परिपूरणमा स्थानीय सरकारः निःशुल्क स्वास्थ्य बिमा गर्न द्वन्द्वपीडितहरूको माग
जवान छोरा इन्द्रबहादुरलाई २०६० चैत २५ गते सेनाले मारिदिएपछि त्यसै त पीर चिन्ताले गलेका ८० वर्षीय विन्तीराम चौधरी दमले ग्रस्त हुनुहुन्छ । उमेर ढल्कीदै जाँदा सानातिना दुख बिमारले पनि सताइरहन्छन् । आफू मात्र हो र ? पुत्रवियोगले विक्षिप्त ७० वर्षीया झुपली चौधरी पनि घुडा दुख्ने, ढाड दुख्नेजस्ता समस्याले पीडित हुनुहुन्छ । ज्वरो, रुघाखोकी, घाउ खटिरा जस्ता थुप्रै स्वास्थ्य समस्या परिवारका अन्य सदस्यहरूमा पनि आइरहन्छन् । ६ जनाको परिवारमा केही न केही स्वास्थ्य समस्या आइरहे पनि घोराही उपमहानगरपालिका–१७ का विन्तीरामको परिवारलाई उपचारमा भने समस्या छैन ।
घोराही उपमहानगरपालिका–१७ ले २०७८ देखि सबै परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएपछि घर नजिकै रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विन्तीरामका ६ जनाको परिवारले उपचार सेवा लिइरहेको छ । विन्तीराम अहिले जेठो छोरा चन्द्रबहादुर चौधरीसँग बस्नुहुन्छ । पत्नी, छोरा, बुहारी, नाति र नातिनीसहितको सिङ्गो परिवारले बिमाबाट उपचार गराउन थालेपछि विन्तीरामको ठूलो आर्थिक भार थामिएको छ । ‘कहिलेकाही विरामी हुँदा पैसा हुँदैन । तर उपचार लिन बिमाले ठूलो सहयोग मिलेको छ । सानो समस्या भए पनि अस्पताल पुग्छौँ । स्वास्थ्य बिमाले ठूलो राहत मिलेको छ', द्वन्द्वपीडित चन्द्र चौधरीले भन्नुभयो । केही न केही स्वास्थ्य समस्या परिवारमा आइरहने भन्दै चन्द्रले पैसाकै कारण उपचार नपाउने अवस्थाको अन्त्य भएको बताउनु भयो । बिरामी हुँदा पैसा नभएकै कारण उपचारमा लैजान परिवारले आनाकानी गरेको स्मरण गर्दै ८० वर्षीय विन्तीराम चौधरीले बिमा भएपछि परिवारले पनि अस्पताल लैजान दुख नमान्ने बताउनु भयो । बिमाकै कारण छिटो अस्पताल पुग्ने वातावरण बनेको छ ।
विन्तीराम चौधरीको परिवारमात्रै होइन घोराही उपमहानगरपालिका–१७ का ३३ जना द्वन्द्वपीडित परिवारले स्वास्थ्य बिमाबाट उपचार लिइरहेका छन् । वडा कार्यालयले २०७८ देखि वडामा रहेका ३३ जना द्वन्द्वपीडित परिवारको स्वास्थ्य बिमा गराइदिएको वडाध्यक्ष रामलौटन चौधरीले जानकारी दिनुभयो । २०५१ सालदेखि सुरु भएको सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट मारिएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएकाहरूको सम्मानका लागि पीडित र पीडित परिवारहरूको स्वास्थ्य बिमा गरिदिएको वडाध्यक्ष चौधरीको भनाई छ । एक हिसावले स्वास्थ्य बिमा स्थानीय सरकारले दिएको परिपूरण जस्तै हो । पाँच जनाको परिवारलाई वार्षिक ३ हजार ५ सयका दरले वडा कार्यालयले बिमा बोर्डलाई रकम उपलब्ध गराउँदै आएको छ । पाँच जनाभन्दा बढी परिवार रहेकालाई थप लाग्ने रकम पनि वडा कार्यालयले नै भुक्तानी गरेर द्वन्द्वपीडितहरूको नियमित स्वास्थ्य बिमा गराइ रहेको वडाध्यक्ष रामलौटन चौधरीले बताउनु भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अभिलेख अनुसार दाङमा ३ सय ९० जनाको हत्या, ७२ बेपत्ता र १९ जना अङ्गभङ्ग गरी कुल ४ सय ८१ जनाका परिवार द्वन्द्वपीडित छन् । तर सत्यनिरुपण तथा मेलामिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा परेको उजुरी सङ्ख्या अझ धेरै छ ।
यति धेरै पीडित परिवारमध्ये घोराहीका ३३ परिवारले मात्रै स्वास्थ्य बिमा सेवा पाएका छन् । जिल्लाका १ सय वडामध्ये घोराही उपमहानगरपालिका–१७ ले मात्रै द्वन्द्वपीडितलाई यस्तो सेवा दिएको हो । दाङ जिल्लामा ०७७ माघदेखि ०८१ असारसम्म ५७ हजार ८ सय ७७ ले स्वास्थ्य बिमा गराएका छन् । ती मध्ये द्वन्द्वपीडितको बिमा घोराही उपमहानगरपालिका–१७ को मात्रै जानकारीमा आएको स्वास्थ्य बिमा बोर्ड दाङ प्रमुख बसन्त लामिछानेले जानकारी दिनुभयो । स्वास्थ्य बिमा बनाउन अहिले दाङका १ सय वडामा अभिकर्ता परिचालन गरिएको छ । उनीहरू घरमै पुगेर बिमा बनाउने काम गरिरहेका छन् । घोराही उपमहानगरपालिका–१७ की अभिकर्ता शान्ता चौधरीले सबैको घर घरमै पुगेर बिमा गर्दै आएको तर द्वन्द्वपीडितहरूको भने कागजपत्र वडा कार्यालयमा जम्मा गरेर बिमा गरिएको बताउनु भयो ।
द्वन्द्वपीडितको लबिङ
घोराही उपमहानगरपालिका-१७ का द्वन्द्वपीडितहरूले स्वास्थ बिमाबाट उपचार सेवा पाउन थालेपछि दाङका अन्य स्थानीय तहमा रहेका द्वन्द्वपीडितहरूले पनि स्थानीय सरकारसँग स्वास्थ्य बिमाका लागि आवाज उठाउन थालेका छन् । द्वन्द्वपीडितलाई स्थानीय सरकारले लक्षित वर्ग नमानेको गुनासो गर्दै आएका पीडितहरूले कम्तीमा स्वास्थ्य बिमा गराइदिन दबाब सुरु गरेको दङ्गिशरण गाउँपालिका-२ की द्वन्द्वपीडित सीता बस्नेतले बताउनु भयो । ०६९ मा पति मारिएपछि सन्तान हुर्काउन ठूलो सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै द्वन्द्वपीडित सीताले कम्तीमा स्थानीय सरकारले स्वास्थ्य बिमा गरिदिए राहत हुने बताउनु भयो । ‘घोराहीमा द्वन्द्वपीडितको बिमा बनाएको थाहा पाएपछि हामी पनि स्वास्थ्य बिमाका लागि वडा कार्यालय, पालिकासम्म पटक पटक पुग्यौँ । हुन्छ हुन्छ गरौँला भन्नुहुन्छ । तर अहिलेसम्म सुनुवाई भएको छैन', द्वन्द्वपीडित सीताले भन्नुभयो । कमाउने मान्छे मारिएपछि घर चलाउन, सन्तान पढाउन समस्या परेको भन्दै सीताले उपचार सेवा स्थानीय सरकारले दिए द्वन्द्वपीडितलाई सहयोग हुने बताउनु भयो ।
द्वन्द्वपीडितहरूलाई स्वास्थ्य बिमाको सेवा दिन पीडितहरूको साझा संस्था द्वन्द्वपीडित सञ्जाल दाङले स्थानीय सरकारका प्रमुख, उपप्रमुख, तथा वडाध्यक्षहरूलाई खबरदारी गरिरहेको जनाएको छ । ‘धेरै खर्च पनि लाग्दैन, सके पालिका नभए वडाले पनि द्वन्द्वपीडितको स्वास्थ्य बिमा बनाइदिन सक्छन । स्थानीय सरकारले व्यवस्था परिवर्तनमा गरेको योगदान र बलिदानको सम्मान गर्न पनि द्वन्द्वपीडितहरूको स्वास्थ्य बिमा बनाइदिनुपर्छ', द्वन्द्वपीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले भन्नुभयो । तिनै नागरिकले लडेर ल्याएको व्यवस्थामा सरकार बनाएर बस्नेहरूले कम्तीमा स्वास्थ्य बिमा बनाउन सके पीडितहरूको उच्च सम्मान हुने चौधरीको भनाइ छ ।
चार ओटा स्थानीय तहमा सुरु हुँदै स्वास्थ्य बिमा
स्वास्थ्य बिमाले द्वन्द्वपीडितलाई राहत मिलेको देखिएपछि दाङका चार ओटा स्थानीय तहले चालु आर्थिक वर्षदेखि द्वन्द्वपीडितहरूको स्वास्थ्य बिमा गर्ने तयारी थालेका छन् । यस अघि नै द्वन्द्वपीडितको स्वास्थ्य बिमा गराइसकेको घोराही उपमहानगरपालिकाले स्थानीय तहस्तरबाट चालु आर्थिक वर्ष २०८१/८२ देखि १९ ओटै वडामा द्वन्द्वकालमा यातना पाएका द्वन्द्वपीडित महिलाहरूको स्वास्थ्य बिमा गर्न थालेको छ । त्यसका लागि बजेट पनि विनियोजन गरेको घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै चालु आर्थिक वर्षबाटै द्वन्द्वपीडितको स्वास्थ्य बिमा गर्न बङ्गलाचुली गाउँपालिकाले ८ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । स्थानीय तहमा ७० जना द्वन्द्वपीडितहरू रहेको र उहाँको स्वास्थ्य बिमा र सहिद दिवस लगायतका कार्यक्रम गर्न ८ लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष तुलसीराम पुनले जानकारी दिनुभयो । गढवा गाउँपालिकाले पनि चालु आर्थिक वर्षबाटै द्वन्द्वपीडितको स्वास्थ्य बिमा बनाउन १० लाख बजेट विनियोजन गरेको छ । सामाजिक सुरक्षा ऐन नै बनाएर द्वन्द्वपीडितहरूको स्वास्थ्य बिमा बनाउन लागिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्माले बताउनु भयो । त्यस्तै राप्ती गाउँपालिकाले पनि चालु आर्थिक वर्ष २०८१/८२ बाटै द्वन्द्वपीडितहरूको स्वास्थ्य बिमा बनाउन लागिएको जनाएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले ५ लाख रुपियाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । जिल्लाका १० ओटा स्थानीय तहमध्ये अरु ६ ओटा स्थानीय तहका तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, दङ्गिशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र लमही नगरपालिकाले द्वन्द्वपीडितको स्वास्थ्य बिमा गर्न नसकिएको जनाएका छन् ।
शान्तिनगर र दङ्गिशरणले आउँदो आर्थिक वर्षदेखि सुरु गर्ने जनाएका छन् भने बबई र राजपुरले स्वास्थ्य बिमाबारे द्वन्द्वपीडित नै माग गर्न नआएको जनाएका छन् । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादवले कार्यक्रम माग गर्नुस् भनेर सबैलाई भनिएको तर द्वन्द्वपीडितले कुनै माग नगरेको बताउनु भयो । बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले स्वास्थ्य बिमाको बारेमा कुरै नउठेको र आवश्यक भए गर्न सकिने बताउनु भयो । तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले भने द्वन्द्वपीडित स्वास्थ्य बिमाबारे कुनै कार्यक्रम नभएको जनाएका छन् ।
द्वन्द्वपीडितलाई पूरै निःशुल्क गर्न माग
सरकारले दाङका पाँच ओटा स्वास्थ्य संस्थाबाट बिमा उपचार सेवा दिने भनेको छ । तर आफ्नै फार्मेसी नभएका कारण प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा र श्रीगाँउ प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा सुरु भएको छैन भने घोराही उपमहानगरपालिकाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुर उपमहानगरपालिकाको राप्ती प्रादेशिक अस्पताल र लमही अस्पतालबाट विमितहरूको उपचार भइरहेको छ । तर द्वन्द्वपीडितहरूले स्वास्थ्य उपचार पूरै निःशुल्क हुनुपर्ने माग गरेका छन् । सरकारले पूरै निःशुल्क बनाउँदा दुरुपयोग भएको भन्दै आर्थिक वर्ष ०८/८१ बाट विमितको उपचारमा लागेको कुल खर्चको १० प्रतिशत स्वयमले व्यहोर्नु पर्ने नियम लागु गरेपछि द्वन्द्वपीडितहरूले उपचार पूर्ण निःशुल्क हुनुपर्ने माग गरेका हुन् । ‘पहिले निःशुल्क सेवा लिन्थ्यौँ । १० प्रतिशत पनि हामी तिर्न सक्दैनौँ । द्वन्द्वपीडितलाई पूर्ण छुट हुनुपर्छ', घोराही उपमहानगरपालिका–१७ की द्वन्द्वपीडित कृष्णा चौधरीले भन्नुभयो । तर द्वन्द्वपीडितको हकमा स्वास्थ्य बिमा नभए पनि परिचय पत्रको आधारमा शतप्रतिशतसम्म उपचारमा छुटको व्यवस्था रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीका सूचना अधिकृत निशानदाजु भट्टराइले जानकारी दिनुभयो । सरकारको सामाजिक सेवा इकाइ निर्देशिकाले परिचय पत्रको आधारमा द्वन्द्वपीडितलाई घटना हेरेर शतप्रतिशतसम्म निःशुल्क उपचार गर्ने व्यवस्था रहेको बताउनु भयो । तर सरकारले द्वन्द्वपीडितहरूलाई परिचय पत्र समेत नदिएकाले उपचारबाट वञ्चित हुनुपरेको छ ।
- जयनारायण पुन
सम्बन्धित फिचरहरू
बाढीपहिरो पीडितहरूको अवस्था बुझ्न अधिकारकर्मीहरूद्वारा अवलोकन (फोटो फिचर)
इन्सेक, नेपाल शान्ति संस्था र महिला एकता समाजका प्रतिनिधि सम्मिलित एक टोलीले असोज २१ गते काठमाडौँ र ललितपुरमा बाढीपीडितको अवस्था बुझ्न स्थलगत अवलोकन गरेको छ । टोलीले काठमाडौँको वङ्शीघाटमा बसोबास…
न्यायको पर्खाइमा द्वन्द्वपीडित परिवार
'न सकिन्छ गरी खान, न सकिन्छ मरी जान बुढेसकालैमा हो हो बुढेस कालैमा ।' बुद्धभुमी नगरपालिका–१, पचकैयाका पटवरी प्रसाद थारु, सावित्री थारुको अवस्था अहिले यही गीतको जस्तै भएको छ ।…
‘यसपाली त मनै फाट्यो, के ले सिउने के ले टाल्ने हो ?’
‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टाले, यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ?’ काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल नपा–११ पात्लेखेतका ५५ वर्षीय शिक्षक सदानन्द धिताल असोज १७…
उज्जवल भविष्यको चिन्तामा अभिभावक विहीन बालबालिका
बगनासकाली गाउँपालिका–३, नायरनमतलेसकी नौ वर्षीया सोनिया खाम्चाले स्थानीय सिद्धि माविमा कक्षा ४ मा पढ्नुहुन्छ । सोनियाका बुबाको निधन सात वर्ष अघि भइसक्यो । बुबाको निधन भएपछि आमाले पनि अर्कै विवाह…
बुढेसकालमा कष्टकर दैनिकी बिताउँदै दृष्टिबिहीन ज्ञानमति
पिँढीमा राखिएका दाउरा छामछुम गर्दै हातले समाउनुभयो । चार/पाँच ओटा मसिना दाउरा संगेलेपछि एउटा हातले दाउरा समाएर अर्को हातले भुइँ छाम्दै घरभित्रको चुलो छेवैमा पुग्नुभयो । सलाइ चुलो छेउमै थियो…