द्वन्द्वमा बेपत्ता पारिएका परिवारको यथावतै छ पीडा
साबिक पिपलडाँडा गाविस-२ पिँडालुवारी हाल चौतारा सागाचोकगढी नगरपालिका-६ मा बस्दै आउनुभएकी सीता बस्नेत आहिले एक्लो जीवन बिताइरहनु भएको छ ।
उहाँका एक छोरा र एक छोरी थिए । छोरा नेपाली सेनामा भर्ती भएका छन् भने छोरीले नौ वर्ष अघि घरको बुइगलमा झुण्डिएर आत्महत्या गरिन् ।
पति कृष्णबहादुर बस्नेत प्रहरी सेवामा कार्यरत हुनुहुन्थ्यो । ०६१ फागुन महिनामा तत्कालिन नेकपा माओवादीले अनिश्चित कालिन बन्दको आव्हान गरेका थिए ।

बस्नेत त्यसबेला काठमाडौँ स्थित महाराजगञ्जमा प्रहरी सेवामा कार्यरत हुनुहुन्थ्यो र उहाँ त्यसबखत परिवार भेट्न घर बिदामा आउनु भएको थियो । बिद्रोहीले बन्दको आयोजना गरेको बेला सवारी साधन चल्ने कुरै भएन । उहाँको बिदा सकियो डिउटिमा हाजिर हुने दिन आयो ४३ वर्षीय कृष्णबहादुरले हिँडेरै काठमाडौँ पुग्ने आँट गर्नुभयो ।
०६१ फागुन १३ गते बिहान घरबाट काठमाडौँको लागि पैदल हिँड्नु भयो । पैदल हिँडेर काठमाडौँ जाने क्रममा साबिक सागाचोक गाविस-४ स्थित माने भञ्ज्याङमा माओवादीको समूहले सोही दिन बिहान ७ बजे फेला पारे बस्नेतलाई र त्यहीँबाट माओवादीले कब्जामा लिए । अन्य दुई जना साथीहरूको साथमा जानुभएका बस्नेतलाई माओवादीले प्रहरी भएको आरोपमा अपहरण गरेका थिए भने अन्य दुई जनालाई घरतर्फ फर्काइदिएका थिए ।
माओवादी कब्जामा रहेका असइ कृष्णबहादुर बस्नेतलाई जनताले कुटिकुटी मारेको भनी माओवादीले ०६३ असार १३ गते प्रेस विज्ञप्ति जारी गरेका भए पनि ओवादीद्वारा जारी विज्ञप्तिमा कहाँ ? कहिले ? कसरी ? भन्ने कुरा भने उल्लेख थिएन ।
उहाँलाई यो कुराको विश्वास लाग्ने कुरै भएन । अझै पतिको पर्खाईमा दिन रात बितरहेको छ । इन्सेक प्रतिनिधिसँग ०८० जेठ ३ गतेको कुराकानी कै क्रममा सत्यनिरुपण आयोग मार्फत बर्तमान सरकारले ल्याउन खोजेको द्वन्द्वका घटनाहरूमा आम माफि दिनुपर्ने तर्क पनि उहाँले राम्रो नलागेको बताउनु भयो ।
भेटघाटको क्रममा सीता बस्नेतसँग घटनाबारे भन्नुभयो - 'पतिलाई कब्जामा लिने व्यक्ति समेत आफूले चिनेको र ती व्यक्तिलाई कारबाही भएको सुनेर मात्र मर्नपाए हुन्थ्यो'। उहाँले उल्लेख गर्नुभयो, 'बेपत्ता आयोगमा बेपत्ता बनाउनेहरूविरुद्ध किटानी उजुरी गरेकी छु ।'
काठमाडौँमा जागिरका लागि हिँडेका आफन्त माओवादीको कब्जामा परेको खबर घटना भएकै दिन गाउँभरी फैलिएको थियो । माओवादीले अपहरण गरी लगेका भाइको खोजीका लागि डिँहेका अपहरित बस्नेतका दाजु कुलबहादुर सानोसिरुवारी स्थित मेलचौर पुग्दा माओवादीसँग त्यही दिन नै भेट भएको थियो ।
माओवादीले कुलबहादुरको गालामा दुई थम्पड कुटे र त्याहाँबाट फर्काए । अबदेखि भाइको खोजी नगर्नु भन्दै हप्काएर पठाएका थिए त्यो दिन । अपहरणमा परेका पतिको खोजी गर्ने क्रममा सीता बस्नेत पनि घटना भएको तीन दिन जल्किने सम्म जानुभएको थियो ।
त्याहाँ पुग्दा भोलि छाड्ने कुरा भएको छ भन्दै आफूलाई चिनजानका आफन्तले फर्काइदिएको सीताले बताउनु भयो । उता अपहरित भाइको खोजी गर्ने क्रममा दाजु कुलबहादुर फागुन १८ गते सागाचोक स्थित मानेभञ्ज्याङमा पुग्दा भाइ कृष्णबहादुर बस्नेतलाई आँखामा पट्टी र दुवैहात पछाडी बाँधेर चउरमा लडाएर राखेको दृश्य दाजु कुलबहादुरले देखेका थिए ।
तर माओवादीको घेरामा रहेका भाइलाई भेट्न भने पाएनन् दाजु कुलबहादुरले । तिम्रो भाइलाई भोलि पठाइदिउँला भन्ने आश्वासन माओवादीले उहाँलाई दिए । भाइ भोलि घर आउँछ भन्ने आशामा खुसी हुँदै दाजु कुलबहादुर त्यसै दिन घर फर्के ।
कुलबहादुरलाई माओवादीले दिएको आश्वासन पुरा भएन, बरु ०६३ असार १३ गते विज्ञप्ति मार्फत जनताले कुटिकुटी मारेको बताए । माओवादीले विज्ञप्ति जारी गरेको कुराको जानकारी ०६३ साउन १ गते सीता बस्नेतलाई दिइएको थियो ।
०६१ फागुन १८ गते कृष्णबहादुर बस्नेतलाई माओवादीकै कब्जामा देखेका आफन्तले त्यसपछि कहिल्यै देख्न पाएनन् । सीता बस्नेत ०६१ फागुन १९ गतेपछि पनि पति भेट्न पाइन्छ की भनी तीन पटक मानेभञ्ज्याङ पुग्नुभयो, तर पनि पति भेट्न पाउनुभएन ।
घटना भएको तीन वर्षपछि संयोगले इन्सेक जिल्ला प्रतिनिधिसँग सीता बस्नेतको भेट भएको थियो । त्यतिबेला सम्म कतैबाट राहत नपाएकी मात्र होइन बेपत्ता पतिको पाकेको तलव सुबिधा, उपदान र पेन्सन समेत सीताले पाउनुभएको थिएन ।
इन्सेक अनलाइनमा बेपत्ता परिवार सीताले राहत नपाएको समाचार प्रकाशन भएको थियो । प्रकाशन भएको समाचार जिल्ला प्रशासन, प्रहरी कार्यालय लगायत सम्बन्धित निकायमा जानकारी गराएपछि सबै पक्षबाट सहयोग मिलाउने प्रबन्ध भएको र पाउने सुबिधा तथा राहत प्राप्त भएको थियो ।

- नातिबावु धिताल
सम्बन्धित फिचरहरू
सशस्त्र द्वन्द्वले दुवै गोडासँगै सपना पनि गुमे !
२०६३ साल कात्तिक महिना । तिहारको दिन । रामचन्द्र आफ्नो दिदीको हातको टिका लगाएर मामाघर जाने तयारीमा हुनुहुन्थ्यो । कृष्ण गौतम रामचन्द्रका मिल्ने साथी । छिमेकी पनि भएकाले सधैँ जसो…
द्वन्द्वमा छाडिएको बम बिस्फोटले बहिनीको ज्यान गयो, त्यसैको पीडामा बुबाद्वारा आत्महत्या
बिहान अचानक कुञ्चोक गाविस-४ को देउरालीडाँडामा ठूलो आवाजमा बम पड्क्यो । साँढे दश बज्दै गर्दा आएको यो आवाजले गाउँलेहरू त्रसित मात्र भएनन्, साबिक कुन्चोक गाविस-४ की १२ वर्षीया एक अबोध…
अझै पनि पानीकै पिरलो, पानी भर्न घण्टौँ बस्नुपर्छ पालो
रामेछापको मन्थली नगरपालिका-१२ गेलुका बासिन्दा खानेपानी कै समस्याले पिरोलिएका छन् । खानेपानी कै लागि रातको निन्द्रा माया मारेका छन् । बेलामा पकाएर खान पाएका छैनन्, बालबालिकाको पढाइ छुटाइएका छन् ।…
कुपोषणको मारमा बालबालिकाहरू
उत्तरगया गाउँपालिका-५ को खाल्टेमा भूकम्पबाट विस्थापित क्याम्पमा २३ वर्षीया बिरमाया तामाङ बस्दै आउनु भएको छ । उहाँको दुई छोरी र एक छोरा छन् । कान्छी छोरी २० महिना पुग्न लागिन्…
वर्षेनी बालिका बलात्कारका घटना बढ्दै
जाजरकोट की १५ वर्षीया बालिका २०७८ फागुन ८ गते राति ११ आफ्नै घरमा बलात्कृत भइन् । आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवा केही समय देखि भारतमा मजदुर गर्दै आउनुभएको…