द्वन्द्वमा बेपत्ता पारिएका परिवारको पीडाः न सास पाइयो, न लास नै पाइयो
रामेछापको साबिक बेताली गाविस–८ हलुवा हाल गोकुलगङ्गा गाउँपालिका–४ का विपिनकुमार केसीलाई बेपत्ता पारिएको २० वर्ष बित्यो । तर उहाँको कुनै अत्तोपत्तो छैन । परिवारजनले मरे बाँचेको खबर पाउन सकेको छैन ।
२०३७ सालमा जन्मनुभएका विपिन नौ महिना माओवादीको सेनामा बन्दुक नै बोकेर हिँड्नुभयो । माओवादीको युद्धमा सहभागिता हुँदा हुँदै विपिन बिरामी पर्नुभयो । बिरामी भएपछि उहाँ घर फर्कनुभयो ।
सशस्त्र द्वन्द्वको बेलामा घर बस्ने अवस्था थिएन । नेपाल भित्रै पनि असुरक्षा थियो । त्यसैले परिवारले उपचारको लागि उहाँलाई भारत पठायो । भारतमामा लामो समय उपचार गरेर विपिन घर फर्कनुभयो ।

विपिनले माओवादी छाडेपछि केसी परिवार दोहोरो चपेटामा पर्यो । माओवादी विपिनलाई फेरी लडाकुमा नै फर्काउन परिवारलाई दबाब दिन्थ्यो । राज्यको सुरक्षाकर्मी माओवादीको लडाकु घरमा बसेकाले केसी परिवारलाई सधैँ शङ्काको नजरले हर्थ्यो । बारम्बार सोधपुछ गर्ने र मानसिक रूपमा यातना दिने गरिरहन्थ्यो ।
त्यसैले विपिनको घरमा बस्ने वातावरण भएन । परिवारले उहाँलाई काठमाडौँ पठायो । काठमाडौँमा त्यसै बस्ने कुरा भएन । त्यसैले सिनामंगलमा पसल खोलेर उहाँलाई बस्ने बन्दोबस्त मिलाइयो ।
‘घरमा बस्ने वातावरण नै भएन, कति बेला कुन पक्षले मार्ने हो ठेगान नै भएन, त्यसैले दाइलाई काठमाडौँ पठाइयो, म मन्थली बस्थेँ, भाइ पनि दाइसँग काठमाडौँ पढ्नको लागि बस्न लाग्यो’, नवीन केसीले भन्नुभयो ।
असारको दिन, मध्य वर्षा । वर्षाको बेलमा काठमाडौंका कलेज बन्द हुन्थे । गाउँमा धान लगाउने मारामार हुन्थ्यो । त्यसैले कलेज बिदा भएकोले कान्छो भाइ घर आउनुभयो । विपिन काठमाडौमा एक्लै हुनुहुन्थ्यो ।
बिहानै पसल गयो । भाइ घर हिँडेपछि कोठामा खाना बनाउने जिम्मा पनि विपिनकै काँधमा थपियो । उहाँको व्यस्तता बढेको थियो ।
२०६० साल असार १३ गते साँझ विपिनले पसल बन्द गर्नुभयो । पसल बन्द गरेर कोठामा फर्कनु भएका विपिन त्यसपछि कहिल्यै पसलमा फर्कनु भएन । उहाँलाई सोही राति बेपत्ता पारियो । कसले बेपत्ता पार्यो परिवारलाई थाहा छैन । तर माओवादी छाडेर काठमाडौँमा बसेको कारण राज्य पक्षबाट बेपत्ता बनाएको आशंका परिवार र आफन्तको छ ।
असार १४ गते बिहान पसल खोल्न नगएपछि परिवारले उहाँ बेपत्ता भएको थाहा पाए । ‘साँझ पसल बन्द गरेर नजिकैको पसलबाट मासु किनेर लैजानु भएकोसम्म थाहा भयो, त्यसपछि कोठामा पुग्नु भयो वा बाटैबाट समातियो केही पत्ता लागेन’, नवीनले भन्नुभयो ।
केही दिन काहीँ कतै जानुभयो कि भनेर परिवारले बाटो हेर्यो । उहाँ न फर्कनु भयो न कुनै खबर गर्नुभयो । त्यसपछि परिवारले उहाँको खोजी सुरु गर्यो । ‘सरकारी निकायमा बुझियो, प्रहरीलाई खबर गरियो, मानव अधिकार आयोगमा निवेदन गरियो, कतै बाँकी राखिएन, तर केही पत्तो लागेन’, नवीनले भन्नुभयो ।
परिवारको सदस्य बेपत्ता पारिएको पीडा मृत्यु भन्दा पनि ठूलो हुने नवीनले सुनाउनु भयो । ‘आस मार्न पनि नसकिने, टुप्लुक्क आइपुग्नु हुन्छ कि जस्तो लाग्ने, बरु मारिएका परिवारले त आफ्नो रीतिरिवाज अनुसार काजक्रिया गरे, हामीले त काजक्रिया समेत गर्न पाएनौँ, न सास पाइयो, न लास पाइयो’, उहाँले भन्नुभयो ।
अझै पनि कुनै नयाँ नम्बरबाट फोन आउँदा दाजुले गरेको हो कि जस्तो लाग्छ नवीनलाई । झन् बुबा प्रेम त नयाँ नम्बरबाट मिस कल आउँदा पनि छोराले नै गरेको हो कि भनेर फोन फर्काइ हाल्नु हुन्छ ।
तर अहँ अहिलेसम्म न त विपिनको फोन आयो, न कुनै खबर नै । छोरो फर्केला भन्ने आशा बोकेर बसेको परिवारलाई समयले केवल निराशा मात्र दियो । आशाको किरण कतै देखिएन, केवल निराशाको बादल मडारिइरह्यो ।
अब दाजु फर्किनु होला भन्ने आस नवीनलाई मरिसकेको छ । तर विपिनका आमाबुबा प्रेमकुमार केसी र आमा गोपीकुमारी केसी अझै पनि छोरो फर्किएला भन्ने आशामा नै हुनुहुन्छ ।
साँझ ढोका खोल्दा पनि टुप्लुक्क छोरो आइपुग्छ कि जस्तो लाग्छ । कतै खस्य्राकखुस्रुक गर्दा पनि छोरा नै आएको त होइन भन्ने ठान्नु हुन्छ । आशा मरेको छैन, निराशाले छाड्न पनि सकेको छैन ।
‘हामी त बिस्तारै सम्हालिँदै गएका छौँ, तर बुबा आमालाई सम्हाल्न साह्रै गाह्रो छ, सारै आघात गर्नुहुन्छ’, उहाँले भन्नुभयो ।
परिवारका सदस्यको वियोगका पीडा अरू बेला भन्दा पनि चाडवाडमा बढी हुन्छ । त्यस्तो बेला बुबा आमालाई सम्हाल्न नवीनलाई धेरै गाह्रो हुन्छ । परिवारको जेठो छोरो बेपत्ता हुँदाको पीडा सहनै सकेको छैन केसी परिवारले ।
‘चाडवाडमा बुबा आमालाई सम्हाल्नै सकिँदैन, त्यसैले चाड पर्व नै नआउन् जस्तो लाग्छ, तर के गर्नु हामी पो पीडामा छौँ, समय त रोकिँदैन’, उहाँले भन्नुभयो ।
द्वन्द्व सकिएपछि छानविन होला, खोजी होला । कम्तीमा मरे बाँचेको पत्ता लाग्ला भन्ने थियो केसी परिवारमा । तर राज्य उत्तरदायी नहुँदा त्यो आश पनि मरेर गएको छ ।
राज्यले दिएको केही रकमले उहाँहरूलाई राहत होइन आहत बनाएको छ । ‘हामीले पैसा खोजेको होइन, न्याय खोजेको हो, अब त न्याय पनि मर्यो, सबैलाई माफी दिइयो भन्ने घोषणा गर्न त बाँकी रह्यो नि’, नवीनले भन्नुभयो ।

- नवराज पथिक
सम्बन्धित फिचरहरू
सशस्त्र द्वन्द्वले दुवै गोडासँगै सपना पनि गुमे !
२०६३ साल कात्तिक महिना । तिहारको दिन । रामचन्द्र आफ्नो दिदीको हातको टिका लगाएर मामाघर जाने तयारीमा हुनुहुन्थ्यो । कृष्ण गौतम रामचन्द्रका मिल्ने साथी । छिमेकी पनि भएकाले सधैँ जसो…
द्वन्द्वमा छाडिएको बम बिस्फोटले बहिनीको ज्यान गयो, त्यसैको पीडामा बुबाद्वारा आत्महत्या
बिहान अचानक कुञ्चोक गाविस-४ को देउरालीडाँडामा ठूलो आवाजमा बम पड्क्यो । साँढे दश बज्दै गर्दा आएको यो आवाजले गाउँलेहरू त्रसित मात्र भएनन्, साबिक कुन्चोक गाविस-४ की १२ वर्षीया एक अबोध…
अझै पनि पानीकै पिरलो, पानी भर्न घण्टौँ बस्नुपर्छ पालो
रामेछापको मन्थली नगरपालिका-१२ गेलुका बासिन्दा खानेपानी कै समस्याले पिरोलिएका छन् । खानेपानी कै लागि रातको निन्द्रा माया मारेका छन् । बेलामा पकाएर खान पाएका छैनन्, बालबालिकाको पढाइ छुटाइएका छन् ।…
कुपोषणको मारमा बालबालिकाहरू
उत्तरगया गाउँपालिका-५ को खाल्टेमा भूकम्पबाट विस्थापित क्याम्पमा २३ वर्षीया बिरमाया तामाङ बस्दै आउनु भएको छ । उहाँको दुई छोरी र एक छोरा छन् । कान्छी छोरी २० महिना पुग्न लागिन्…
वर्षेनी बालिका बलात्कारका घटना बढ्दै
जाजरकोट की १५ वर्षीया बालिका २०७८ फागुन ८ गते राति ११ आफ्नै घरमा बलात्कृत भइन् । आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवा केही समय देखि भारतमा मजदुर गर्दै आउनुभएको…