तुइनमै बग्छ व्याँसीबासीको सपना !
व्याँस गाउँपालिका–२, दुम्लिङका १८ वर्षीय सचिन बुढाथोकी भारतबाट महाकाली तरेर नेपालतर्फ आउने क्रममा तुइन चुँडिँदा असार २२ गतेदेखि बेपत्ता हुनु भएको छ । वर्षौदेखि तुइनमार्फत वारपार गर्दै उहाँ महाकाली नदीको बीच भागमा पुग्दा तुइन चुडिएको थियो ।
घरायसी र दैनिक उपभोग्य वस्तु किनमेल गर्न यही नदी तरेर भारतीय बजारमा जानु पर्ने बाध्यता छ । घरको लागि खाद्यान्नको जोहो गरेर उहाँ सदरमुकाम आउने तयारीमा हुनु हुन्थ्यो । एसइइ दिएर घरमा बस्नु भएका सचिन नतीजा आएपछि माथिल्लो कक्षाको तयारी गर्न आउने कुराकानी गर्नु भएको थियो घरमा । तर, सचिनको घरायसी खाद्यान्न जोहोपछिको सदरमुकाम आउने र आगामी सपना त्यहीँ तुइनको तारसँगै विलाएर गएको छ । राम्रो पढाई गरेर घरको सहारा बन्ने सपना बुनेका सचिनका लागि उर्र्लिएको महाकालीमाथि लगाइएको तुइन अन्तिम बनिदियो ।
गत वर्षको साउन १५ गते भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा खुस्काइदिएपछि महाकाली नदीमा खसेर व्यास गाउँपालिका–२, मालघाटका ३३ वर्षीय जयसिंह धामी बेपत्ता हुनु भयो । उहाँ वेपत्ता भएको एक वर्ष पुग्दैछ । नेपालतर्फको मालघाटबाट भारतको धारचुलामा पर्ने गस्कु जान तुइनबाट नदी पार गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले लठ्ठा खुस्काइदिएपछि उहाँ महाकालीमा खसेर वेपत्ता हुनु भएको थियो । गाउँबाट वैदेशिक रोजगारीमा जान काठमाडौँ हिडनु भएको जयसिहको सपना पनि त्यहीँ तुइनमा बिलिन भयो । आफू विदेश जाँदा लागेको ऋण काढ्ने र राम्रो घर बनाउने सपना बुनेर गाउँबाट हिडेको आधा घण्टामै उहाँ महाकालीमा वेपत्ता हुनु भयो ।
सहजै वारपार गर्न पायक पर्ने ठाउँमा पुल छैनन् । निर्माण योजनामा रहेका पुल पनि समय मै नबन्दा तुइनबाट ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । झोलुंगे पुल नहुँदा तुइनको भरमा वारपार गर्नु पर्ने स्थानीयको बाध्यता छ । नेपाल र भारतको १ सय ९७ किलोमिटर सीमा महाकाली नदीले छुट्याएको छ ।
व्याँस गाउँपालिका वडा नम्बर २ को तल्लो दुम्लीङमा मात्रै तुइनबाट खसेर मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ भने मालघाटमा तुइनबाट खसेर मृतक भएकाहरुको सङ्ख्या १० पुगेको छ । वडा नम्बर २ को तल्ला दुम्लीङ, मालघाट, कल्जु, घाटिबगर, फताङगाड र बल्जुडी गरेर हालसम्म ३२ जनाले तुइनको तार चुढिएर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।
अहिले तुइन विस्थापित भएर झोलुङ्गे पूल निर्माण भएका व्याँस गाउँपालिका–४ को मडगाउँमा चार जना, बर्तीघाटमा एक जना, व्यास गाउँपालिका–५ को ठण्डापानी तुइनमा १२ जना, नाजीघाटमा तीन जना र तिगरमघाटमा ६ जनाले ज्यान गुमाएको प्रहरी तथ्याङ्क छ ।
यसैगरी व्यास गाउँपालिका–६ एलागाड घाटमा पाँच जना, कालागाड घाटमा तीन जनाले ज्यान गुमाएका छन् । प्रहरीले बिक्रम सम्बत् २०१६ यता तुइनबाट खसेर वेपत्ता भएकाहरुको तथ्याङ्क राख्दै आएको छ ।
महाकालीमा तुइन विस्थापन गरी व्यास गाउँपालिका–६, बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकु तथा व्यासकै मडगाउँमा झोलुंगे पुल सञ्चालनमा आएका छन् । मडगाउँको पूल विधिवत् रुपमा उद्घाटन हुन बाँकी छ । गत वर्ष जयसिंह धामीको मृत्युपछि तुइन भएको ठाउँ मालघाटमा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको स्थानीय हरकसिह कार्कीले बताउनु भयो ।
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने घोषणा गर्नु भएको हो । आर्थिक वर्ष २०७६÷०७७ भित्र देशबाट तुइन विस्थापित गरिसक्ने योजना लिएको भएपनि विभिन्न कारण तुइन विस्थापनमा ढिलाई हुँदै गएको छ ।
तुइन विस्थापन अन्तर्गत हालसम्म लाली, बाँकु, बडुगाउ, तिगरम, मडगाउँ र मालघाटमा झोलुङ्गे पूल निर्माण भएका छन् ।
राहत पाउनु पर्ने पीडित पक्षको माग
महाकाली नदीमा वेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको परिवारलाई राहत दिन व्याँस गाउँपालिका–२ का स्थानीयले माग गर्नु भएको छ । असार २८ गते प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई स्थानीयहरुले ज्ञापन पत्र बुझाउँदै राहत दिन माग गर्नु भएको हो ।
वेपत्ता सचिनको परिवारको आर्थिक अवस्था नाजुक छ, व्याँस गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धिनरसिह बुढाथोकीले भन्नु भयो, पीडित परिवारको लागि राहतको व्यवस्था गरिदिन आग्रह छ । वेपत्ता सचिनका बुवा करनसिह बुढाथोकी र लक्ष्मी बुढाथोकी दुवै अपाङ्गता भएका व्यक्ति हुनु हुन्छ ।
परिवारको अवस्था कमजोर हो । कुनै निकायबाट राहतको लागि पहल हुन सके पीडित परिवारलाई राहत पुग्ने थियो, उहाँले भन्नु भयो ।
गत वर्ष जयसिह धामी महाकालीमा वेपत्ता हुँदा सरकारले १० लाख रुपियाँ राहत दिएको थियो । भारतीय एसएसबीले तुइन फुस्काएर वेपत्ता बनाएको घटनाले चर्चा पाएपछि सरकारले राहत दिएको हो । त्योबाहेक तुइनबाट खसेर वेपत्ता भएका व्यक्तिले अहिलेसम्म सरकारबाट राहत रकम पाएका छैनन् ।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय अहिलेसम्म यस्तो राहत रकम प्रशासनको तर्फबाट उपलब्ध नभएकोले स्थानीय सरकारको विपद् कोषटबाट सहयोगको लागि पहल गर्नु ठिक हुने बताउनु भयो ।
दुम्लीङ्मा वैकल्पिक तुइनको व्यवस्थापन गर्न माग
व्याँस गाउँपालिका–२ दुम्लीङ कल्जुका स्थानीयले वैकल्पिक तुइनको व्यवस्थापन गर्न माग गरेका छन् । सदरमुकाम खलंगासम्म आउन छोटोबाटो रुपमा महाकालीमा तुइन तरेर आउन सहज हुने भन्दै वैकल्पिक व्यवस्थापन गर्न माग गरेका हुन् ।
व्यासका स्थानीयले असार २२ गते प्रमुख जिल्ला अधिकारीलाई स्थानीयको हस्ताक्षरसहितको ज्ञापन बुझाउँदै स्थानीयको लागि तत्काल वैकल्पिक व्यवस्थापन गर्न माग गरेका छन् । विगतमा दुम्लीङमा काठेपूल लगाइएको थियो । कोभिडको समययता बन्द रहेको काठे पूल पुनः लगाउन उनीहरुले माग गरेका छन् ।
असार २२ गते व्याँस गाउँपालिका–२ का सचिन बुढाथोकी धारचुलाबाट दार्चुला आउने क्रममा महाकाली नदीमा वेपत्ता भएपछि अहिले यो क्षेत्रका स्थानीय समस्यामा परेका छन् । यहाँका स्थानीय वारपार गर्न तथा दैनिक उपभोग्य सामान त्यही तुइनको माध्यमबाट भित्र्याउने गर्थे ।
तुइनको तार चुढिएपछि अहिले दुम्लीङ, कल्जू क्षेत्रका स्थानीय सदरमुकाम खलंगा आउजाउ गर्न निकै समस्यामा छन् । हामीलाई अहिले आवतजावत गर्न बाटो छैन् । “यो क्षेत्रको आवतजावत समाधान गर्न अस्थायी वैकल्पिक तुइनको व्यवस्थापन गर्न आग्रह गर्छौ’ व्याँस गाउँपालिका–२ का स्थानीय बीरेन्द्र बुढाथोकीले भन्नु भयो । भौगोलिक कारण यहाँ अन्नबाली थोरै हुन्छ । खेतको उब्जनीले तीन महिना पनि पुग्दैन् । सदरमुकाम खलंगाबाट ४५ किलोमिटरमा पर्छ दुम्लीङ । यहाँबाट ३ ÷ ४ घण्टा पैदल हिडेर गएपछि मात्रै मालघाटमा निर्माणाधीन झोलुङ्गे पूलमा पुग्न सकिन्छ ।
अहिले बाटो नभएको हुँदा दैनिक उपभोग्यवस्तुको ढुवानी मै समस्या भएको छ । निर्माणाधीन दार्चुला तिंकर सडकले गति लिएको छैन् । सडक नहुँदा स्थानीय सदरमुकाम खलगा आउजान गर्न छोटो बाटोको रुपमा भारतीय बाटोको प्रयोग गर्न स्थानीय बाध्य छन् ।
स्थानीय महेन्द्रसिह बुढाथोकी दुम्लीङका नागरिकलाई राज्यले सौतेलो व्यवहार गरेकै कारण हरेक वर्ष स्थानीयले अकालमै मृत्युवरण गर्नुपरेको बताउँनु हुन्छ । हामीलाई राम्रो सडक सुविधा, बाटोघाटो र झोलुङ्गे पूल भइदिएको भए तुइनको प्रयोग किन गथ्र्यौ र उहाँले भन्नु भयो । फेरि पनि हामीले जिल्ला प्रशासनमार्फत सरकारलाई दुम्लीङ क्षेत्रमा नेपाल भारत जोड्ने गरी झोलुङ्गे पूल निर्माणको लागि ज्ञापन पत्रमार्फत पहल गरेका छौँ ।
दुम्लीङमा झोलुङ्गे पूल निर्माणका लागि पटक पटक सरकारलाई ज्ञापन पत्र बुझाए पनि अहिलेसम्म पहल हुन नसकेको व्याँस गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धिरनसिह बुढाथोकीले बताउनु भयो । दुम्लीङमा मात्रै १ सय १० परिवारको बसोबास छ । तर, यहाँ पूल नहुँदा स्थानीयले अकाल मै ज्यान गुमाउन बाध्य छन् । अहिलेसम्म वडा नम्बर २ का दर्जनौ तुइनबाट २७ जनाले ज्यान गुमाएका छन् ।
प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्ना दुम्लीङमा नेपाल भारत जोड्ने झोलुङ्गे पूल निर्माणको लागि भारतीय सहमति आवश्यक हुने बताउनु हुन्छ । केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा दार्चुलामा नेपाल भारत जोड्ने १० ओटा झोलुङ्गे पूल प्रस्ताव गरिएको थियो ।
जसअन्तर्गत व्याँस गाउँपालिका–२ दुम्लीङ पनि हो । तर, सीमा क्षेत्रमा बढि झोलुङ्गे पूलले समस्या हुने देखेपछि भारतले दुम्लीङको झोलुङ्गे पूल निर्माणको लागि सहमति नदिएर हटाइ दिएको हो । अहिले पनि दुम्लीङमा झोलुङ्गे पूल निर्माणको लागि सरकारले भारतसँग कुटनीतिक माध्यमबाट सहमतिको लागि प्रयास गनु पर्छ । झोलुङ्गे पूलको लागि आफुले पनि यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउने उहाँले बताउनु भयो ।
- नरेन्द्रसिह कार्की
सम्बन्धित फिचरहरू
सशस्त्र द्वन्द्वले दुवै गोडासँगै सपना पनि गुमे !
२०६३ साल कात्तिक महिना । तिहारको दिन । रामचन्द्र आफ्नो दिदीको हातको टिका लगाएर मामाघर जाने तयारीमा हुनुहुन्थ्यो । कृष्ण गौतम रामचन्द्रका मिल्ने साथी । छिमेकी पनि भएकाले सधैँ जसो…
द्वन्द्वमा छाडिएको बम बिस्फोटले बहिनीको ज्यान गयो, त्यसैको पीडामा बुबाद्वारा आत्महत्या
बिहान अचानक कुञ्चोक गाविस-४ को देउरालीडाँडामा ठूलो आवाजमा बम पड्क्यो । साँढे दश बज्दै गर्दा आएको यो आवाजले गाउँलेहरू त्रसित मात्र भएनन्, साबिक कुन्चोक गाविस-४ की १२ वर्षीया एक अबोध…
अझै पनि पानीकै पिरलो, पानी भर्न घण्टौँ बस्नुपर्छ पालो
रामेछापको मन्थली नगरपालिका-१२ गेलुका बासिन्दा खानेपानी कै समस्याले पिरोलिएका छन् । खानेपानी कै लागि रातको निन्द्रा माया मारेका छन् । बेलामा पकाएर खान पाएका छैनन्, बालबालिकाको पढाइ छुटाइएका छन् ।…
कुपोषणको मारमा बालबालिकाहरू
उत्तरगया गाउँपालिका-५ को खाल्टेमा भूकम्पबाट विस्थापित क्याम्पमा २३ वर्षीया बिरमाया तामाङ बस्दै आउनु भएको छ । उहाँको दुई छोरी र एक छोरा छन् । कान्छी छोरी २० महिना पुग्न लागिन्…
वर्षेनी बालिका बलात्कारका घटना बढ्दै
जाजरकोट की १५ वर्षीया बालिका २०७८ फागुन ८ गते राति ११ आफ्नै घरमा बलात्कृत भइन् । आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवा केही समय देखि भारतमा मजदुर गर्दै आउनुभएको…