जोखिममा कर्णालीका बालबालिका, वर्षेनी सयौंको संख्यामा हराउँछन्

सुर्खेत । ०८० असाेज २६ गते

कर्णाली प्रदेशका तीन बालक ०७९ फागुन २ गतेदेखि सम्पर्कविहीन छन् । वीरेन्द्रनगर नगरपालिका—११ का १३ वर्षीय भुपेश सुनार, मुगुको छायाँनाथ रारा नगरपालिका —३ का १३ वर्षीय सन्देश कार्की र दैलेखका १४ वर्षीय भुपेन्द्र चन्द ठकुरी फागुन २ गतेदेखि समपर्कविहिन हुनुभयो । उहाँहरू तीनै जना वीरेन्द्रनगर—११ स्थित नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयमा कक्षा सात अध्ययनरत हुनुहुन्थ्यो ।

कक्षाका साथीहरूसँग ‘खेल्न जान्छौ’ भनेर  विद्यालय पोसाकमै निस्किनुभएका उहाँहरुको अहिलेसम्म अत्तोपत्तो लाग्न सकेको छैन ।

पढ्न गएको नाति घर नफर्किएपछि भुपेशका हजुरबुवा यामबहादुर सुनार चिन्तित हुनुहुन्छ । ‘२ गते विद्यालयमा फागुन २ गते पढ्न गएको नाति घर फर्किएन । दुई छोराको एक्लो नाति हराउँदा चिन्तामाथि चिन्ता थपिएको छ,’यामबहादुरले भन्नुभयोे, ‘ प्रहरीमा खोजीका लागि फागुन ७ गते निवेदन दियौं । अहिलेसम्म कुनै खबर मिलेको छैन ।’ यामबहादुरका दुई छोरा मध्ये कान्छो छोराबाटको नाति हुनुहुन्छ भुपेश । जेठो छोराबाट सन्तान भएका छैनन् । भुपेशकी आमाले सानै उमेरमा छोडेर अर्को विवाह गर्नुभयो । भुपेशका बुवा भने भारतमा मजदुरी गदै आउनुभएको छ ।

आफ्नो एक्लो नाति हराउँदा सात महिनादेखि भोक र निन्द्रा लाग्नै छोडेको भुपेशकी हजुर आमा अमृता सुनारले सुनाउनुभयो ।‘पिठ्यूँको ओछ्यान र छातिको सिरानी बनाएर पालेको मेरो एक्लो नाति एकाएक सम्पर्कविहीन भयो । कसले खोजेर ल्याइदेला उसलाई,’भक्कानिदै अमृताले भन्नुभयो, ‘मेरो नाति त्यस्तो हराउने थिएन । खै कसले कहाँ लियो । कतिबेला घर आउँछ । बज्यै भोक लाग्यो भनेर बोलाउँछ भन्ने लाग्छ ।’

त्यस्तै गरी, मुगुका सन्देश कार्की वीरेन्द्रनगर सुर्खेतमा मामा सुनिल रावलसँग डेरामा बसेर विद्यालय जानुहुन्थ्यो । आफ्ना भाञ्जाको अहिलेसम्म स्थिति बुझ्न नपाउँदा मनमा अनेकन कुरा खेल्ने गरेको सुनिलले बताउनुभयो ।

‘फागुनबाट अहिलेसम्म भाञ्जा लगायत अन्य दुई जनाको पनि केही खबर आएको छैन । प्रहरीले पनि योे घटनाको वास्तविकता सार्वजनिक गर्न सकेको छैन,’सुनिलले भन्नुभयो, ‘हामीले कहाँबाट कसरी खोज्ने ? विभिन्न ठाउँमा खोजी त गरिरहेका छौं । तर, हामीबाट त्यो सम्भव भएन ।’ सन्देशका बुबा गणेश कार्की रोजगारीको लागि तीन वर्षदेखी साउदीमा छन् । उनीहरु हराएको पाँच दिनपछि फागुन ६ गते सन्देशका काका नाता पर्ने हिक्मत रोकायको फेसबुकमा राहुल तामाङ नामक अपरिचत फेसबुक आइडीबाट म्यासेन्जरमा ‘हेल्लो काका म सन्देश हो के’ भनेर म्यासेज आएको थियो । त्यसपछि हिक्मतले केही मिनेट भिडियो कलमा कुरा गर्ने प्रयास गर्नुभयोे । कहाँ छौं भनेर उहाँले सोध्नुभयो । तीन मिनेट भिडियो कल गर्नुभएका उहाँले न आफ्नो अनुहार देखाउनुभयो । नत आवज नै । हिक्मतले आफ्नो मोबाइल नम्बर म्यासेजमा छोड्दै सम्पर्क गर्न अनुरोध गर्नुभयो । तर, उताबाट कुनै जवाफ आएन ।

त्यसपछि सन्देशका आफन्तले उक्त फेसबुक आईडीबाट मोबाइल नम्बर मागे । उताबाट ९८२८२१२८९४नम्बर आयो । त्यहि नम्बरमा फोन गरेर कुरा गर्दा ‘सन्देशको बुवाले उसलाई लिइसक्यो । यहाँ छैन उ भनेर जबाफ आउँछ । त्यसपछिका दिनमा उक्र मोबाइल नम्बरमा अहिलेसम्म सम्पर्क हुन नसकेको आफन्तले गुनासो गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले हराएका तीनै जना बालकको खोजीका लागि प्रहरीका सबै युनिटमा पठाइसकेको र अनुसन्धान भइरहेको बताएको छ । ‘बालकहरु हराएको खबर आएपछि प्रहरीले सबै जिल्लामा समन्वय गर्यों । उनीहरुसँग मोबाइल नम्बर र सुचना छिटो आए सहज हुन्थ्यो,’जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मणबहादुर शाहीले भन्नुभयोे, ‘आफन्तसँग कुरा गरेको फेसबुक आइडी साइबर ब्युरो काठमाण्डौं पठाएका छौं । रिप्लाई आएको छैन ।’ यो घटनामा प्रहरीले निरन्तर फ्लोअप गरिरहेपनि त्यस्तो ठोस सुचना पाउन नसकेको डिएसपी शाहीको भनाइ छ ।

वर्षेनी सयौंको सङ्ख्यामा हराउँछन् बालबालिका ?

पछिल्ला केही वर्ष यता कर्णालीबाट बालबालिका हराउने क्रम बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/०८१को साउनदेखि असोजसम्म मात्रै ४२ बालक र ५४ बालिका कर्णालीबाट हराएका छन् । जसमध्य १३ बालक र ११ बालिका भेटिएका छैनन । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा कर्णालीका १० जिल्लाबाट ४ सय १४ जना बालबालिका हराएका छन् । जस अनुसार सुर्खेतका ५६ बालक १ सय २२ बालिका, दैलेखका ११ बालक ३६ बालिका, जाजरकोटका १० बालक १८ बालिका, सल्यानका १५ बालक २२ बालिका, रुकुमपश्चिमका १२ बालक १४ बालिका, कालिकोटका १३ बालक १३ बालिका, हुम्लाका ५ बालक ३ बालिका, मुगुका १४ बालक ६ बालिका, डोल्पाका २ बालक ४ बालिका, जुम्लाका १४ बालक २४ बालिका हराए । ४ सय १४ जना बालबालिका मध्य १ सय ३२ बालक र २ सय ४५ बालिका प्रहरीको सहयोगमा भेटिए । २० बालक र १७ बालिका भने अझै फेला परेका छैनन् ।

आर्थिक वर्ष २०७८/०७९ मा १ सय ५६ बालक र २ सय ५५ बालिका हराए । १ सय ३७ बालक र २ सय ४० बालिका भेटिए तर, १९ बालक र १५ बालिका अझै भेटिएका छैनन् । त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा १ सय ३८ बालक र १ सय ७१ बालिका ३ सय ९ जना हराए । १ सय ३१ बालक र १ सय ५७ बालिका भेटिएपनि ७ बालक र १४ बालिका बेपत्ता रहेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा १ सय २६ बालक र १ सय ४५ बालिका हराए । १ सय २४ बालक, १ सय ४५ बालिका भेटिएपनि ३ बालक र ४ बालिका भेटिएनन् ।

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १ सय ७३ बालक २ सय १ बालिका हराए । १सय ७० बालक र १ सय ९५ जना बालिका भेटिए । तर,  ३ बालक र ६ बालिका भेटिएनन् । आर्थिक वर्ष २०७४/०७५ मा १ सय ८० बालक र १ सय ४३ बालिका हराएका थिए । ५५ बालक र ४९ बालिका गरी १ सय ४ जना फेला परेनन् । आर्थिक वर्ष २०७३/०७४ मा १ सय ५८ बालक र १ सय २९ बालिका हराएका थिए । तीमध्ये ५१ बालक र ३६ बालिका अझै फेला परेका छैनन् । कतिपयलाई प्रहरीले उद्दार गरेपनि अधिकांश बालबालिका भने नभेटिएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

बालबालिकाले घर छोडेपछि प्रहरीमा हराएको सुचना आउने र अभिावक आफैले भेटेपनि प्रहरीमा सम्पर्क नगर्नाले तथ्याङ्कमा हराएको संख्या बढी देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक गोपालचन्द्र भट्टराइले बताउनुभयो । ‘उमेर नै नपुगी आफुखुसी विवाह गरेको, साथीहरुको लहैलहमा लागेर भारत गएका जस्ता घटना ल्याएर खोजी पाउँ भन्दै प्रहरीमा अभिभावक आउनुहुन्छ । पछि भेटियो या घर आएपछि त्यो खबर आउँदैन,’प्रवक्ता भट्टराईले भन्नुभयोे, ‘त्यो बाहेक मेलापात, बाटोमा हराएका र बेचविखनमा परेका बालबालिकालाई प्रहरीले खोजी गरि उद्दार गरेको छ ।’

प्रवक्ता भट्टराईले पहिला खोज्ने आउने र पछि भेटिए जानकारी नदिने प्रचलनले तथ्याङ्मा वृद्धि भएको भन्दै बालबालिकाको सुरक्षामा प्रहरी चनाखो भएर काम गरिरहेको बताउनुभयो ।
कर्णालीका बालबालिकालाई घरेलु हिंसा, लैङ्गिक हिंसा, प्राकृतिक विपत्ति र भौगोलिक विकटताबाट जोखिम रहेको उहाँको भनाइ छ ।

कुल जनसङ्ख्याको ४० प्रतिशत बालबालिका

कर्णाली प्रदेशको कुल जनसंख्या  १६ लाख ८८ हजार  ४१२  मध्ये ४० प्रतिशत बालबालिका छन् । २०७८ सालको जनगणना अनुसार यसमध्ये ६ लाख ७७ हजार ४८ जना बालबालिका छन् । जसअनुसार तीन लाख ४५ हजार ४२९ जना बालक छन् भने तीन लाख ३१ हजार ५५६ जना बालिका छन् ।

बालबालिकाको अधिकार संरक्षण गर्नका लागि परिवार, समुदाय र सरकारको भूमिका महत्वपुर्ण रहेपनि त्यसतर्फ ध्यान जान नसकेको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताउनुभयो ।
आर्थिक विपन्न र जोखिममा परेका बालबालिकालाई सरकारले उनीहरु लक्षित नीति तथा कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्ने संयोजक सुवेदीले बताउनुभयो । हराएका बालबालिकाको खोजी गरी उनीहरुको अवस्था बारे परिवारलाई जानकारी गराउनुपर्ने राज्यको दायित्व रहेको संयोजक सुवेदीको भनाइ छ ।

आर्थिक र सामाजिक रुपले कमजोर कर्णालीमा बालबालिका जोखिममा रहेको महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था आवाजकी कार्यकारी निर्देशक पवित्रा शाहीले बताउनुभयो ।
उहाँलेप्रदेशका साढे ६ लाख बालबालिका मध्ये आधा बालबालिकालाई विभिन्न कारणले संरक्षणको आवश्यकता रहेको बताउनुभयो । ‘विभिन्न कारणले यहाँका बालबालिका बढी जोखिममा छन् । आर्थिक समस्याका कारण पढाइ छोडेर भारत लगायतका ठाउँमा काम गर्न बाध्य छन् । त्यसलाई रोक्न सरकारले पनि चासो देखाएर काम गर्नपर्यो,’निर्देशक शाहीले भन्नुभयो, ‘यहाँ बालबालिकालाई पढाई र रोजगारीका लागि बाहिर सहजै लिन सक्ने स्थिति छ । त्यसमा थप कडाई गरेर काम गर्न जरुरी छ ।’

उहाँले बालबालिकाको अवस्थाबारे स्थानीय तहमा उनीहरुको तथ्याङ्क राख्नुपर्ने भन्दै शिक्षा, रोजगारी दिने नाममा बालबालिकालाई अभिभावकले बाहिर नपठाउन सचेतनाको आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार कर्णालीका ४१ हजार बालबालिका बालविवाहको शिकार भएका छन् । त्यस्तै १ लाख ३७ हजार बढी बालबालिका बालश्रम गर्न बाध्यका छन् । उनीहरू पारिवारिक, भौगोलिक, अभिभावकको चेतनाको कमी जस्ता कारणले श्रममा लाग्न बाध्य भएको निर्देशक शाहीको भनाइ छ ।

Photo20231013 Surkhet (2)

Photo20231013 Surkhet (1) Photo20231013 Surkhet (3)

- जगतदल जनाला विक