तिल्पुङका द्वन्द्व पीडित भन्छन्ः त्यो कालो रात सम्झन र पीडकलाई माफी सुन्न चाहन्नौँ
२०५८ साल भदौ १७ गतेको रात । रामेछापको हालको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङवासीले कहिल्यै नबिर्सने रात । घटना भएको २२ वर्ष बित्यो तर पीडित परिवार र गाउँलेको मानसपटलमा अहिले पनि ताजै छ घटना । आलै छ, रगत, उस्तै छ पीडा, दुख्दै छ छाती ।
त्यो कालरात्रि थियो, जुन राती गाउँका चार जना सर्वसाधारणको माओवादीको शब्दमा माओवादीले सफाय गरेको । नेपाली काँग्रेस र एमालेमा विचार राखेकै कारण रातको समयमा माओवादीले उनीहरूलाई गिरफ्तार गरी हत्या गरेको थियो । माओवादीले पछि उनीहरूलाई सुराकी गरेकोले हत्या गर्नु परेको जनायो ।
माओवादीको कथित जनयुद्धकाल भरी यो घटनालाई उछिन्ने अर्को ठूलो आततायी घटना रामेछापमा भएन । एकै रात आआफ्ना घरमा सुतेका चार जना सर्वसाधारणलाई गिरफ्तार गरेर हत्या गरेको घटना सायद अन्य जिल्लामा पनि नहोला ।
त्यो साँझ अघिपछि जस्तै बस्तुभाउ गरेर महेश्वर बुढाथोकीका परिवारले खाना खाए । गाउँ द्वन्द्वका कारण सम्झँदै सुनसान हुने हुँदा जुठोभाँडो गरेर चाँडै सुत्ने गाउँमा चलनै थियो । दिनभर फर्निचर बनाउने कर्मीसँगै काम गर्नुभएका महेश्वर थाक्नु भएको थियो । परिका अन्य सदस्य पनि घरायसी कामले थाकेका थिए । त्यसैले सपरिवार बेलैमा सुत्यो ।
राति कसैले बोलायो । महेश्वर दाइ उठ्नुस् न । महेश्वरले बिस्तारै झ्याल खोलेर हेर्नुभयो । बाहिर बन्दुक सहितका थुप्रै मानिस आँगनमा थिए । उनीहरूले बोलाए ‘बाहिर आउनुस् ।’
महेश्वरले मान्छे नचिने पनि माओवादी कार्यकर्ता हुन् भन्ने बुझ्नुभयो । प्रतिवाद गर्ने क्षमता थिएन । त्यसैले तल झर्नुभयो । सँगै छोरा गोविन्द पनि महेश्वरसँगै निस्कनुभयो । तर उनीहरूले गोविन्दलाई जान दिएनन् । महेश्वरलाई लिएर हिँडे । घटना राति ११ बजेको थियो । बिहान गाउँको विद्यालय छेउको बाटैमा महेश्वरको शव भेटियो । गाउँलेहरू शव भएको ठाउँमा जम्मा भए ।
महेश्वरको शव भएको ठाउँमा जम्मा भएका गाउँलेले एकैछिनमा अर्को हत्याको खबर पाए । अर्का गाउँले नारायण बुढाथोकीको पनि त्यसै रात माओवादीले हत्या गरेको कुरा एक छिन पछि फैलियो ।
नारायण बुढाथोकी बिरामी हुनुहुन्थ्यो । ज्वरोले थलिएका बेला रातको १ बजे माओवादीले उहाँलाई जबरजस्ती घरबाट निकालेर लगेका थिए । माओवादीलाई रोक्न गएकी नारायणकी पत्नी हर्कमायालाई माओवादी कुट्नुसम्म कुटे । कुटाइबाट उहाँको एउटा दाँत नै भाँचियो । भोलिपल्ट नारायणको शव हेल्थपोष्ट नजिक हत्या गरेको अवस्थामा भेटियो । नारायणको छातीमा गोली हानिएको थियो ।

घटना त्यतिमै टुङ्गिएन गाउँको बिचबाट अर्को खबर आयो, प्रकाश आले पनि मारिए रे । त्यो रात प्रकाश पत्नी कृष्णमायाका साथ घरको अघिल्लो बरण्डामा सुत्नुभएको थियो । आँगनमा गएर माओवादीले प्रकाशलाई बोलाए । त्यस्तै रातको एक बजेको थियो होला । कृष्णमायाले घरमा हुनुहुन्न भन्नुभयो र पतिलाई लुक्न बुइँगलमा पठाउनु भयो । माओवादी घर भित्रै पसे । ‘बुइँगलमा लुक्नु भएको थियो, सबै तिर छापा मारे, भेटिहाले, सट समेत लगाउन नदिई लिएर गए’, कृष्णमायाँले त्यो कालरात्रि सम्झँदै भन्नुभयो ।
माओवादी छापछाप्ती भएको बेला राति केही गर्ने आँट भएन, बिहान खोजी भयो । घरबाट एक घण्टा जति टाढा अल्छेचौतारामा प्रकाशको शव भेटियो ।
गाउँको सिरानबाट मान्छे मार्दै झरेको माओवादी समूहले सोही राती गाउँको पुछार तामाकोसी किनारको हलेदेका झपड बुढाथोकीलाई पनि बाँकी राखेन । गाउँबाट मान्छे मार्दै बिहान ४ बजे तिर हलेदे पुगेका माओवादीले झपडलाई घरबाट बाहिर निकाल्न खोजे । ‘उहाँ निस्कन मान्नु भएन, उनीहरूले लछारपछार गरे, केही बेर तानातान पर्यो, तर उहाँको केही लागेन, घरबाट घिसारेर लगे’, कहालीलाग्दो रात सम्झँदै झपडकी पत्नी झम्कमायाले भन्नुभयो ।
बिहान खोजी गर्न गाउँले निस्किए । घरभन्दा केही पर ठूली गरोमा झपडको शव फेला पर्यो । उहाँलाई दुई गोली हानिएको थियो । घटनास्थलमा माओवादीको च्यातिएको पोसाक र खुकुरी पनि भेटिएको थियो । घटनास्थलमा धान माडिएको थियो । ‘त्यहाँ पनि उहाँले बाँच्न भिड्नु भए छ, तर आततायीले के छाड्थे, गोली हानेर मारेछन्’, झम्कमायालाई २२ वर्ष अगाडिको कहालीलाग्दो क्षण सम्झँदा मुटु फुटेर आउँछ ।
एकै रात चार जनाको रगत लिएर माओवादी अलप भएको २२ भयो । अहिले माओवादी शान्ति प्रक्रियामा आए । देशको शासन सत्ता चलाए । प्रधानमन्त्री भए, मन्त्री भए, स्थानीय सरकार चलाए ।
द्वन्द्वको समस्या समाधान गर्न समिति बने, आयोग बने तर तिल्पुङका यी चार परिवारले आफ्नो परिवारको सदस्य किन मरियो भन्ने जवाफ पाएनन् । ‘उहाँलाई किन मारियो ? उहाँको के दोष थियो ? त्यसको जवाफ हामीले पाउनु पर्दैन ?’ झम्कमायाको प्रश्न छ ।

२०११ सालमा जन्मिनु भएका झपड बुढाथोकी ४७ वर्षको उमेरमा मारिनु भयो । छोरा, छोरी सानै थिए । पाँच छोरी र दुई छोरा हुर्काउन झम्कमायाले कम्ता दुःख बेहोर्नु परेन । मनभरि पीडा बोकेर छोराछोरी हुर्काउनुभयो । चार छोरी र दुई छोराका विवाह भयो । सबै आआफ्नो व्यवहारमा छन् । साहिँली छोरी रजिना आमासँग हुनुहुन्छ ।
दिन बित्यो । समय बित्यो । पति मारिँदा ४४ वर्षकी झम्कमाया अहिले ६६ वर्ष हुनुभयो । तर झम्कमायाको घाउमा कहिल्यै खाटा बस्न सकेन । ‘के गरी बिर्सनु, ओच्छ्यानमा सुतेको पतिलाई तानेर लगेर हत्या गरेको, मन मान्दैन, मन थिर छैन, कहाँ जाऊँ, के गरौँ भइरहन्छ, टाउको दुख्छ, छाती दुख्छ, मनमा शान्ति छैन’, झम्कमायाले भन्नुभयो ।
अहिले सरकाले द्वन्द्वको घटनामा संलग्नलाई आम माफी दिने गरी विधेयक ल्याएको सुनेर उहाँको छाती अझ चर्किएको छ । ‘एक दिन न एक दिन पीडकलाई सजाय होला भन्ने लागेको थियो, त्यो पनि माफी दिने कानुन आउँदै छ रे’, उहाँले गुनासो गर्नुभयो ।
लिखु तामाकोसी गाउँ कार्यपालिका सदस्य समेत भइसक्नु भएकी झपडकी छोरी रजिना बुढाथोकी पीडकलाई आम माफी दिने गरी ल्याएको विधेयकले पीडितलाई थप पीडा दिएको बताउनुहुन्छ । ‘न्याय मर्ने भयो, अन्यायीको राज हुने भयो’, उहाँले भन्नुभयो–‘त्यो कालो रात सम्झन चाहन्नौँ, पीडकलाई माफी सुन्न चाहन्नौँ ।’

- नवराज पथिक
सम्बन्धित फिचरहरू
दुर्गम गाउँमा अन्धविश्वासकै त्रासले सुरक्षित प्रसूतिकै चिन्ता
सुरक्षित प्रसूतिका लागि भन्दै नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था छ । घरमै…
गोरेटो बाटो र सिटामोलको अभावमा बाँच्न बाध्य तिंकरबासी
आफ्नै गाउँ जान पनि भारतीय अनुमति लिएर हिँड्नु पर्ने ठाउँ हुन्, जिल्लाको व्याँस गाउँपालिका–१ स्थित दुई ओटा बस्ती छाँगरू र तिंकर । सदरमुकाम खलंगाबाट १ सय ३० किलोमिटर टाँढाका यी गाउँ…
बाढीपहिरो प्रभावित जोडु विद्यालय : विद्यार्थीलाई पढ्ने भन्दा भत्किने डर
जुम्लाको दुर्गम भेगको स्कूल । पुराना भौतिक संरचना । चारैतिर भत्किएका पर्खाल । जहाँ भत्किएका पर्खाल भित्र विद्यालयमा विद्यार्थीको पठनपाठन । सिंजा गाउँपालिका – ६ जोडुस्थित श्रीमाध्यामिक विद्यालय लामो समयदेखि…
ज्यान जोखिममा राखेर न्याघरी नदी छिचोल्दै बालबालिका (फोटो फिचर)
सिगास गाउँपालिका–७ स्थित न्वाघरी नदीले यहाँका सयौँ बालबालिकाको सपना बगाइसकेको छ । तीन जना बालबालिकाहरु न्वघरी नदीमा विलय हुनुभएको छ । सयौँ बालिबालिका न्याघरी छिचोल्न नसकि पढ्ने समनालाई कक्षा तीनमै…
आमासँगै कारागारमा बसेर सजाय भोग्दै निर्दोष बालबालिका
वरिपरि अग्ला अग्ला पर्खाल त्यहिमाथि काँडेतार । चिसोमा मुटु काँप्दै, गर्मीमा लथरम्म पसिनाले शरीरपुरै भिजेको । यो दृश्य चार दिवालभित्रको पक्की भवनको महिला बन्दी गृह हो । सुर्खेत कारागारमा ३३…