दोरम्बा घटनामा पति मारिएपछि एक्लिएकी मेन्दो !

रामेछाप । ०८१ पुस २३ गते

सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच दाङको हापुरेमा वार्ता चलिरहेको बेला २०६० साल साउन ३२ गते सेनाले रामेछाप दोरम्बामा १९ जना माओवादी नेताहरूको सामूहिक रूपमा हत्या गरेको घटनामा पति मारिएकी मेन्दो तामाङ अहिले घरमा एक्लै हुनुहुन्छ । मेन्दोको घर सुनसान छ । आँगन र पिँढीमा झार उम्रिएको छ । ६९ वर्षीया मेन्दो रोग र शोकले थला परेजस्तै हुनुभएको छ । तैपनि जीवन धान्न घस्रिएरै भए पनि सामान्य खेती किसानी गर्दै आउनुभएको बताउनुहुन्छ । मेन्दोका पति ठुलोराम तामाङ योञ्जन सहित १९ जनाको सामूहिक र अन्य दुई जना माओवादी कार्यकर्तालाई नियन्त्रण लिएको घरमा सेनाले २०६० साउन ३२ गते हत्या गरेको थियो । पति मारिएपछि दुःख सुखले सन्तान हुर्काउनु भयो । अहिले ती सन्तान पनि कामको लागि सहर पसेपछि मेन्दो गाउँमा एक्लै पर्नुभएको छ ।

बाख्रापाठा, खेतीपाती, बनपाखा, भान्साको काम सबै मेन्दो एक्लैको पाखुरीको भरमा चलेको छ । मेन्दोलाई न राज्यको सहयोग छ न परिवारको साथ छ । साथ छ त केवल रोग र शोकको । मेन्दो एक्लो ज्यानले सकिनसकी केही खेती लगाउनुहुन्छ । धेरै जग्गा त बाँझो भइसकेको छ । केही बाख्रा पाल्नु भएको छ । ‘नुन तेल खाने बाटो केही न केही त गर्नै पर्‍यो ।’-उहाँ भन्नुहुन्छ । उहाँका छोरा सुमन, बुहारी र नातिनी सहित काठमाडौँतिरै बस्नु हुन्छ । गाउँमा बसेर दैनिकी नचलेपछि सहर छिर्नुपर्ने उहाँको बाध्यता छ । बेला बेलामा घरमा आए पनि उहाँले आमा र घरखेतीमा पुरा समय दिन सक्नु भएको छैन । मेन्दोले अन्य द्वन्द्वपीडित सरह पटकपटक गरी १० लाख रुपियाँ राज्यबाट त बुझ्नुभयो । तर, त्यो जताबाट आयो त्यतै गयो । यताउता गर्दा त्यो पैसा सकियो । अहिले मेन्दोको हात खाली छ । दुई छाक टार्न नै धौ धौ जस्तो छ । ‘एकै पटक दिएको भए बरु केही जोडिन्थ्यो होला । पटकपटक दिएको पैसा त्यतिकै सकियो ।’-उहाँले भन्नु भयो ।

सरकार र माओवादीबिच दाङको हापुरेमा २०६० साउन ३२ गते वार्ता चलिरहेको बेला रामेछापस्थित नारायण दल गुल्मबाट गएको सेनाको टोलीले तत्कालीन दोरम्बा गाविस–२ का युवराज मोक्तानको घरमा माओवादीहरू बैठकमा बसिरहेको बेला घर घेरा हाली ठुलोराम सहितका १९ जना माओवादी नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । एक जनालाई घटनास्थलमा नै गोली हानी हत्या गरेको थियो भने अर्की एक जनाको लास माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएका घर मुनी भिरमा पछि फेला परेको थियो । नियन्त्रणमा लिएका १९ जनालाई साबिकको डडुवा गाविस–९ को डाँडाकटेरीमा पुर्‍याएर गोली हानी सामूहिक हत्या गरेको थियो । सोही घटनापछि माओवादीले वार्ता भङ्ग गरी पुनः सशस्त्र युद्धमा फर्किएको घोषणा गरी आफ्ना गतिविधि सञ्चालन गरेको थियो ।

सराकार र माओवादीबिच वार्ता चलिरहेको बेला माओवादीको काभ्रे–रामेछाप जिल्ला कमिटीले दोरम्बामा पार्टीको जिल्ला कमिटीको बैठक बोलाएको थियो । साउन ३२ गते बिहानैदेखि माओवादी नेता कार्यकर्ता दोरम्बा गाविस–२ का युवराज मोक्तानको घरमा जम्मा भएका थिए । उनीहरूले केही कोल्टो र एकान्त ठाउँमा पर्ने भएकाले सो घर रोजेका थिए । बैठकमा माओवादीका कार्यकर्ताको विवाह गर्ने तयारी पनि थियो । माओवादीले बैठक सुरु गर्दा घरका मुली युवराज मोक्तान भने घरमा हुनुहुन्नथ्यो । मोक्तान बैठक भइरहेको समयमा सोही दिन काठमाडौँबाट घर आइपुग्नुभएको थियो ।

माओवादीहरू सो ठाउँमा जम्मा हुँदै छन् भन्ने थाहा पाएपछि नारायण दल गुल्म रामेछापका गुल्मपति मेजर राममणि पोख्रेल आफैँ साउन ३१ गते राति सेनाको एउटा टोली लिएर दोरम्बातर्फ लाग्नुभएको थियो । सेनाको ब्यारेकबाट १४ घण्टाभन्दा टाढाको पैदल दुरीमा रहेको सो स्थानमा युद्धविरामको समयमा सेना पुग्छ भन्ने माओवादीले सोचेको थिएन । रामेछाप बजारबाट राति हिँडेको सेनाको टोली बिहान गाल्बा बजारमा पुग्यो । बिहानभर त्यतै बसेको सेना खाना खाएर त्यहाँबाट एक घण्टा टाढा पर्ने दोरम्बा बजारतर्फ लाग्यो । सेनाले गाल्बामा खाना खाँदै गरेको माओवादीका कार्यकर्ताहरूले पनि देखेका थिए तर वार्ताको लागि भएको युद्धविरामको घोषणा र वार्ता जारी रहेकाले सेनाले केही गर्दैन भन्ने सोचेर उनीहरूले चासो दिएनन् ।

दोरम्बामा पुगेपछि सेनाले युवराजको घर कहाँ पर्दछ भनेर खोजी गर्‍यो । केही मानिसले घर देखाइदिए । सेना सरासरी युवराज मोक्तानको घरतर्फ अगाडि बढ्यो । सेना पुग्नुभन्दा केही अगाडि घर मूली युवराज मोक्तान पनि काठमाडौँबाट आफ्नो घरमा पुग्नुभएको थियो । उहाँ पुग्दा माओवादीको बैठक चलिरहेको थियो । बैठकस्थलको सुरक्षाको लागि दोरम्बा गाविस–१ का टेकबाहादुर थापा घरको बाहिर खटिनुभएको थियो । सेनाले घरमा घेरा हाल्ने बित्तिकै उहाँलाई त्यहीँ गोली हानेर ढाल्यो । बाहिर गोली चलेको थाहा पाएपछि भित्र खैलाबैला मच्चियो । पार्टीका जिल्ला इञ्चार्ज ललितपुर जिल्ला निवासी ललित भनिने हरिप्रसाद दाहाल घरको झ्यालबाट हामफालेर भाग्नुभयो । युद्धविरामको बेला भएकाले हातहतियार बिना जम्मा भएका माओवादीले प्रतिकार गर्न सकेनन् । गिरफ्तारी दिए ।

सेनाले १९ जनालाई एकै ठाउँबाट गिरफ्तार गर्‍यो । घर मूली युवराज मोक्तान र उहाँका छोरा लीला मोक्तान तथा तत्कालीन माओवादीका जिल्ला जनसरकार प्रमुख बेथान गाविस निवासी पुष्प भनिने बाबुराम तामाङ, सोही पार्टीकी ललितपुर जिल्ला इकुडोल गाविस–६ निवासी ललिता भनिने अम्बिका दाहाल, बेथान गाविस–५ का रक्तिम भनिने प्रदीप दोङ, डडुवा गाविस–४ की सङ्गीता थामी, फुलासी गाविस–८ का यथार्थ भनिने हर्कबहादुर तामाङ, गेलु गाविस–५ का समीर भनिने रवि चौहान, चनखु गाविस–३ की सहारा भनिने उमा कार्की, चनखु गाविस–९ का इन्क्लाव भनिने श्याम तामाङ, पुरानागाउँ–८ का असल भनिने पदमराज गिरी, दोरम्बा–१ की बिमा भनिने विष्णुमाया थापा, दोरम्बा गाविस–३ का छोक्पा भनिने ठूलोराम तामाङ, तारा भनिने सानोराम तामाङ, छायाँ भनिने लक्ष्मण तामाङ, धनुषा जिल्ला घर भएका जमिन, सोलुखुम्बु जिल्ला घर भएकी विमला भनिने हर्कलक्ष्मी राई, काभ्रे जिल्ला चौबासका सोम, डडुवा–५ का समीर भनिने चतुरमान थामी सेनाको गिरफ्तारीमा परे ।

गिरफ्तार गरिएकाहरूलाई दोरम्बा बजारमा पुर्‍याएर डोरी लिई दुवै हात पछाडि बाँधेर डोर्‍याउँदै लगियो । दोरम्बा बजारका मानिसहरू सबैलाई ढोका थुनेर भित्र बस्न सेनाले निर्देशन दियो । हात बाँधिएका ठुलोकान्छा सहित १९ जनालाई डोर्‍याउँदै त्यहाँबाट १ घण्टा टाढा पर्ने डडुवा गाविस–९ को डाँडाकटेरी भन्ने ठाउँमा पुर्‍याइयो । बाटो छेउको चौरमा लाइन लगाएर हात बाँधेकै अवस्थामा एकएक गर्दै गोली हानेर सबैको हत्या गरी छाडेर सेना अगाडि बढ्यो । सेनाको सो टोली राति बिच बाटोमा बास बसेर भोलिपल्ट दिउँसो सदरमुकाम मन्थली पुग्यो । सेनाले हत्या गरेर त्यतिकै छाडेका ती शवहरूलाई माओवादीले आएर गाडेर गएकामा डाक्टर हरिहर बस्ती सहितको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले चिहान खोतलेर पोष्टमार्टम गरेको थियो । दोरम्बा हत्या काण्डले तत्कालीन शाही नेपाली सेनालाई समेत अन्तर्राष्ट्रिय रूपमा दुर्नाम गरायो । यो घटनालाई द्वन्द्वको बेलामा मानव अधिकार उलङ्घनको गम्भीर घटनाको रूपमा लिने गरिन्छ ।

- नवराज घिमिरे