पढाई खर्च नहुँदा विद्यालय छोड्दै बादी समुदायका बालबालिका

२०८० मंसिर ११

शारदा नगरपालिका–१ शान्तिनगरका सागर नेपाली अहिले १९ वर्षको हुनुभयो । कक्षा ६ सम्म पढेका उहाँले कापि, कलम, पोशाक नहुँदा बीचमा नै पढाइ छोड्नुभयो । ‘घरको आर्थिक अवस्थाले भ्याएन्, बुवा बिरामी हुनुभयो, आम्दानीको स्रोत केही भएन्, ऋण काढेर आमाले बुवाको उपचार गर्नुभयो तर अझै बुवालाई सन्चो भएको छैन्, मेरो पढाई खर्च नहुँदा मैले बीचमा नै पढ्न छोडे’ उहाँले बताउनुभयो ।

पढ्ने रहर थियो । तर बाध्यताले पढाई छोड्नुपर्यो । ‘आमाबुवा पहिल्यै खोलाको गिट्टी बालुवा गर्नुहुथ्यो, घरमा पढेका कोही थिएनन्, जसोतसो कक्षा ६ सम्म पढे, कापी, कलम, पोशाक नहुँदा विद्यालय जान छोडे’ उहाँले भन्नुभयो । ‘दुई /चार पैसा कमाए भनेपनि आमाबुवालाई केही सजिलो होला भन्ने लाग्यो, त्यो बेला देखि नै ट्याक्टरमा हिड्न थाले ।’ अहिले ट्याक्टर चलाउदैँ आएको उहाँको भनाइ छ ।

सागरकै छिमेकी हुनुहुन्छ अस्मिता नेपाली । १८ वर्षीया अस्मिताले गत वर्ष कक्षा १० पास गर्नुभयो । शिवजन माध्यमिक विद्यालय सितलपाटीबाट एसईई उत्तिर्ण गर्नुभएकी उहाँसँग कक्षा ११ मा भर्ना हुने पैसा भएन् । उहाँको चाहाना कृषि विज्ञान पढ्ने र घरैमा कृषि कर्म गर्ने थियो । आरती टेक्निकल इन्स्टिच्युटमा जसोतसो कृषि जेटिएमा उहाँ भर्ना हुनुभयो । केही समय पढ्न पनि जानुभयो ।
तर मासिक शुल्क र परीक्षा शुल्क बुझाउने पैसा उहाँसँग भएन् । त्यसपछि उहाँले आरतीमा पढ्नै जान छोड्नुभयो । ‘मैले पढ्नुपर्छ, पढेर केही गर्नुपर्छ भन्ने सोच बनाएकी थिए, त्यही अनुसार भर्ना पनि भए, तर आफुसँग पढ्ने पैसा भएन, निशुल्क कसैले पढाएन्, मासिक शुल्क र परीक्षा शुल्क बुझाउन नसकेर म पढ्नै जान छोडे’ उहाँले भन्नुभयो ‘आमाबुवा गिट्टी बालुवा गर्नुहुन्छ, साँझ विहानको छाक टार्न नै धौँ धौँ भएको छ, पढाइ खर्च दिनसक्ने अवस्था भएन् ।’ अहिले खोला किनारमा पुगेर आमाबुवालाई गिट्टीबालुवा चाल्ने कार्यमा सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

नेपालको संविधानको धारा ३१ ले शिक्षासम्बन्धी हकलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । तर शान्तिनगरका बादी समुदायका बालबालिकाहरुले भने आर्थिक अवस्था कमजोर भएकै कारण बिद्यालय छोड्ने र बालुवा गिट्टी कुट्ने पेशा अंगाल्न बाध्य भएका छन् । स्थानीय सिर्जना बादीले आफ्ना बालबालिकालाई के खुवाउने भन्ने पिरलो रहेको बेला विद्यालयमा भर्ना गरेर पठनपाठन गराउनु चुनौती रहेको बताउनुभयो । ‘आम्दानी छैन्, निशुल्क शिक्षा भन्छन् तर कापि कलम पोशाक सबै आफै किन्नुपर्छ’ उहाँले भन्नुभयो ‘भोको पेटले केही गर्न सकिदैन्, साँझविहानको छाक जुटाउनु हाम्रो लागि महत्वपुर्ण हो ।’

जिल्ला प्रोफाइलमा प्रकाशित तथ्याङ्क अनुसार जिल्लामा ४ सय १५ महिला र ३ सय ५८ पुरुष गरेर ७ सय ७३ जना बादी समुदायको जनसङख्या रहेको छ । ती मध्य शारदा नगरपालिका–१ शान्तिनगरमा मात्रै ३५ घरधुरी वादी समुदाय रहेका छन् । हाल यस समुदायका ३४ जना बालबालिका विद्यालयको पहुँचमा छन् । तर विद्यालयमा अध्ययनरत बालबालिकाको विचमा नै पढाइ छोड्ने क्रम बढ्दो रहेको शिवजन माध्यमिक विद्यालय सितलपाटीका प्रधानाध्यापक हिरालाल नेपालीले बताउनुभयो ।

‘विद्यालयमा भर्ना हुन विद्यार्थी आउँछन्, अधिकांश बालबालिका पढ्न आउँदैनन्, केही मात्रामा परीक्षा दिन आउँछन्, तर अधिकांश विद्यार्थीले पढाइ छोड्छन्’ उहाँले भन्नुभयो । विद्यार्थीको पढाई नियमितताको लागि अभिभावकसँग कुराकानी गरेको भएपनि आर्थिक अभाव हुँदा छोराछोरीलाई विद्यालयमा पठाउन नसकेको जवाफ दिने गरेको उहाँको भनाइ छ ।

विगतमा मादल बनाउने र माछा मारेर जीवन निर्वाह गर्दै आएका बादी समुदायले अहिले खोलाको ढुगां निकाल्ने, बालुवा चाल्ने र गिट्टी कुट्ने काम गर्दै आएका छन् । आफुहरुसँग शैक्षिक योग्यता नहुनु तथा आर्थिक अवस्था कमजोर हुँदा बालबालिकालाई विद्यालयमा पठाउन नै समस्या भएको अभिभावक बताउँछन् ।

Photo20231127Salyan (2)

Photo20231127Salyan (1)

Photo20231127Salyan (3)

Photo20231127Salyan (4)

- बुद्धिमान पुन