न्यायले ठाँउ छाडे समुदाय नै विस्थापित !

बारा । ०७८ असोज २७ गते

लाम्चो अनुहार । डर र भयले निरास भएको चेहरा । आँखाभरी आँसु । आफूभन्दा बढी परिवार र समुदायको चिन्ता । मर्नु न बाँच्नु दोसाँधमा एकोहोरो सोचाइ । रुखमा बाँधेर छिमेकीले पिटेको दुःखाइ । शरीरका सबै भागमा चोट लागेको छ । मुखका चोट लागेर खाना र पानी निल्न मिल्दैन । संवेदनशील अङ्गमा लागेको चोटको दुखाइ उत्तिकै । शौच गर्न नै कठिन । कपडा लगाउन र खोल्न गाह्रो । यो पीडाका साथमा न्यायको आशा । अन्य घटनाका दृष्टान्तले न्यायमा भरोसा छैन । न्यायले ठाउँ छाडे आफू र समुदाय गाउँ बस्नै नसक्ने त्रास । न्याय कसरी र कहिलेपाउने ? कहाँ जाने ? के खाने ? कसरी प्राण जोगाउने ? मनभरी चिन्ता ।

कलैया उपमहानगरपालिका–२७ बिजुलपुर ग्वासटोलकी ४० वर्षीया तारामुनी देवीलाई छिमेकीले डोरीले बाँधेर भदौ २ गते राति १० बजे कुटपिट गरे । उनी स्थानीय चुनावमा सोही वडाबाट दलित महिला सदस्यमा निर्वाचित भएकी हुन् । वडा सदस्यमा जितेपछि छिमेकीलाई डाहा भइरह्यो । घर परिवारका सदस्य सुतिरहेको अवस्थामा सोही टोलका ४५ वर्षीय जोगिन्द्र साह लहेरा, ४० वर्षीय महेन्द्र साह लहेरा, २२ वर्षीय दिनेश साह लहेरा, २० वर्षीय सनोज साह लहेरा, ३० वर्षीय मनोज साह लहेरा, २५ वर्षीय विनोद साह लहेरा, २८ वर्षीय विरबहादुर साह लहेरा र ४५ वर्षीय हिरासाह लहेरा बाँसको लठी र रड लिएर तारामुनीको घर भित्र प्रवेश गरे । आठ जना आरोपितले सुतिरहेका पासवान परिवारलाई अन्धाधुन्ध तरिकाले पिटे । तारामुनी देवीलाई ओछ्यानमा पिटे र घिसार्दै जोगिन्द्र साह लहेराको घर अगाडि लगे । उनलाई डोरीले रुखमा बाँधे । कपडा खोले । शरीरका सबै अङ्गमा कुटे । कुट्दाकुट्दै बेहोस भएपछि उनको मृत्यु भयो भनि छाडिदिएको पीडितको भनाइ छ ।

कानुन त जान्नेहरूकै लागि हो । मान्नेहरूकै लागि हो । दलित त दलिएरै र हेपिएरै जीउनुपर्छ । सन् १९६५ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाद्वार पारित र सन् १९७१ जनवरी ३० मा नेपालले अनुमोदन गरेको अन्तराष्ट्रिय महासन्धिमा सबै किसिमका जातीय भेदभाव उन्मुलन गर्ने व्यवस्था गरेको छ । २०६४ साल मानै नेपाल छुवाछुत मुक्त राष्ट्र घोषित छ । जातीय विभेद कानुनद्वारा बर्जित छ । संविधानमा भएको व्यवस्था विपरीत छुवाछुत कायम नै छ । राति जिल्ला प्रहरी कार्यालयका एसपी दिपेन्द्र शाही र डिएसपी गौतम मिश्र घटनास्थलमा पुगी उद्धार गरी तारामुनी, उनको बहिनी र छोरीलाई कलैया अस्पतालमा प्राथमिक उपचार गराए । सोही दिन कलैया अस्पतालले प्राथमिक उपचार गरी नेशनल मेडिकल कलेज बीरगंजमा रेफर गर्‍यो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १६६ र १६८ बमोजिम कसुर गरेकाले आरोपितलाई कारवाही गर्न पीडितले माग गरेकी छन् । औषधि उपचार, क्षतिपुर्तिको मागसहित भदौ १८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । जोगेन्द्र पासवानको १३ वर्षीया छोरी रुवीकुमारी पासवानले छुवाछुत तथा अमानवीय व्यवहार मुद्दामा भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । नेशनल मेडिकल कलेज र कलैया अस्पतालले स्वास्थ्य परीक्षण प्रतिवेदन राम्रो नदिएको पीडितको आरोप छ । भदौ ४ गतेसम्म जिल्ला प्रहरी कार्यालयको अनुसन्धान र व्यवहार पीडितमैत्री भएको र भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको अनुसन्धान फितलो भएकाले न्याय पाउनेमा शङ्का रहेको पीडितले बताइन् । न्यायका लागि पहल गरिदिन इन्सेक बारालाई अनुरोध गरिरहेकी छिन् ।

अस्थायी प्रहरी पोष्ट बसपार्कका सई नारायणप्रसाद भट्टराईले तारामुनी देवीलाई सुकेको रुखको ठुटामा डोरीले बाँधेर राखेको अवस्थामा फेला पारेको बताउनुभयो । उहाँले तत्काल उद्धार गरी कलैया अस्पतालतर्फ उपचार गर्न पठाउनुभयो । उहाँले घटनास्थलको भिडिओ र फोटो सिडीमा राखेर भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा बुझाउनुभयो । परवानिपुर गाँउपालिका–१ बुनियादका निरज पासवानको छोरा १९ वर्षीय विकास पासवानले जिल्ला अदालतमा भदौ २७ गते घटना विवरण खुलाई दिनुभयो । नेशनल मेडिकल कलेज बीरगंजले भदौ १८ गते तारामुनीदेवी पासवान डिस्चार्ज भएको पत्र भदौ २० गते जिल्ला प्रहरी कार्यालयलाई पठायो । जिल्ला न्यायाधिवक्ता जुद्धबहादुर आलेले भदौ २७ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराउनुभयो । आरोपितहरूलाई कडा कारवाही नभए फेरि आक्रमण गर्ने पटकपटक चेतावनी दिएकाले पीडित त्रसित हुनुहुन्छ । वडा सदस्य तारामुनी देवी र दलित समुदायको जीवन रक्षाका लागि राज्यको कानुन कार्यान्वयन भएको महसुस गराउन आवश्यक छ । कारवाही भएपछि कानुनको डरले भएपनि आक्रमण नगर्ने भएकाले दलित समुदायका परिवार विस्थापित हुँदैनन् । न्यायले सहि बाटो समात्नै पर्छ । जातीय विभेदको गलत सिलसिला तोडिनु पर्छ । त्यसका लागि समाजको सचेतना महत्वपूर्ण हुन्छ ।

- भोलानाथ पौडेल