दुर्गम गाउँमा अन्धविश्वासकै त्रासले सुरक्षित प्रसूतिकै चिन्ता
सुरक्षित प्रसूतिका लागि भन्दै नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था छ । घरमै सुत्केरी हुने चलनलाई शून्यमा झार्ने सरकारको नीति भए पनि जुम्ला जिल्लाका विकट ग्रामीण भेगका महिला घरमै जोखिम असुरक्षित सुत्केरी हुनुपर्ने अवस्थामा छन् । यसैले आमा र शिशुको जीवन र स्वास्थ्य जोखिममा छ ।
पातारासी गाउँपालिका – ३ महरी गाउँकी लालकली बुढाले घरमै बच्चा जन्माउँदा जन्मेको सात दिन मात्रै बाँचेर बच्चा खेर गयो । आफ्नो कोखमा बसेर घरमै जन्मिएको बच्चा त्यसरी खेर गएको घटनाले लालकलीलाई अझै पनि पिरोलि रहेको छ ।
उहाँले भन्नुभयो ‘स्वास्थ्यचौकी गएर सुत्केरी हुन पाएको भए त्यो बच्चा बाँची पो हाल्थ्यो कि ? बच्चाले बेलैमा औषधि उपचार पनि पाउन्थ्यो होला ।’ ‘ तर, महरी गाउँका महिलाले अहिले पनि स्वास्थ्यचौकी गएर गर्भ जाँच गराउने र सुरक्षित सुत्केरी हुने पारिवारिक र सामाजिक वातावरण छैन ।’ ‘आधारभूत भौतिक पूर्वाधार पनि बनाइएको छैन । बर्थिङ सेन्टर पुग्न पैदल आउजाउ गर्न ६ घण्टा समय लाग्छ । स्वास्थ्यचौकी टाढा भएकाले पनि घरमै सुत्केरी हुन्छौँ ।’
२ सय ४० घरधुरी भएको महरी गाउँमा स्वास्थ्य स्वयंसेविकाकै बुहारीहरू पनि घरमै सुत्केरी हुने गरेका छन् । घरमै बच्चा जन्माएकी महरीकै सरिता बुढा यसको मनोवैज्ञानिक जरो खुलाउँदै भन्नुहुन्छ, “गर्भवतीले स्वास्थ्यचौकी जाने ठाउँमा भुइयार लाग्छ भन्ने छ । भुइयार भन्ने भूतप्रेत हो । त्यसैको डरले हामी घरमै सुत्केरी हुन्छौँ ।” महरी गाउँकै २५ वर्षकी निर्मला बुढा पनि सोही कुरालाई थप पुष्टि गर्दै भन्नुहुन्छ, “बाटोमा खोला तर्नुपर्छ । देउता लाग्छन् भन्ने डर पनि लाग्छ । त्यही भएर घरमै सुत्केरी हुन्छौँ ।” सरिता र निर्मलाका अनुसार, गाउँघरदेखि स्वास्थ्य चौकी जानलाई गाडी गुड्ने बाटो पनि छैन । गर्भवती हुँदा हिँडेर जान सकिँदैन, टाढा छ ।
पातारासी गाउँपालिका –३ हुरी गाउँकै पुन्नकली बुढा पनि लामो बाटो हिँड्नुपर्ने भएकै कारण आफूहरू घरैमा सुत्केरी हुने गरेको बताउनुहुन्छ । “बर्थिङ सेन्टरसम्म आउजाउ गर्न ६ घण्टा हिँड्न पर्छ । स्वास्थ्यचौकी टाढा भएकाले पनि घरमै सुत्केरी हुन्छौँ,” उहाँ भन्नुहुन्छ । हुरी गाउँमा कुल ५२० घरधुरी रहेका छन् । महिलाहरूले भूतप्रेतसँग सम्बन्धित अन्धविश्वासजन्य डरसँगै धामी, झाँक्रीमाथिको परम्परागत निर्भरतालाई चिरेर अप्ठेरो लामो बाटो पार गरी सुत्केरी हुने बेला बर्थिङ सेन्टर जान सक्ने अवस्था पनि नभएका कारण हुरी र महरी गाउँमा घरमै सुत्केरी हुने चलन हट्न नसकेको स्थानीय जानकारहरू बताउँछन् ।
महरी र हुरी गाउँको बिचमा एउटा सामुदायिक स्वास्थ्य इकाइ छ । पातारासी गाउँपालिकास्थित स्वास्थ्य शाखाका प्रमुख रतन बुढाथापाका अनुसार, त्यहाँ अरू समस्या हुँदा उपचारको लागि महिलाहरू आउने गरेको पाइए पनि गर्भावस्थामा आउँदैनन् । यसको मूल कारण धामीझाँक्री प्रथा र भूतप्रेतप्रतिको अन्धविश्वास रहेको छ । उहाँले भन्नुभयो, “हुरी र महरी गाउँमा जकडिएर बसेको धामीझाँक्री प्रथा र भूतप्रेतप्रतिको अन्धविश्वासका कारण अहिले पनि गर्भवती हुँदा गर्भको जाँच गराउन महिलाहरू स्वास्थ्य संस्थामा आउँदैनन् ।”
पातारासी मात्र होइन, गुठीचौर, कनकासुन्दरी र तिला गाउँपालिकास्थित केही गाउँको अवस्था पनि लगभग उस्तै छ । त्यहाँका अधिकांश महिला सुत्केरी हुनका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छैनन् । गुठीचौर गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख सुस्मिता थापाको बुझाइमा उनीहरू सुत्केरी हुँदा खोला तर्नु हुँदैन, बाटामा भूतप्रेत लाग्न सक्छ भन्ने डरले घरमै सुत्केरी हुने गरेका हुन् । उहाँले भन्नुभयो, “त्यहाँ बाजागारे भुत लाग्छ भनेर घरमै सुत्केरी हुने गरेका छन् ।”
गुठीचौर स्वास्थ्य शाखाका प्रमुख बालकराम नेपालीको बुझाइ पनि अन्धविश्वाससँगै जोडिएको छ । उहाँका अनुसार, गर्भवती हुँदा पुल र नदी तर्नु हुँदैन भन्ने गलत मान्यता छ । अन्धविश्वासका कारण झाजुवाला गाउँ र फोइ गाउँका गर्भवतीहरू गाउँपालिकाको कार्यालयसँगै जोडिएको स्वास्थ्यचौकीमा गर्भको जाँच गराउनसमेत आउँदैनन्,”
कनकासुन्दरी गाउँपालिका अहेव अधिकारी नेत्रबहादुर खत्रीको बुझाइ भने बाटोघाटो र अन्धविश्वास दुबैसँग जोडिएको छ । त्यहाँको रिया, सिप्टी र मर्खन गाउँका भर्गवती महिला पनि स्वास्थ्य संस्थामा नआउने गरेको उहाँले बताउनु भयो । “एक त भौगोलिक हिसाबले टाढा भएको पनि हो, अर्को, त्यहाँ धेरै देवता लाग्ने, पुलपुलेसा तर्न हुन्न भन्ने मान्यताले पनि स्वास्थ्य संस्थामा सुत्केरी हुन नआएका हुन् ।” रिया गाउँमा कुल ४४, सिप्टी गाउँमा कुल २३ र मर्खन गाउँमा कुल ३४ घरधुरी रहेका छन् ।
कनकासुन्दरी गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीका अनुसार, आर्थिक वर्ष २०७९/८० देखि हालसम्म रिया र मार्फन गाउँका स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाको सङ्ख्या शून्य छ भने सिप्टी गाउँका एक जना गर्भवतीले मात्र स्वास्थ्य संस्थामा सुत्केरी भएको देखिन्छ । उहाँ भन्नुहुन्छ, “रिया, सिप्टी र मार्फन गाउँका गर्भवतीलाई सुत्केरी हुनका लागि काब्रामा रहेको बुम्रामाडिचौर स्वास्थ्य संस्थामा पुग्नुपर्छ । त्यहाँ पुग्नका लागि रिया गाउँ र मार्फन गाउँबाट पैदल तीन घण्टा लाग्छ भने सिप्टी गाउँबाट एक घण्टा लाग्ने गरेको छ ।”
पातारासी स्वास्थ्य शाखाका प्रमुख रतनका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा १२६ महिला स्वास्थ्य संस्थामा सुत्केरी भए । आर्थिक वर्ष २०७९/८० मा १ सय ४५ जना सुत्केरी भए । उहाँ फेरि पनि भन्नुहुन्छ, “हुरी र महरी गाउँका महिला घरमै सुत्केरी हुन्छन् । त्यहाँको व्यवहारमा महिला स्वास्थ्य स्वयंसेविकाले पनि परिवर्तन ल्याउन सकेका छैनन् ।” यस्तो अवस्थामा गाउँमा प्रभावकारी तरिकाले सचेतना फैलाउनुपर्ने हुन्छ । तर, अभिमुखीकरण गर्नका लागि बजेट नै नभएको उहाँको गुनासो छ । भन्नुहुन्छ, “यसपटक अभिमुखीकरण कार्यक्रम गर्ने सोच बनाए पनि गाउँपालिकाले बजेटको व्यवस्था गरिदिएन ।”
जुम्लामा कुल २९ ओटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । तीमध्य चन्दननाथ नगरपालिकामा एउटा, गुठीचौर र हिमा गाउँपालिकामा तीन तीन वटा, पातारासी, तातोपानी र सिंजा गाउँपालिकामा चार चार वटा, र तिला र कनकासुन्दरी गाउँपालिकामा पाँच पाँच वटा बर्थिङ सेन्टर रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनु भयो ।
जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाबाट उपलब्ध तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७९/८० मा जुम्लामा एक हजार ७ सय ४२ जना गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी भए । तीमध्य ११ जनाले जुम्ल्याहा बच्चा जन्माए । साथै, ७१ जना गर्भवतीले भने घरमै सुत्केरी हुनुपर्यो ।
चन्दननाथ नगरपालिकामा ८ सय ५२ जना सुत्केरी भएकामध्ये सात जनाले घरमै सुत्केरी हुनुपर्यो भने तिला गाउँपालिकामा १ सय ४४ जना सुत्केरी भएकामध्ये २२ जनाले घरमै सुत्केरी हुनुपरेको देखिन्छ । हिमा गाउँपालिकामा पनि कुल १ सय ६० जना सुत्केरी भएकामध्ये ४२ जनाले घरमै सुत्केरी हुनुपरेको देखिन्छ ।
तातोपानी गाउँपालिकामा ९३ जना गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी भए भने गुठीचौर गाउँपालिकामा ७८ जना गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी भए । तातोपानी र गुठीचौर गाउँपालिकामा घरमा सुत्केरी भएका महिलाको सङ्ख्या भने उक्त तथ्याङ्कमा देखाइएको छैन । यस्तै, सिंजा गाउँपालिकामा १ सय ४९ जना सुत्केरी भए भने कनकासुन्दरी गाउँपालिकामा १ सय ६४ जना सुत्केरी भए । सिंजा र कनकासुन्दरीमा पनि घरमा सुत्केरी भएका महिलाको तथ्याङ्क देखाइएको छैन । यसैगरी, यस अवधिमा पातारासी गाउँपालिकामा १ सय ४५ जना सुत्केरी भए । त्यहाँ पनि घरमा सुत्केरी भएका महिलाको सङ्ख्या तथ्याङ्कमा देखाइएको छैन ।
पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकाया हुरी र महरी गाउँका गर्भवतीहरूलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउनको लागि सचेतनाका कार्यक्रम गर्ने सोचमा देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अझै पनि समाजमा अन्धविश्वासले जडा गाडेको छ । यसको निराकरणका लागि हामी सचेतना जगाउने खालका विभिन्न कार्यक्रम बनाएर अगाडि बढ्ने छौँ ।”
स्थानीय तहले अन्धविश्वासलाई चिर्नका लागि गाउँबस्तीका महिला तथा जेष्ठ नागरिकलाई जनचेतना जगाउनुका साथै कानुनी सचेतनाको अभियान सञ्चालन गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताउनुभयो ।
- मानदत्त रावल
सम्बन्धित फिचरहरू
वैदेशिक रोजगारीमा गएका महिलाको पीडा, बर्वतापूर्ण र दुखद अभिव्यक्ति
कुनै बेला चेलीबेटी बेचबिखन गर्ने जिल्लाको रूपमा चिनिएको सिन्धुपाल्चोक अहिले महिला आप्रवासनका लागि पनि चिनिन थालेको छ । राज्यले स्वदेशमा रोजगारीको सिर्जना गर्न नसक्दा धैरै सङ्ख्यामा महिलाहरू विदेश जान बाध्य…
घरेलु हिंसाबाट ज्यान जोगाएर बाँचेका महिलाहरु
गत वर्षको साउनमा गुर्भाकोट नगरपालिका–१३ मोतिपुरकी ३५ वर्षीया मिनाकुमारी सार्की घरमै काम गरिरहनुभएको थियो । घरमा सासुको मृत्यु भएकोले घरायसी काममै व्यस्त हुनुहुन्थ्यो । त्यस अगाडि उहाँलाई ३७ वर्षीया पति…
द्वन्द्वमा बेपत्ता पारिएको छोरो फर्किने आसमा हुनुहुन्छ ८६ वर्षीया आमा
‘गलत केही गरेको थिएन, अपराध केही गरेको होइन, आफ्नो सोझो गरेर खाने मान्छे, गाउँमा मर्दा पर्दा जहाँ जतिबेला बोलाए पनि जाने, उहाँको जीवनमा त्यही अभिशाप भयो’, तत्कालीन विद्रोही माओवादी पार्टीबाट…
पढाई खर्च नहुँदा विद्यालय छोड्दै बादी समुदायका बालबालिका
शारदा नगरपालिका–१ शान्तिनगरका सागर नेपाली अहिले १९ वर्षको हुनुभयो । कक्षा ६ सम्म पढेका उहाँले कापि, कलम, पोशाक नहुँदा बीचमा नै पढाइ छोड्नुभयो । ‘घरको आर्थिक अवस्थाले भ्याएन्, बुवा बिरामी…
नवजात शिशुको मृत्युदर घटाउने चुनौती
नवजात शिशुको मृत्युदर घटाउने सरकारी लक्ष्यमा चुनौती देखिएको छ । एक वर्षमा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको छ । घटना १ : सिँजा गाउँपालिका– ६ रुगागाउँकी १७…