घरेलु हिंसाबाट ज्यान जोगाएर बाँचेका महिलाहरु
गत वर्षको साउनमा गुर्भाकोट नगरपालिका–१३ मोतिपुरकी ३५ वर्षीया मिनाकुमारी सार्की घरमै काम गरिरहनुभएको थियो । घरमा सासुको मृत्यु भएकोले घरायसी काममै व्यस्त हुनुहुन्थ्यो । त्यस अगाडि उहाँलाई ३७ वर्षीया पति भिमराज सार्कीले हिंसा गर्न थालेपछि आफ्ना दाईसँग भारतमा जानुभएको थियो । भारतमा घरखातामा उहाँले काम गर्नुहुन्थ्यो । पति पनि भारतबाट केही दिन अगाडि मात्रै नेपाल आउनुभएको थियो । पहिलेदेखि नै पतिसँग राम्रो सम्बन्ध थिएन् । उहाँले मदिरा सेवन गरेर गरिब घरपरिवारकी छोरी भन्दै घरेलु हिंसा गरेपछि दुई जनाको सम्बन्धमा दरार आएको थियो । आफ्नो जिन्दगीबाट हरेस खाएर बेलाबेला आत्महत्याको प्रयास गरेकी उनले दुई छोरीको जिन्दगी सोचेर भारतमा कमाउन जानुभयो । सासुको मृत्युको खबर पाएपछि मिना गाउँ फर्किनुभयो । काजकिरिया सकेपछि उहाँका पतिले पत्नीसँग अनेक निहुँ खोज्न थाले । केही दिन अगाडि मात्रै पति भारतबाट आउनुभएको थियो । पत्नीसँग विवाद गरिरहने र पत्नीको हत्या गर्ने योजना बनाउनुभएको रहेछ । खाना पकाउने प्रेसर कुकरमा पानी तताएर राख्नुभएको रहेछ । घरको छतमा बसिरहेको बेलामा पतिले तातो पानी फालेर मारिदिन्छु भन्दै छतबाटै खसाल्न खोजे । छिमेकी र परिवारले थाहा पाएपछि ज्यान जोगियो । पति भने फरार भए । पीडितले जिल्ला प्रहरी कार्यालयमा ज्यानमार्ने उद्योग र अंशसहित सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नु भयो । प्रहरीले असोज १० गते आराेपितलाई गिरफ्तार गर्यो ।
‘पहिलादेखि नै जाँड रक्सी खाएर कुटपिट गर्ने, वचन लगाउने भएपछि दाईसँग भारतमा गएर काम गर्थें । सासु बितेको खबर पाएपछि घरमा फर्किएँ,’पीडितले भन्नुभयो, ‘बसिरहेको बेला मेरो शरीरमा तातोपानी खन्याएर मार्न खोज्या रहेछ । छिमेकीले थाहा पाएपछि बचाए । अहिले पनि शरीरका दागहरु मेटिएका छैनन् ।’
जिल्ला अदालत सुर्खेतले फागुन ११ गते आरोपितलाई चार वर्षको कैद सजाय फैसला सुनायो । अंश र सम्बन्ध विच्छेदको मुद्दा भने कानुनी प्रक्रियामा चलिरहेको छ । अहिले पीडित कोक्याभ नामक गैरसरकारी संस्थाको सहयोगमा ६ महिने सिलाई कटाई तालिम सिकेर वीरेन्द्रनगर–२ जयपुरमा बस्नुहुन्छ । उहाँ ११ वर्षीया छोरी गुर्भाकोट घरमै बसेर पढ्छिन् भने २० वर्षीया छोरीको विवाह भइसकेको छ ।
यसै गरी,बराहताल गाउँपालिका–२ रानीघाटकी २६ वर्षीया भोजकुमारी खड्कालाई पति हस्तबहादुर खत्रीले जेठ १२ गते घाँटीमा नाम्लोले बाँधेर नजिकैको रुखमा झुण्ड्याउन घिसारिरहेको बेला छिमेकीले थाहा पाएपछि ज्यान जोगियो । घरेलु हिंसा र खानाखर्चको लागि असार ५ गते जिल्ला अदालतमा मुद्दा गर्नु दायर गर्नुभयो । पति हस्तबहादुरले प्रत्तिउत्तर सम्बन्धविच्छेदको समेत मुद्दा दायर गर्नुभयो । अहिले उक्त मुद्दा कानुनी प्रक्रियामा चलिरहेको छ । ‘सँगै जिवन कटाउँला भनेर बाचाबन्धन गरेको पतिले पनि आफैंलाई यसरी मार्ने योजना बनाउला भन्ने सोचेकी पनि थिइन,’भोजकुमारीले भन्नुभयो, ‘उसको भलाईका लागि मैले ज्यान मार्ने उद्योगमा मुद्दा नहालेर घरेलु हिंसा मात्रै हालें । तर, उ अरु केटीसँग सम्बन्धमा रहेछ । उसैले सम्बन्ध विच्छेदको मुद्दा हाल्यो ।’ पीडित अहिले वीरेन्द्रनगरमा भाडामा बसेका आफ्ना भाइसँग बसेर ९ वर्षीया छोरी र ६ वर्षीय छोरा हुर्काउँदै सिलाई कटाई तालिम सिकिरहनुभएको छ ।
त्यस्तै गरी, वीरेन्द्रनगर नगरपालिका–१३ की ३० वर्षीया मञ्जु लामिछानेलाई पनि दुई वर्ष पहिले पति डम्मर न्यौपानेले दाउरोले मरणासन्न हुनेगरी कुटपिट गर्नुभयो । दाउरो लाग्दा दाँत नै भाँचिए । ज्यानमार्ने उद्योग र सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नु भयो । जिल्ला अदालतले डम्मरलाई ६ महिना कैद सजाए सुनाएको थियो । अहिले उहाँको सम्बन्ध विच्छेद भइसकेको छ । पीडित र उहाँकी चार वर्षीया छोरी माइतमा बस्दै आएका छन् । जसलाई जन्मदिने बुवाआमा भन्दा बढी विश्वास गर्यो उसैको पञ्जाबाट बाँच्दा नयाँ जन्मको अनुभूति भएको बराहताल गाउँपालिका–६ बिउरेनीकी धनकुमारी विक बताउनुहुन्छ । ‘विश्वास र प्रेम गर्दा कहिले त बहुत धोका हुँदो रहेछ । जसलाई संसार मानेर अंगाल्यो उसैले ज्यान मार्नेसम्मको घात गर्दोरहेछ,’पतिको कुटाईबाट ज्यान जोगाउनुभएकी धनकुमारीले भन्नुभयो, ‘अहिले घरव्यवहार तहसनहस भयो । छोराछोरीको बिचल्ली भयो । अब केही गरेर यो समाजलाई देखाउन छ ।’
माथि उल्लेख गरिएका नाम त केही उदाहरणस्य पात्र मात्रै हुन् । कर्णालीमा पछिल्लो केही वर्षयता महिलाहरुलाई पति र घरपरिवारले गर्ने घरेलु हिंसाको अवस्था भने निकै दयनीय छ ।
महिला हिंसाका घटना बढ्दै
प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार कर्णालीका १० जिल्लामा आर्थिक वर्ष २०७७–०७८ मा ८ सय ७५, २०७८–०७९ मा ८ सय ८३ र २०७९–०८० मा ८ सय ५८ गरी २६ सय १६ महिलामाथि घरपरिवार, पति र छिमेकीबाट घरेलु हिंसा भएको प्रदेश प्रहरी कार्यालयका एसएसपी बिरबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मात्रै कर्णालीमा २२८ जना महिलामाथि घरेलु हिंसा भएको छ । जसमध्ये १२२ उजुरी मिलापत्र, ४८ उजुरी सम्बन्धीत निकायमा पठाइएको, ५६ उजुरीको काम हुन बाँकी र २ उजुरीका व्यक्तिहरु सम्पर्कमा आएका छैनन् ।
‘पछिल्लो समय महिलाहरुमाथि श्रीमान् र घरपरिवारबाटै घरेलु हिंसा गरेका उजुरीहरु प्रहरीमा बढीरहेका छन्,’प्रवक्ता ओलीले भन्नुभयो, ‘अशिक्षा, गरिबी र बेरोजगारीले गर्दा महिलामाथि हुने हिंसा बढेको पाइन्छ ।’ महिलामाथि हुने हिंसामा प्रदेशका १० जिल्ला मध्ये राजधानी समेत रहेको सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम रहेको उहाँको भनाइ छ । महिलामाथि हुने हिंसाहरु दिनानुदिन बढिरहनुमा अशिक्षा र गरिबी नै मुख्य कारण रहेको अधिवक्ता गिता कोइराला बताउनुहुन्छ । ‘आर्थिक विपन्नता भएका र अशिक्षितहरुले नै हिंसा गरेका घटना धेरै आउँछन् । पछिल्लो समय त यो लघुवित्त र सहकारीको ऋणका कारण झन् महिला हिंसा बढेको छ,’अधिवक्ता कोइरालाले भन्नुभयो, ‘रोकथामका लागि सरकारी, गैरसरकारी निकायसँगै सबै शिक्षित नागरिकहरुले अभियान नै चलाउन जरुरी छ । होटेलमा गर्ने कार्यक्रमभन्दा गाउँ–गाउँमा गर्ने कार्यक्रम प्रभावकारी हुन्छन् ।’ सचेतना र स्वरोजगारमूलक कार्यक्रम ल्याई आर्थिक रुपमा बलियो बनाउन सकेमात्रै हिंसा न्यूनिकरण हुने उहाँको भनाइ छ ।
हिंसापीडित महिलाहरुलाई कानुनी उपचारका लागि इन्सेकले केही आर्थिक सहयोग गर्ने गरेको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनुभयो । ‘इन्सेकले हिंसापीडित महिलाहरुलाई कानुनी उपचारमा जानका लागि लाग्ने अवस्था अनुसारको खर्च सहयोग गर्ने गरेको छ,’संयोजक सुवेदीले भन्नुभयो, ‘महिला हिंसा न्यूनिकरण सम्बन्धी कानुनी सचेतना र हिंसापीडित महिलाहरुलाई नेतृत्व विकाससम्बन्धी तालिम पनि दिइरहेका छौं ।’
- जगतदल जनाला विक
सम्बन्धित फिचरहरू
बाढीपहिरो पीडितहरूको अवस्था बुझ्न अधिकारकर्मीहरूद्वारा अवलोकन (फोटो फिचर)
इन्सेक, नेपाल शान्ति संस्था र महिला एकता समाजका प्रतिनिधि सम्मिलित एक टोलीले असोज २१ गते काठमाडौँ र ललितपुरमा बाढीपीडितको अवस्था बुझ्न स्थलगत अवलोकन गरेको छ । टोलीले काठमाडौँको वङ्शीघाटमा बसोबास…
न्यायको पर्खाइमा द्वन्द्वपीडित परिवार
'न सकिन्छ गरी खान, न सकिन्छ मरी जान बुढेसकालैमा हो हो बुढेस कालैमा ।' बुद्धभुमी नगरपालिका–१, पचकैयाका पटवरी प्रसाद थारु, सावित्री थारुको अवस्था अहिले यही गीतको जस्तै भएको छ ।…
‘यसपाली त मनै फाट्यो, के ले सिउने के ले टाल्ने हो ?’
‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टाले, यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ?’ काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल नपा–११ पात्लेखेतका ५५ वर्षीय शिक्षक सदानन्द धिताल असोज १७…
उज्जवल भविष्यको चिन्तामा अभिभावक विहीन बालबालिका
बगनासकाली गाउँपालिका–३, नायरनमतलेसकी नौ वर्षीया सोनिया खाम्चाले स्थानीय सिद्धि माविमा कक्षा ४ मा पढ्नुहुन्छ । सोनियाका बुबाको निधन सात वर्ष अघि भइसक्यो । बुबाको निधन भएपछि आमाले पनि अर्कै विवाह…
बुढेसकालमा कष्टकर दैनिकी बिताउँदै दृष्टिबिहीन ज्ञानमति
पिँढीमा राखिएका दाउरा छामछुम गर्दै हातले समाउनुभयो । चार/पाँच ओटा मसिना दाउरा संगेलेपछि एउटा हातले दाउरा समाएर अर्को हातले भुइँ छाम्दै घरभित्रको चुलो छेवैमा पुग्नुभयो । सलाइ चुलो छेउमै थियो…