दृष्टिबिहीन छोराको भरमा गुजारा चलाउँदै ज्येष्ठ नागरिक

पाल्पा । ०८१ कात्तिक १३ गते

टिनले छाएको पुरानो एक तले घर । पिँढीमा पुराना र मैला कपडाहरू, कतै झुन्ड्याइएका छन् । कतै लथालिङ्ग फालिएका छन् । १ सय वर्षीया गोमता पिँढीमा कुप्री परेर बसिरहनुभएको थियो । एकैछिनमा ६५ वर्षीय छोरा बेद प्रसाद छिमेकीको घरबाट सानो डिब्बामा मोही लिएर छामछुम गर्दै घर आइपुग्नुभयो ।

Photo29102024Palpa

बगनासकाली गाउँपालिका–७, रित्तिदै गरेको गाउँ झाँक्री स्थानको सबैभन्दा सिरानको घरको दृश्य हो यो । आमा गोमता भट्टराई उभिन र हिँड्डुल गर्न सक्नुहुन्न । आँखा पनि देख्नुहुन्न । उमेरले नेटो काटिसक्यो । शरीर कुप्रिसकेको छ । अनुहार बुढ्यौलीले चाहुरिएको छ । उहाँका छोरा बेद प्रसादले पनि आँखा देख्नुहुन्न । यही घरमा वर्षौँदेखि आमा गोमता र छोरा बेद प्रसादले कष्टकर दैनिकी बिताउँदै आउनुभएको छ ।

घरको भित्तो नलिपिएको धेरै वर्ष भइसक्यो । आँगनमा झार पलाएर हिँडिसक्नु छैन । जुठाभाडा लथालिङ्ग छरिएका छन् । यो अवस्था आमा छोराले देख्न पाएका छैनन् । सायद उनीहरूले आँखा देख्ने भएको भए सफा चिटिक्क हुन्थ्यो होला ।

बेद प्रसादले सात वर्षको उमेर हुँदादेखि नै दृष्टि गुमाउनुभयो । त्यतिबेला अस्पताल जाने चलन थिएन । गाउँमा लामाधामी गरियो । तर सञ्चो भएन । बिडम्बना पछि अस्पताल पुग्दा उहाँको दृष्टि सधैँका लागि गुमिसकेको थियो । आमा गोमताले आँखा देख्न छाडेको १० वर्ष भयो । उहाँको आँखामा मोतियाबिन्दु लागेको छ । तर अपरेशनका लागि अस्पताल जान सक्ने अवस्था छैन ।
छोरा बेद प्रसादका धेरै पीडा छन् । 'आमा उभिन पनि सक्नुहुन्न, आँखा देख्नुहुन्न भित्र बाहिर गराउनुपर्छ' - उहाँले भन्नुभयो । बेदप्रसादले लठ्ठीको साहाराले भित्र बाहिर गर्नुहुन्छ । सकी नसकी खाना बनाएर आमालाई खुवाउनुहुन्छ । 'खाना पकाउँदा आगो सल्काउँदा धेरै पटक हात पोलेको छ । चुलोमा कहिले काचो खाना बन्छ त कहिले डढिसकेको हुन्छ' - उहाँले भन्नुभयो ।

वरपर जान आउन बाटो साह्रै अप्ठ्यारो छ । त्यसै पनि बेदप्रसादको घर भिरालो ठाउँमा छ । लाठ्ठीको साहाराले सामान किनमेलका लागि पसल जाँदा आउँदा धेरै पटक चोट लाग्ने गरी लडेको बेद प्रसादले बताउनु भयो ।

आमा गोमताका पनि धेरै पीडा छन् । ११ वर्षको उमेरमा विवाह भयो । कलिलै उमेरमा विधवा हुनुभयो । गोमताका तीन जना छोरा मध्ये बेद प्रसाद माइला छोरा हुन् । अन्य दुई जना छोराको अवस्था सामान्य छ । उनीहरू छुट्टै बस्छन् । गोमताको १५ वर्ष अगाडि चौरासी पुरा गरिएको थियो । उहाँको नागरिकतामा ९५ वर्ष उल्लेख भए पनि गोमता १ सय वर्षको हुनुभएको छोरा बेद प्रसादले बताउनु भयो । बेद प्रसाद र आमा गोमताको दृश्य रामायणको श्रवणकुमारको कथा भन्दा कम छैन । यी आमा छोराको घरमा खानेपानीको राम्रो प्रवन्ध छैन । पानी लिन पल्लो घरमा जानुपर्छ । शौचालय समेत छैन । घर जीर्ण भइसकेको छ । सरकारबाट आउने सामाजिक सुरक्षा भत्ताले चामल किनेर खान पाएको बेद प्रसादले बताउनु भयो ।

सहारा र स्याहारसुसारको आवश्यकता रहेको अवस्थामा यी आमा छोरा बुढेसकाल, असक्त र अपाङ्गतासँग गुज्रिरहेका छन् । बगनासकाली गाउँपालिका–७, खानीगाउँका वडा सचिव हरिप्रसाद बस्यालले यो परिवार वडाभित्रकै सबैभन्दा अप्ठ्यारोमा रहेको परिवार रहेको बताउनु भयो । 'वडाले सामाजिक सुरक्षा भत्ता नियमित रूपमा उपलब्ध गराउँदै आएको छ । जाडोको समयमा न्यानो कपडा पनि उपलब्ध गराएका थियौँ' - उहाँले भन्नुभयो । यी आमा छोरालाई राज्यको तर्फबाट विशेष सहयोग र संरक्षणको आवश्यकता रहेको छ ।

नेपालको संविधान २०७२ को धारा ४१ मा 'ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ' भनि मौलिक हकको रूपमा उल्लेखित छ । हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस पनि मनाइन्छ तर यी आमा छोराले दिवसको महसुस गर्न पाएका छैनन् । ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व हो । यही कुरालाई दृष्टिगत गर्दै ज्येष्ठ नागरिकको सम्मान, वृद्धावस्थामा हुन सक्ने समस्या र विभिन्न अप्ठ्याराहरूलाई सम्बोधन गर्न ज्येष्ठ नागरिकको कानुनको रूपमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ तयार गरिएको थियो । जुन, २०७९ मा संशोधित भइ लागु भएको छ । तर यी आमा र छोराले त्यसको महसुस गर्न पाएका छैनन् ।

Photo29102024Palpa1

- यज्ञमूर्ति तिमिल्सिना