तपाईलाई भोट दिए मेरो मान्छे फर्काउन सक्नुहुन्छ ?

संविधानसभा निर्वाचनमा द्वन्द्व पीडितहरूमा उमङ्ग भन्दा आक्रोस बढिरहेको छ । मलिन अनुहारमा आफन्तलाई चाडबाडमा जस्तै गरी निर्वाचनको मुखमा पनि आफ्ना स्वर्गीय पतिलाई कालेश्वरकी हरिमाया तामाङ सम्झन्छिन् । आँखा रसाएका रसाएकै छन् । अक्क न बक्क अवस्थामा उनले मुटु भक्कानो पार्दै निर्वाचन अरु कसैका लागि होला भन्छिन् । उनको जस्तै पीडा आफ्ना छोरा गुमाएका आमा बाबालाई पनि परिरहेको छ । के साँच्चै चुनावले हाम्रो चित्त बुझाउन सक्ला त ? उनीहरूको मनमा यस्तै प्रश्नहरू उरालिएर आउँछन् । रातो झण्डा देख्ने बित्तिकै आफन्तकै अनुहार झलझली सम्भन्छन् उनीहरू ।

 

हिजो माओवादी द्वन्द्वका बेलामा पीडामा परेकाहरू पाएकाहरू अहिले कठालो समातेर हाम्रो मान्छेलाई किन मारेको हिसावकिताव देखाउ भन्दै प्रतिवादमा उत्रन थालेका छन् । यस्तो घटना अन्यत्र भएको भएपनि लुकाइएको छ । तर, कालेश्वर र शंखुमा भएका घटनाहरू भने सार्वजनिक नै भए । तत्कालीन द्वन्द्वको अवधिमा माओवादीले कालेश्वरमा आमा बाबासँग खाना खाएर सुतेका १६ वर्षीय बालक देवीप्रसाद दाहाललाई घरबाट अपहरण गरी घर नजिकै लगेर हत्या गरेका थिए । त्यस्तै सामाजिक न्याय र मानवअधिकार अभियानमा संलग्न माणिकलाल वाइवालाई पनि खाना खाएर परिवारसँगै सुतेको अवस्थामा घरैबाट अपहरण गरी नजिकैको घट्टेखोलामा पुर्‍याई घाँटी रेटी माओवादीले हत्या गरेका थिए । ती हत्याहरूको आक्रोस जनमानसमा निर्वाचनमा मुखमा देखिन थालेको छ । अहिले उनीहरू एकीकृत माओवादी उम्मेदवारलाई सोध्न थालेका छन् के तपाईलाई भोट दिए मेरो आफन्त फर्काउन सक्नुहुन्छ ?

 

आफूसँगै सुतेको आफ्नै सन्तानलाई काखबाट खोसेर बिनाकारण हत्या गरिएको घटनालाई कसले पो बिर्सन सक्ला र ? सँगैको जीवसाथीको हत्याले घरका अन्य सदस्यलाई कस्तो पीडा होला ? शोकले आक्रोसको रुप लिँदा कस्तो हुन्छ भन्ने उदाहरण खोज्न देशका दूरदराजसम्म पुग्नै पर्दैन । काठमाडौं उपत्यकाको ललितपुर जिल्लामा हालसालै भएका दुई ओटा सामान्य घटनाले दीर्घकालीन असरका सङ्केत देखाएका छन् । केवल हत्याको कारण सोध्दा ललितपुरका माओवादी कार्यकर्ताहरू उत्तर दिन नसकि भोट माग्ने कामलाई थाँती राखेर सदरमुकाम फर्केका छन् ।

 

ललितपुरमा मात्रै द्वन्द्वको अवधिमा राज्य तथा गैरराज्य पक्षबाट ५७ जनाको हत्या गरेको अभिलेख इन्सेकसँग छ । इन्सेककै अभिलेख अनुसार द्वन्द्वको अवधिमा ललितपुर स्थायी घर भएका ५७ जना गैरराज्य पक्षबाट मारिएका छन् । ललितपुरमा भने गैरराज्य पक्षबाट ४६ जनाको हत्या भएको छ । कालेश्वरका विद्यार्थी देवीप्रसाद दहाल र मानवअधिकारकर्मी माणिकलाल वाईवालाई सुराकीको आरोपमा माओवादीले हत्या गरे । त्यसको आक्रोस अघिल्लो निर्वाचनमा पोख्न नसकेर चुपचाप बस्न बाध्य भए । माओवादीको चलखेल र धम्कीका कारण त्यतिबेला चुपचाप बस्न बाध्य भएको कालेश्वरका एक स्थानीयले प्रतिक्रिया दिए । उनले भने तर, अहिले भने त्यसको प्रतिवादमा उत्रेका छौँ । ज्यान मारेको हिसाब नबुझाए सम्म हामी निर्दयीहरूका हातमा मत पर्न दिँदैनौ । १६ वर्षको बालकलाई के आधारमा सुराकी भनेर मारियो । त्यसको जवाफ चाहियो । कालेश्वरमा मत माग्न पुगेका एकीकृत माओवादी उम्मेदवार हरि दहालसहितको प्रचार टोलीलाई दहाल र वाईवा हत्याको जवाफ माग गरेपछि केही बेर विवाद नै भयो । अन्ततः उत्तर दिन नसकेपछि निर्वाचन प्रचार टोली त्यहाँबाट फर्कियो ।

 

शंखुकी गोरीमाया लामालाई नेकपा एमालेलाई समर्थन गरेको आरोपमा माओवादीले घरैबाट अपहरण गरेर लगे । अपहरणमात्रै गरेनन् निर्दयताका साथ उनीहरूले हत्या गरे । शंखु गाविस-८ निवासी नेकपा एमाले गाउँ परिषद् सदस्य गोरीमाया लामालाई घरमा सुतिरहेको अवस्थामा ०६१ जेठ १० गते राति ८ बजे माओवादीका कार्यकर्ताहरूले अपहरण गरे । उनको लास मकवानपुर जिल्लाको मन्थली गाविसमा ०६१ असार ६ गते आँखा निकाली स्तन काटी हत्या गरेको अवस्थामा फेला परेको थियो । त्यही हत्या अहिले माओवादीलाई राजनीतिमा ठूलो अवरोध भएर आएको छ । शंखुमा मत माग्न पुगेको एकीकृत माओवादी उम्मेदवार हरि दहालसहितको निर्वाचन प्रचार टोलीमाथि गोरीमायाका छोरा जाइलागे । गोरीमायाका कान्छा छोरा राजेन्द्र लामाले गोरीमायालाई हत्या गरेको कारणहरू पुष्टि गर्न माग गर्दै माओवादीका एक कार्यकर्ताको कठालो समातेपछि प्रचारटोलीमा सँगै पुगेका सुरक्षाकर्मीले छुट्याएका थिए । त्यसपछि माओवादी टोली शंखुमा घरदैलो कार्यक्रम नगरी सदरमुकाम फर्केको थियो ।

 

राजनीतिमा लागेकाहरूको परीक्षा भनेकै निर्वाचन हो । तत्कालीन समयमा ठूलो सङ्ख्यामा हत्या गर्ने सरकारी सुरक्षाकर्मीहरूले आमनागरिकसँग अध्यावधिक हुन गइरहनु पर्दैन । उनीहरूको कारबाही गर्ने प्रक्रिया प्रशासनिक मात्रै हुन्छ । तर, राजनीतिक दलहरू भने अध्यावधिक हुन आम मतदाताहरूको माझ गइरहनु पर्छ । त्यसकै परिणाम स्वरुप हत्या हिंसाको राजनीति गरेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादीले द्वन्द्व पीडितहरूकाबीच आफन्त मारिनुको उचित कारण दिन नसकेकै कारण र क्षमा माग्नुको सट्टा उल्टै धम्कीपूर्ण भाषा प्रयोग गरिरहेकै कारण निर्वाचनमा समस्या आएको हो ।

 

निर्वाचनका अरुका लागि महाकुम्भ मेला भएपनि ललितपुरको कालेश्वर र शंखुका जस्तै देशैभरका द्वन्द्व पीडितका लागि कागलाई बेल पाक्यो कौवालाई हर्ष न विस्मात भनेजस्तै भएको छ । बरु झन उनीहरूको पीडालाई बल्झाउने समय बनेको छ निर्वाचन । निर्वाचनको माहोल जताततै आए पनि यी द्वन्द्व पीडितको घरमा पुग्न सकेको छैन । केवल आक्रोसको ज्वाला दन्किरहेको छ उनीहरूको मनमा । जबसम्म द्वन्द्व पीडितको समस्या सम्बोधन हुन सक्दैन तबसम्म आक्रोसको ज्वाला ननिभ्ने बताउँछन् शंखुका राजेन्द्र लामा । आमा गुमाएको बेलादेखि आँशुकै आहालमा पौडी खेल्न बाध्य भएका लामा अब आँशुलाई आक्रोसमा बदल्न सकेको बताउँछन् । द्वन्द्व पीडितहरू एकीकृत माओवादी उम्मेदवारलाई एकै स्वरमा सोधिरहेका छन् के तपाईलाई भोट दिए मेरो मान्छे फर्काउनुहुन्छ ?

रमेशप्रसाद तिमल्सिना

-