द्वन्द्वमा बेपत्ता पारिएको छोरो फर्किने आसमा हुनुहुन्छ ८६ वर्षीया आमा

२०८० मंसिर १४

‘गलत केही गरेको थिएन, अपराध केही गरेको होइन, आफ्नो सोझो गरेर खाने मान्छे, गाउँमा मर्दा पर्दा जहाँ जतिबेला बोलाए पनि जाने, उहाँको जीवनमा त्यही अभिशाप भयो’, तत्कालीन विद्रोही माओवादी पार्टीबाट बेपत्ता पारिएका उमाकुण्ड गाउँपालिका-५, प्रीतिका उपेन्द्रप्रसाद गुरागाईँको पत्नी इन्द्रकुमारी गुरागाईँको पीडा हो यो ।

गाउँकै इन्द्रबहादुर कटुवालको घरमा ०५९ माघ १२ गते साँझ क्रियापुत्री रुँग्न जानु भएका उमाकुण्ड गाउँपालिका-५, प्रीतिका उपेन्द्रप्रसाद गुरागाईँ बेपत्ता पारिनु भएको २१ वर्ष बित्यो । माओवादीका कार्यकर्ताले बेपत्ता बनाएका गुरागाईँ हालसम्म न लास पत्ता लाग्यो, न सास नै पत्ता लागेको छ । घटनाको सत्य तथ्य सार्वजनिक गर्नु पर्ने उपेन्द्रप्रसाद गुरागाईँकी पत्नी इन्द्रकुमारी गुरागाईँको माग छ ।

‘घरमा खेतीपाती गर्थ्यौँ, यजमान काम गर्नु हुन्थ्यो, गाउँमा प्राय, पुजा, श्राद्ध, विवाह, क्रियाकर्म परिरहन्थे, उहाँ प्राय त्यतै हिँड्नु हुन्थ्यो, जेठो छोरो भर्खर सेनाको जागिरमा लागेको थियो, अरू बालबालिका सानै पढ्दै थिए, कसैको कहिल्यै कुभलो चिताउनुहुन्थ्यो, तर पनि शत्रु लागे, उहाँलाई क्रियापुत्री रुँग्न गएको ठाउँबाट नै समातेर लगेछन्’, इन्द्रकुमारीले भन्नुभयो ।

गुरागाईँलाई माघ २२ गते साँझ क्रियापुत्री बसेको घरमा साँझको बत्ती बाल्न जानुभएको थियो । त्यसको भोलिपल्टबाट गरुढपुराण भन्ने तयारी थियो । बिहान क्रियापुत्रीलाई खाना खुवाएर गरुड पुराण सुरु गराई घर घर फर्कने सोँचका साथ गुरागाईँ क्रियापुत्री बसेको घरमा नै बास बस्नुभयो । तर बिहान उज्यालो हुने बित्तिकै क्रियापुत्री बसेकै घरमा माओवादी कार्यकर्ता पुगे र उहाँलाई लिएर हिँडे ।

‘उहाँलाई क्रियापुत्री बसेकै घरमा माओवादी आएर लिएर हिँडेछन्, हामीलाई कसैले खबर दिएन, घर नआएपछि बुझ्न जाँदा पनि यहाँबाट त हिँड्नु भएको थियो भन्ने जबाफ दिए, त्यतिखेर माओवादीको डर, को बोल्न सक्ने’, विगतको कहाली लाग्दो क्षण सम्झिँदै इन्द्रकुमारीले भन्नुभयो ।

उहाँको जेठो छोरो रामचन्द्र गुरागाईँ भर्खरै नेपाली सेनामा भर्ना हुनुभएको थियो । माओवादीले सेनामा भर्ना हुनेलाई जागिर छुटाउने अभियान सञ्चालन गरेको थियो । त्यसैले उहाँलाई जागिर छुटाउन माओवादीको दबाब थियो । तर उमेर पुगेका, आफ्नो निर्णयले जागिर खाएका छोराले माओवादीले वा परिवारले भन्ने बित्तिकै जागिर छाड्ने कुरा पनि भएन ।

गुरागाईँको कुनै दोष वा अपराध थियो भने त्यही छोराले सेनामा जागिर खानु थियो । अरू कुनै गल्ती थिएन । तर उहाँ अपहरणमा पर्नुभयो । ‘पछि क्रियापुत्री बसेको घरबाटै भोलिपल्ट बिहान लगेको भन्ने गाइयँगुइयँ कुरा चल्यो, तर कसैले मुख फोरेर भन्न सकेनन्, अझै पनि खुलेर कसैले भन्दैनन्’, उपेन्द्रका छोरा पूर्णप्रसाद गुरागाईँ भन्नुहुन्छ ।

बेपत्ता पारिँदा उपेन्द्र ४० वर्षको हुनुहुन्थ्यो । एउटा छोरो भर्खर जागिरमा लाग्नुभएको, बाँकी चार भाइ छोरा सबै साना, स्कुलमा पढ्ने । बुढी हुनुभएकी सासु इन्द्रकुमारीलाई व्यवहार चलाउन कम मुस्किल भएन । ‘दिन लाग्यो, माओवादीले उहाँलाई लगेपछि डरले आफन्तलाई पनि पराइजस्तो हुनु पर्ने बाध्यता पर्‍यो, कति दुःख काटियो काटियो, अब त छोराहरू हुर्किए, एउटा बाहेक सबैको विवाह पनि भयो, आफ्नो आफ्नो व्यवहार गरेर खाने भए, अलि सजिलो भएको छ’, इन्द्रकुमारीले अतीत सम्झिँदै भन्नुभयो ।

बाहिर शान्त देखिए पनि उहाँको मनभित्रको आँधीबेहरी त उहाँलाई नै थाहा छ । बाहिरकाले देख्ने कुरा भएन । परिवारको सदस्य हराउँदाको पीडाले उहाँलाई कति जलाएको होला, उहाँको मन कति खाएको होला । त्यो उहाँ बाहेक अरूलाई के थाहा । केही पीडा व्यक्त हुन्छन्, अव्यक्त पीडा त कति छन् कति ।

पीडा इन्द्रकुमारीको मात्र छैन । उहाँको भन्दा बढी पीडा उपेन्द्रकी ८६ वर्षीया आमा पवित्रा उपाध्यायलाई छ । आफ्नो एक मात्र सन्तान बेपत्ता पारिँदाको पीडा त्यही आमालाई मात्र थाहा हुन्छ, जसले त्यो पीडा भोगेको छ । त्यही पीडामा पिल्सिएर बस्नु भएको छ उपेन्द्रप्रसादकी आमा पवित्रा उपाध्याय ।

पवित्रालाई अझै पनि छोरो आउला र आमा भनेर बोलाउला जस्तो लाग्छ । उमेरले ८६ वर्ष पुग्नुभएकी पवित्रा २० वर्षदेखि आफ्नो एक मात्र सन्तानको पर्खाइमा हुनुहुन्छ । तर छोरो फर्कने, नफर्कने कुनै ठेगान छैन । छोराको प्रतीक्षा गर्दा गर्दै सास टुङ्गिने हो कि, छोराको अनुहार हेरेर सास तोडिने हो पवित्रा आफैँलाई थाहा छैन ।

उहाँ जीवित नै हुनुहोला र फर्कनुहोला भन्ने आस परिवारमा बिस्तारै टुट्दै गएको छ । ‘अब बुबा फर्केर आउनुहुन्छ भन्ने आस मरिसक्यो, तर सरकारले उहाँको अवस्था बारे औपचारिक जानकारी नगराएको कारण हामी त्यसैको प्रतीक्षामा छौँ’, उहाँका छोरा पूर्णप्रसादले भन्नुभयो । ‘अब उहाँ फर्किएर आउनुहोला भन्ने आस त छैन, तर अवस्था के हो भनेर राज्यले भनिदिएको पनि छैन, राज्यले स्पष्ट रूपमा भनिदिए हाम्रो संस्कार अनुसारको कर्म त गर्ने थियौँ नि, त्यो पनि गर्न पाइएन’, पूर्णप्रसादले उल्लेख गर्नुभयो ।

माओवादी शान्ति प्रक्रियामा आएको पनि १७ वर्ष भयो । अहिले पनि माओवादी शासन सत्तामा छ । तर माओवादी आन्दोलनका क्रममा बेपत्ता पारिएका मानिसहरूको अवस्था न सार्वजनिक गरिएको छ, न त्यसलाई सार्वजनिक गर्ने विषयमा सरकार जिम्मेवार भएर प्रस्तुत भएको छ । बेपत्ता पारिएकाहरूको छानबिन आयोगसम्बन्धी कानुनै राजनीतिक दाउपेचका सिकार बनेको छ । जसको पीडा पीडित परिवारले भोगिरहेका छन् । ‘राज्य जिम्मेवार बनोस्, स्थिति के हो यथासिघ्र सार्वजनिक गरिदेओस्’, पूर्णप्रसादले भन्नुभयो ।

- नवराज घिमिरे