द्वन्द्वपीडित भन्छन्, 'छाना नभएको घरजस्तै भो हाम्रो जीन्दगी'

रुपन्देही । ०८१ भदौ ११ गते

बुटवल उपमहानगरपालिका-१० की सरस्वती श्रेष्ठ अहिले ५५ वर्षकी हुनुभयो । मध्यम परिवारमा जन्मेकी सरस्वतीको विवाह नवलपरासी जिल्लाको तत्कालीन रामनगर गाविसका कृष्णकुमार श्रेष्ठसँग भएको थियो । विवाह गरेपछि कृष्ण पत्नी, एक छोरा र एक छोरी सहित बुटवलमा बस्दै आउनुभएको थियो । सरस्वतीको माइती बुटवलमा भएकोले छोरा छोरी पढाउन भन्दै नवलपरासीबाट बुटवलमा आउनुभएको थियो । सरस्वतीका पति नेपाल प्रहरीको इन्स्पेक्टर पदमा कार्यरत हुनुहुन्थ्यो ।

कृष्णकुमार श्रेष्ठ

सानो परिवार खुशी परिवार थियो सरस्वतीको । परिवारमा सबै राम्रै चलेको थियो । यो परिवारको खुशी लामो समयसम्म टिकेन । सरस्वतीका पति कृष्णकुमार श्रेष्ठको ०५९ भदौ २२ गते सिन्धुली जिल्लामा नेकपा माओवादीसँगको दोहोरो भिडन्तमा मृत्यु भयो । पतिको मृत्युपछि परिवारको सबै खुशी लुटियो । ३३ वर्षको कलिलो उमेरमा सरस्वतीका जीवन साथी कृष्णले सधैँका लागि संसार छाड्नुभयो । सरस्वतीको घरको धुरी खाँबो ढल्यो । सहारा टुट्यो । चुरा पोते र सिन्दुर खोसियो । छोरा छोरी टुहुरा भए । सबै सपना चकनाचुर भए । सरस्वतीले आँखाभरी आँसु झार्दै भन्नुभयो, 'भाग्यले ठगेर त होला नी । ड्युटीमा बसेका बेला दोहोरो भिडन्तमा मारिनुभयो । छाना नभएको घरजस्तै भो हाम्रो जीन्दगी ।'

सरस्वती भन्नुहुन्छ, 'त्यतिवेला अहिलेको जस्तो हात हातमा मोवाईल थिएन । यता उता रेडियो सुन्नेले सिन्धुलीमा भिडन्त भयो रे भन्ने सुनेर लेनलाइनमा फोन गरेँ । फोनमा ड्युटीको प्रहरीले घटना घटेको हो सर ठिकै हुनुहुन्छ भनेँ । मैले सबै ठीकै छ भन्ने कुरा पत्याएर बसेँ । भुमहीको घरमा जेठाजुलाई सबै जानकारी भैसकेको रहेछ ।' सरस्वतीको पतिको मृत्युको खबर घरमा सबैलाई जानकारी भएको रहेछ । घटना भएको थाहा पाएपछि सरस्वतीका जेठाजुले तिमी भुमही घरमा आउ कृष्णलाई गोली लागेको रहेछ उपचारका लागि काठमाडौँ लगेका छन रे घरमा आउ र काठमाडौँ लाउजा भनेर बोलाउनु भएको सरस्वतीले भन्नुभयो ।

‘जेठाजुले घर आउन भनेपछि दुई सन्तानलाई काख च्यापेर भुमही घरमा गएँ । घरमा मान्छेको चहल पहल देख्दा केही भयो की भन्ने शङ्का लाग्यो । घरमा ढोका थुनेर टिभी हेरेको देखेँ । यसरी ढोका थुनेर टिभी हेरेको यो भन्दा पहिला देखेको थिइन', उहाँले भन्नुभयो । सरस्वतीले जबर्जस्ती ढोका खोलेर भित्र छिर्नुभयो । टिभीमा मृतकको नाम सुनाइरहेको थियो । पतिको नाम सुन्ने बित्तिकै सरस्वती त्यहीँ ढल्नुभएछ । भोलि पल्ट राति हेलिकप्टरमा लास लिएको थियो । देवरले छातीमा गोली लागेको छ भनेको कता कता सुन्नुभयो उहाँले । सरस्वतीलाई पुरानो त्यो पीडादायी घटना कसैले पनि नसम्झाओस भन्ने लाग्छ । घर परिवारको राम्रो सहयोग र सपोर्ट उहाँले पाउनुभयो । जेठानी दिदीले उहाँलाई सबैभन्दा धेरै माया गर्नुहुन्थ्यो । समाज, छरछिमेकीले पनि सरस्वतीलाई राम्रै व्यवहार गर्थे । माइतीको सहयोग र साथ पनि रह्यो । बीस दिनजति गाउँमा बसेर, पतिको सबै काम सकाएर सरस्वती पुन बुटवलमा फर्कनुभयो । पैतालिस दिनको कार्य र वर्षदिनको कर्मकार्य पनि गाउँकै घरमा गर्नुभयो ।

सरस्वतीलाई एकल भएपछि समाजले हेला होचो गरेको थाहा छैन । बरु समाजले आफूलाई केही भनेको छ की भन्ने पीडा सधैँजसो हुँदोरहेछ । समाजमा एकल महिलालाई गर्ने व्यवहार सरस्वतीले नजिकबाट नियालेको कारण उहाँलाई त्यस्तो पीडा हुँदोरहेछ । विधवा एकल महिलालाई हेप्ने प्रवृत्ति परापूर्वकालदेखि रही आएकोले मुखले पक्क भन्न नसकेपनि फरक व्यवहार गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

सरकारले दुई किस्तामा १० लाख राहत दियो । सात वर्षको इन्स्पेक्टरको पुरा तलब दियो । अहिले एकतह बढाएर डिएसपीको पेन्सन उहाँलाई दिएको छ । उहाँलाई महिनामा झण्डै ३० हजार रुपियाँ पेन्सन आउँछ । बाँचुन्जेल पनि यसरी नै बैङ्कमा पैसा आउथ्यो । उहाँ मरेपछि पनि सरकारले बैङ्कमै पेन्सन दिएको उहाँले भन्नुभयो । सरकारले सरस्वतीका छोरा र छोरी १८ वर्ष नपुगुन्जेल वार्षिक १० हजारका दरले छात्रावृत्ति दिएको थियो । मध्यम वर्गीय परिवार भएका कारण सरस्वतीलाई दाल, चामल र तेल खेतबाटै आउँथ्यो । खान लगाउन दुख थिएन । र भएन । सरस्वतीका छोरा छोरी पनि ज्ञानी थिए । आमाको पीडा बुझेर राम्रोसँग पढे, छोरी अस्ट्रेलियामा बिएन नसिङ्ग गर्दै हुनुहुन्छ । छोराले नेपालमा स्नाकोत्तर गरेर जागिरे हुनुहुन्छ । 'देशका लागि मैले जीवन साथी गुमाएँ । कलिलो उमेरमा एकल भएर बस्दा र साना लालावाला हुर्काउन कति दुख पाएँ होला । सरकारले हामी जस्तो पीडितका छोरा छोरीलाई रोजगारी वा आत्मा निर्भर हुने खालको इलम दिएर पीडामा मलम लगाए हुने', सरस्वती भन्नुहुन्छ ।

सरस्वतीलाई अहिलेसम्म पनि द्वन्द्वपीडित परिवारले न्याय नपाएकोमा र सधै द्वन्द्वपीडित भनेर बेला बेलामा ओभाई सकेको घाउ कोट्याउँदा असाध्यै पीडा हुन्छ । द्वन्द्वपीडित र प्रभावितहरूको अवस्था एउटै छैन । कतिपयले अहिलेसम्म राहत नपाएका दिदी बहिनीहरू पनि हुनुहुन्छ । अहिले सरस्वती आफै जस्तै पीडित र प्रभावित दिदी बहिनीहरूसँग मनका कुरा एक अर्कामा साटासाट गर्ने सङ्गठिन हुने गर्नुहुन्छ । पहिला एक्लै बस्दा मन आत्तिने, संसारकै दुखी रहेछु भन्ने उहाँलाई लाग्थ्यो । अहिले घर बाहिर निस्केपछि आफू जस्तै र आफूभन्दा नी दुखी पनि रहेछन् । यस्तो पीडा खेप्ने एक्लो रहेनछु भन्ने महशुश हुँदोरहेछ सरस्वतीलाई । 'संसारमै सबैभन्दा दुखी र अभागी मै रहेछु भन्ने लाख्थ्यो । धेरै रोएँ, एक्लो महशुश हुन्थ्यो । के गर्नु भाग्यले ठगेको भन्छन् । छोराको विवाहमा सबै खुशी भएँ, मलाई रुँदै बस्नु पर्‍यो । उहाँ भएको भए कति खुशी हुनुहुन्थ्यो भन्ने लाग्थ्यो', सरस्वती भन्नुहुन्छ ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्तासम्बन्धी विधेयक ल्याएर प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ । तथापी पीडितमैत्री न्याय हुन्छ की हुँदैन भन्ने कुरामा सरस्वती अझै ढुक्क हुनुहुन्न । सरकारले विस्तृत शान्ति सम्झौता भएको यति लामो समय हुँदासम्म पनि न्याय दिन सकेन । अहिले पनि पीडितमैत्री न्याय होला कि नहोला भन्नेमा ढुक्क हुनसक्ने अवस्था छैन । सरस्वतीलाई जे नहुनु थियो भयो । अत्याचार बढी भयो । दोहोरो भिडन्तमा मारिएको घटना तर घरघरमा गएर थुतेर पनि धेरै मान्छे मारिएका छन् । त्यस्ता जघन्य अपाराधका घटनाहरूमा भने सरकार अलिक बढी संवेदनशील हुनुपर्ने र पीडितले चाहे अनुसारको न्याय दिनुपर्ने सरस्वतीको तर्क छ ।

- रीमा बिसी