जीउँदै भएको आश मरेपछि कुशको शव बनाएर अन्तिम संस्कार ! (फोटो फिचर)
बेपत्ता पारिएको बीस वर्ष कुर्दा पनि लास र सास नपाएपछि, पीडित परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।
बारबर्दिया नगरपालिका– ५ मगरागाडीका रामप्रसाद चौधरीको परिवारले उहाँको अन्तिम संस्कार थारु परम्परा अनुसार भदौ २७ गते गरेको छ ।
२० वर्ष कुर्दा पनि लास र सासको अवस्था थाहा नपाएपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्न बाध्य भएको उनकी पत्नी संगिता थारूले बताउनु भयो ।
तत्कालिन सशस्त्र द्वन्द्वको बेला २०५९ भदौ १७ गते बर्दियाको बारबर्दिया नगरपालिका– ५ का रामप्रसाद थारूलाई घरमा सुतिरहेको अवस्थामा नेपाली सेनाको टोलीले लग्यो ।
सामान्य परिवारका थारू आरआरएन नामक संस्थाले सञ्चालन गरेको बाल शिक्षा कक्षाको शिक्षक रहेका थिए । द्वन्द्वमा बेपत्ता पारिएका उनै रामप्रसादको २० वर्ष ११ दिन पछि परिवारले अन्तिम संस्कार गरेको हो ।
रामप्रसादका परिवारले उनको खोजीका लागि तत्कालिन अवस्था डर र त्रासका लागि कतै जान सकेन । शान्ति सम्झौता पछि बेपत्ता रामप्रसादको परिवार खोजीका लागि चारैतिर पुग्यो तर रामप्रसादको सास र लास बारे कही कतै खबर पाएनन् ।
उनीहरूले सरकारलाई हजारौ पटक घच्घचाए तर सरकारले उनीहरूलाई सहिद परिवार सरह नै १०/१० लाख रूपियाँ दिएर न्याय दिएको भन्दै पन्छिन खोज्यो, तर यो परिवारले भने न्यायको अनुभूति गर्न भने पाएन ।
सरकारसंग वर्षौ देखि कि सास कि लास चाहियो भनेर न्यायका लागि भौतारी रहदाँ परिवार र समाजबाट अन्तिम संस्कार (काजक्रिया) गर्न दवाब झेल्नु पर्दा झनै पीडा थपिएको छ । सासको त आश छैन लास कहाँ छ ? भनेर सरकारलाई प्रश्न तेर्साइ रहेका पीडितहरू अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार (काजक्रिया) गर्न बाध्य भएका छन् ।
पति वेपत्ता भएपछि उहाँकी पत्नी संगीता थारूका आँखा कुनै दिन ओभाएन् । दुख गरेर गरेर तीन छोरीको पालन पोषण गर्दै र बेपत्ता भएका पति आउने बाटो हेर्दाहेर्दै उहाँका आँखा थाके तर रामप्रसाद फर्किएनन् ।
२० वर्षभन्दा बढी रामप्रसादको सास कि लास आउने बाटो कुर्दै बस्नु भएकी संगीता अन्ततः कुसको लाश बनाएर आफ्ना पतिको काजक्रिया गर्न बाध्य हुनुभयो ।
घरपरिवार, छरछिमेक र समाजले काजक्रिया गर्न दवाव दिन थालेपछि उहाँ राजी हुनु भयो ।समाजबाट अन्तिम संस्कार (काजक्रिया) गर्न दबाब दिने र काजक्रिया नगरेकै कारण पारिवारिक र सामाजिकरुपमा एक्ल्याउने क्रम बढे पछि बाध्य भएर आफूहरूले अन्तिम संस्कार गर्नु परेको गुनासो बेपत्ता परिवारको छ ।
बेपत्ता पतिको अन्तिम संस्कार नगरेकै कारण परिवारबाट विभेद र लाञ्छना खेप्न बाध्य वेपत्ता परिवारका धेरै महिलाहरु छन् । जसले न्यायको लडाई जारी राख्दै आफन्तजनको काजक्रिया (मृत्यु संस्कार) गरेको बताउँछन् । लामो समयसम्म राज्यले बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्न नसक्दा पनि बेपत्ता पारिएका व्यक्तिका परिवारमा निराशा देखिएको छ ।
सशस्त्र द्वन्द्वको समयमा बर्दिया जिल्लाबाट सबै भन्दा बढी बेपत्ता भएका छन् । मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्था इन्सेकका अनुसार बर्दिया जिल्लाबाट २ सय २३ जना बेपत्ता पारिएको तथ्याङ्क छ । वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा बर्दियाबाट २ सय ६६ जना वेपत्ताको खोजीका लागि उजुरी परेका छन् ।
राज्यले परिपूरणको व्यवस्था गर्ने वा दोषीलाई कारबाही गर्ने विषयमा ठोस निर्णय लिन नसक्दा संगीता थारू जस्ता बेपत्ताका परिवारहरू कुशको शव बनाएर मृत्यु संस्कार गर्न बाध्य भएको द्वन्द्व पीडित साझा चौतारीका पुर्व अध्यक्ष भागिराम चौधरी बताउनु हुन्छ ।
- मानबहादुर चौधरी
सम्बन्धित फिचरहरू
त्रिपालमुनि भविष्य खोज्दै कलिला बालबालिका !
कठ्याङ्ग्रिदो जाडो, अत्याधिक चिसोमा त्रिपालमुनि चटाई विच्छाएर कखरा सिक्दैछन्, महाकाली नगरपालिका वडा नम्बर २ स्थित भुवनेश्वरी आधारभूत विद्यालय पण्डारोमा अध्ययनरत कलिला बालबालिकाहरु । गत भदौ २४ गते आएको बाढीका कारण…
जीवनभर डुङ्गा तार्ने व्यक्ति नै वारी न पारीका भए !
१० वर्ष अघिसम्म गजवीर बोटेलाई कालीगण्डकी नदीमा डुङ्गा तार्न भ्याइ नभ्याई थियो । बगनासकाली गाउँपालिका–७ दैलातुङका ८२ वर्षीय गजवीर बोटेले आफ्नो जीवनका ६० वर्ष डुङ्गा वारी पारी गरेरै बिताउनु भयो…
सानै उमेरमा गरिएको विवाहले लुटिएको खुसी
मलिन अनुहार, सामान्य पोशाक, पछ्यौरीले छोपिएको उनको टाउको । अदालत बाहिरको चौरमा उभिएकी । उनको ध्यान जिल्ला अदालतको झ्यालमा केन्द्रित थियो । दायँबायाँ मानिसहरूको ठुलो हुल थियो तर त्यो हुलभित्र…
रातामाटेका स्थानीयको प्रश्न हामीलाई जग्गाधनी पूर्जा किन दिइएन ?
नारायण नगरपालिका–१ रातामाटेका ५७ वर्षीय खड्कबहादुर दमाई जोत्दै गर्नु भएको बारी उहाँका बाजेका पालादेखि कमाउदै आउनुभएको हो । उहाँ पाँच वर्षको हुँदा बाजे बस्ती सरेर आएपछि १० वर्षमा बाजे बित्नुभयो,…
अपाङ्गतामैत्री छैन निर्वाचन, ढुक्कले प्रतिनिधि चुन्न पाउँदैनन् दृष्टिविहीन
दैलेखको नारायण नगरपालिका–६ भूर्तिका ओमप्रसाद शर्मा दृष्टिविहीन हुनुहुन्छ । उहाँले पहिलो पटक २०६४ सालमा संविधान सभा सदस्यको निर्वाचनमा भोट दिनुभएको थियो । त्यसयता शर्माले हरेक निर्वाचनमा मतदान गर्दै आउनुभएको छ…