न्यायको पर्खाइमा द्वन्द्वमा बेपत्ता पारिएकाहरूका परिवार !

सुर्खेत । ०८१ माघ ३० गते

वीरेन्द्रनगर नगरपालिका–१२ की ५१ वर्षीय मायादेवी हमाल सशस्त्र द्वन्द्वमा आफूले पाएको पीडा र भाइलाई राज्य पक्षले बनाएको बेपत्ताप्रति राज्यमाथि प्रश्न गर्दै आउनु भएको छ । उहाँको पुरानो घर जुम्ला हो । २०५७ सालमा उहाँको सम्पूर्ण परिवारलाई माओवादी भएको भन्दै राज्य पक्षले जेल हाल्यो । जुम्लाको कनकासुन्दरीका उहाँहरूलाई गाउँकै केही व्यक्तिले माओवादी हुन् भन्दै प्रहरीलाई सुराकी दिएका रहेछन् । उक्त समयमा माओवादीले थालेको सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । हमालका बुबा, जेठो भाइ, कान्छो भाइ सुर्खेत घरमा र आमा विष्णुदेवी जुम्लामै बस्नुहुन्थ्यो । त्यतिबेला आमालाई जुम्ला जेल, जेठो भाइलाई सुर्खेतबाट गिरफ्तार गरेर सुर्खेत जेल हालिएको हमालको भनाइ छ । युद्धमै रहहनुभएकी उहाँ पनि नेपालगञ्ज जेलमा पर्नुभएको थियो ।

हमालका कान्छा भाइ लोकेन्द्र त्यतिबेला वीरेन्द्रनगरस्थित एयरपोर्टमा रहेको नेवारे स्कुलमा कक्षा १० मा पढ्नुहुन्थ्यो । उहाँले भन्नुभयो - ‘यो माओवादीको परिवार हो भन्ने गाउँकै मान्छेले प्रहरीलाई सुराकी दिएछन् । सुराकीकै आधारमा भाइलाई लगेर बेपत्ता पारियो । प्रहरीले आमा, जेठो भाइलाई जेलमा लग्यो । कान्छो भाइलाई बेपत्ता पार्‍यो । यतिका वर्ष भयो, म मेरो भाइको प्रतिक्षा कहिलेसम्म गरौँ सरकार ?’

सात वर्षमै विवाह गर्नुभएकी मायादेवी हमालका एक छोरा थिए । पतिले अर्को विवाह गरेपछि उहाँ माइतमै बस्नुहुन्थ्यो । उहाँ एउटा छोरोसहित युद्धमा होमिनुभएको थियो । ‘प्रहरी र आर्मीको यातनाबाट यति दुःख पाइयो, नाफाको जिन्दगी थियो हाम्रो । भाग्यले बाँचेका थियौँ’ - उहाँले भन्नुभयो । उहाँका अनुसार विद्यालय गएका लोकेन्द्रलाई आर्मी आएर लगे । ‘त्यसपछि कहाँ लगे, के गरे भन्ने अहिलेसम्म कुनै पत्तो छैन । हामी त जसोतसो बाँचियो तर भाइ बेपत्ता भयो’ - उहाँले भन्नुभयो । अहिलेसम्म बेपत्ता पारिएकाहरूको खोजी र छानबिनमा राज्यले उदासीनता देखाइरहेको उहाँको आरोप छ । अहिले माओवादी पार्टीले पनि खासै वास्ता नगरेको उहाँको भनाइ छ । ‘न सहिद घोषणा भयो, न लास पत्ता लाग्यो’ - उहाँले भन्नुभयो ।

वीरेन्द्रनगर नगरपालिका–८, की शान्ति ढकालका पति गणेशप्रसाद शर्मा ०५५ वैशाख २२ गते दैलेखबाट सुर्खेत आउँदै गर्दा राज्यपक्षबाट बेपत्ता पारिनुभयो । शर्मा तत्कालीन लालीकाँडा गाविसको सचिव पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँ सरकारी कामको सिलसिलामा सुर्खेत आउँदै हुनुहुन्थ्यो । ६ दिनसम्म चरम यातनापछि बेपत्ता पारिएको ढकाल बताउनुहुन्छ । ‘मेरो जीवनको खुसी लुटिएको २७ वर्ष भयो’ - ढकालले भन्नुभयो । अढाइ दशक बितिसक्दा पनि आफूहरूले न्याय नपाएको उहाँको गुनासो छ । युद्धकै क्रममा आफू पनि ८४ पटक हिरासतमा परेको ढकालले सुनाउनुभयो । उहाँले भन्नुभयो - ‘नेताहरूको लडाइँका कारण हामी थिचोमिचोमा पर्‍यौँ । कति सहेर बस्ने हो ? २७ वर्षदेखिको पीडा कति पचाउनु ?’ पीडितलाई मैदान बनाएर नेताहरू र राज्य सञ्चालकहरूले राजनीतिक खेल खेलिरहेको बताउनु भयो ।

त्यस्तै ०५५ सालदेखि बेपत्ता हुनुभएकी वीरेन्द्रनगरकी भगवती मल्लको अवस्था अझै अज्ञात छ । उहाँकी आमा जानकली मल्ललाई अझै आफ्नी छोरी जिउँदै छन् जस्तो लाग्छ । अमरज्योति विद्यालयमा कक्षा ७ मा पढ्दै गरेकी भगवती दिउँसो नजिकैको पसलमा जान्छु भनेर घरबाट निस्किनुभएको थियो । जानकलीका अनुसार ०५५ को साउन महिनामा साँझसम्म पनि उनी घर नफर्किएपछि खोजी भयो । चार दिनपछि थाहा भयो, भगवतीलाई त माओवादी कार्यकर्ताहरूले लगेका रहेछन् । पाँच वर्षपछि भगवती आफैँ घर फर्किए पनि उहाँ पुनः युद्धमै होमिनुभयो । आमा जानकली ती दिन सम्झनुहुन्छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐन कार्यान्वयन हुन नसक्नु र अहिले आएको विधेयक पनि कार्यान्वयन हुन नसक्नु ठूलो धोका भएको उहाँको भनाइ छ । छोरीकै तनावका कारण उहाँका पतिको निधन भयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले ऐन तेस्रो पटक संशोधन भएर आए पनि कार्यान्वयन हुन नसकेको बताउनु भयो । सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो छिटो टुङ्ग्याउन आवश्यक भएको उहाँको भनाइ छ । राष्ट्रिय मानव अधिकार आयोगका कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले बेपत्ता पारिएका नागरिकहरूको बारेमा आयोगले सरकारलाई ध्यानाकर्षण गराइरहेको बताउनुभयो । ‘थप दबाबका लागि नागरिक समाज, सरोकारवाला निकायदेखि सबै पक्षले आवाज उठाउनुपर्छ’ - उहाँले भन्नुभयो ।

यी केही उदाहरणमात्र हुन् । १० वर्षे माओवादी सशस्त्र युद्धका बेला राज्य र तत्कालिन विद्रोही पक्षबाट कर्णाली प्रदेशभरका ९९ जना बेपत्ता पारिएको इन्सेकको तथ्याङ्क छ । इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीका अनुसार सल्यान जिल्लाबाट २८ जना, सुर्खेतका १४ जना, जाजरकोटका २१ जना, दैलेखका एक, डोल्पाका दुई, कालिकोटका २६, मुगुका दुई र जुम्लाका पाँच जना बेपत्ता छन् ।

- जगतदल जनाला विक