द्वन्द्वपीडित भन्छन् - न्याय पाइएला भन्ने ढुक्क त छैन, तर आशावादी छु !

रुपन्देही । ०८१ भदौ १४ गते

बुटवल उपमहानगरपालिका–१०, कालिकानगरकी कलावती केसी ५५ वर्षकी हुनुभयो । १४ वर्षको कलिलो उमेरमा कलावतीको विवाह बुटवल उपमहानगरपालिका सूर्यबहादुर केसीसँग भएको थियो । छोरा नजन्मिएपछि जेठी छोरीको विवाह गरेमा छोरा जन्मन्छ भन्ने पराम्परावादी सोँच भएका कारण छोरा जन्माउने आशामा कलावतीको विवाह कलिलो उमेरमा बुबाआमाले नै गरिदिनुुभएको थियो । पति नेपाल प्रहरीको जागिरे, विवाहपछि दुई जना छोरा र एक जना छोरी सहित पाँच जनाको परिवार थियो । कलावतीका पति नेपाल प्रहरीको इन्स्पेक्टर हुनुहुन्थ्यो । यो परिवार निक्कै खुशी थियो । जेठो छोरा १५ वर्ष, कान्छो छोरा ६ वर्ष र छोरी १६ वर्षका थिए । २०५९ साल माघको १३ गते कलावतीका पतिको गुल्मीको अर्खवाङ्गमा गस्तीमा जाँदा माओवादीको आक्रमणबाट घटना स्थलमै मृत्यु भयो ।

सूर्य बहादुर के‌‌सी

पतिको मृत्युपछि कलावतीका सबै खुशी लुटिए । ३० वर्षको कलिलो उमेरमा एकल हुनु पर्‍यो । चुरापोते र सिन्दुर खोसियो । साना लालावाला टुहुरा बने । कलावती भन्नुहुन्छ, 'हाम्रो सानो र सुखी परिवारको सबै खुशी दैवले लुटेर लग्यो ।' के गर्नु दैवको लिला ४२ वर्षको उमेरमै अस्ताउनुभयो । 'उहाँ रोल्पा घटनामा पर्नुभएको थियो । सँगै सुतेको साथीको मृत्यु भएको र आफू रोल्पा घटनाबाट बाँचेर आएपछि इलाका प्रहरी कार्यालय, गोरुसिङ्हेमा हुनुहुथ्यो । त्यहाँबाट जिल्ला प्रहरी कार्यालय, गुल्मीमा सरुवा भएपछि जागिरबाट अवकाश गर्ने सोचमा हुनुहुन्थ्यो', कलावतीले भन्नुभयो । एक्कासी केही समयलाई उता पठाएको थियो । अवकासको लागि फाइल अगाडि बढाउने कुरा थियो । आफ्ना धेरै सहकर्मीहरूसँग पनि अवकाश लिने विषयमा कुरा गर्नुभएको रहेछ । गुल्मी जाँदा पत्नीलाई सँगै लैजानुभएको रहेछ । चारदिनसम्म सँगै बसेर कलावती बुटवल फर्किनुभयो । आफूहरू यता उता हिँड्दा सबैले चखेवाको जोडी जस्तै सुन्दर जोडी भन्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँ बुटवल फर्केको दुई दिनमै यस्तो घटना घट्यो । घटना घट्ने दिन कलावती गस्ती जाँदैछु भनेर उहाँको पतिले बिहान फोन गर्नुभएको थियो । आफूहरूको अन्तिम कुराकानी त्यत्ति भएको कलावतीले उल्लेख गर्नुभयो ।

घटना माघ १३ गते घटेको थियो । घटनापछि सबैले फोन गरेर सर कता हुनुहुन्छ भनेर कलावतीलाई सोध्ने गर्थे । उहाँले गुल्मी हुनुहुन्छ भनेर जबाफ दिनुहुन्थ्यो । अरु केही नभनी फोन घटनाको विषयमा उहाँलाई कसैले केही भन्दैन्थे । उहाँलाई किन यति धेरै फोन आयो भन्ने लाग्थ्यो । उता घटना घटिसकेको रहेछ । उति बेला यस्तो सञ्चारको सुविधा थिएन । घरमा आफन्तहरूको आउजाउ हुन थाल्यो । जेठाजुले कलावतीलाई फोन गरेर सूर्य त्यहाँ आएका छन् भनेर सोध्नुभएको रहेछ । उहाँले आउनु भएको छैन भन्नुभयो । गुल्मीमा भिडन्त भएर सम्पर्क विहिन छन् रे घरमा आउँछन् होला नआत्तिनु उहाँको जेठाजुले भन्नुभयो । कलावतीले पति आउने बाटो हेरिरहनुभयो । उहाँ भन्नुहुन्छ, ‘कताबाट कला भनेर बोलाउनुहुन्छ भन्ने लागिरह्यो आउनुभएन ।' एक्कासी माघको १५ गते हेकिप्टरले लास लिएर घर आयो, मान्छेको भिडभाड थियो । त्यस्तो देखि कलावती अचेत हुनुभयो । लास पनि देखे जस्तै नलाग्ने र उक्त विषयमा याद नभएको जस्तो उहाँलाई अनुभव भयो । कलावतीलाई प्रहरीले अन्तिम सलामी दिँदा बाजाको धुन सुने जस्तो लाग्थ्यो । त्यो बाहेक अरु केही थाहा छैन उहाँलाई । 'खै कहिले न्याय पाइने हो । न्याय पाउला भनेर ढुक्क त छैन तर पनि आशावादी छु' - उहाँले भन्नुभयो ।

केहीबेरपछि लामो स्वास फेर्दे उहाँले भन्नुभयो १३ दिनसम्म के कसरी काममा बसेँ, केही सम्झना छैन । छातीमा ६ ओटा गोली लागेको छ भनेको उहाँले कुनामा बस्दा सुन्नुभएको थियो । त्यो बाहेक उहाँलाई केही थाहा भएन । उहाँलाई घटना घटेको दुई वर्षसम्म असाध्यै गाह्रो भयो । बाँच्न मन पटक्कै लागेन उहाँलाई । जतिबेला पनि मर्न पाएहुन्थ्यो भन्ने उहाँलाई लाग्थ्यो । अरु उहाँको दिमागमा केही आउँदैनथ्यो । फेरि छोरा छोरीलाई हेर्नुहुन्थ्यो र मर्न नि सक्दिन भन्नुहुन्थ्यो । कलावती भन्नुहुन्छ, ‘एक दिन फुपुको छोराले धेरै सम्झाउनुभयो । ज्वाइँले देशका लागि बलिदान दिनुभयो । तिमीले अब आफूलाई बलियो बनाएर भान्जाभान्जीको भविष्यको विषयमा सोँच्नुपर्छ । तिमी यसरी कमजोर भयौँ भने ज्वाइँको आत्माले शान्ति पाउँदैन । तिमी धेरै बुझेकी छौ । ज्ञानी छौ । उहाँको माइती र परिवारका सदस्यहरू दिदी बहिनीहरूले पनि धेरै सम्झाउने गर्नुहुन्थ्यो । जसले गर्दा उहाँलाई बाँच्न सिकायो । अहिले उहाँ यो अवस्थामा पुगेको परिवारले गर्दा भएको उहाँ बताउनुहुन्छ ।

पति गुमाएपछि कलावतीले समाजसँग धेरै सङ्घर्ष गर्नुपर्‍यो । छोराछोरीलाई बुबाआमा दुबैको जिम्मेवारी निभाएर शिक्षा दिनुभयो । छोरीलाई स्टाफ नर्स पढाउनुभयो । छोराहरूले पनि राम्रो पढे । जब २०६३ सालमा छोरीको विवाह गर्ने कुराभयो । छिमेकीहरूले तपाइँ विधवा आमाले वरको स्वागत गर्न हुन्न । तपाइलाई छोरीको भविष्य राम्रो हेर्न मन छ भने वरलाई स्वागत नगर्नु भनेको त्यो क्षणलाई सम्झँदै आँसु झार्नुभयो । यसले उहाँलाई धेरै पीडा दियो । जीवनमा यस्ता थुप्रै समस्या भोग्नु परेको स्मरण गर्दै सङ्घर्ष धेरै गरिएको उहाँको भनाइ छ । अहिले उहाँको छोरी अस्ट्रेलिया र एक जना छोरा अमेरिकामा छन् । सबै राम्रै छ ।

घरमा कोही छोरा मान्छे आउँदा समाजको कुदृष्टिले हेर्ने अनेकौँ कुरा काटेको उहाँको भनाइ छ । उहाँको माइती, घर परिवार, दिदी बहिनीहरूबाट राम्रो सहयोग भएर अहिले यो अवस्थामा पुगेको उहाँले उल्लेख गर्नुभयो । घर परिवारले सहयोग सपोर्ट गरे पनि समाजले धेरै पीडा दिएको विगतलाई सम्झँदै कलावतीले दुखेसो पोख्नुभयो । समाजले त फरक नजरले उहाँलाई हेर्थे । पतिको इन्सुरेन्स, सञ्चयकोष र सरकारले दिएको राहत जम्मा गरेर छोरा छोरी पढाएको उहाँले बताउनु भयो । कति सङ्घर्ष गर्न पर्‍यो त्यो त बताएर साध्य नभएको उहाँ बताउनुहुन्छ । ३० वर्षको कलिलै उमेरमा एकल भएर बस्दाको पीडा, साना लालाबाला हुर्काउन कति दुख भए होला त्यसलाई वर्णन गरेर नसकिने उहाँले पीडा सुनाउनु भयो ।

सरकारले सात वर्षसम्म पुरा तलव दियो । दुई किस्तामा १० लाख रुपियाँ राहत दियो । अहिले डिएसपीको पेन्सन दिन्छ । त्यसैले उहाँको घर चलेको छ । चुलो बलेको छ । जीउँदो छँदा नि विभिन्न जिल्लाबाट राष्ट्रिय वाणिज्य बैङ्कमा पैसा पठाउनुहुन्थ्यो । मरेर गएपछि पनि पेन्सन त्यही बैङ्कमा आउँछ । कहिलेकाहीँ त मरेको जस्तो लाग्दैन । पैसा लिन बैङ्कमा जाँदा उहाँले पठाएर पैसा झिकेर ल्याए जस्तो उहाँलाई महसुस हुन्छ । कलावतीलाई विस्तृत शान्ति सम्झौता भएको यति लामो समयसम्म पनि शान्ति प्रक्रियालाई टुङ्गोमा नपुर्‍याउँदा धेरै दुख लाग्छ । १८ वर्ष बितिसके विस्तृत शान्ति सम्झौता भएको तर अहिलेसम्म पनि आफूलाई न्याय दिन नसकेको उहाँको गुनासो छ । पीडित परिवारको पीडामा मलम लगाउ भन्दै न्यायको भिख मागिरहनु पर्दा भने धेरै दुख लागेको उहाँ बताउनुहुन्छ । आफ्नो मान्छे मरेको २२ वर्ष पुग्दासम्म विर्षन खोजेको पीडालाई बेला बेलामा खाटा परेको घाउ जस्तै कोट्याएर झन् पीडा दिने काम गरेकोले अब यस्तो अवस्थालाई लम्ब्याउन नहुने उहाँले बताउनु भयो ।

सरकारले उहाँलाई एकल महिला भत्ता दिन आनाकानी गरेको छ । पतिले दुख गरेको पेन्सन खाएपछि त्यो सुविधा, दोहोरो हुने, त्यो दोहोरो सुविधा ल्याउन नपाइने भनेर एकल महिला भत्ता पाउनबाट वञ्चित हुनुपरेको छ । सरकारले द्वन्द्वपीडित परिवारको हकमा यस्तो विभेद गर्न नहुने उहाको भनाइ छ । तर सरकारले विभेद गरिरहेको उहाँलाई महसुस भएको छ । सरकारले सङ्क्रमणकालीन न्यायका घटनाहरूको छिटो सम्बोधन गर्ने बताइरहेको बेला र टिआरसी विधेयक संसदमा छलफल गरेको छ । सशस्त्र द्वन्द्वका बेला पीडित भएका मारिएका व्यक्तिका परिवार, अपाङ्गता भएका व्यक्तिहरू घाइतेहरूका पीडालाई सम्बोधन गर्ने गरी पहिल्यै एकत्रित रूपमा गर्नुपर्थ्यो । त्यो हुन सकेन । अहिले सबै खाले पीडितका पीडालाई सम्बोधन गर्न खोजिएको छ । केही हुन्छ की भन्नेमा आशावादी त छौँ । तर अझै पनि ढुक्क हुन सक्ने अवस्था छैन, कलावतीले भन्नुभयो ।

सरकारले विगतमा पनि धेरै कुराहरू पीडितमैत्री गरेका छौँ, भनेकै हो । तथापी केही सवालहरू छुटेका र सम्बोधन गर्न नसकेका विषयहरू थिए । ती छुटेका विषयहरूको सम्बोधन यो पटक भएको छ भन्ने सुनेको छु । विधेयक ल्याएर मात्र हुँदैन । त्यसको प्रभावकारी कार्यान्वयन गरिनुपर्छ । प्रभावकारी कार्यान्वयन नगर्दासम्म पीडितले न्याय पाएको महसुस गर्ने छैनन् । 'हामी अहिले पनि न्याय पाइन्छ भन्नेमा ढुक्क छैनौँ । तर आशावादी भएको कारण पर्ख र हेरको अवस्थामा छौँ', उहाँले भन्नुभयो ।

- रीमा बिसी