‘देशलाई दृष्टि चढाएर अन्धकारमा बाँच्दैछु !’
एम–१६ छैन हातमा । न त लडाकु ड्रेस । १० वर्षे सशस्त्र युद्धमा ३२ बढी लडाईँ थेगेका पूर्वलडाकु सहायक कमाण्डर लालबहादुर वलीको दैनिकी हिजोआज एक थान लठ्ठीको साहारामा छ । आफैले लडेर ल्याएको परिवर्तन हेर्ने दृष्टि छैन । न त हात सिंगो बचेको छ । हिरासतको यातनाले दुबै आँखा गुमाएर अन्धकार जीवन जिउनु भएका ४२ वर्षीय लालबहादुर त्यही लठ्ठीको साहारामा जीवन संगिनी बचाउने अर्को युद्ध लडिरहनु भएको छ ।
सल्यानको कुमाख गाउँपालिका–२ स्थायी घर भए पनि क्यान्टोन्मेन्टबाट स्वेच्छिक अवकासपछि दाङको तुलसीपुर उमनपा–१६, भेलाहीमा टिनको छाफ्रो हालेर गुजारा गरिरहनु भएका लालबहादुरलाई ठूलठूला युद्ध जितेका अनुभव छन् । तर अवकासपछिका सङ्घर्ष अलि कठिन बन्दैछ । ५१ वर्षीया पत्नी सीता वली पनि पूर्व लडाकु नै हुनुहुन्छ । दीर्घस्मृति ब्रिगेड सक्राम व्यारेकबाट अवकास हुँदा १५ महिनाको छोरा र सरकारले दिएको दुई जनाको नगद १० लाख रुपियाँ लिएर गाउँ छिर्नु भएका लालबहादुरको दम्पतिलाई औषधि उपचार गर्दा भएको सम्पत्तिले पुग्ने अवस्था छैन । तौलिहवा प्रहरी हिरासतमा करेन्ट लगाएर दिएको यातनाले दुवै आँखाको दृष्टि गुमाएका लालबहादुरको सहारा पत्नी हुनुहुन्थ्यो । तर ०८१ जेठ महिना यता आन्द्राको क्यान्सरले सीता थलिएपछि लालबहादुरको परिवारमा उज्यालो हराएको छ ।
बुबाको दृष्टि गुमेपछि १९ वर्षीय छोरा सागर वलीले आमालाई हरेक २१/२१ दिनमा किमो चढाउन सुशील कोइराला क्यान्सर अस्पताल खजुरा पुर्याउनुहुन्छ । हरेक पटक ५० हजारको हाराहारीमा लाग्ने खर्चको जोहो गर्न लालबहादुरलाई सशस्त्र युद्ध लडेभन्दा भारी परेको छ । तर पत्नीको जीवन जोगाउन लालबहादुरले भात खाने खेत बेचेर अहिलेसम्म धान्नु भएको छ । आम्दानीको स्रोत केही छैन । उपचारका लागि एउटा भैँसी, १२ ओटा बाख्रा र ५ कट्ठा खेत बेचिसक्नु भएको छ । लालबहादुरले भन्नुभयो – ‘आम्दानी भए पो त्यहीबाट चलाऔँ भन्नु ? समाजले बरु अमेरिका जानेलाई ऋण दिन्छ कि त तास खेल्नेलाई, हामीलाई त ऋण दिने पनि कोही छैनन् । उपाय नचलेपछि जग्गा नै बेचेर उपचार थालेँ । त्यो पनि सकियो अब कसरी गर्नु ?’
सम्पत्तिको नाममा लालबहादुरसँग अब ५ कट्ठा जति खेत बाँकी छ । तीन कोठे टिनले छाएको एकतले घर, एउटा गाभिनो गाई, दुई ओटा बंगुर र तीन ओटा बाख्रा र एउटा बोका छन् । अझै १० पटक किमो चढाउन सीतालाई लाखौँ खर्च लाग्ने पक्का छ । क्यान्सर पत्ता लगाउनमै सीतालाई १२ लाख खर्च लाग्यो । ९२ पटक त एक्सरे गरियो । सिराहमा सेनाको एम्वुसमा परेर बाँचेकी सीताको हिपको हड्डी भाँचिएर अप्रेशन गरिएको छ । हड्डीको उपचारले तङग्रीएकी सीता आन्द्राको क्यान्सरले फेरि थलिनु भएको छ ।
गासकै समस्या
हुन त लालबहादुरसँग अहिले पनि पाँच कट्ठा खेत छ । तर त्यसको खनजोत गरिदिने कोही छैन । आफ्नो दृष्टि गुमेर काम गर्न सक्ने अवस्था छैन भने पत्नी सीता क्यान्सरले थलिएर यता उता गर्न समस्या छ । कक्षा ९ मा अध्ययनरत छोरा एक्लैले खेती गर्ने अवस्था पनि छैन भने बुबाआमाको स्याहारकै कारणले पढाइसमेत सोचेजस्तो हुन सकेको छैन । त्यसैले खेतीका लागि लालबहादुरले अर्कैलाई दिनु भएको छ । अधिया अन्नले परिवारलाई वर्षदिन खान नपुग्ने अवस्था रहेको उहाँले बताउनु भयो । खान लाउनै समस्या भएपछि लालबहादुरले पत्नी उपचारमा सहयोग गर्न सहकर्मी तथा सबै नेपालीजनमा अपिल गर्नुभयो । लालबहादुरले भन्नुभयो – ‘हामी दुबै जना समाजका लागि लडेका हौँ, हामीलाई बचाउने पनि यही समाज हो । जो जहाँ भए पनि सक्दो सहयोग हुन्छ भन्ने आशा छ ।’
राज्यले अपनत्व लिएन
दश वर्षे सशस्त्र द्वन्द्वको अन्त्य गर्दै विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगेको छ । युद्धका उपलब्धी र कमी कमजारी दुवै स्वीकार्दै देशलाई शान्ति प्रक्रियामा लैजान २०६३ मङ्सिर ५ गते युद्धरत पक्षबीच सम्झौता भएको थियो । तर द्वन्द्वपीडितलाई राज्यले न्याय दिन सकेन । ‘युद्धले ल्याएको परिवर्तन स्वीकार गरियो । तर त्यही युद्ध लड्नेहरू सधैँ युद्धरत पक्षकामात्रै भए । पूर्व लडाकु लालबहादुर वलीले भन्नुभयो – ‘पिएलएहरू राज्यका हुन सकेनन् । सधैँ पार्टीका लडाकुको दृष्टि रहिरह्यो । यही आग्रहपूर्वाग्रहकै कारण नेपालको शान्ति प्रक्रिया १८ वर्ष बितिसक्दा पनि टुङ्गोमा पुग्न सकेन ।’ सधैँ सरकार बनाउने र ढाल्ने ध्याउन्नले विश्वमै नमूना भनिएको नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउने काम प्राथमिकतामा नपरेको द्वन्द्वपीडितहरूको भनाइ छ । लालबहादुरले भन्नुभयो – ‘जसको भए पनि एउटा स्थिर सरकार आए हुन्थ्यो । हामीलाई पैसाको मात्रै आस होइन, पैसाले हामीले गुमाएका आखा अब फिर्ता हुँदैनन्, बरु पीडितहरूको सुख, दुख, गास, बास, कपास, स्वास्थ्य शिक्षा निःशुल्क गरिदिने बलियो सरकार कहिले आउला चिन्ता त्यसैको छ ।’
- जयनारायण पुन
सम्बन्धित फिचरहरू
बेपत्ता छोराहरूको आशमा बस्दै ७९ वर्षीय गोपाल थारु
छोराहरू बेपत्ता भएको वर्षौँ भयो । कुनै समय गाउँबस्तीमा हतियारको त्रास थियो । हतियार कै कानुन थियो । हतियार नै अदालत थियो । त्यो बम बारुद र रगत होली खेल्ने…
खाेला र नदीमा जलवायु परिवर्तनकाे असर, माछा मारेरै जीविका चलाउनेहरू मर्कामा !
सात वर्ष अघिसम्म लेकवेशी नगरपालिका–८ का ८८ वर्षीय देवबहादुर थापा माछा मारेर आफ्नो जीविका चलाउनुहुन्थ्याे । उहाँले स्थानीय झुप्रा खोलामा जालले माछा मारेर बिक्री गर्नुहुन्थ्याे । जसले उहाँको जीविका राम्रै…
नदी उत्खनन्ले सोनाहाहरूको पेशा सङ्कटमा ! (फोटो फिचर)
बाहिर झिसमिसे उज्यालो छ । महिलाहरू खाना पकाउन व्यस्त छन् । पुरुषहरू भने गाई, भैँसी र बाख्रालाई गोठबाट बाहिर खुल्ला ठाउँमा सार्दै छन् । बिहान नहुँदै पुरा गाउँ बिउँझिएको छ…
राउटे समुदायलाई गास र बासको चिन्ता, प्रत्येक वर्ष घट्दै जनसङ्ख्या !
आफूलाई जङ्गलको राजा भनेर चिनाउने राउटे समुदाय जनसङ्ख्या हरेक वर्ष घटिरहेको छ । अहिले राउटे समुदायमा ४१ घरधुरी छन् । १ सय ३४ जना मात्रै सङ्ख्या छ । राउटेसँग काम…
पोषण गृह नै व्यवस्थित नभएको आमाहरूको गुनासो ! (फोटो फिचर)
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुरानो भवनको तेस्रो तलामा दुई आइसोलेशनसहित १० बेडको पोषण पुनःस्थापना गृह छ । एउटा कोठामा १० वेड राखेर सञ्चालन गरिएको पोषण गृहको ढोकामै सानो एउटा भान्सा…