दलित बस्तीमा खानेपानीको समस्या
मालारानी गाउँपालिका-६, मेहेलपानी र सौतामारे बिचमा रहेको दलित समुदाय सुनार टोलका २२ घरमा स्वच्छ खानेपानीको समस्या भएको छ । उक्त बस्तीमा दलित समुदायका मानिसहरू खानेपानी, गाई भैँसीलाई दिन, नुहाउन, कपडा धुने पानी समेत १ घण्टा तल बनको खोल्सा कोल्टाबाट टाउकोमा बोकेर प्रयोग गर्न बाध्य भएका छन् ।
मालारानी गाउँपालिका-६, मेहेलपानी विद्युतीय लिफ्ट खानेपानी योजना यसै वडाका लोहोरी, मेहेलपानी, सुनार टोल, तिलिचनी, मथुरानी टोलका १ सय ५३ घरधुरी उपभोक्तालाई लक्षित गरेर बनाएको योजना हो । केही समय सञ्चालन भयो, पानी पनि आयो, पछि मोटर बिग्रियो, ब्याट्रिले काम गरेन र पानी आउन छाडेको बताउनुहुन्छ मालारानी गाउँपालिका-६, मेहेलपानी विद्युतीय लिफ्ट खानेपानी योजना उपभोक्ता समितिका सदस्य तथा पानी व्यवस्थापक लेसबहादुर राउत ।
उहाँले भन्नुभयो,'जडान भएका दुई ओटा मोटर बिग्रिएका छन् । ब्याट्रिले काम गर्दैन । बनाउन पैसा छैन । वडाले हेर्दैन । उपभोक्ताबाट उठाएको पैसा मुहानको जग्गा किन्दा र मरमतका सामग्री किन्दा सकियो । अब रकम उठ्न करिब २० घरबाट मात्र बाँकी छ । पैसा नभएका कारणले सबै टोलका उपभोक्ताहरूका घर धारामा पानी दिन सकेका छैनौँ । हाम्रो घर टोलमा पुरानै ग्राबेटीक खानेपानी लाइनको पानी खान प्रयोग गर्ने गरेको र दलित बस्ती सुनार टोलमा नपुगेकोले पंधेरा खोल्साको पानी प्रयोग गर्दै आएका छौँ ।'
दलित बस्ती सुनार टोलकी स्थानीय सरस्वती सुनारले पानीको गाग्री बिसाउँदै भन्नुभयो,'यो समाजमा दलितले न्याय नपाउने रहेछन्, पानी खान समेत विभेदमा परेका छौँ ।'
'पानी आउँछ खान पाइने भयो भनेर दुख खर्च गरेर धारा बनायौँ पानी आएन । हामी बुढाबुढी रोगी छौँ, बलिया छोरी बुहारीलाई ओढारी खोल्साको पानी लिन एक घण्टा भन्दा बढी समय लाग्छ । पानी बोकेर ल्याउने मानिस नभए पानी छिमेकीसँग मागेर खानु पर्छ । कतै नाता गोताको घरमा जाँदा पानी नहुने ठाउँका हात खुट्टा धोएर मात्र भित्र पस' भनेको पीडा बताउनुहुन्छ ६८ वर्षीया हिरी सुनार ।
स्थानीय ५८ वर्षीया धुमा सुनारले बाटो सिमानामा उभिँदै आफूहरू प्यूठान, गुल्मी र अर्घाखाँचीको सिमानामा भए पनि अरु धारामा पानी आउँछ आफूहरूको बस्तीमा पानी नआएको बताउनु भयो । उहाँले आफ्नो बस्तीमा पानी नभएर अरु बस्तीमा पानी थाप्न जाँदा भाँडा फालिदिने र पानीको लागि अति दुःख पाएको पीडा बताउनु भयो ।
समाज सेवी शिबबहादुर सुनारले पानी नआउने धारो देखाउँदै आफूहरूलाई खानेपानीको समस्या मेहेलपानी विद्युतीय लिफ्ट खानेपानी योजना उपभोक्ता समितिको कमजोरीका कारण भएको उल्लेख गर्नुभयो । उपभोक्ताले श्रमदान पनि गरे, पैसा पनि उठाए, अझ के गर्नु पर्छ र कति उठाउन पर्छ आफूहरू तयार भएको उल्लेख गर्नुभयो । 'समितिले गर्नु पर्यो, आवश्यक पर्ने रकम वडा र स्थानीय तहमा माग गर्नु पर्यो । जनप्रतिनिधिहरूले टोल बस्तीको समस्या बुझेर पहल गर्नु पर्यो । दलितले पानी त खान पाउनु पर्यो', उहाँले उल्लेख गर्नुभयो ।
स्थानीय चुनाव ताका १०/१५ दिन गाउँका सबैका धारामा पानी आयो । अब पानी आउने भयो भनेर खुसी भयौँ, त्यसपछि आजसम्म आएन । म रोगी छु, कक्षा ८ मा पढ्ने छोराले डेड घण्टा तल वनको खोल्साबाट पानी बोकेर परान धानिदिएको छ । उपल्लो टोल र तल्लो टोलमा पानी आउँछ तर यही सुनार टोलमा आउँदैन भन्नुहुन्छ ६९ वर्षीय हिरे सुनार । स्थानीय समाज सेवी एवम् शिक्षक नरेन्द्र बहादुर थापाले खानेपानी उपभोक्ता समितिले उक्त खानेपानी सञ्चालनमा ल्याउने, समानुपातिक रुपमा वितरण गर्ने, आवश्यक खर्च जुटाउन उपभोक्ताको मन जित्नुपर्ने बताउनु भयो । यो योजना असफल भयो भने आफूहरूले विकल्प खोज्ने उल्लेख गर्नुभयो ।
मालारानी गाउँपालिका-६ का वडा सदस्य भुपे सुनारले खानेपानी पिउन पाउने सबैको अधिकार हो, यो खानेपानी सञ्चालन गर्न ठूलो समस्या होइन, समस्या सोँच र व्यवस्थापनको भएको बताउनु भयो । प्रत्येक उपभोक्ताले दुई हजारका दरले रकम उठायौँ, कता के भयो थाहा छैन । तीन/चार लाखको व्यवस्थापन हुने हो भने सबै उपभोक्ताहरूको धारामा पानी खस्न सक्ने उहाँको भनाई छ । उपभोक्ता समितिले प्रयास गर्नु पर्ने हो, प्रयास नगरेपछि हामी जनप्रतिनिधिको समन्वयकारी भूमिका आवश्यक भएको उहाँले भन्नुभयो ।
मालारानी गाउँपालिका-६ का वडाध्यक्ष नारायण अर्यालले यो योजना उपभोक्ता समितिलाई बुझाएको र अघिल्लो वर्ष मरमत सुधारका लागि ५ लाख रुपियाँ बजेट छुट्ट्याए पनि समितिले निकासा नगरेको बताउनु भयो । खानेपानीको समस्या बनाएर बस्यो, मुल समितिले काम नगरेपछि उप समिति बनाएर भए पनि काम गर्नुपर्ने उहाँको भनाई छ । यहाँको खानेपानी बढी चर्चाको विषय भएको हुँदा वडा, स्थानीय तहको पहलमा रेडक्रस मार्फत इच प्रोग्राम सञ्चालनका लागि आफूहरू नजिक पुगेको बताउनु भयो । उहाँले आउने वैशाखको अन्तिमसम्ममा सुनार टोलको खानेपानीको समस्या हटाउने र अर्घा मेहेलपानी माविका बालबालिका, शिक्षक घरबाट पानी बोतलमा लिएर खाएको हुँदा दिनमा एक ट्याङ्की पानी ट्याक्टरबाट उपलब्ध गराउने जानकारी दिनु भयो ।
अध्यक्ष अर्यालले नेपाल सरकारको परियोजना अन्तर्गत यो खानेपानी योजना १ करोड २७ लाख ८० हजार २७ रुपैयाँ ९१ पैसाको बजेटको योजना ०७३ फागुन ३० गते शुरु भएर करिब उपभोक्ताहरूको ३० प्रतिशत श्रमबाट ०८० चैत ३० गते सम्पन्न भएको र सञ्चालनमा ल्याई राज्यको नीति कार्यक्रम अनुसार स्थानीय उपभोक्ता समितिलाई जिम्मा लगाएको बताउनु भयो ।
मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टाईले त्यहाँको खानेपानी उपभोक्ता समितिको कम्जोरीले गर्दा समस्या भएको बताउनु भयो । उक्त खानेपानी सुधार मर्मतका लागि यो वर्ष २ लाख ७१ हजार रुपियाँ छुट्ट्याएको उल्लेख गर्नुभयो । मालारानी गाउँपालिका अन्तर्गतका सबै लिफ्ट्टिङ खानेपानी योजनाका विद्युत महसुल ८० प्रतिशत भुक्तानी स्थानीय तहले गरेको जानकारी गराउनुभयो । पानी सबैले खान प्रयोग गर्न पाउनु पर्छ । खानेपानीको समस्या उपभोक्ता समिति र वडासँग समन्वय गरेर छिटै समाधान गर्ने उहाँले बताउनुभएको छ ।
- कुलबहादुर नेपाली
सम्बन्धित फिचरहरू
द्वन्द्वपीडित परिवार भन्छन् - 'कहिले न्याय पाइएला ?'
बुद्धभुमी नगरपालिका–१, चङघाटकी चित्रकला बेल्बासे अहिले ६१ वर्ष हुनुभयो । दुई छोरा र पाँच छोरीका आमा रहनुभएकी चित्रकलाका पति ओम प्रकाश वेल्बासे नेपाली कांग्रेसको स्थानीय कार्यकर्ता हुनुहुन्थ्यो । मध्यम वर्गाीय…
नेता आएर गए व्यथा गएन !
बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नपा–१२ रोशी बजारकी रिता केसी छिमेकीको घरमा बस्दै आउनु भएको छ । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा…
गरिब परिवारमै गम्भीर रोगः सम्पत्तिसँगै जीवन सकिँदै !
इस्मा गाउँपालिका–४ का केशव बहादुर मगरले आर्थिक अभावको कारण १६ वर्षीया छोरी कृष्णा मगरलाई गुमाउनुभयो । कृष्णाका हातखुट्टा एक्कासी नचल्ने भए । मगरले छोरीलाई बुटवल र काठमाडौँ धेरै पटक पुर्याउनुभयो…
टाउकोमा डोकाको व्यापारसँगै न्यायको लडाइँमा पदमकन्या !
मगुको खत्याड गाउँपालिका–५ धैनकोटकी ३६ वर्षीया पदमकन्या चौलागाईले जीवनमा धोकै धोका पाउनुभयो । परिवार र पतिको धोकाका कारण उहाँको जीवन सङ्घर्षरत छ । १२ वर्षकै उमेरमा विवाह गरेका पति तिर्थराज…
आगलागी पीडितको गुनासो - ‘आगोले सम्पत्ति सक्यो सरकारले ऋण थप्यो’ !
गत वर्ष इस्मा गाउँपालिका–२ की बसुन्धार कुवरको घर गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा रुप्पे नगद र एक गेडा अन्न जोगिएन् । कुवँरका आँखै अगाडि घरगोठसँगै आठ बोका, पाँच बाख्रा र…