डरले सधैँ पछि पार्‍यो, आत्मविश्वासले जीउन सिकायो ।

सुर्खेत । ०७९ फागुन १९ गते

घरभन्दा बाहिर निस्कने आँट कहिल्यै आएन । खुसी बाँड्ने र दुःख सुन्ने कोही पनि थिएन् । जीवन परनिर्भर थियो । कहिलेकँही यस्तो लाग्थ्यो जिन्दगी अब यही सम्म हो । कोही कसैसँग ढुक्कले बोल्न सक्ने साहस थिएन । मुखबाट बोली फुट्नु भन्दा पहिला आँखा रसाउँथे । जोडले चिच्याउँदै रुन मन लाग्थ्यो । जिन्दगी साँच्चिकै एक्लो भएको थियो । यस्तै जीवन बिताइरहेकी वीरेन्द्रनगर नगरपालिका–१ की तुलसी गिरीको जीवनमा अहिले नयाँ मोड आएको छ ।

१७ वर्षकै उमेरमा भागेर प्रेमविवाह गर्नुभयो । ‘प्रेमले सबै थोक बिर्साउँदो रहेछ ।–उहाँ भन्नुहुन्छ–‘जन्मदिने बुवाआमा सहितको माइती घर त्यागेर भागेर प्रेम विवाह त गरे तर मेरो घरपरिवारले मलाई बुहारीको रुपमा त्यो घरमा कहिल्यै स्वीकार गर्नुभएन ।’ घर परिवारले स्वीकार नगरेपछि उहाँका दम्पती घर भन्दा बाहिर कोठा भाडामा बस्दै आउनुभएको थियो । कक्षा १२ पढ्दै गर्नुभएकी गिरीले विवाहपश्चात पढ्न पनि छोड्नुभयो । पतिको जागिरले खानलाउन पुगेकै थियो । त्यसबखत कुनै कुराको अभाव भएको महसुस नभएको उहाँ बताउनु हुन्छ ।

०७९ वैशाख २ गते क्यान्सरका कारण उहाँका पतिको निधन भयो । यो घटनाले उहाँ साच्चिकै टुट्नुभयो । यो अवस्थामा समेत उहाँका घरपरिवार तथा आफन्तले साथ समेत त के हैसला समेत दिन सकेनन् । पतिको मृत्यु पश्चात उहाँ पाँच वर्षको छोरा लिएर माइतीमा बुबाआमासँग बस्न थाल्नु भयो । पटकपटक घरपरिवारसँग बासका लागि आग्रह गर्दा अपहेलना र तिरस्कारले उहाँलाई मर्नु न बाँच्नुको बनायो ।  पतिको मृत्युपछिका करिब चार महिना उहाँका दिन बन्द कोठा भित्र बिते ।

छोराका सामुन्ने  सारा जिन्दगी बाँकी थियो तुलसीको । ‘तर, कसरी अगाडि बढ्ने ? मेरो लागि न त समाउने हाँगा थियो न त टेक्ने कुनै खड्किलो नै !’–तुलसीले भन्नु भयो ।  छोराको भविष्य र आफ्नो न्यायका लागि पनि अदालतसम्म पुग्नुपर्छ भन्ने आफन्तमार्फत सुझाव पाएपछि उहाँले  साउन १५ गते अदालतको ढोका ढक्ढक्याउन पुग्नु भयो ।

न्याय पाउने झिनो आशा बोकेर हिँड्नुभएकी उहाँ अनौपचारिक सेवा केन्द्र (इन्सेक)सँग जोडिन आइपुग्नु भयो । आफ्नो पिडा र अन्यायलाई कानुनी प्रक्रियामा जानको लागि उहाँले इन्सेकसँग सहयोगको माग गर्नुभयो । इन्सेकले पनि उहाँको न्यायका लागि ५ हजार रुपियाँ  सहयोग ग¥यो । यसरी इन्सेकसँग जोडिएसँगै उहाँको जिन्दगीले नयाँ मोड लिन पुग्यो । इन्सेकले भदौ ६ गते उहाँलाई वीरेन्द्रनगरको मानव अधिकार रक्षकका रूपमा का मगर्ने अवसर दियो ।  उहाँले भदौ ७ गते कार्यालयले आयोजना गरेको मानव अधिकार रक्षकका लागि तीनदिने मनोसामाजिक प्राथमिक उपचार विषयक तालिममा सहभागी हुने अवसर पाउनु भयो ।  यो तालिमले  जिन्दगीमा नयाँ जोश र जाँगर ल्याएको उहाँ बताउनु हुन्छ ।  त्यतिमात्र होइन इन्सेकले आयोजना गरेका विभिन्न कार्यक्रममा उहाँ सहभागी हुन थाल्नु भयो ।  पहिला आफ्नो सामान्य परिचय दिँदा डराउने उहाँमा  विस्तारै आफ्ना समस्या समेत सबैको सामु राख्न सक्ने साहस  आयो ।

उहाँ भन्नुहुन्छ–‘मेरो यो सफलता र मेरो जिन्दगीमा आएको जुन परिवर्तन छ यसको श्रेय म इन्सेकलाई दिन चाहान्छु । इन्सेक मेरो जीवनको संबाहक हो । मेरो सफलताको प्रतीक  हो । जसले मलाई यहाँसम्म ल्याउन सहयोग गर्‍यो । जसले मेरो छुटेको पढाइलाई समेत निरन्तरता दिने हौसला प्रदान ग¥यो । जसले मलाई जिन्दगी जिउन साहास प्रदान गर्‍यो।’

तुलसीले आफ्नो छुटेको पढाइलाई निरन्तरता दिनको लागि मध्यपश्चिम विश्वविद्यालयमा समाजशास्त्र सङ्कायको स्नातक तहमा अध्ययन थाल्नु भएको छ । उहाँ भन्नुहुन्छ–‘मलाई समाजशास्त्रमा स्नातकोत्तर  गर्न मन छ । र, यही समाजमा रहेर समाज सेवा गर्न मन छ ।’ अब आउने समस्याले कुनै असर नगर्ने निडरता उहाँमा पैदा भएको छ ।  डराउनु, हरेस खानु, परनिर्भनर बन्नुभन्दा आफ्नो जिन्दगी आफ्नै तरिकाले चलाउने र आफैँमा खुसी हुने बाटो खोज्नु नै खास जिन्दगी रहेछ ।

उहाँको जीवनमा साँच्चिकै परिवर्तन आएको छ । पहिला डरले लरबराउने बोली अहिले अरुलाई सुनुँसुनुँ बनाउने बनेको छ ।  तुलसीले आत्मनिर्भरताको बाटो रोज्नुभएको छ । अहिले सहकर्मी समाजमा सामुदायिक प्रशिक्षकको रुपमा उहाँको जागिरे जीवन सुरु भएको छ भने जिल्ला अदालत सुर्खेतबाट उहाँले आफ्नो न्याय र अधिकारका लागि दिनुभएको निवेदेन पनि प्रक्रियामा छ । उहाँले अहिले जिन्दगी जीउने थुप्रै आधार देख्न थाल्नुभएको छ । जिन्दगीलाई साँच्चिकै रमाइलो देख्न थाल्नुभएको छ ।

 

Photo20230303Surkhet

- प्रभाकुमारी रावत