नसर्ने गम्भीर रोगको त्रासमा छन् गुल्मीका नागरिक

२०८० फागुन २९

विक्षिप्त अनुहार । रोग र शोकको पीडाले ज्यान थला पर्दै गएको छ । मृगौला प्रत्यारोण भएन । प्रत्यारोपण नभएपछिको बाँच्ने बिकल्पनै डाइलासिस हो । आफ्नै लयमा दौडिएको गुल्मी अस्पतालको डाइलासिस मेसिनमा रेसुङ्गा नगरपालिका–३ का देविराम खनालको आँखा टुट्दैनन् । खनालले दुई हप्तादेखि गुल्मी अस्पताल तम्घासमा मृगौलाको डाइलासिस गरिरहनु भएको छ । ‘मैले मेरो उपचारकै लागि सम्पती बेचेर सकेँ । ठूलो कुरा स्वास्थ्य रहेछ,स्वास्थ्य नभए पैसा भएर पनि केहि नहुँदोेरहेछ', खनालले भन्नुभयो ।

खनालले एक वर्षदेखि मृगौला फेल भएका कारण ठूलो सास्ती खेप्नु भएको छ । काठमाडौँमा कोठा खोजेर सात महिना डाइलासिस गर्दा थुप्रै खर्च भयो । गाह्रो हुँदै गएपछि घर फर्किएर पाल्पामा डाइलासिस गर्नुभयो । तर, रोगले गलेको ज्यानमा टाढाको गाडी यात्राले पीडा थप्यो । अहिले गुल्मी अस्पतालमा डाइलासिस सुरु भए पनि केही राहतको महसुस भएको छ ।

गुल्मीका गाउँगाउँमा नसर्ने रोगको समस्या बढ्दै गएको छ । नागरिक स्वास्थ्यप्रति सचेत नहुँदा नसर्ने गम्भीर रोगको कारण विपन्न परिवारका व्यक्तिले ज्यानसँगै सम्पत्ति गुमाउने अवस्था समेत रहेको छ । सङ्घ र प्रदेश सरकारले नसर्ने गम्भीर प्रकारका रोगहरूबाट पीडित व्यक्तिहरूलाई विभिन्न किसिमको सहयोग गर्दै आएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार गत वर्ष सङ्घीय सरकारको सुविधाको लागि विभिन्न स्थानीय तहबाट नागरिकले लिएको सिफारिसको आधारमा मृगौला पीडित ६३, मुटुको रोगी १ सय ७, क्यान्सरका २ सय, हेड इन्जुरीका तीन र स्पाइनल इन्जुरीका ११ जना गरेर ३ सय ७४ जनाले सेवा लिएका छन् । सङ्घीय उपचार कोष मार्फत सात किसिमका रोगबाट पीडितलाई २ लाख रुपियाँ सहयोग हुने स्वास्थ्य कार्यालय, गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले इन्सेकलाई जानकारी दिनुभयो ।

सूचना अधिकारी आचार्यका अनुसार सङ्घसँगै लुम्बिनी प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा अन्तर्गत सरकारले तीन प्रकारका रोगबाट पीडितलाई २ लाख रुपियाँ दिने व्यावस्था गरिएको छ । जसमा गत वर्ष मृगौला प्रत्यारोपण गरेका २५ जना, क्यासन्सरका १ सय १३ जना र मुटुको भल्ब फेरेका ४३ जनाले सुविधाको लागि सेवा लिएको आचार्यले जानकारी दिनुभयो । मृगौला रोगको हकमा प्रत्यारोपण गर्नेलाई र मृटु रोगको हकमा भल्ब फेर्नेहरूले मात्रै प्रदेशको सुविधा पाउने आचार्यले बताउनु भयो । त्यस्तै सङ्घीय सरकारले आर्थिक वर्ष ०७८/०७९ सालबाट तीन प्रकारका रोगबाट पीडित व्यक्तिहरूलाई मासिक पाँच हजार रुपियाँ प्रदान गर्दछ । यो सेवा लिने मृगौला पीडित १ सय १४, क्यान्सरका २ सय २४ र इपाइनल प्यारालाइसिसका १९ जना रहेका छन् ।

सरकारको पुर्वाधार केन्द्रित विकासका कारण सामुदायिक स्वास्थ्य सचेतना ओझेलमा परिरहेको छ । जसका कारण नागरिकले आफ्नो खानपान तथा रहनसहनमा ख्याल नगर्दा नसर्ने गम्भीर रोगको समस्या बल्झिदै गएको छ । धनी तथा गरिब परिवारमा नसर्ने रोगको समस्या छ । तर, विपन्न परिवारलाई ठूलो रोग लाग्दा उपचार नै नहुने र उपचार गर्दा पनि सम्पत्ति सकिएर अन्तिममा ज्यान जाने अवस्था देखिएको छ ।

रेसुङ्गा नगरपालिका–८ की ५६ वर्षीया पुतलीदेवि थापाले आर्थिक अभावको कारण मृगौलाको डाइलसिस समेत गर्न नसकेर ०८० मङ्सिर १२ गते ज्यान गुमाउनु पर्‍यो । त्यस्तै मुसिकोट नगरपालिका–६, कुर्घाका ७० वर्षीया रामु पौडेलले घाँटीको क्यान्सरको उपचारमा करिव नौ लाख रुपियाँ खर्च गरे पनि बाँच्न सक्नुभएन् । छत्रकोट गाउँपालिका-१, हुँगाका ६७ वर्षीय भुवानन्द भण्डारीले पनि क्यान्सरको कारण करिव १४ लाख रुपियाँ उपचारमा सकेर ज्यान गुमाउनु भयो । क्यान्सर रोगको उपचार निकै महङ्गो र उपचारका लागि प्रयाप्त अस्पताल नहुँदा गरिबहरूलाई निकै सास्ती हुने गरेको भुवानन्दका छोरा सागर भण्डारीले गुनासो गनुभयो ।

नसर्ने रोगको समस्या बल्झिँदै गएपछि गुल्मीका स्थानीय तहहरूमा सचेतना र गुल्मी अस्पताल तम्घासमा नसर्ने रोगको लागि पेनप्लस क्लीनिक सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि क्लनीनिकबाट सेवा उपलब्ध हुन लागेको हो । नेपाल सरकार र काठमाडौँ इन्टिच्युटड अफ चाइल्ड हेल्थ संस्थाले पेनप्सल परियोजनाले पाइलेटिङ्ग प्रोजेक्टका रूपमा काम गरिहरेको परियोजनाको कार्यक्रम अधिकृत रेनुका थामीले बताउनु भयो ।

पेनप्लस क्लीनिकमा मेडिकल अधिकृत, हेल्थ असिस्टेन र स्टाफ नर्स मार्फत निःशुल्क रूपमा सेवा प्रवाहको व्यावस्था मिलाइएको अधिकृत थामीले जानकारी दिनुभयो । अस्पतालमा उपचारसँगै समुदाय स्तरमा सचेतना मार्फत नसर्ने रोगको समस्या न्यूनीकरण गर्न अहिले भइरहेको अधिकृत थामीले इन्सेकलाई जानकारी दिनुभयो । परियोजनाले क्लीनिक सञ्चालनसँगै अति गरीब र विपन्न नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने, बिमा रकम बाहेक ठूला रोगका बिरामीको शल्यक्रिया गर्नु परेमा सबै खर्च व्यहोरेर उपचार गर्ने व्यवस्था समेत रहेको परियोजनाको कार्यक्रम अधिकृत थामीले बताउनु भयो ।

त्यस्तै गुल्मेलीलाई मृगौलाको डाइलासिस गर्न थुप्रै खर्च गरेर पाल्पा, बुटवल तथा काठमाडौँ पुग्नु पर्ने बाध्यताको अन्त्य गर्न गुल्मी अस्पतालमा पाँच शैयाको डाइलासिस सेवा सुरु गरिएको छ । गत पुस महिनाबाट गुल्मी अस्पताल, तम्घासमा मृगौलाको डाइलासिस सेवा सुरु भएसँगै नागरिकले सेवा पाउन थालेका छन् । अस्पतालमा पाँच ओटा डाइलासिस मेसिन रहेका छन् । मेसिन सञ्चालनको लागि एक जना मेडिकल अधिकृतसहित तीन जना जनशक्तिको व्यावस्था गरिएको गुल्मी अस्पताल तम्घासका प्रमुख वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताउनु भयो ।

- टोपलाल अर्याल