द्वन्द्वपीडित परिवार भन्छन् - 'कहिले न्याय पाइएला ?'
बुद्धभुमी नगरपालिका–१, चङघाटकी चित्रकला बेल्बासे अहिले ६१ वर्ष हुनुभयो । दुई छोरा र पाँच छोरीका आमा रहनुभएकी चित्रकलाका पति ओम प्रकाश वेल्बासे नेपाली कांग्रेसको स्थानीय कार्यकर्ता हुनुहुन्थ्यो । मध्यम वर्गाीय परिवारका बेल्वासे परिवारको राम्रै चलेको थियो । उमेरले दुबै दम्पत्ति ४० वर्षको हुनुहुन्थ्यो । खेती किसान गरेर आफ्नो गर्जो टार्ने गरेको परिवारको खुशी धेरै समय टिक्न सकेन् । २०६० साल असोज १० गते चित्रकलाका पति ओम प्रकाश बेल्बासेलाई बुद्धभूमीकै झगडवामा सागीहरूसँग बसेको बेलामा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरूले अपहरण गरेर लगि क्रुर यातना दिएर हत्या गरे । परिवारलाई बल्ल कात्तिक ४ गते तत्कालीन माओवादीले भौतिक कारबाही गरिएको भनि ठाउँ ठाउँमा पर्चा पम्प्लेट टाँसेपछि पतिको अपहरण गरेर हत्या गरिएको गाउँका मान्छेले भनेपछि थाहा पाएको चित्रकलाले आँखाभरी आँसु बगाउँदै भन्नुभयो ।
चित्रकला भन्नुहुन्छ - '२०६० सालको असोज १० गते तीन जना घरमा आएर १ लाख ५० हजार पैसा मागेका थिए । घरमा नगद पैसा थिएन । ठूलो जातको ठूलो खशी थियो । त्यही खशी काटेर पैसा दिउँला भन्नुभएको थियो । मैले दुधको चिया पकाएर खान दिए खाए गए ।' आँखा भरी आँसु झार्दै भक्कानिनुभयो । उनीहरू गएपछि खशी काट्न भन्दै खशी लिएर जानुभएको रहेछ । ओम प्रकाश घरबाट खशी लगेपछि गाउँमा लगेर काट्नको लागि जिम्मा लगाउनुभएको रहेछ । अरुले खशै काट्दै रहेछन् । ओम प्रकाशले साथीहरूसँग कुरा गर्दे हुनुहुँदो रहेछ । त्यसपछि ओमप्रकाश सम्पर्क विहिन हुनुभयो । कहिल्यै फर्कनुभएन् । उता खशी काटिसकेपछि पनि ओमप्रकाश नआएपछि मासु बेचेर १८ हजार पैसा घरमा पठाएका रहेछन् । साना साना यतिधेरै छोराछोरी कसरी हुर्काए होला ? कसरी यिनीहरूको शिक्षा दिक्षा र कर्मकाण्ड गराइदिए होला ।
केही बेरपछि पछ्यौराले आँसु पुछ्दै सुक्क सुक्क गर्दै 'मारियो भनेर सूचना टाँसेको भरमा, कुशको पुत्लो बनाएर काजकिरया गरियो । कसरी बाँचेका हौला' फेरि भक्कानिदै भन्नुभयो ससुराले बाबु घरमा नबस भन्नुभएको थियो । मान्नुभएन । आखिर जीवन लुटेर लगे ति पापीले । पतिको क्रुर यातनापछि मृत्यु भएको खबरले चित्रकला विक्षिप्त हुनुभयो । चित्रकलाका चुरापोते सिन्दुर खोसिए, बालक छोरा छोरी टुहुरा भए, बुढा बुबाआमाहरू सन्तानको वियोगमा पटक पटक मरेर बाँच्नु पर्यो । छोराको पीडाले विक्षिप्त भएका बृद्ध बुबाआमा पनि वित्नुभयो । घरको धुरी खाँबो ढल्यो ।
सरकारले १० लाख राहत दियो । छोराछोरीलाई पढनका लागि १८ वर्ष नपुग्दासम्म वार्षिक १० हजारका दरले छात्रावृत्ति पनि दियो । अहिले एकल महिला भत्ता पनि दिएको चित्रकलाले भन्नुभयो । साना छोरा छोरी भएकोले धेरै दुख खेप्नु परेको चित्रकलाको अनुभव छ । पतिको मृत्यु भएपछि समाजले भने चित्रकलालाई शान्तना दिँदै आएको र समाजबाट अपहेलना भोग्न नपरेको बताउनु भयो । चित्रकला भन्नुुन्छ - 'एकल जीन्दगी विताउन र साना साना छोरा छोरी हुर्काउन त धेरै दुख भयो तर पनि समाजको हेला होचो खेप्नु परेन् । समाज र माईतीबाट धेरै सहयोग पाएँ ।' सरकारले १० लाख दियो न्याय दिएन पछ्यौरीले आँसु पुछ्दै उहाँले भन्नुभयो ।
सरकारले द्वन्द्वपीडित र प्रभावितहरूका लागि टिआसी विधेयक ल्याएर प्रमाणीकरण गरिसकेको छ । त्यस विषयमा भने चित्रकलाका परिवार वेखवर हुनुहुन्छ । चित्रकला भन्नुहुन्छ - 'यस्तो विधेयकका विषयमा कसैले कुरा गरेको सुनेको छैन । यो विधेयकले के गर्छ अव म जस्ता पीडितको लागि ?' सरकारले यति लामो समयसम्म पनि द्वन्द्वपीडितको अधिकारको विषयमा केही गर्न सकेन भन्दै दुखेशो पोख्नुभयो । सरकारले सास त दिन सकेन कत्तिमा हाडखोर पनि भेटाइदिन सकेन सरकारले भन्ने गुनासो चित्रकलाको रहेको छ । विस्तृत शान्ति सम्झौता भएको यति लामो समयसम्म पनि सत्यको खोजी गर्न संवेदनशिल नभएको देख्दा सरकारप्रति चित्रकलाको वितृष्णा छ । 'यति लामो समयसम्म पीडितलाई रनभुल्यै पारेको सरकारले अव न्याय देला भन्ने कुरा वेल्बासे परिवारलाई विश्वास छैन । सरकारले पीडितको पीडा बुझेको भए यति लामो समय पटक पटक मरेर बाँच्नुपर्ने थिएन' - चित्रकलाले भन्नुभयो ।
सरकारले पीडित र प्रभावित परिवारका आश्रित सदस्यहरूका लागि उनीहरूको क्षमता अनुसारको इलम दिएर आत्म निर्भर बनाइदिए केही भए पनि पीडा कम हुने पीडित परिवारको तर्क छ । चित्रकलालाई आफ्नो पतिलाई अपहरण गरेर क्रुर यातना दिएर मारेको व्यक्तिहरूलाई सत्यको खोजी गरी न्यायमा पहुँच पुर्याउन र पीडितको इच्छा अनुसारको सजाय दिनुपर्ने चित्रकलाको माग रहेको छ । दोहोरो भिडन्तमा मारिने त प्रतिवाद गर्दा मरे भनेर केही चित्त बुझाउने ठाउँ होला । आफ्नो दुखेशो गरेर खाने मान्छेलाई अपहरण गरेर हत्या गर्नेलाई त्यत्तिकै छाडन नहुने र यसरी मुक्ति दिइयो भने मृतकको आत्माले सराप्ने भन्दै चित्रकलाले यस्ता विषयमा मानव अधिकारकर्मीहरूले पनि आवाज उठाइदिनुपर्ने बताउनु भयो ।
आफ्नो मान्छे गुमाउँदाको पीडा जसले भोगेको छ त्यसैलाई मात्र थाहा हुने भन्दै चित्रकलाले घटना भएको यति लामो समयसम्म सरकारले विभिन्न बहाना बनाएर पीडितलाई रुवाइ राख्नु र खाट बसिसकेको पीडालाई बल्झाएर पीडितलाई पुरानै अवस्थामा पुराइ राख्नु राम्रो नभएकोले सरकारलाई द्धन्द्ध पीडित र प्रभावितको हकमा अलिक बढी संवेदनशिल हुन आग्रह गर्नुभयो ।
- रीमा बिसी
सम्बन्धित फिचरहरू
कारागारमा सीप र लगानी जुटाउँदै कैदीबन्दी ! (फोटो फिचर)
देख्नेले झट्ट कारागारलाई कारागार भन्दैनन् । किनकी कुनै न कुनै काममा हरेक कैदीबन्दी व्यस्त छन् । उद्योगमा जस्तै मेसिन र मान्छेले सँगै काम गरिरहेका छन् । पुरानो जीर्ण घरमा कैदीबन्दीहरू…
न्यायको पर्खाइमा द्वन्द्वमा बेपत्ता पारिएकाहरूका परिवार !
वीरेन्द्रनगर नगरपालिका–१२ की ५१ वर्षीय मायादेवी हमाल सशस्त्र द्वन्द्वमा आफूले पाएको पीडा र भाइलाई राज्य पक्षले बनाएको बेपत्ताप्रति राज्यमाथि प्रश्न गर्दै आउनु भएको छ । उहाँको पुरानो घर जुम्ला हो…
कि मुक्ति, कि मृत्यु देउ सरकार !
७० वर्षको वृद्ध शरीर, एउटा हातमा प्ले कार्ड, अर्को हातमा हिँड्ने सहायताका लागि लौरो । माघको चिसोले कठ्याङग्रीएका हात, खुट्टा चलाउन धौ धौ भइरहेका बेला घोराही उमनपा–१४ झिगौँराका प्रभु चौधरीलाई…
सुत्केरी आमाको बिचल्ली, पीडित भन्नुहुन्छ - ‘मेरो पीडाभन्दा बच्चाको भविष्यको चिन्ता रह्यो !’
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–२ का २१ वर्षीय विवस जिसीलाई प्रहरीले ०८१ माघ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ असार महिनामा बलात्कार गरेको भन्दै…
सङ्घर्षले बदलिएको तुलसीको जीवन !
भनिन्छ नि ! दुःखपछि सुख आउँछ । हो त्यस्तै जीवनमा थुप्रै दुःखहरू भोग्दै आइरहनुभएकी वीरेन्द्रनगर नगरपालिका–१ की २८ वर्षीया तुलसी गिरीको जीवन पनि बदलिएको छ । जब उहाँका पति दिनेश…