जीवनभर डुङ्गा तार्ने व्यक्ति नै वारी न पारीका भए !
१० वर्ष अघिसम्म गजवीर बोटेलाई कालीगण्डकी नदीमा डुङ्गा तार्न भ्याइ नभ्याई थियो । बगनासकाली गाउँपालिका–७ दैलातुङका ८२ वर्षीय गजवीर बोटेले आफ्नो जीवनका ६० वर्ष डुङ्गा वारी पारी गरेरै बिताउनु भयो । स्याङजा र पाल्पाको सङ्गम स्थलमा रहेको कालीगण्डकी नदीमा उहाँले दैनिक ३०/३५ जनालाई डुङ्गाबाट वारीपारी गराउन हुन्थ्यो । त्यसैको आम्दानीबाट उहाँको गुजारा राम्रै चलेको थियो । कालीगण्डकी नदीमा झोलुङगे पुल बनेपछि उहाँ डुङ्गा चलाउने पेशाबाट बिस्थापित हुनुभयो ।
चौरासी गर्ने बेला भइसकेको बुढ्यौली शरीर । बुढ्यौलीले कुप्री परेर हिड्नु हुन्छ गजवीर । गत फागुनमा गोठमा आगो लागेपछि उहाँलाई झनै समस्या भयो । आजकल झिसमिसे बिहानीदेखि साँझसम्म गोठ बनाउने काममा सकि नसकी उहाँ खटिनुहुन्छ । गोठ बनाउनका लागि सहयोग माग्न वडा कार्यालय र गाउँपालिका कार्यालयमा आफू पुगेपनि सहयोग कसैबाट पनि नपाएको उहाँले बताउनु भयो । “पानीबाट जोगाउन फालिएका टिन र त्रिपाल बटुलेर भएपनि गोठ बनाउँदैछु ।” उहाँले भन्नुभयो ।
दैलातुङ गाउँ कालीगण्डकी नदी किनारमा अवस्थित छ । यहाँका बोटेको मुख्य पेशा नै डुङ्गा तार्ने थियो । दैलातुङ्गदेखि पाल्पाको बगनासकाली, तानसेन तथा स्याङ्जाको कालीगण्डकी र गुल्मीसम्मका मानिस कालीनदी तरेर आउने जाने गर्थे । तर पुल बनेपछि आफूहरू पेशाबाटै बञ्चित हुनुपरेको उहाँले बताउनु भयो । “झोलुङ्गे पुल बन्यो, मानिसहरु पुलबाटै आउन जान थाले हाम्रो डुँगा पनि कालीगण्डकी नदीको भेलसँगै बग्यो ।” गजवीरले भन्नुभयो । डुङ्गा बगेसँगै हाम्रो रोजीरोटीको आधार पनि सधैका लागि गुम्यो उहाँले भन्नुभयो ।
बोटे समुदायकै अगुवाको रुपमा रहनुभएका गजवीरको डुङ्गा वारीपारी गराएर मान्छे तार्ने मात्रै हैन व्यवस्था परिवर्तन गर्ने आन्दोलनमा पनि महत्वपूर्ण भूमिका छ । पञ्चायत कालमा जनता पक्षबाट अगुवाई, २०४७ मा बहुदलको आन्दोलन र २०६२–०६३ को जनआन्दोलनमा पनि गजवीर सक्रियतापूर्वक लाग्नुभएको थियो । “धेरै व्यवस्था बदलियो तर अवस्था फेरिएन ।” उहाँले भन्नुभयो ।
यही वडाबाट राजनीति गरेर यहाँका व्यक्तिहरु मन्त्री सम्म भइसकेका छन् । राजनीति तथा सामाजिक क्षेत्रमा यहाँका धेरै व्यक्तिहरू माथिल्लो तहमा पुगेका छन् तर बोटे जातिको उत्थानका लागि कसैको पहल भएकै छैन । “चुनावका बेला मात्रै भोट माग्न आउने र अरू बेला के खायौ कसरी बसेका छौं भनेर पनि कसैले सोध्दैनन् ।” गजवीरले दुखेसो गर्नुभयो ।
गजवीर पोहोरसम्म सानो खरको घरमा उहाँ बस्नुहुन्थ्यो । हालै जनता आवास कार्यक्रम अन्र्तगत दुई कोठे टिनको छानो लगाइएको घरमा गजवीर आफ्नी ६८ वर्षीया पत्नीसँगै बस्दै आउनु भएको छ । उहाँका ६ छोरा र ४ छोरी पनि छन् तर कोही पनि साथमा छैनन् । सबै जनाको बिहेबारी भयो र सबै आ–आफ्नै कर्ममा छन् । छोरा छोरी जति भएपनि हामी बुढाबुढीलाई बिरामी पर्दा कसरी उपचार गर्ने र बिहान साँझको गर्जो कसरी टार्ने भन्ने चिन्ता उस्तै छ । उहाँले भन्नुभयो ।
दैलातुङमा बोटे समुदायका १७ घर छन् । अहिले दैलातुङमा बोटे समुदायको जनसङ्ख्या १ सय २० छ । २०६८ सालको जनगणनाअनुसार देशभर बोटे जातिको जनसङ्ख्या १० हजार छ । पाल्पामा भने यो जातिको जन सङ्ख्या ८ सय ३ छ । जसमा महिलाको सङ्ख्या ४ सय ३९ छ भने पुरुषको सङ्ख्या ३ सय ६४ छ । पाल्पाको कुल जनसङ्ख्या २ लाख ६१ हजार १ सय ८० रहेकामा जिल्लामा बोटे समुदायको जनसङ्ख्या भने ०.३१ प्रतिशत हुन आउँछ । त्यस्तै ६ सय ७१ बोटेले मातृभाषा बोल्छन् । कुल जनसङ्ख्याका आधारमा मातृभाषा बोल्नेको प्रतिशत ०.२६ छ । पाल्पाबाहेक चितवन, उदयपुर, मकवानपुर, तनहुँलगायतका जिल्लामा समेत बोटे जातिको बसोबास रहेको पाइन्छ ।
अन्यत्रका बोटे जस्तो यहाँका बोटेले गण्डकी किनारमा सुन खोज्ने काम गर्दैनन् । यहाँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक तथा भारत गएका छन् । छिमेकमा रहेका ब्राह्मण, मगर समुदायका व्यक्तिका घर र बोटेका घर त्यसै पनि फरक छन् । अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरैजसो घर झुपडी र टिनको छाप्रोयुक्त छन् । वैदेशिक रोजगारीका अलावा पुरुषहरू सिकर्मी/डकर्मी काम गर्ने, वल्लो पल्लो घरमा ज्याला मजदूरीमा काम गर्न जाने गर्छन् भने महिलाहरू छिमेकीका घरको काम धन्दासँगै उनीहरूका खेतबारीको काम पनि गर्छन् । यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जमिन छैन । त्यसैले उनीहरूले आफ्नो उत्पादनले नपुगेको समयावधिभर किनेर खानुपर्ने अवस्था छ ।
कमाउन सक्ने जति कोही भारत गए, कोही नेपालकै विभिन्न ठाउँमा पुगेका छन् । आर्थिक उन्नतिको अवसरका लागि बोटे समुदायका मानिस पनि यहाँबाट अन्त बसाइँ सर्ने क्रम बढेको छ । कालीगण्डकी नदीमा डुङ्गा तार्ने र माछा मार्ने पेशा सङ्कटमा परेपछि यहाँका बोटे समुदायका मानिस हातमुख जोर्नका लागि गाउँ छाड्दै गएको गजवीरले बताउनु भयो ।
- यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित फिचरहरू
त्रिपालमुनि भविष्य खोज्दै कलिला बालबालिका !
कठ्याङ्ग्रिदो जाडो, अत्याधिक चिसोमा त्रिपालमुनि चटाई विच्छाएर कखरा सिक्दैछन्, महाकाली नगरपालिका वडा नम्बर २ स्थित भुवनेश्वरी आधारभूत विद्यालय पण्डारोमा अध्ययनरत कलिला बालबालिकाहरु । गत भदौ २४ गते आएको बाढीका कारण…
सानै उमेरमा गरिएको विवाहले लुटिएको खुसी
मलिन अनुहार, सामान्य पोशाक, पछ्यौरीले छोपिएको उनको टाउको । अदालत बाहिरको चौरमा उभिएकी । उनको ध्यान जिल्ला अदालतको झ्यालमा केन्द्रित थियो । दायँबायाँ मानिसहरूको ठुलो हुल थियो तर त्यो हुलभित्र…
रातामाटेका स्थानीयको प्रश्न हामीलाई जग्गाधनी पूर्जा किन दिइएन ?
नारायण नगरपालिका–१ रातामाटेका ५७ वर्षीय खड्कबहादुर दमाई जोत्दै गर्नु भएको बारी उहाँका बाजेका पालादेखि कमाउदै आउनुभएको हो । उहाँ पाँच वर्षको हुँदा बाजे बस्ती सरेर आएपछि १० वर्षमा बाजे बित्नुभयो,…
अपाङ्गतामैत्री छैन निर्वाचन, ढुक्कले प्रतिनिधि चुन्न पाउँदैनन् दृष्टिविहीन
दैलेखको नारायण नगरपालिका–६ भूर्तिका ओमप्रसाद शर्मा दृष्टिविहीन हुनुहुन्छ । उहाँले पहिलो पटक २०६४ सालमा संविधान सभा सदस्यको निर्वाचनमा भोट दिनुभएको थियो । त्यसयता शर्माले हरेक निर्वाचनमा मतदान गर्दै आउनुभएको छ…
हुम्लाबासीको पीडाः स्टेचरको भरमा बिरामी बोक्न बाध्य
हिमाली जिल्ला हुम्ला हालसम्म पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिदा बिरामीलाई दुईदिन बोकेर सदरमुकामस्थित जिल्ला अस्पताल पुर्याउनु पर्ने बाध्यता हुम्लाबासीको अझै हट्न सकेको छैन ।ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी र…