कार्यालयमा गए, मृत्यु दर्ता गर्न वडा सचिवले मान्नु भएन्, पतिको मृत्यु भएको प्रमाण चाहियो रे, मैले मेरो पतिको अवस्थाका बारेमा थाहा नपाएको २२ बर्ष भयो, म वडा सचिवलाई के भनेर पतिको मृत्युको प्रमाण दिऔँ, वडा कार्यालयले पनि पुरानो घाउलाई बल्झाउने काम गर्यो’ उहाँ भन्नुहुन्छ ‘राज्यले नै मेरो पति बेपत्ता भएको भनि सकेको छ, बेपत्ताको सुचिमा नाम छ, २२ वर्षदेखि सिन्दुर र चुरा लाउन पाएको छैन्, तर पतिको मृत्यु दर्ता हुन् सकेन् ।’  ‘गरिबी र अभावले घरखर्च चलाउन धौँ छ, पतिको मृत्यु दर्ता भएको भए, एकल भत्ता भएपनि पाउथेँ होला, घरको गुजारा त चल्थ्यो होला’ उहाँ भन्नुहुन्छ ।

घर छ, नाममा छैन्

Photo20231013 Salyan (2)

पति बेपत्ता हुँदा घरमा आमाबुवा, एक दाइ, एक भाइ र दुइ बहिनी थिए । सम्पतिका नाममा एउटा घर र केही खेत थियो । ससुरा बिरामी हुनुभयो । खेत बेचेर उपचार गरियो । अहिले आमाबुवा दुबैको मृत्यु भैसकेको छ । सम्पतिको नाममा रहेको त्यही एउटा घरमा तीन भाइको परिवार बस्यो । त्यो घर कान्छा देवरले लिनु भयो ।

राज्यले द्वन्द्व पीडितका परिवारलाई राहत दिएपछि डवलीले तीन लाख रुपैँयामा छिमेकीको एउटा घर किन्नुभयो । तर अन्न उत्पादन गर्ने एउटा सुर्को पनि छैन् । ‘पतिको हकको सम्पत्तिमा एउटा घर छ, त्यो भागबण्डा भएको छैन्, त्यो सासुससुराको नाममा होला, मैले बस्ने बास नभएपछि घर किने, तरकारी, अन्न उत्पादन गर्ने कुनै जग्गा छैन , घर मात्रै छ, अरु केही छैन्, घर किनेको तीन वर्ष बढी भयो, तर अहिलेसम्म मेरो नाममा पास भएको छैन् । ’ उहाँले भन्नुभयो ।

आम्दानीको स्रोत बंगुर र चल्ला पालन

राज्यले द्वन्द्व पीडितका परिवारलाई राहत स्वरुप १० लाख दियो । त्यसमध्य तीन लाखमा घर किनियो । छोराले कक्षा १२ सम्म पढे । छोराको बिहे भयो । घरखर्च सबै त्यही पैसा काम लाग्यो । अहिले आम्दानीको स्रोत तथा सम्पत्तिका नाममा तीन ओटा बंगुर र केही चल्ला छन् ।

‘पुर्खाको सम्पति केही भएन्, हामीलाई साँझ बिहानको हातमुख जोड्न धौँधौँ छ, कपडा सिलाउन आउदैन्, अन्न उत्पादन गर्ने जग्गा छैन्, महिनामा पाँच सय पनि आम्दानी छैन्, बंगुर र चल्ला पालेका छौँ, यसले केही खर्च जुटाउने हुन्छ’ डवलीले भन्नुभयो ।

उहाँले राज्यले द्वन्द्व पीडितका परिवारलाई आयआर्जनका कार्यमा जोड्न नसकेको गुणासो गर्नुभयो । ‘छोराले १२ कक्षा पास गरेको छ, बुहारीले १२ कक्षा पास गरेको छ तर हामीले नोकरी पाउने आस छैन्, बल्ल बुहारीले महिनामा ६ हजारले गाउँकै विद्यालयमा पढाउँछिन्, अब त बुहारीलाई पनि हटाउने हुन रे भन्ने सुनेकी छु’ उहाँले भन्नुभयो । अन्य आम्दानीको स्रोत नुहँदा समस्या भएको उहाँको भनाइ छ ।

Photo20231013 Salyan (1)

- बुद्धिमान पुन