द्वन्द्वपीडित भन्छन् – मैले न्याय कहिले पाउँछु !
बुटवल उपमहानगरपालिका–८ की राधिका श्रेष्ठ अहिले ५५ वर्षकी हुनुभयो । राधिकाका पति राजनकुमार श्रेष्ठ नेपाल प्रहरीका सई पदमा कार्यरत हुनुहुन्थ्यो । दुई छोरा सहित चार जनाको परिवार थियो । सबै राम्रै चलेको थियो । राधिकाले बुटवल उपमहानगरपालिकामा करारमा काम गर्नुहुन्थ्यो । पति पत्नी जागिरे दुई छोरालाई हुर्काउँदै हुनुहुन्थ्यो । सासु ससुराहरू गुल्मी मै बस्नुहुन्थ्यो । राधिका भन्नुहुन्छ, “सबै राम्रै चलेको थियो, हामी खुशी थियौँ । जब २०६१ साल भदौ १२ गते तत्कालीन माओवादीसँगको भिडन्तमा पतिको मृत्यु भयो, तब मेरोको छिनभरमै खुशी लुटियो । सहारा टुट्यो । छोराहरू टुहुरा भए । घरको धुरिखाँबो ढल्यो ।” त्यत्तिखेर राधिका ३३ वर्षकी हुनुहुन्थ्यो । छोराहरू सात वर्ष र आठ वर्षका थिए । विगतलाई सम्झँदै राधिका भक्कानिँदै बोल्न सक्नुभएन ।
राधिका भन्नुहुन्छ, काठमाडौँको नयाँ बसपार्कमा डिउटीमा रहेको बेला एक्कासी आक्रमण भएछ । भदौ १२ गते ५ बजे गोली लागेर उपचारका लागि लैजाँदै गर्दा ६ बजे मृत्युभएको रहेछ । घटनाको दिन उहाँको आमाबुबा बुटवलको सुख्खानगरमै बस्नुहुन्थ्यो । उहाँ दुई छोराहरूलाई साथमा लिएर दिनभरी आमाको घरमा हुनुहुन्थ्यो । दिउँसो खाजा खाएपछि उहाँको दिदीहरू नि आउनुभएको थियो । उहाँहरू ३ बजेतिर बुटवल बजारतिर सामान किन्न निस्किनुभएको थियो । त्यति बेला मोवाईल थिएन् । आफूहरू बजार निस्केपछि उहाँको माइतीमा फोन गर्नुभएको रहेछ । छोराहरू र आमासँग कुरा गरेर राधिका आएपछि फोन गर्न भन्नुस भनेर फोन राख्नुभएछ । उहाँको दिदीलाई सुन किन्नु थियो । आफूहरू ढिलैसम्म बजारतिरै भएको उहाँ बताउनुहुन्छ । घटना घटेपछि समाचार आएछ । घरको लेन लाइनमा धेरै फोन आएछ । कोही नभएपछि फोन उठेन् । माइतीमा फोन आएछ । उहाँको आमाबुबा रोएर बस्नुभएछ । आफूहरूलाई बजारमा चिनेका मान्छेले पनि हेरिरहेका थिए । उहाँहरू आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो । बजारबाट घरमा पुग्दा केही छिन् अगाडि खुशी छाडेर आएका बुबाआमा रोएर आँच सुन्नाएर बस्नुभएको रहेछ । जेठी दिदीलाई बुबाले बोलाएर घटनाका विषयमा सुनाएर यसलाई केही खुवाएपछि मात्र भन्नुपर्छ भन्ने सल्लाह गर्नुभएको रहेछ । कोठाबाट निस्केर दिदीले उहाँलाई अङ्गालोमा हालेर बेस्सरी रुनुभयो । घरका सबै रोए उहाँले कसलाई के भयो सबै किन यसरी रुनुभएको भनेर प्रश्न गर्नुभयो । राति १० बजेसम्म उहाँहरू त्यहीँ हुनुहुन्थ्यो । अब घर जाउँ भनेर दुई छोरा दिदी बुबा र आमाजु दिदीले लिएर उहाँ आउनुभयो । घरमा आउँदा मेला लागेजस्तै मान्छे घर वरिपरि बसिरहेका र घरको गेट खोल्दासम्म उहाँलाई याद छ । त्यसपछि के भयो उहाँले थाहा पाउनु भएन । आँखाभरी आँसु झार्दै भन्नुभयो, 'यस्तो पीडा शत्रुलाई नि नपरोस् । यति लामो समय भयो, खै कहिले न्याय पाउने हो ।'
घटनाको भोलिपल्ट प्रहरीको गाडीमा चढाएको याद छ उहाँलाई । त्यसपछि उहाँले केही थाहा पाउनुभएन । प्लेन मार्फत काठमाडौँ लगेपछि उहाँलाई थाहा भयो । बेहोस भएको कारण उहाँलाई नेपाल प्रहरीको अस्पतालमा उपचार गरियो । पशुपति किरिया पुत्री भवनमा सबै काजकर्म गरियो । बेला बेला पीडाले विक्षिप्त राधिकालाई प्रहरी अस्पतालका डाक्टरले सलानी पानी चढाउँथे । १५ दिन पशुपतिमा बसेर घर फर्किनुभयो । राधिकाले आँखाभरी आँसु पार्दै भन्नुभयो, 'रातभरी निन्द्रा लाग्दैन्थ्यो । बालक छोराहरू थिए । सुताएर बत्ती बालेर छतमा गएर रातभरी रुन्थेँ । मलाई यसरी छतमा बसेर रोएको देखेर छिमेकी इण्डियन क्याप्टेन बुबा हुनुहुन्थ्यो । यसरी रातभरी छतमा नबस्नु नानी भन्नुहुन्थ्यो सम्झाउनुहुन्थ्यो । केही अप्ठयारो भए हामीलाई भन म तिम्रो बाबाजस्तै हो भनेर धेरै सम्झाउनुहुन्थ्यो । घरमा एक जना नर्स अमृता खाण बस्नुहुन्थ्यो । उहाँले पनि धेरै सहयोग गर्नुभयो । मेरो कार्यालयमा पनि धेरै सहयोग भयो । मलाई बाँच्नको लागि हिम्मत र हौसला दिनुभयो । अमृता सिस्टरले त खाना बनाइदिने खाना खुवाउने बुबाको लुगा धोइदिने स्कुल पठाइदिने गर्नुहुन्थ्यो । मेरा दिदी बहिनीहरूले पनि धेरै सघाउनुभयो र अहिले यो अवस्थामा पुग्न सकेको छु ।'
एक्लै भएपछि छिमेकी र टोलका मान्छेले पनि एकल भएपछि हेप्दा रहेछन् । विवाह व्रत बन्धनमा एकल महिला भनेपछि फरक व्यवहार गर्दाखेरी झनै बेचैन बनाउँदो रहेछ । राधिका भन्नुहुन्छ, 'मेरा पति वितेको दुई वर्षपछि छिमेकीको छोराको विवाह थियो । टोलविकासबाट रोटी बनाउन सहयोग गर्न भनेर छिमेकी दिदीले बोलाएर गएँ । सबैलाई टीका लगाइयो । मलाई टीका पनि लगाइदिनुभएन । रोटी बनाउने बेला तपाइले रोटी नछुनुहोला भन्नुभयो । त्यत्तिखेर असाध्यै पीडाबोध भयो र टोल विकास संस्थाको बैठकमा कुरा राखे बैठकमा छलफल भएपछि अबका दिनमा यस्तो व्यवहार नगर्न टोल विकास संस्थाका अध्यक्षले सबैलाई सचेत गराउनुभयो ।'
सरकारले पनि सई पदको पतिलाई इन्स्पेक्टरको दर्जामा बढुवा गराइदिएर सात वर्षसम्म पुरा तलब र त्यसपछि पेन्सन दिएको छ । राहत स्वरुप १० लाख दियो । साना छोराहरू थिए । सुरुमा निकै दुख भोग्न पर्यो । ठूला भएपछि त छोराहरूले राम्रै पढे । अहिले जेठो छोरा एमडी र सानो छोरा सिए भएको उहाँले बताउनु भयो । राधिका अहिले मानव अधिकारका लागि एकल महिला समूह रुपन्देही अध्यक्षको रूपमा आफूजस्तै एकल महिलाहरूको अधिकारका लागि पैरवी गर्दै आइरहनुभएको छ । राधिकालाई छोराहरूले पनि हौसला दिनुहुन्छ । समूहमा बसेर राधिकाले रातो पहिरन अभियान, महिला सशक्तिकरण जस्ता कार्यक्रम मार्फत समाजसेवामा लाग्नुभएको छ । बुटवल उउपमहानगरपालिकाले पनि मानव अधिकारका लागि एकल महिला समूहलाई आर्थिक रूपमा सहयोग गरेको छ । राधिकाकै नेतृत्वमा पहल गरेर बुटवल उपमहानगरपालिकाले दुई कठ्ठा जमिन उपलब्ध गराएको छ । त्यस्तै आर्थिक रूपमा पनि विगत दुई वर्षदेखि बजेट छुट्टाइदिएको छ । भवनका लागि पनि निःशुल्क डिपिआर तयार गरिदिएको छ । राधिका भन्नुहुन्छ, 'एकताले भवन बनाएर समूहलाई हस्तान्तरण गर्न पाए हुन्थ्यो । समूहको २ लाख ६ हजारको अक्षयकोष खडा गरिएको छ । त्यही कोषबाट एकल विपन्न महिलाहरू र उनीहरूका परिवारका लागि सहयोग गर्दै आएका छौँ ।'
राधिकाको आफ्नै घर छ । ससुराले राधिकालाई उहाँका पति हुँदै वकस गरिदिएको जग्गामा उहाँहरूले एक तले घर बनाएर बस्नु्भएको रहेछ । उहाँले पतिको मृत्युपछि घरपरिवारलाई आफूलाई केही सम्पत्ति चाहिँदैन बरु छोराहरूलाई पढाइदिनुस् भन्नुभयो तर कसैले वास्ता गर्नुभएन । तथापी छोराहरूले धेरै मेहनत गरेर पढे कसैको सहयोग नभए पनि छोराहरूले मेहनत गरिदिए त्यसले अहिले यहाँसम्म अगाडि बढ्ने र बाँच्ने सारथी भएको उहाँले भन्नुभयो ।
आफूले आफ्नो मान्छे गुमाएर २० वर्ष पुग्दासम्म पनि न्याय नपाउँदा र यति सङ्घर्ष गर्दा पनि जनताले सोँचेजस्तो अवस्था नहुँदा राधिकालाई विरक्त लाग्छ । यति लामो समयसम्म पनि सङ्क्रमणकालीन न्याय टुङ्गोमा नलाग्दा र पटक पटक पीडालाई कोट्याइरहँदा असाध्यै पीडा हुन्छ । उहाँले सरकारले सशस्त्र द्वन्द्वका बेला घाइते, अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य उपचार र शिक्षाको जिम्मा ल्याइदिने हो भने पनि धेरै सहज हुने बताउनु भयो । अहिले द्वन्द्वकालीन घटनाहरूका विषयमा तीन दलहरू सहमति भए पनि पीडितको सहमति विनाको सहमति मान्य हुन नसक्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, 'पीडितको चित्त बुझाएर मात्र शान्ति प्रकृया टुङ्गोमा पुर्याउनुपर्छ ।' सजायको विषयमा केही पीडितलाई टिपेर लगेर गरेको शान्ति प्रकृया दीगो हुन सक्दैन त्यसकारण पनि पीडितका इच्छा अनुसारको सजाय दिने र घाइते अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क उपचारका सवालमा पनि राज्य गम्भीर हुनुपर्छ अनि मात्र शान्ति निर्माण प्रकृयालाई टुङ्गोमा पुर्याउन सकिने र दीगो शान्तिको आभाष हुने उहाँको भनाइ छ ।
- रीमा बिसी
सम्बन्धित फिचरहरू
परिपूरणमा स्थानीय सरकारः निःशुल्क स्वास्थ्य बिमा गर्न द्वन्द्वपीडितहरूको माग
जवान छोरा इन्द्रबहादुरलाई २०६० चैत २५ गते सेनाले मारिदिएपछि त्यसै त पीर चिन्ताले गलेका ८० वर्षीय विन्तीराम चौधरी दमले ग्रस्त हुनुहुन्छ । उमेर ढल्कीदै जाँदा सानातिना दुख बिमारले पनि सताइरहन्छन्…
द्वन्द्वपीडित भन्छन् - न्याय पाइएला भन्ने ढुक्क त छैन, तर आशावादी छु !
बुटवल उपमहानगरपालिका–१०, कालिकानगरकी कलावती केसी ५५ वर्षकी हुनुभयो । १४ वर्षको कलिलो उमेरमा कलावतीको विवाह बुटवल उपमहानगरपालिका सूर्यबहादुर केसीसँग भएको थियो । छोरा नजन्मिएपछि जेठी छोरीको विवाह गरेमा छोरा जन्मन्छ…
बेपत्ता पारिएका व्यक्तिको परिवारले भन्नुभयो – हारहड्डी पाए किरिया गर्थेँ !
विवाह गरेको वर्षौँ बित्यो । सन्तान भएनन् । छोरी, छोरा नभए पनि एकले अर्कालाई जोरा त छ नी, भन्दै प्रेमपूर्ण जीवन बिताइरहेका थिए । रोल्पा राङकोट स्थायी घर, तर दाङको…
पुनर्स्थापनाको अभावमा कष्टकर जीवन बाँच्न बाध्य आरक्षपीडित ! (फोटो फिचर)
२०५८ सालमा विस्थापित गरिएका आरक्षपीडितहरुको पुनर्स्थापना नगरिएका कारण खुला आकाशमुनि कष्टकर जीवन जिउन बाध्य भएका छन् । वन्यजन्तुको संरक्षणका लागि २३ वर्ष अगाडि सरकारले तत्कालीन शाही शुक्लाफाँटा आरक्षको क्षेत्र विस्तार…
द्वन्द्वपीडित भन्छन्, 'छाना नभएको घरजस्तै भो हाम्रो जीन्दगी'
बुटवल उपमहानगरपालिका-१० की सरस्वती श्रेष्ठ अहिले ५५ वर्षकी हुनुभयो । मध्यम परिवारमा जन्मेकी सरस्वतीको विवाह नवलपरासी जिल्लाको तत्कालीन रामनगर गाविसका कृष्णकुमार श्रेष्ठसँग भएको थियो । विवाह गरेपछि कृष्ण पत्नी, एक…