परिवर्तनले छोएन सप्तरीका दलितबालबालिकालाई

प्रकाश खतिवडा

उनी अहिले १३ वर्ष भए । बिहान उठ्नासाथ उनी गोठमा काम गर्न थाल्दछन् । घरमा जेजस्तो पाकेको छ खाएर गाउँभरिका गाईबस्तु चराउन कोशी नदीको किनारमा लान्छन् । उनको दिन विद्यालयमा होइन, कोशीको बगरमा यसैगरी बित्ने गर्दछ ।

सप्तरी जिल्लाको जगतपुर गाविस- १ का दलितबस्तीका रिन्टू पासवानको दिनचर्या हो यो । रिन्टू नौ वर्ष कलिलो उमेरदेखि गोठालो भएका हुन् । विद्यालयको मुखै देख्न नपाएका रिन्टू बस्तु चराएर प्राप्त हुने अन्नपात र नगदबाट आफू पनि पालिन्छन् र परिवारलाई पनि पाल्छन् । गोठालोको कमाइले रिन्टूको गरिब परिवारलाई थोरबहुत भरथेग भएको छ ।

रिन्टू जस्तै जगतपुर-६ कै १२ वर्षीयय सन्तोष सदाको दिनचर्या पनि यस्तै छ । कञ्चनपुर बेरियरको होटलमा काम गर्ने सन्तोषको दिन होटलका भाँडा माझेर सकिन्छ । तीन वर्षेदेखि होटलमा काम गर्दै आएका सन्तोषले पाँचजनाको परिवार पाल्नुपरेको छ ।

यता कञ्चनपुर गाविस-२ स्थित डुमबस्तीको हालत पनि त्यस्तै छ । गाउँछेउमै विद्यालय खुलेको ५० वर्षभयो तर गाउँका बालिकाहरू भने दिनभरि खेलेर बिताउँछन् । रिन्टू, सन्तोष र डुमबस्तीका बालबालिका मात्र होइन गरिबीका कारण सबैजसो दलितबस्तीका बालबालिकाको हालत यस्तै छ । यसबीच देशमा थुप्रै परिवर्तन भयो तर यसबाट बेखबर छन् सप्तरीका दलितहरू । आफ्नो मुक्ति हुने सपना देख्ने दलितहरूलाई सुदिन आउला भन्ने भरोसा पनि छ । आधारभूत अधिकारबाट समेत वञ्चित भएका दलितहरूको अवस्था त्यस्तै छ । त्यसैले पनि दलितबस्तीका धेरैजसो बालबालिका कि खेलेरै दिन बिताउँछन् कि उनीहरू बालश्रमिक हुन पुग्छन् । सप्तरीमा झण्डै १ लाख ३० हजार दलितहरू बसोबास गर्छन् । नर्र्घो, पत्थरगाढा, मधवापुर, लोहजारा, डिमन, कुशाहा,मलहन्मा, स्वयम्भुनाथलगायतका गाविसमा दलितको घनाबस्ती रहेको छ । गरिबीकै कारण दलित बालबालिकाहरू पढ्नलेख्नबाट वञ्चित हुँदै आएका छन् ।

स्कुलको मुखै नदेखेका बालबालिका त छँदैछन् । गरिबीकै कारण दुईचार कक्षा पढेर विद्यालय छोड्ने दलित बालबालिका पनि कम छैनन् । कञ्चनपुर- १ का १४ वर्षीयय महेन्द्र पासवानले गरिबीकै कारण ७ कक्षा पढेर विद्यालय छाडे । अहिले उनी गुजारा चलाउन चनाचटपटे बेच्छन् । रमन पासवान भने बसका यात्रुलाई काँक्रा बेचेर परिवार चलाउँछन् ।

यता ओद्राहा गाविस ३ बोचिही टोलका दलित बालिकाको व्यथा भने अर्कै छ । स्थानीय नन्द उमाविमा कक्षा ८ मा अध्ययनरत दुर्गी पासवान र मञ्जु पासवानले पढ्ने रहर हुँदाहुँदै शुल्क तिर्न नसकेर यसैपालि विद्यालय छाडे । दुर्गी र मञ्जुजस्तै बोचहीटोलका एक दर्जन बालबालिकाहरू शुल्क तिर्न नसकेका कारण विद्यालय छोड्न बाध्य भएका छन् । विद्यालय छाडेर उनीहरू अहिले कमाउन उदयपुर गएका छन् । उदयपुरमा मकै गोडेर आर्जन भएको ज्यालाबाट पढाइ जारी राख्ने धोको उनीहरूको छ ।

बद्गामा गाविस- ५ का नागेन्द्र सदाको चिन्ता भने अर्कै छ । पढाईमा जेहेन्दार नागेन्द्र अहिले सर्वोदय उच्च मावि कञ्चनपुरमा कक्षा ९ मा पढ्छन् । पाठ्यपुस्तक किन्न र शुल्क तिर्न नसकेका कारण उनको पढाई पनि धरापमा परेको छ । पढाई छोड्नुपर्ने हो कि भन्ने पीरले उनलाई सताएको छ ।

नागेन्द्र जस्तै हालत नर्र्घोका अरुण पासवानको पनि छ । कक्षामा सधैँ प्रथम हुँदैआएका अरुण पनि पाठ्यपुस्तकको अभाव र शुल्क तिर्न नसकेका कारण विद्यालयनै छोड्नुपर्ने हो कि भनेर दुःखी छन् । अरुणका बाबु नथुनी पासवान भन्छन्- "जसोतसो गरेर दश कक्षासम्म त पढाइयो, आर्थिक अभावका कारण छोराको भविश्य बिग्रने हो कि भनेर चिन्ता लागिरहन्छ ।" पासवान भन्छन्- "देशमा यत्रो परिवतन भइसक्यो, दलितको यो अवस्थामाथि कसैलाई चिन्ता छैन्, सरकारले दलित बालबालिकालाई शिक्षाको ग्यारेन्टी गर्न विशेष कार्यक्रम ल्याउनुपर्छ ।"

पढ्नै नपाएका त छँदैछन् । पढ्दै गरेकाहरूको पढाई पनि पाठ्यपुस्तक उपलब्ध नभएका कारण अवरुद्ध भएको छ । सामुदायिक विद्यालयमा पढ्ने दलित विद्यार्थीसँग अरु पूवाधार छैन । पाठ्यपुस्तकको अभाव भएपछि पनि उनीहरू पढाई छाडेर बालश्रमिकको रूपमा काम गर्न बाध्य हुनुपर्ने सम्भावना छ ।

यता बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था बालअधिकार तथा वातावरण समाजका अध्यक्ष सुरेन्द्र गुप्ता गरिबीकै कारण दलित विद्यार्थीहरू पढाईबाट वञ्चित हुने गरेको बताउँछन् । "सरकारले विशेष कार्यक्रम ल्याएको भन्छ, दलितका लागि छात्रवृत्तिको व्यवस्था गरिएको बताउँछ तर त्यो पारदर्शी छैन ।" गुप्ता भन्छन्- "दलित विद्यार्थीलाई विद्यालय आउने वातावरण अझै बनाउन विशेष प्याकेज ल्याउनुपर्छ ।"

दलितको क्षेत्रमाका काम गरिरहेको संस्था जनचेतना दलित सङ्गमको धारणा पनि त्यस्तै छ । संस्थाका कार्यक्रम संयोजक गणेश राम भन्छन्- "राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाको सहयोगमा दलित बालबालिकालाई विद्यालयमा ल्याउन केही प्रयास त भएको छ तर पनि उनीहरू गरिबीका कारण कि त विद्यालयनै आउँदैनन् कि त बीचमै पढाई छोडेर बालश्रमिक बन्छन् । यसका लागि राज्यलेनै विशेष प्रयास गर्नुपर्छ ।"

पहिलोपटक डोमजातिबाट सप्तरीमा एसएलसी पास गर्ने दलितनेता युक्ति मरिक आर्थिक अभावकै कारण एसएलसी पास गरेर पनि आफूले पढाईलाई निरन्तरता दिन नसकेको बताउँछन् । मरिक भन्छन-."दलितलाई शिक्षामा पहुँच पुर्žयाउन विशेष सरकारी नीति नबनेकै कारण दलितहरू शिक्षाबाट वञ्चित हुनुपरेको हो । त्यसमा पनि सदियौँदेखि राज्यको मूलधारबाट अलग भएका कारण उनीहरू आर्थिक रूपले पछि परे र हरेक क्षेत्रमा उनीहरूले विभेदको शिकार हुनु पर्žयो । अबको परिवर्तनले दलितहरूलाई सवैखाले समस्याबाट मुक्ति दिनुपर्छ ।"

उता सप्तरीका जिल्ला शिक्षा अधिकारी हसरत अली भने पढ्ने उमेरका सबैलाई विद्यालयमा ल्याउन सरकारले प्रत्येक वर्षविशेष भर्नाअभियान सञ्चालन गर्ने गरेको बताउँछन् । उनी भन्छन्- "सप्तरीमा पाठ्यपुस्तकको अभाव छैन, मैले पढ्न पाइन भनेर कसैले भन्न आएको छैन ।"

जेहोस् नयाँ नेपाल निर्माणको क्रममा रहेको हाम्रो देशमा दलितको अवस्थामा कुनै परिवर्तन नदेखिनु सकारात्मक पक्ष होइन । त्यसमा पनि शिक्षा हासिल गर्नबाट सीमान्तकृत वर्ग वञ्चित हुनुपर्ने अवस्थाबीच नयाँ नेपालको कल्पना नै गर्न सकिँदैन । यसतर्फसम्बन्धित निकाय गम्भीर हुनुपर्ने देखिन्छ ।

 

-