द्वन्द्व पीडित भन्छन् – न सास न लास नै !

०८१ जेठ ३० गते

आँखाभरी आँसु । माओवादी कार्यकर्ता र सुरक्षाकर्मीले अपहरण गरेर बेपत्ता बनाएको पीडा । न सास न लास नै १ आफन्तहरूको खोजीमा झिनो आशा बोकेर बेपत्ता पारिएका परिवारका सदस्यहरू कहिले मानव अधिकाकर्मीहरूसँग त कहिले सरकारी निकायहरूमा धाउँदा धाउँदै दुई दशक बितिसकेको छ । तर पनि कतैबाट चित्त बुझ्दो जवाफ नपाएको बताउँछिन् साबिको कुविण्डे गाविस—७ हाल चौतारा हाल साँगाचोकगढी नपा—४ की ७४ वर्षीया तुलसाकुमारी नेपाल । तुलसाकुमारीको कान्छो छोरा २१ वर्षीय माधव नेपाल ९अखिल० क्याम्पस पढ्न काठमाण्डौ गएका बेला २०६० मङ्सिर १२ गते काठमाडौँ महानगरपालिका– ३५ कोटेश्वरबाट तत्कालिन शाही नेपाली सेनाले माओवादीको आरोपमा गिरफ्तार गरी लगेकोमा हालसम्म घर फर्केका छैनन् । छोराको खोजीमा‘दुई दशक बित्यो, न लाश छ, न सास छ, खबरसम्म पाइन भन्नुहुन्छ तुलसाकुमारी ।

साविक बतासे गाविस—४ हाल चौतारा साँगाचोकगढी नपा— २ की अनिता बस्नेतको पनि त्यस्तै पीडा छ । अनिता बस्नेतका पति गेदबहादुर बस्नेतलाई ०५९ फागुन २३ गते काठमाडौँबाट घरतर्फ आउदै गर्दा माओवादीले फुल्पीङकोटबाट लगेकोमा हालसम्म फर्केका छैनन् । ‘अब म एक घण्टामा घर आइपुग्छु, खाना पकाएर राख्नु, अहिले बलेफी बजार आइपुगेँ भन्नुभएको थियो, यो नै पतिको अन्तिम बोलि थियो’ अनिताले भन्नु भयो ।

फुल्पीङकोट गाविस—३ हाल बलेफी गाउँपालिका—३ कल्लेरीकी ६५ वर्षीया सुन्तली नेपाल बेपत्ता पतिको खोजी गर्दागर्दै थाकेको बताउनु हुन्छ । सुन्तली नेपालका पति सीताराम नेपाल रूपन्देही जिल्ला प्रहरीमा कार्यरत हुनुहुन्थ्यो । प्रहरी सेवामा कार्यरत रहेकै अवस्थामा ०५९ वैशाखमा उहाँलाई रूपन्देही बजारबाट नेपाली सेनाले लिएर गएकोमा हालसम्म बेपत्ता भएको परिवारको भनाइ छ ।

जेठल गाविस— ६ बर्ना, हाल लिसंखुपाखर गाउँपालिका— ५ की ७१ वर्षीया कालिमायाँ श्रेष्ठ बेपत्ता छोरीको पिरलो बोकेर अब बाँच्नै कठिन भएको बताउनु हुन्छ । कालीमाया श्रेष्ठकी छोरी १८ वर्षीया नक्कली श्रेष्ठलाई ०६० माघ २१ गते चौतारा जेलमा बसिरहेकै अवस्थामा माओवादी भएको आरोपमा सेनाले लिएर गएकोमा हालसम्म बेपत्ता छन् । ‘०५९ फागुन १४ गते सेनाले पिस्करबाट गिरफ्तार गरी नौं महिना नजरबन्दमा राखेपछि रिहा हुने दिन सेनाले लगेको भन्ने आफूले सुनेको’ कालिमायाले बताउनु भयो । नक्कली श्रेष्ठसँगै अन्य चार जना पुरूषलाई पनि सेनाले जेलबाटै लगेका थिए । सेनाले लगेका सबै हालसम्म बेपत्ताकै अवस्थामा छन् ।

द्वन्द्वको समयमा सिन्धुपाल्चोकमा राज्य र माओवादी पक्षबाट तीन जना महिलासहित २३ जना बेपत्ता भएको तथ्याङ्क इन्सेकको अभिलेख रहेको छ । बेपत्ता भएका सबैको अवस्था हालसम्म सार्वजनिक भएका छैनन् । अझैपनि बेपत्ता भएका आफन्त फर्कने झिनो आशा छ । बेपत्ताका आफन्त परिवारहरूमा झिनो आशा बोकेर सदरमुकाम र मानव अधिकारकर्मी तथा पत्रकारहरूको कार्यालयहरूमा धाउन छाडेका छैनन्।

बेपत्ता आफन्तको खोजीका लागि हारगुहार गर्दागर्दै उमेरको महत्वपूर्ण समय बितेपनि अझै न्याय पाउने आशामा छन् । वर्षौदेखि अधिकारकर्मी गुहार्दै मनमा किन रु कहाँ रु कसरी रु जस्ता प्रश्नहरू बारम्बार आइरहने गरेको पीडितहरू बताउछन् । घर परिवारको पिरलो, छोराछोरीको लालन पालन र शिक्षा दिक्षाको चिन्ता पनि छँदैछ । तर पनि हारगुहार गर्दै, रूदै भौतारिदै बेपत्ता आफन्तको खोजीमा छन् परिवारहरू ।

सशस्त्र द्वन्द्वको अवधिमा राज्य र तत्कालिन बिद्रोही नेकपा माओवादीबाट बेपत्ता परिएका २३ जना व्यक्तिको परिवारका सदस्यहरूको दैनिकी र पिरलो हो यो । आफन्तलाई किन बेपत्ता पारियो ? कहाँ लगियो ? कस्तो अवस्थामा राखिएको छ रु कसरी र कसले सार्वजनिक गरिदिने हो ? बेपत्ता परिवारको मनमा बारम्बार आइरहने प्रश्न हुन् यी । यी र यस्ता प्रश्नहरूको उत्तर दिने अहिलेसम्म पाइएन भन्नुहुन्छ कुबिण्डे गाविस–७ की तुलसाकुमारी नेपाल ।

सुन्दापनि आङ सिरिङ्ग हुन्छ । सँगै सुतेका आफन्तजनलाई विद्रोही नेकपा माओवादी र राज्य पक्षले अपहरण गरी बलपूर्वक बेपत्ता पारिएकाहरूको खोजीमा बिभिन्न संघ संस्था र सरकारी निकायको दैलो चाहर्दा चाहर्दै जीवनको अन्तिम अवस्थासम्म पनि पीडित परिवारका व्यक्तिहरूका आँखा ओभाएका छैनन् ।

मारिएका मानिसको त सदगत् भइसक्यो । तर हाम्रा बेपत्ता भएका व्यक्तिहरूलाई कहाँ के अवस्थामा राखिएको छ रु कुनै पत्तो छैन । कुविण्डेकी तुलसा नेपाल भन्नुहुन्छ— ‘हाम्रो पहिलो माग कि लास कि सास देउ भन्ने हो’ । पिपलडाँडाँका कुमार बस्नेतको पनि यही माग छ । कुमारका बुबालाई ०६१ फागुन १३ गते बाट बेपत्ता बनाइएको छ ।

०६२ साल यताका दशैँको रातो टिका आँशुले मुछिएको बताउछिन् पिपलडाँडाँ— २ की बेपत्ता पारिएका व्यक्तिका पत्नी सीता बस्नेत । उहाँहरूको जस्तै पीडा बोकेर हिँडेका छन् सिन्धुकोटका प्रदिप भट्टराई पनि । उहाँ भन्नुहुन्छ— ‘०६० साल यताका कुनै चाडबाडमा हाम्रो घरमा खुशी छाएन । हाम्रो खुशी त सशस्त्र द्वन्द्वले भताभुङ्ग पारेर खाइदियो’ । प्रदिप भट्टराईका बुबा केशव भट्टराईलाई २०६० मङ्सिर २४ गतेदेखि तत्कालिन शाही नेपाली सेनाले बेपत्ता बनाएका छन् । फुल्पीङकोट गाविस—४ की बेपत्ता परिवार लक्ष्मी न्यौपाने भन्नुहुन्छ ‘राती कसैले ढोकामा ढक्ढकायो भनेपनि आफ्नै पति आएको पो हो कि जस्तो लाग्छ’ ।

मानिसलाई राज्य वा सङ्गठित गैरराज्य पक्षले गिरफ्तार तथा अपरहण गरी सार्वजनिक नगर्नुलाई बेपत्ता भनिन्छ । नेपालमा बेपत्ता पार्नेक्रम पञ्चायतकालदेखि भएको भएपनि २०५२ साल यता माओवादी सशस्त्र द्वन्द्वको समयमा धेरै घटनाहरू भए । तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलबिच भएको सातबुँदे सहमतिदेखि नेपालको अन्तरिम संविधानसम्म भएका हरेक समझदारी तथा सम्झौतामा सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका नागरिकहरूको सत्यतथ्य सार्वजनिक गर्ने उल्लेख छ ।

नेपाल सरकार र नेकपा माओवादीबिच ०६३ मङ्सिर ५ गते भएको बिस्तृत शान्ति सम्झौतामा द्वन्द्वको समयमा राज्य पक्ष र बिद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकहरूको जानकारी ६० दिन भित्र सार्वजनिक गर्ने उल्लेख छ । तर शान्ति सम्झौता भएको १८ वर्ष पुग्नलाग्दा समेत बेपत्ता नागरिकहरुको अवस्था सार्वजनिक हुन सकेन । बेपत्ता भएका नागरिकहरुको अवस्था सार्वजनिक गर्न न त राज्यपक्ष गम्भीर देखिन्छ न त नेकपा माओवादी नै । पटक पटक राज्य सत्ताको प्रमुख बनिसकेको माओवादी बेपत्ता भएका नागरिकहरूको अवस्था सार्वजनिक गर्ने विषयमा उदासीन देखिदै आएको पाइन्छ । बरू माओवादीका नेताहरु सरकारमा पुग्दा आममाफी दिने प्रावधान सहितको प्रस्ताव आउनु बेपत्ता परिवारहरूको अपमान भएको बेपत्ता माधव नेपालकी आमा तुलसाकुमारी नेपाल बताउनु हुन्छ ।

आफ्ना परिवारका सदस्य बेपत्ता भएदेखि खोजी गर्दा गर्दा पत्तो नलागे पनि द्वन्द्वरत पक्षबिच भएको बिस्तृत शान्ति सम्झौता पछि केही आशा पलाएको थियो । बिस्तृत शान्ति सम्झौतामा ६० दिन भित्र सार्वजनिक गरिनेछ भनेपछि खुशी लागेको थियो तर १८ वर्ष बितिसक्दा पनि समस्या ज्यूँका त्यूँ छ’ । बेपत्ता पतिको खोजीका लागि पहल गरिदिन अनुरोध गर्दै सदरमुकाम चौतारास्थित इन्सेक प्रतिनिधिको कार्यालय पुग्नुभएकी पिपलडाडाँकी सीता बस्नेतले दुःख पोख्नुभयो । सीता बस्नेत भन्नुहुन्छ — ‘के हामीले न्याय पाउदैनौं ?’

- नातिबावु धिताल