त्रिपालमुनि भविष्य खोज्दै कलिला बालबालिका !
कठ्याङ्ग्रिदो जाडो, अत्याधिक चिसोमा त्रिपालमुनि चटाई विच्छाएर कखरा सिक्दैछन्, महाकाली नगरपालिका वडा नम्बर २ स्थित भुवनेश्वरी आधारभूत विद्यालय पण्डारोमा अध्ययनरत कलिला बालबालिकाहरु ।
गत भदौ २४ गते आएको बाढीका कारण भत्किएका विद्यालय भवनको पुनर्निर्माण हुन नसक्दा ३१ जना विद्यार्थी चिसो भुईमा बसेर आफ्नो भविष्य कोर्दै आएका छन् ।
सदरमुकाम खलंगाबाट नजिकै रहेको विद्यालय लास्कु खोलामा आएको बाढीले बगाएपछि ध्वस्त बनेको छ । तीन ओटा भवनको ६ कोठा रहेको विद्यालय अहिले तीन ओटा त्रिपालमा सञ्चालनमा रहेको छ ।
पुस महिनाको चिसोमा शिशु कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थी यहाँ अध्ययनरत छन् । खार–खलंगा सडकबाट ५० मिटर खोलापारि बाढीले बगाएको प्राङ्गणमा त्रिपाल टागिएको देखिन्छ । झट्ट गाडीमा हिड्डुल गर्ने यात्रुले गाईबाख्रा राखेको सोच्छन् ।
छेउमै खोलाको सिसाहट अनि बगरमा त्रिपालमुनि कलिला बालबालिकाले आफ्नो भविष्य खोज्दै पढ्दै गरेको देखिए पनि अहिलेसम्म उनीहरुलाई सुरक्षित राख्न सकिएको छैन् । सदरमुकाम खलंगाबाट एक घण्टा पैदल दुरीमा पुगिन्छ भुवनेश्वरी आधारभूत विद्यालयम पण्डोरामा ।
विद्यालय भवन बाढीले बगाएपछि कात्तिक १५ गतेबाट त्रिपालमुनि राखेर विद्यार्थीको पढाई सुचारु गरिएको विद्यालयका प्रधानाध्यापक माधवराज भट्टले बताउनु भयो ।
युनिसेफ नेपालले दुई ओटा त्रिपाल सहयोग ग¥यो । एउटा त्रिपाल सामाजिक विकास कार्यालयबाट प्राप्त भयो । केही शैक्षिक सामाग्री गैरसकारी संस्थाबाट प्राप्त भएको छ । भुइमा बिच्छाउन राम्रो फमम्याट पनि छैन् । चिसोमा बालबालिका विद्यालयले खरिद गरेको चटाई त्रिपालमा बस्छन् ।
‘विद्यार्थीको भविष्य विग्रिन नदिन त्रिपालमुनि भए पनि पढाई निरन्तर गर्दैछौँ,’ उहाँले भन्नु भयो, ‘भौतिक संरचना क्षति भए पनि शैक्षिक क्षति हुन दिन्नौँ ।’
भौतिक संरचना नहुँदा विद्यालयमा विद्यार्थी समेत न्यून छ । विद्यालयका प्रधानाध्यापक भट्टका अनुसार शिशु कक्षामा पाँच छात्रा र नौ छात्र गरी १४ जना अध्ययनरत छन् ।
कक्षा १ मा तीन छात्रा र एक छात्र गरी चार जना, कक्षा २ मा तीन जना छात्रा, कक्षा ३ मा तीन जना छात्र, कक्षा ४ मा तीन जना छात्रा र एक जना छात्र तथा कक्षा ५ मा दुई जना छात्रा र एक जना छात्र गरी तीन जना विद्यार्थी छन् ।
यो विद्यालय महाकाली नगरपालिकाको वडा नम्बर १, २ र ३ को बीच भागमा पर्छ । अहिले पनि तीन ओटै वडाबाट विद्यार्थी यहाँ अध्ययन गर्छन् । गाउँबाट अन्य विद्यालय पठाउन टाढा छ, अभिभावक रामसिह धामीले भन्नु भयो, ‘यहाँको अवस्था हेर्दा बालबालिका विद्यालय पठाउन दयाँ लाग्छ ।’ विद्यार्थी बस्न मोटो म्याटसमेत नहुँदा बालबालिकाको स्वास्थ्य जोखिममा छ । ‘टाढा पठाउन सकिने अवस्था पनि छैन् । यहाँ विद्यार्थी लगाउनु भनेको मार्न पठाउनु जस्तै छ’ उहाँले गुनासो गर्नु भयो ।
लास्कु खोलामा आएको बाढीका कारण सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत दिनेश कार्कीले ज्यान समेत गुमाउनु परेको थियो ।
विद्यालयमा दुई जना स्थायी, एक जना राहत र एक जना शिशु कक्षा गरी चार जना शिक्षक कार्यरत रहनु भएको छ । विद्यार्थीलाई विद्यालय आउन अझै जोखिम छ । पुल छैन् । बाटोघाटो पुनर्निर्माण गरिएको छैन् ।
विद्यालयमा खानेपानीको राम्रो व्यवस्था छैन् । विद्यार्थी र शिक्षक शिक्षिकाको लागि प्लाष्टिक बेरेर अस्थायी शौचालय बनाइएको छ । शौचालय नहुँदा छात्राहरुलाई बढी समस्या हुने गरेको शिक्षिका पार्वती बडुले बताउनु भयो । पारिबाट वारि सहजै देखिन्छ । माथि गाउँ छ । शौचालय जान पनि गाह्रो छ ।
विद्यालय प्रशासन दैनिक झोलामा रजिष्ट बोकेर चलाउनु पर्ने विद्यालयको बाध्यता छ । खोलावारी एउटा घरको कोठा लिएर राति दराजमा थन्क्याउने गरिएको छ । विद्यालय खोल्ने बेला झोलामा बोकेर पारि जान्छौँ, प्रधानध्यापक भट्टले भन्नु भयो, बेलुकी विद्यालय बन्द भएपछि पुनः झोलामा राखेर भित्र राख्ने गरेका छौँ । विद्यालय नाजुक अवस्थाबारे सबैलाई जानकारी गराएका छौँ तर समयमै निर्माण नहुँदा विद्यार्थीको भविष्यमाथि चिन्ता थपिएको उहाँको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतापसिंह बडालले बाढीपछि विद्यालय भवन निर्माणको लागि पहल भइरहेका बताउनु हुन्छ ।
उहाँले चारकोठे विद्यालय भवन बनाउने स्वीकृत प्राप्त भएकोले छिट्टै नयाँ भवन निर्माण कार्य अघि बढाउने गरी पहल गरिरहेको बताउनु भयो ।
लास्कु खोलामा आएको बाढीका कारण भुवनेश्वर आधारभूत विद्यालय मात्र हैन्, महाकाली नगरपालिका वडा नम्बर २ कै सरस्वती आधारभूत विद्यालय मुल्ला पनि विस्थापित भएको छ ।
महाकाली नगरपालिका वडा नम्बर ४ को दशरथनगर आधारभूत विद्यालय बंगाबगड विस्थापित भएको छ । बंगाबगडका विद्यार्थीलाई अहिले कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा पठाइएको छ । विद्यालयको भवनको लागि जग्गा खोजी भइरहेको विद्यालयका शिक्षक दिवान सुनामले बताउनु भयो ।
बाढीपहिरोका कारण विद्यालयमा क्षति पुगेपछि सरस्वती आधारभूत विद्यालय मुल्लाका ४४ जना, दशरथनगर आधारभूत विद्यालयमा ५७ जना विद्यार्थी पनि समस्यामा छन् ।
तत्काल भवन बनाउन सकिने अवस्था नभएको कारण अस्थायी त्रिपाल राखेर विद्यालयमा पठनपाठन गर्नुपरेको महाकाली नगरपालिका शिक्षा शाखा प्रमुख ईश्वरी ठगुन्नाले बताउनु भयो ।
लास्कु खोला र महाकालीमा आएको बाढीले पाँच जनाको मृत्यु भयो भने १० जना वेपत्ता भए । विद्यालय भवन, डुङुगरी जलविद्युत, दुई ओटा झोलुंगे पुल बगाउनुको साथै महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा गरी ४२ घरमा पूर्ण क्षति भयो भने नौ घर आंशिक र ४० घर जोखिममा परे ।
अहिलेसम्म पनि पीडितहरुको उचिव पुनस्र्थापन तथा व्यवस्थापन हुन सकेको छैन् ।
- नरेन्द्रसिह कार्की
सम्बन्धित फिचरहरू
सशस्त्र द्वन्द्वले दुवै गोडासँगै सपना पनि गुमे !
२०६३ साल कात्तिक महिना । तिहारको दिन । रामचन्द्र आफ्नो दिदीको हातको टिका लगाएर मामाघर जाने तयारीमा हुनुहुन्थ्यो । कृष्ण गौतम रामचन्द्रका मिल्ने साथी । छिमेकी पनि भएकाले सधैँ जसो…
द्वन्द्वमा छाडिएको बम बिस्फोटले बहिनीको ज्यान गयो, त्यसैको पीडामा बुबाद्वारा आत्महत्या
बिहान अचानक कुञ्चोक गाविस-४ को देउरालीडाँडामा ठूलो आवाजमा बम पड्क्यो । साँढे दश बज्दै गर्दा आएको यो आवाजले गाउँलेहरू त्रसित मात्र भएनन्, साबिक कुन्चोक गाविस-४ की १२ वर्षीया एक अबोध…
अझै पनि पानीकै पिरलो, पानी भर्न घण्टौँ बस्नुपर्छ पालो
रामेछापको मन्थली नगरपालिका-१२ गेलुका बासिन्दा खानेपानी कै समस्याले पिरोलिएका छन् । खानेपानी कै लागि रातको निन्द्रा माया मारेका छन् । बेलामा पकाएर खान पाएका छैनन्, बालबालिकाको पढाइ छुटाइएका छन् ।…
कुपोषणको मारमा बालबालिकाहरू
उत्तरगया गाउँपालिका-५ को खाल्टेमा भूकम्पबाट विस्थापित क्याम्पमा २३ वर्षीया बिरमाया तामाङ बस्दै आउनु भएको छ । उहाँको दुई छोरी र एक छोरा छन् । कान्छी छोरी २० महिना पुग्न लागिन्…
वर्षेनी बालिका बलात्कारका घटना बढ्दै
जाजरकोट की १५ वर्षीया बालिका २०७८ फागुन ८ गते राति ११ आफ्नै घरमा बलात्कृत भइन् । आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवा केही समय देखि भारतमा मजदुर गर्दै आउनुभएको…