द्वन्द्वमा छाडिएको बम बिस्फोटले बहिनीको ज्यान गयो, त्यसैको पीडामा बुबाद्वारा आत्महत्या
बिहान अचानक कुञ्चोक गाविस-४ को देउरालीडाँडामा ठूलो आवाजमा बम पड्क्यो । साँढे दश बज्दै गर्दा आएको यो आवाजले गाउँलेहरू त्रसित मात्र भएनन्, साबिक कुन्चोक गाविस-४ की १२ वर्षीया एक अबोध बालिका पवित्रा भारतीको ज्यान समेत गयो ।

बिहान घरबाट उठेर घाँस काट्न जानुभएकी पवित्रा घर फर्कन पाउनुभएन । घाँस काटेर फर्कँदै हुनुहुन्थ्यो उहाँ । अधिकांश कुञ्चोकबासीले घाँस, दाउरा गरेर जङ्गलबाट फर्कने चौतारीको बिसौनिमा तत्कालिन बिद्रोही नेकपा (माओवादी) ले राखेको सकेट बम बिस्फोट भई ०६२ चैत २१ गते भारतीको ज्यान लियो भने अन्य तीन जना समेत गम्भीर घाइते भए ।
‘हामी घाँस लिएर आयौँ, अनि ऐसेलु खान तलतिर लाग्यौँ, पवित्राले घाँसको डोको बिसाएकै ठाउँमा बम बिस्फोट भयो र उनी उछिटिइन्’— घटनाका प्रत्यक्षदर्शी निशा थापामगरले बताउनु भयो । घटनास्थल साबिक कुञ्चोक गाविस-४, हाल इन्द्रावती गाउँपालिका-२ देउरालीडाँडा चौबाटोमा पर्दछ ।
जहाँबाट श्री महेन्द्र मावि जाने बाटो, नवलपुर बजार जाने बाटो, सदरमुकाम चौतारा जाने र खुतुमेडाँडा पुग्नलाई आवतजावत गर्ने चौबाटोमा बम बिस्फोट भएको थियो ।
बिस्फोटबाट १२ वर्षीया पवित्रा भारतीको ज्यान गयो भने सोही ठाउँका १३ वर्षीय अशोक थापामगर, ११ वर्षीया पातली भन्ने मनकुमारी भारती र १४ वर्षीया निशा थापामगर बमको छर्रा लागेर घाइते भए । घाइतेहरूको भने चौतारा अस्पतालमा उपचार भयो ।
बम बिस्फोटबाट छोरीको मृत्यु भएपछि मृतक बालिकाको बुबा पदमबहादुर भारती बिछिप्त हुनुभयो । मृतक छोरीको स्कुल जाने झोला र किताब बोकेर भावविवह्ल भएर अर्धमनस्थितिमा भौतारिरहनु भयो बुबा पदमबहादुर भारती ।
घटना भएको दिन साँझसम्म पदमबहादुरले आफ्नी छोरीको शव बुझ्न समेत मान्नुभएको थिएन । घटना स्थलमा छोरीको शव क्षत्बिक्षत् अवस्थामा देख्नुभएका पदमबहादुरको मन थिरमा आउन सकेन ।
अन्ततः छोरीको मृत्युको पीर र चिन्ताले अर्धमनस्थितिकै अवस्थामा ०६३ जेठ १६ गते आफ्नै घरको चोटामा झुण्डिएर आत्महत्या गर्नुभयो पदमबहादुरले । छोरीको मृत्युको शोकमा पर्नुभएकी आमा रत्नकुमारी भारती घटनापछि मुटु रोगी हुनुभयो ।
छोरी र पतिको मृत्य घटनापश्यात मुटु रोगी बनेपछि उपचारको लागि गंगालाल अस्पताल काठमाडौँमा जानुभयो रत्नकुमारी भारती । घरमा भएका लालाबाला तीन छोरा पाल्न र हुर्काउन निकै सङ्घर्ष गर्नु परेको उहाँको भोगाइ छ ।
विद्यार्थी र सर्वसाधारण समेत दैनिक सरदर ३ सय जना व्यक्तिहरूको आवतजावत हुने चौबाटोमा रहेको चौतारी बिसौनिमा माओवादीले घटना भन्दा पाँच महिनाअघि सो माइन बिच्छ्याइएको माओवादी नेता चिरागले बताउनु भयो ।
माओवादी नेता चिरागको भनाई अनुसार त्यस ठाउँमा दुई ओटा माइन बिच्छ्याइएको थियो । त्यहाँ माइन बिच्छ्याएको कुरा बिस्फोट हुनुभन्दा एक हप्ता अघिमात्र आफूलाई थाहा भएको नेता चिरागले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
बिस्फोट हुनुभन्दा तीन दिनअघि मात्र पनि बिच्छ्याएको बम निस्कृय गराउन पटक पटक रिमोट कन्ट्रोल प्रयोग गरेको उहाँले बताउनु भयो ।
रिमोट कन्ट्रोलद्वारा बम निस्कृय पार्न नसकेपछि बम त्यतिकै छाडेर गएको माओवादी नेता चिरागले बताउनु भयो । नेता चिरागले घटनाको सम्बन्धमा जिम्मेवारी लिँदै आफ्नो कमजोरीका कारण घटना भएको प्रतिक्रिया दिनुभयो ।
श्री महेन्द्र मावि कक्षा ३ मा अध्ययनरत पवित्रा भारती घटना भएको दिन शनिवार परेकोले उहाँका साथीहरू मिलेर स्थानीय पाखामा घाँस काट्न बिहानै गएको मृतकका जेठा दाजु रूपक भारतीले बताउनु भयो ।
इन्सेक प्रतिनिधिसँग भएको कुराकानीको क्रममा ‘बम बिस्फोटले बहिनीको ज्यान गयो, त्यसैको पीडामा बुबाद्वारा झुण्डिएर आत्महत्या गरे’ मृतकका दाजु रूपक भारतीले बताउनु भयो ।
बिस्फोटमा परि छोरीको मृत्यु, पतिले अर्धमनस्थितिमा घरको दलिनमा झुण्डिएर आत्महत्या, साना साना तीन छोराहरूको पठन पाठन र लालन पालनमा निकै समस्यामा परेकी रत्नकुमारी भारतीलाई घटनापछि इन्सेकले पाँच हजार रुपियाँ सहयोग गरेको थियो ।

इन्सेकले गरेको सहयोगबाट आमा रत्नकुमारीले एउटा बाख्रा किनेर हामी तीन छोराहरूलाई स्कुल पोशाक देखि कापी कलमसम्म धानेको रूपक भारती बताउनु हुन्छ । युद्धको बेलामा राखेको बम बिस्फोट भएर बालबिलिका हताहत भएको घटनापछि कुन्चोकमा रहेको श्री महेन्द्र माविमा इन्सेक प्रतिनिधिले बारुदी सुरुङबारे विद्यार्थीहरूलाई सचेतना कार्यक्रम समेत सञ्चालन गर्नुभएको थियो ।
युद्धसँग सरोकार नभएका गाउँलेहरूलाई लक्षित गरी राखेको बम बिस्फोट भएको घटना सम्झँदा आफूहरूलाई अति दुःख लाग्ने गरेको मृतकका दाजु रूपक भारतीले बताउनु भयो । घटनाविरुद्ध सत्यनिरुपण आयोगमा उजुरी दिएको भए तापनि अहिलेसम्म कुनै किसिमको न्याय नपाएको रूपक बताउनु हुन्छ ।
गाउँका सबै युवा मिलेर बम बिस्फोटमा परेर मृत्यु भएकी बहिनी पवत्रा भारतीको घटनास्थलमा स्मारक निर्माण गर्ने सल्लाह भएको छु, रूपकले भन्नुभयो । तर स्मारक निर्माण गर्न अहिलेसम्म रकमको चाजोपाजो भने नमिलेको दाजु रूपकले बताउनु भयो । बहिनीको स्मारक निर्माणसँगै आफूहरू न्यायको पर्खाइमा बसेको भारतीले बताउनु भयो ।
उहाँ भन्नुहुन्छ - ‘यो देशका कुनै पनि बालबालिकाहरूले त्यस्तो जघन्य प्रकृतिको घटनामा कहिल्यै पर्न नपरोस’ ।

- नातिबावु धिताल
सम्बन्धित फिचरहरू
सशस्त्र द्वन्द्वले दुवै गोडासँगै सपना पनि गुमे !
२०६३ साल कात्तिक महिना । तिहारको दिन । रामचन्द्र आफ्नो दिदीको हातको टिका लगाएर मामाघर जाने तयारीमा हुनुहुन्थ्यो । कृष्ण गौतम रामचन्द्रका मिल्ने साथी । छिमेकी पनि भएकाले सधैँ जसो…
अझै पनि पानीकै पिरलो, पानी भर्न घण्टौँ बस्नुपर्छ पालो
रामेछापको मन्थली नगरपालिका-१२ गेलुका बासिन्दा खानेपानी कै समस्याले पिरोलिएका छन् । खानेपानी कै लागि रातको निन्द्रा माया मारेका छन् । बेलामा पकाएर खान पाएका छैनन्, बालबालिकाको पढाइ छुटाइएका छन् ।…
कुपोषणको मारमा बालबालिकाहरू
उत्तरगया गाउँपालिका-५ को खाल्टेमा भूकम्पबाट विस्थापित क्याम्पमा २३ वर्षीया बिरमाया तामाङ बस्दै आउनु भएको छ । उहाँको दुई छोरी र एक छोरा छन् । कान्छी छोरी २० महिना पुग्न लागिन्…
वर्षेनी बालिका बलात्कारका घटना बढ्दै
जाजरकोट की १५ वर्षीया बालिका २०७८ फागुन ८ गते राति ११ आफ्नै घरमा बलात्कृत भइन् । आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवा केही समय देखि भारतमा मजदुर गर्दै आउनुभएको…
द्वन्द्वमा बेपत्ता पारिएका परिवारको यथावतै छ पीडा
साबिक पिपलडाँडा गाविस-२ पिँडालुवारी हाल चौतारा सागाचोकगढी नगरपालिका-६ मा बस्दै आउनुभएकी सीता बस्नेत आहिले एक्लो जीवन बिताइरहनु भएको छ । उहाँका एक छोरा र एक छोरी थिए । छोरा नेपाली सेनामा…