नदी उत्खनन्ले सोनाहाहरूको पेशा सङ्कटमा ! (फोटो फिचर)
बाहिर झिसमिसे उज्यालो छ । महिलाहरू खाना पकाउन व्यस्त छन् । पुरुषहरू भने गाई, भैँसी र बाख्रालाई गोठबाट बाहिर खुल्ला ठाउँमा सार्दै छन् । बिहान नहुँदै पुरा गाउँ बिउँझिएको छ । सबैलाई हतार छ । घरको काम सकेर कर्णाली नदी पुग्नु छ । नदीबाट सुन झिक्नु छ । र आफ्नो परिवारको जीवन चलाउनु छ । आर्थिक आयआर्जन गर्नु छ । यो गेरुवा गाउँपालिका–२, राजीपुरको दैनिक हो । त्यहीँ बस्नुहुन्छ ४० वर्षीय भागीराम सोनाहा । बिहानको घरको काम सकिएपछि दिनभर नदीबाट सुन झिक्ने काम गर्नुहुन्छ ।
नदी जाँदा उहाँको साथमा सुन चाल्न जाँदा प्रयोग (डुडी, सनौटा, छबना, ओधान, घाना, खारिया जाख साँची) हुन्छ । यस्तै साम्रागी बोकेर गाउँका अन्य सोनाहा पनि सुन खोज्न जाने गर्छन् । गाउँका अधिकांश सोनाहाहरूको काम सुन निकाल्ने भएको स्थानीय भागीराम सोनाहाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो - ‘घरको काम सकिए पछि खाना लिएर नदी तिरै जान्छौँ । महिलाहरू सुन चाल्ने गर्छन् भने पुरुषहरू माछा मार्नुका साथै सुन चाल्ने काममा महिलाहरूलाई सहयोग गर्छन् ।’ आर्थिक अवस्था कमजोर भएकोले सानो उमेरदेखि कमैया भएर बसेको उहाँको भनाइ छ । सरकारले कमैया मुक्त घोषणा गरेपछि कमाउन भारतका विभिन्न ठाउँमा जाने गर्छन् यहाँका स्थानीय । जहाँ भएपनि दुःख उस्तै रहेको सोनाहाको भोगाइ रहेको छ ।
उहाँ भन्नुहुन्छ - ‘विवाह गरेपछि पति पत्नी भएर सुन चाल्ने पेशालाई निरन्तरता दिएका छौँ । कहिलेकाहीँ राम्रैसँग सुन पाइन्छ । राम्रै आम्दानी हुन्छ । तर सुन चाल्न जाँदा केही केही सुन पाइन्छ । कहिले थोरै हुन्छ भने कहिले धेरै हुन्छ ।' सोनाहा जातिले पुर्खाबाट यो पेशा सिकेको हुन् । त्यसकारण अहिले पनि ९० प्रतिशत सोनाहाहरू सुन चाल्ने पेशामा छन् । आम रुपमा सोनाहा र थारु जाति एउटै हो भन्ने बुझाइ रहेको छ । तर भाषा, रितिरिवाज, संस्कार परम्पराले सोनाहा थारु जाती फरक रहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ - ‘नागपञ्चमीको दिनलाई हामी मुख्य पर्व रुपमा मनाउने गरिन्छ । जसलाई गुरिया भनिन्छ । बाजेहरूको पालामा सोनाहा जातिमा कसैको मृत्यु भएमा बग्ने नदीमा लगेर गाड्ने चलन थियो । तर सो चलन परिवर्तन भएर जलाउने र गाड्ने गरिएको छ ।’
नदी उत्खनन्ले पुर्खौली पेशा सङ्कटमा
जथाभावी नदी उत्खनन्ले पुर्खौली पेशा सङ्कटमा पर्दै गएको सोहाना जातिको बुझाई रहेको छ । पहिला जस्तो सजिलै सुन पाउने छोडेको गेरुवा गाउँपालिका–२, राजीपुरका स्थानीय पल्टी थारुको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ - 'पहिला कर्णाली नदी गेरुवा र कर्णाली भएर बग्ने गर्थ्यो । गेरुवा नदी मध्यवर्ती क्षेत्र भएकोले नदीको गिट्टी बालुवा झिक्न पाइँदैन । तर कर्णाली नदीका प्रत्येक वर्ष जेसिभि लगाएर नदी उत्खनन् गर्दा नदीको सतहको गहिराइ बढेको छ । जसका नदीमा सुन पाउन निकै मुस्किल हुने गरेको छ । वर्षेनी आउने बाढीको कारण बस्ती जोखिममा रहेको छ ।’
सोनाहाहरूले जानेको बुझेको गर्दै आएको काम भनेको सुन चाल्ने र माछा मार्ने काम हो । तर पछिल्लो समयमा सोनाहाहरूकै पेशा सङ्कटमा परेको छ । जसले गर्दै सोनाहा जातिले गर्दै आएको पेशा सङ्कट पर्दे गएपछि जीविकोपार्जनमा समेत असर देखिएको छ । पल्टी थारु भन्नुहुन्छ - ‘सोनाहाले नदीमा काम गर्दै नदीको जीवन बिताए, जसका कारण अन्य पेशा तिर खासै ध्यान गएन । र अन्य काम गर्ने सीपको पनि विकास गएन । तर अहिले नदी उत्खनन्ले गर्दा पहिला जस्तो सुन पाइँदैन । जसले गर्दा हाम्रो पेशा नै सङ्कटमा परेको छ । अन्य काम गर्न खासै नआउँदा जीवन नै सङ्कटमा परेको छ ।’
सोनाहाको २ सय ५९ घरधुरी
अमरशहीद बहुमुखी क्याम्पस राजापुरका क्याम्पस प्रमुख अनिलदत्त चौधरीले बर्दिया, कैलाली र कञ्चनपुरमा गरी २ सय ५९ घरधुरी रहेको जानकारी दिनुभयो । उहाँले तीन जिल्लामा गरी १ हजार २ सय सोनाहा जाति रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो - ‘सोनाहा जातिको बारेमा २०७५ सालमा गरिएको स्थलगत अध्ययन अनुसार १ कक्षादेखि ८ कक्षासम्म पढ्ने ३ सय १९ जना, ९ कक्षादेखि १२ कक्षासम्म पढ्ने ९३ जना र १२ कक्षाभन्दा माथि पढ्ने ११ रहेका थिए । त्यसैगरी सरकारी जागिर खाने २३ जना र वैदेशिक रोजगारीमा रहेको २७ जना थिए । यसमा केही सङ्ख्या थपिएको हुन सक्छ ।’
अधिकांश बालबालिका विद्यालय छोड्दै
सोनाहाहरूको बालबालिका ६ कक्षाबाट माथि १० पुग्ने बेलासम्म विद्यालय छोड्ने दर बढी रहेको राजापुर नगरपालिका–१, सोनपुरस्थित कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक बीरबल चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो - ‘बुबाआमा जीविकोपार्जन गर्नका लागि नदीमा निर्भर छन् । जसका कारण आफ्ना बालबालिका विद्यालय गएको नगएको अभिभावकलाई जानकारी हुँदैन । अभिभावक सचेत नभएकोले पनि बालबालिकाहरू विद्यालय छोड्नेहरू बढी छ । विद्यालयमा पढ्न पठाउनु पर्छ भनी अभिभावकलाई सचेत गराउन जरुरी रहेको छ । ’
स्वास्थ्य सेवामा पहुँचको कमी
बर्दियामा १ सय ७० घरधुरी सोनाहाहरूको रहे पनि २९ घरधुरी मात्र स्वास्थ्य बिमाको पहुँचमा रहेको छन् । सोनाहा विकास समितिका अनुसार राजापुर नगरपालिकामा ६८ घरधुरी, गेरुवा गाउँपालिकामा १ सय घरधुरी र मधुवन नगरपालिकामा दुई घरधुरी रहेका छन् । स्वास्थ्य बिमा बोर्डका अनुसार राजापुर नगरपालिकामा ६ घरधुरी र गेरुवा गाउँपालिकामा २३ घरधुरी स्वास्थ्य बिमाको पहुँचमा रहेका छन् । त्यस्तै नौ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा रहेको छ ।
गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले अस्थायी संरचना भएका सोनाहाहरूको लागि स्थानीय तह र सङ्घीय सरकारको अनुदानमा करिब १ सय घर निर्माण गरिदिएको बताउनु भयो । उहाँले गेरुवा गाउँपालिका–१, २, ३ र ६ मा सोहानाहरूको लागि घर निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो - ‘२०७४ सालमा कार्यपालिकाको बैठकले सोनाहा लोपान्मुख जाती भएकोले सोनाहाहरूलाई लोपोन्मुख जातीमा समावेश गर्नुपर्ने निर्णय गरी नेपाल सरकारसँग लोपोन्मुख जातीको सूचीमा समावेश गर्न माग गरी पठाएको थियौँ । तर नेपाल सरकारले अझै पनि सोनाहाहरूलाई लोपोन्मुख जातिको सुचीका समावेश गरेको छैन ।’ सोनाहाहरूले सञ्चालन गर्ने कार्यक्रममा स्थानीय तहले सहयोग गर्दै आएको समेत अध्यक्ष केसीले जानकारी दिनुभयो ।
- प्रकाश पौडेल
सम्बन्धित फिचरहरू
बेपत्ता छोराहरूको आशमा बस्दै ७९ वर्षीय गोपाल थारु
छोराहरू बेपत्ता भएको वर्षौँ भयो । कुनै समय गाउँबस्तीमा हतियारको त्रास थियो । हतियार कै कानुन थियो । हतियार नै अदालत थियो । त्यो बम बारुद र रगत होली खेल्ने…
खाेला र नदीमा जलवायु परिवर्तनकाे असर, माछा मारेरै जीविका चलाउनेहरू मर्कामा !
सात वर्ष अघिसम्म लेकवेशी नगरपालिका–८ का ८८ वर्षीय देवबहादुर थापा माछा मारेर आफ्नो जीविका चलाउनुहुन्थ्याे । उहाँले स्थानीय झुप्रा खोलामा जालले माछा मारेर बिक्री गर्नुहुन्थ्याे । जसले उहाँको जीविका राम्रै…
राउटे समुदायलाई गास र बासको चिन्ता, प्रत्येक वर्ष घट्दै जनसङ्ख्या !
आफूलाई जङ्गलको राजा भनेर चिनाउने राउटे समुदाय जनसङ्ख्या हरेक वर्ष घटिरहेको छ । अहिले राउटे समुदायमा ४१ घरधुरी छन् । १ सय ३४ जना मात्रै सङ्ख्या छ । राउटेसँग काम…
‘देशलाई दृष्टि चढाएर अन्धकारमा बाँच्दैछु !’
एम–१६ छैन हातमा । न त लडाकु ड्रेस । १० वर्षे सशस्त्र युद्धमा ३२ बढी लडाईँ थेगेका पूर्वलडाकु सहायक कमाण्डर लालबहादुर वलीको दैनिकी हिजोआज एक थान लठ्ठीको साहारामा छ ।…
पोषण गृह नै व्यवस्थित नभएको आमाहरूको गुनासो ! (फोटो फिचर)
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुरानो भवनको तेस्रो तलामा दुई आइसोलेशनसहित १० बेडको पोषण पुनःस्थापना गृह छ । एउटा कोठामा १० वेड राखेर सञ्चालन गरिएको पोषण गृहको ढोकामै सानो एउटा भान्सा…