पढने उमेरमा बिहे, बिहे गर्ने उमेरमा बिधुवा !

सप्तरी । ०७८ भदौ ५ गते

एक कोठे झुप्रो । त्यही पनि पानी चुहिने । पानी पर्नेबित्तिकै डुबानमा पर्ने आँगन । पूर्व–पश्चिम राजमार्गस्थित सप्तकोशी नदीदेखि पश्चिम र भारदह चोकबाट पूर्व रहेको प्रसिद्ध कङ्कालिनी मन्दिरबाट १ किलोमिटर तल दक्षिण झरेपछि आउने हनुमाननगर कङ्कालिनी नगरपालिका–१ गोडियारी टोलस्थित झुप्रो । ओसरा (दलान)मा सिलाइको एउटा मेशिन छ । काखमा अढाई वर्षीया छोरी राधिकालाई बोक्नु भएकी २० वर्षीया सपना शर्मा मेशिन चलाइरहेकी छन् । मेशिनको ‘प्याडल’ चलाएसँगै राधिका धागोसहितको सुई तलमाथि भएको हेरिरहेकी छिन् । छोरीको हेरचाह गर्नुपर्ने भएकाले सपनाले राम्रोसँग काम गर्न पाइरहेकी छैनन् । छोरीको लालनपालन गर्ने जिम्मेवारी सपनाको काँधमा भएकाले काम नगरी उपाय पनि छैन । त्यसैले माइती घरमा बसेकी सपना फुर्सद भयो कि लुगा सिउन थालिहाल्छिन् । माइतीको अवस्था पनि उस्तै छ । घरको नाममा साढे ६ धुर ऐलानी जग्गामा बनेको फुसको झुप्रो र खेतीका नाममा कोशी डुबानमा पर्ने १० कठ्ठा टुक्रो बारी मात्र छ ।
नजिकैको एक निजी स्कूलमा आमा सरीता शर्मा कार्यालय सहयोगीको जागिर र सोही स्कूलमा कक्षा १० मा भाइ धिरज अध्ययनरत छन् । “मिठोमसिनो खाने, राम्रा कपडा लगाउने त हाम्रा लागि सपना भयो, दुई छाक गाँस र एक सरो कपडाका लागि सङ्घर्ष गर्दै आइरहेको छु ।”–सरीताले दुःख सुनाउँदै भन्नुभयो । बालकमा बुबा र किशोरावस्थामा पति गुमाउनु भएकी सपनाले दुःख पोख्दै भन्नु भयो–“मेरो भाग्य नै खोटो ! पढ्ने उमेरमा सानैमा बिहे भयो । बिहे गर्ने उमेर नआउँदै बिधवा हुनु प¥यो ।” सपनाले बिहेको साढे दुई वर्ष नपुग्दै पति गुमाए पछि माइतीघरमा बस्नु परेको हो । नेपालको कानुनअनुसार उनको बिहे गर्ने उमेर जेठ २७ गतेदेखि पुगेको छ । तर, दुई वर्षअघि नै उनी एकल (बिधुवा) बनिन् । सपनाको नियति पनि आमा सरीताको झैँ भयो । १७ वर्षको उमेरमा विवाह गरेकी सरीता २३ वर्षकी हुँदा ०६३ असार ३० गते योगेन्द्रको मृत्युपछि एकल भइन् । घरपरिवारको आरोप–प्रत्यारोप, दुर्व्यवहार खेपेर सरीताले चार वर्षकी छोरी सपना र साढे एक वर्षका छोरा धिरजलाई दुःख गरेर हुर्काइन् । ‘बुबा नभएकी छोरीमाथि समाजले औँला नउठाओस् भनेर उमेर नपुग्दै बिहे गरिदिएकी हुँ ।’–सरीताले भन्नुभयो–‘सोचेभन्दा विपरित भयो । सबै कुरा उजाडियो । दैवको आँखा पनि हामीमाथि नै प¥यो ।’
सपनाको बिहे १६ वर्ष नपुग्दै सामाजिक परम्पराअनुसार ०७३ फागुन २७ गते सुनसरीको इनरुवा नगरपालिका–३ का राम शर्मासँग गरिएको थियो । पतिले फर्निचर पसलमा मजदुरी गरेर परिवार पाल्दै आएका थिए । पतिले कमाउने र पत्नीले छोरीकोे स्याहारसुसारसहित घरको काम गर्थिन् । दुःखसुख गरेर परिवार जेनतेन चलिरहेको थियो । सपनाको सबैभन्दा दुखद् दिन ०७६ साउन २२ गते साँझ बन्यो । पसलबाट मोटरसाइकलमा घर फर्कने क्रममा इनरुवाको सुनसरी पुल नजिक तरकारी लिएर आएको भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा रामको मृत्यु घटनास्थलमै भयो । जीवनभर सँगै बाँच्ने कसम खाएर एक भएका पतिको मृत्युपछि सपनाको जीवनमा एकाएक बज्रपात आइपर्‍यो । सबै सपना तुहियो । सो घटनाले सपनाको सिउँदोमात्र उजाडिएन, दुई वर्षकी अवोध बालिकाले बुबाको अनुभव पनि गर्न पाइनन् । नौ महिनाअघि दुर्घटनामै ससुरा गुमाएको पीडा छँदै थियो । पति पनि गुमाउनुपर्दा सपनाको सर्वश्व गुम्यो । परिवारमा आर्थिक समस्या पनि थपियो । केही दिनसम्म त पति वियोगको पीडाले उनी छटपटीमा रहिन् ।
पति बितेको वियोग ताजै थियो । दाइजो मागेर हैरान पार्ने सासू पवित्री सुतिहार शर्मा र जेठाजुले पतिको मृत्युभोज र काजक्रियामा भएको खर्च माग्न थाले । सासू र जेठाजुले बिरामी आमाको अवस्था हेर्न माइत आउन पनि रोके । सासूले ‘अलच्छिनी, पोइटोकुवा’ भनेर सत्तोसराप गर्न र कुट्न थालिन् । आफू कोठामा नभएका बेला सासूले गरगहनासमेत निकालेर लगेको उहाँले बताउनु भयो । काखे छोरीलाई समेत हेलाहोचो र लैङ्गिक विभेद हुन थाल्यो । सबै ‘यातना’ सहे पनि दुधे शिशुप्रतिको रुखो व्यवहार उनलाई सहन कठिन भयो । त्यसपछि उनी छोरी च्यापेर माइतीघर आइन् । ‘बालिका’मै आमा बनेकी सपनालाई छोरीको लालनपालनमा निकै सास्ती भएको छ । त्यसैले माइत फर्केपछि सपनाले सिलाइकटाइको ६ महिने तालिम लिनुभयो । रोजगारीका लागि सीप र पढाइ दुवैको आवश्यक्ता उनले महसुस गरेकी छन् । पढाइलाई निरन्तरता दिन उनी हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित रोयल सेकेण्ड्री स्कूलमा उच्च माविमा भर्ना भएकी छन् । जहाँ सपना प्राथमिक तहका विद्यार्थीलाई पढाउँछिन् । पढदै–पढाउँदै स्नातक तहसम्म उत्तीर्ण गरेर रोजगारी गर्ने उनको दृढता छ । तर, रोजगारीका लागि चाहिने नागरिकता बनाउन घरपरिवार तयार छैनन् । मृतक पतिको हक, छोरी र आफ्नो भरणपोषणका लागि मात्र नभई एकल महिलाले राज्यबाट पाउने सेवासुविधा र रोजगारी गर्नका लागि पनि उहाँलाई नागरिकता चाहिएको छ । विवाह दर्ता, नाता कायम र छोरीको जन्म दर्ता बनाउन ठूलै सङ्घर्ष गर्नु परेको बताएकी सपनाले नागरिकताका लागि सङ्घर्ष गरिरहेको बताइन् ।
बाल विवाह उच्च रहेका मुलुकहरूमध्ये नेपाल अगाडि छ । दक्षिण एशियामा बङ्गलादेश र भारतपछि नेपाल तेश्रो स्थानमा पर्दछ । बालकको तुलनामा सङ्ख्यात्मक रूपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनबाट देखिएको छ । यसो हुनुमा महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवम् सांस्कृतिक मान्यता, लैङ्गिक विभेद, गरिबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरू प्रमुख रूपमा देखिएको शिक्षिक मञ्जु श्रेष्ठको बुझाइ छ । ‘बाल विवाहले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट मात्र नभई आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रकृयामा सहभागी हुने अवसरबाट पनि वञ्चित गराएको छ ।’–मनोविमर्शकर्ता रञ्जना चौधरीले भनिन्–‘विशेष गरी बालिका र महिलाको सन्दर्भमा बाल विवाहले एउटा मात्रै अधिकारको उल्लङ्घन नगरी उनीहरूको जीवनचक्रमा थुप्रै अधिकार उल्लङ्घनको श्रृङ्खला सिर्जना गरी थप हिंसाको कूचक्रमा पर्ने अवस्था बनाएको छ ।’ सपनालाई पनि नियतिले ठग्यो । चार वर्षको उमेरमा बुबा गुमाउनु भएकी सपनाले बिहेको साढे दुई वर्षमै पति गुमाउनु पर्‍यो । ‘असारबाट २० वर्षकी भएँ । पति बितेको दुई वर्ष भयो । जिन्दगी अझै धेरै लामो छ । कसरी बित्ने हो ? केही थाहा छैन ।’–उनले भनिन् । ‘हुर्कँदै गरेकी छोरीलाई कसरी पाल्नु ?’ सपनाले पीडा सुनाउँदै थपिन्–‘थाहा नपाउँदै बिहे भयो । बिहे गर्ने उमेर नपुग्दै बिधुवा हुनु प¥यो । अब कसरी बाँच्ने ?’

उनी छोरीको उज्जल भविष्यका लागि भए पनि काम गर्न चाहन्छिन् । उनी अहिले उच्च माविमा मेहनत गरेर पढिरहेकी शिक्षक देवनाथ यादवले बताए । उमेरले कलिलै भएपनि परिस्थितिले सपनालाई पारिवारिक जीवनमा परिपक्व बनाउँदै ल्याएको छ । सपना पढ्छिन् । पढाउँछिन् । छोरी स्याहार्छिन् । घर व्यवहारदेखि सिलाइकटाइ सबै भ्याउँछिन् । सपनाले भनिन्–‘म छोरीका लागि उच्च शिक्षा हासिल गरेर स्थायी रोजगार गर्न चाहन्छु ।’ कम्तीमा स्नातक तहसम्मको अध्ययन पुरा गर्ने दृढता देखाएकी उनले भनिन्–‘योग्यता र क्षमता जति बढाए पनि नागरिकता नपाएसम्म रोजगारी पाइँदैन, आफूसँग नागरिकता छैन । पति बितेपछि घर परिवारले नागरिकता बनाउन मानेका छैनन् । म के गरुँ ?’ छोरीलाई पनि पढाएर ठूलो मान्छे बनाउने उनको धोको छ । बिहे गर्ने उमेरमा पति वियोगमा परेकी सपना भन्छिन्–‘नाबालकमै बुबाको मृत्युले बाध्यतावश आफ्नो पनि सानैमा बिहे भयो । तर, म मेरी छोरीलाई उमेर नपुगिकन बिहे गर्दिनँ । बिहे गर्न दिन्न । पढाएर ठूलो मान्छे बनाउँछु ।’

f

f

f

f

f

- मनोहरकुमार पोखरेल